News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जीवनभरि गरेको मिहिनेतले बनाएको घर आगोले नष्ट भएको भन्दै भावुक स्टाटस लेखेका छन्।
- शाक्यले आफ्नो घर जलाएर लान्छना लगाइएको र आफूले देशका लागि रगत बगाएको बेला मुलुकले हार्ने अनुभव अमरसिंह थापाजस्तो भएको उल्लेख गरेका छन्।
- उनीले अफगानिस्तानमा बचत गरेर घर बनाएको, सम्पूर्ण सम्झनाका सामान जलेर नष्ट भएको र आफूले ‘सिर्फ बिशे नगर्ची बन्न चाहन्छु’ भनेका छन्।
३ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘आफूले युद्धमैदानमा रगत बगाउँदा बगाउँदै देशले युद्ध हारेपछि दरबारले उल्टै लान्छना लगाएको अमरसिंह थापाजस्तो अनुभूति भएको’ भन्दै भावुक स्टाटस लेखेका छन् ।
सोमबार साँझ उनले जीवनभरि नेपाल विद्युत् प्राधिकरण र देशको सेवा गरेको तर उल्टै लान्छित गरी जिन्दगीभरिको मिहिनेतले बनाएको घर जलाइएको भन्दै प्रश्न गरेका छन्, ‘मैले के बिराएँ ?’
‘कस्तो हुँदो हो, जब देशका लागि रगत बगाइ, रक्षा गर्दागर्दैको बेलामा मुलुकले हार्दा, अनि दरबारले कृतघ्न भई उल्टो लान्छना लाद्दा– त्यो क्षण– जब न देश आफ्नै, न दरबार आफ्नै, न त मन नै आफ्नै, सबै हारेको क्षण । अमरसिंह थापाको कथा पढेको थिएँ– तर कल्पना र अनुभूति गरेको थिइनँ । अहिले मलाई ?’, उनले फेसबुकमा लेखेका छन् ।
आफूले जीवनभरि गरेको कमाइको घरमा आगो लगाइएको कुरालाई उनले अत्यन्तै भावुक विम्ब प्रयोग गरेर स्टाटस लेखेका छन् ।
‘कस्तो हुँदो हो जब जिन्दगीभरिको सपना सजाएर हुर्काएको सन्तानको दागबत्ती दिँदा एउटा आमालाई, कल्पना र आभास गर्नै गाह्रो, अहिले मलाई,’ उनले लेखेका छन् ।
एक नेपालीको सिर्फ मिहिनेत र रगत पसिनाले आफ्नै घर बनाउनु अति नै कठिन काम भएको उनले उल्लेख गरेका छन् ।
‘अफगानिस्तानमा रगतको सट्टामा डलर, अनि क्षण–क्षणको बम र बन्दुकको डरभित्र काम गरेर कमाएको मासिक ८–१० हजार डलर बचाएर झन्डै एक वर्ष जोगाएको धनले आफूले घर बनाएको उनले उल्लेख गरेका छन् ।
त्यतिले पनि नपुगेर सञ्चय कोषबाट ऋण लिएर आफूले घर बनाएको र चिलिमे कम्पनीको बोनस र अलि बढी पाइने तलब बचाएर घरको ऋण तिरेको उनले लेखेका छन् ।घरको हरेक ढलान, ढोका र प्लास्टरमा आफ्नो कमाइ र श्रीमतीको खटाइ रहेको उनले बताएका छन् ।

‘आज यो कालो खरानी हातमा, अहिले मलाई ?,’ उनी प्रश्न गर्छन् ।
‘तर, म भन्ने गर्थें श्रीमतीलाई– नेपालमा इमानदार भएर जागिर खाएर समाजमा बस्नु बहुत गाह्रो छ, यहाँ इमानदारीले घर गृहस्थ हुँदैन, अनि बेइमानी र घुसले आत्मसम्मान दिँदैन, श्रीमतीले मलाई अरूको धनसम्पत्ति सुनाउँथिन्, इमानदारीका साथ आर्जेको यही हो साँचो पुरुषार्थ भन्थेँ, तर आफ्नो पुरुषार्थ ठानेको यो घर, आज मलाई नपुंसक जस्तो गिज्याइरहेछ,’ उनले लेखेका छन् ।
उनी फेरि प्रश्न गछन्, ‘मैले के बिराएँ ? बिराएकै हो भने, भन ए राज्य, ए सरकार, तेरो यो अपराध हो र यो तेरो सजाय ?’
‘होइन, देश र मुलुकको परिवर्तनका लागि बलिदान हो भने, भनिदेऊ यो तेरो बलिदान, म मेरो देश निम्ति शिर नै चढाउँछु सहर्ष, तर घुन पिसिएको, यो अर्थहीन खरानी, यो मलाई स्वीकार्य छैन, म जवाफ खोजिरहेछु, आफ्नै घर–सन्तानको खरानी हातमा लिएर ।’
दुई दिनसम्मको आगजनी र लुटपाटले आफ्नो सम्पूर्ण घरसम्पत्ति सकिएको उनी उल्लेख गर्छन् । ‘घर गयो, बस्ने छानो भएन, थोरै मुटु चर्कियो, तर फेरि मर्मत गरेर बनाउँला सानो घर तर सम्झन्छु मेरो कलेजको प्रमाणपत्रहरू, छोराछोरीको प्रमाणपत्रहरू, अब कहाँ कति दुःखले खोजुँ ? बिहेको श्रीमतीको सारी, बुबाको चिनो सम्झना स्वरूप कोट र पुरानो घडी, अनि अरू कति कति सम्झनाको सामान, सोचेको थिएँ कुनै दिन अब छिट्टै जीवनी स्मृति लेखुँला, जलेर त गयो सबै अनि लुटियो बाँकीहरू, मुटु फेरि चरक्क गर्छ,’ उनले लेखेका छन् ।
जिन्दगीका अमूल्य क्षणका फोटोहरू, एल्बम, फ्रेम सबै ध्वस्त भएको उनले उल्लेख गरेका छन् ।
‘सानैदेखि धेरथोर डायरीमा लेख्ने गरेको थिएँ जीवनका हरेक मोडका भोगाइहरू, सिकाइहरू, वर्षैपिच्छेका प्रशस्तै डायरीहरू, कुनै दिन लेख्नु थियो संस्मरण, तर सबै खरानी भयो, कम्प्युटर र ५–६ वटा हार्ड डिस्कमा रेकर्डेड सबै अनुभव र ज्ञानका रेकर्ड, कोही किन यति क्रुर हुन्छ ?,’ उनी लेख्छन्, ‘धनसम्पत्ति लानु तर यादहरू त छाडिदिनु नि, मुटु अचाक्ली नै चसक्क गर्छ, आँसु निस्कँदैन, मुटु सुक्खा भइसकेको छ, आँसु कहाँ आओेस् ।’
देशका लागि समर्पित काजी भीम मल्ल काटिनुपरेको सन्दर्भ उल्लेख गर्दै हितेन्द्रदेवले लेखेका छन्, ‘भो मलाई भीम मल्ल बन्नु छैन, मेरो सति हुन कोही नआउनू, किनकि म चाहन्नँ कसैले सरापोस् मेरो देशलाई ।’

आफूले फगत एउटा बिशे नगर्ची बन्न मात्रै चाहेको उनले लेखेका छन् ।
आफूले विद्युत् प्राधिकरणका विभिन्न भूमिकामा मिहिनेत गरेको उनले उल्लेख गरेका छन् ।
‘खून पसिना बगाएँ, पुरूषार्थ गरेँ, कुलेखानीमा गरेँ, मस्र्याङ्दीमा गरेँ, चिलिमेमा गरेँ, जहिले जे गरेँ, कर्मक्षेत्रमा नेपालीमात्रको आत्मनिर्भरताका लागि गरेँ,’ उनले लेखेका छन्, ‘गमगाढमा गरेँ, एलडीसीमा गरेँ, योजनामा गरेँ, इन्जिनियरिङमा गरेँ, विद्युत् प्राधिकरणमा गरेँ, जहाँ जहिले गरेँ नेपालीमात्रको आत्मनिर्भरताका लागि गरेँ,’ उनले लेखेका छन्।
कसैसँग थर मिलेका आधारमा ‘सालोकेटो’ भनेर आफूलाई बलि चढाइएको उनले उल्लेख गरेका छन् ।
‘किन बनाउँछ कोही कसैलाई सालो केटो ? अनि बलि चढाउँछ ? कसैलाई सालो केटो पनि नबनाउनू, अनि कसैलाई कालो केटो पनि नबनाउनू, मेरो थर मिल्यो बस बनिगयो सालो केटो ?,’ उनी लेख्छन्, ‘त्यसैले अझै पनि मलाई भीम मल्ल बन्नु छैन सिर्फ बिशे नगर्ची बन्न चाहन्छु कोही पृथ्वीनारायण बनेर आओस् ।’

प्रतिक्रिया 4