३ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बाराको सिमरामा पार्टीले आयोजना गरेको कार्यक्रम बिथोलिँदा मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको टिप्पणी गरेका छन् ।
उनले बुधबार सिमरामा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
महासचिव शंकर पोखरे, पोलिटब्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरू प्रदेशस्तरीय कार्यक्रमका लागि जाने भएपछि सिमरा विमानस्थलमा जेनजीहरूले प्रदर्शन गरेका थिए ।
प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फ्यू लगाएको अवस्था छ ।
‘नेकपा एमाले महासचिव कमरेड शंकर पोखरेल सहभागी हुने पूर्व घोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको छ,’ भट्टराईले भनेका छन्, ‘देशको एक ठाउबाट अर्को ठाउमा निर्विवाद हिडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपिल गर्दछु ।’
यस्ता गतिविधिले आसन्न निर्वाचनलाई थप अन्यौल र अनिश्चय तिर धकेल्ने कुरामा सचेत रहन र शान्ति सुव्यवस्था कायम राख्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया 4