+
+
Shares
पुस्तक अंश :

साझा सभ्यता पहलका लागि चीनले विश्वसामू राखेका दृष्टिकोण

जीसीआई विश्वभरका देशहरूले सभ्यताको प्रगतिलाई अगाडि बढाउन र साझा भविष्यका साथ मानव समुदाय निर्माण गर्ने समयको आह्वानका लागि एक इमान्दार प्रतिक्रिया हो ।

चेतनाथ आचार्य चेतनाथ आचार्य
२०८२ मंसिर ५ गते ९:००

विश्वव्यापी सभ्यता पहल (जीसीआई) चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले सन् २०२३ मा प्रस्तुत गरेको चीनको कूटनीतिक पहल हो । यसले विश्वव्यापी सुरक्षा पहल (जीएसआई) र विश्वव्यापी विकास पहल (जीडीआई) लाई पूरक बनाउँछ र बहुध्रुवीय विश्व व्यवस्था स्थापना गर्ने र ‘सम्पूर्ण विश्वका लागि मानवता र सद्भावका लागि प्रगति खोज्ने’ काम गर्दछ ।

सन् २०२३ को मार्चमा सीसीपीका महासचिव सी चिनफिङले बेइजिङमा एक भाषणमा यो पहल पहिलोपटक प्रस्तुत गरेका थिए । जुन मुख्यतया कूटनीतिमा उनको विचारमा आधारित छ । आफ्नो भाषणमा, सी चिनफिङले जोड दिँदै भनेका थिए ‘देशहरूले समानता, पारस्परिक सिकाइ, संवाद र सभ्यताहरू बीच समावेशीकरणका सिद्धान्तहरूलाई कायम राख्नुपर्छ । सांस्कृतिक आदान प्रदानलाई घनिष्ट, द्वन्द्व पार गरेर पारस्परिक सिकाइ र अहं त्यागेर समावेशीकरणलाई प्राथमिकता दिनुपर्छ’ ।

सी चिनफिङका यी भनाइहरूमा राज्यहरूले आफ्ना मूल्यमान्यता र सामाजिक मोडेलहरू अरूमाथि लाद्ने प्रयास गर्नु हुँदैन भन्ने भावना बोकेको छ । बरु प्रत्येक राज्यको सार्वभौमिकताको सम्मान गर्नुपर्छ र राष्ट्रिय विशिष्टताहरूलाई ध्यानमा राख्दै आधुनिकीकरणका लागि आफ्नै मार्ग तय गर्न अनुमति दिनुपर्छ भन्ने कुरालाई जोड दिइएको छ । ‘मानवताको साझा मूल्य’ ले अन्तर्राष्ट्रिय राजनीतिमा मार्गदर्शक सिद्धान्तका रूपमा काम गर्नुपर्छ । चीनले अगाडि सारिरहेको ‘शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रता’ को मूल मर्म पनि यही हो । आफ्नो पहल कार्यान्वयन गर्ने कदमका रूपमा चीनले युवा आदान प्रदान कार्यक्रमहरू विस्तार गर्ने र आफ्नो नरम शक्तिलाई बलियो बनाउन धेरै देशका नागरिकहरूलाई भिसा मुक्त प्रवेश प्रदान गर्न थालेको छ । थाइल्याण्ड, माल्दिभ्स र संयुक्त अरब इमिरेट्सका अतिरिक्त फ्रान्स, जर्मनी र इटाली जस्ता पश्चिमी देशहरू पनि यसमा समावेश छन् ।

शान्ति र विकासको खोजी गर्दै आधुनिकीकरण तर्फ अन्वेषण गर्ने क्रममा विश्वभरका देशहरूले साझा चुनौतिहरूको सामना गरिरहेका छन् । यस्तो समयमा ऐक्यबद्धता, सहकार्य र संवाद आह्वान पहिलेभन्दा अझ बलियो हुँदै गइरहेको छ । यद्यपि शंका, विभाजन र टकरावका गहिरा समस्याहरूले अझै पनि अन्तराष्ट्रिय सहयोगलाई अवरुद्ध गरिरहेका छन् । त्यसैले जनस्तरको नजिकको सम्पर्कका लागि अन्तर सभ्यता आदान प्रदान बढाउन आवश्यक छ ।

सीपीसीका महासचिव सी चिनफिङले सन् २०२३ को मार्च १५ तारिख विश्व राजनीतिक दलहरूसँगको संवादमा आधुनिकीकरणको बाटोमा हात मिलाऔँँ शीर्षकमा आफ्नो मुख्य भाषणमा विश्वव्यापी सभ्यता पहल (जीसीआई) प्रस्ताव गरेका हुन् । उनले समावेशी र पारस्परिक सिकाइ मार्फत मानव सभ्यतालाई अगाडि बढाउन गहन अन्तर सभ्यता आदान प्रदान र संवादका लागि विश्वलाई आह्वान गरे । यो उच्च स्तरमा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनमा चीनको बुद्धि र समाधानहरूमा योगदान पुर्‍याउने अर्को प्रयास पनि हो ।

जीसीआई सी चिनफिङको गहन रणनीतिक दृष्टिकोण, व्यापक ऐतिहासिक दृष्टिकोण, समयका लागि बलियो जिम्मेवारीको भावना र मानवताका लागि गहिरो चासोको प्रतीक हो । जीसीआई साझा चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने बलियो एकता र सहकार्यका लागि विश्वभरका मानिसहरूको तत्काल आह्वानको समय सापेक्ष प्रतिक्रिया हो । आजको संसारमा धेरै चुनौतिहरू र संकटहरू एकअर्कासँग जोडिएका छन् ।

विश्वव्यापी आर्थिक पुनर्प्राप्ति सुस्त छ । विकासको खाडल फराकिलो हुँदै गइरहेको छ । पारिस्थितिक वातावरण बिग्रँदै गइरहेको छ । शीतयुद्धको मानसिकता लम्बिँदै गइरहेको छ । मानवताको आधुनिकीकरण प्रक्रिया फेरि एक पटक इतिहासको चौबाटोमा उभिएको छ ।

हाम्रा साझा चुनौतिहरूको सामना गर्न र हामीलाई कठिनाइहरूमाथि विजय हासिल गर्न भौतिक साधनहरू र शक्ति जुटाउन सांस्कृतिक र नैतिक स्रोतहरू आवश्यक पर्दछ । सी चिनफिङले उल्लेख गरे जस्तै सबै देशहरूको भविष्य नजिकबाट जोडिएको हुनाले विभिन्न सभ्यताहरू बीच सहिष्णुता, सहअस्तित्व, आदान प्रदान र पारस्परिक सिकाइले मानवताको आधुनिकीकरण प्रक्रियालाई अगाडि बढाउन र विश्व सभ्यताको बगैंचालाई फस्टाउन अपूरणीय भूमिका खेल्छ । विश्व राजनीतिक दलहरूसँगको संवाद बैठकमा सी चिनफिङले जीसीआई प्रस्ताव गर्नुले प्रत्येक देशको विशिष्ट विशेषताहरू सहितको आधुनिकीकरणलाई पछ्याउन र मानव सभ्यताको उन्नतिका लागि विश्वव्यापी अन्तर सभ्यता आदान प्रदान तथा पारस्परिक सिकाइलाई प्रवर्द्धनमा सबै देशहरूसँग काम गर्न चीन इच्छुक छ भन्ने कुरालाई प्रष्ट्याउँछ ।

जीसीआई विश्व सभ्यताको समानता, समावेशीता र विविधतालाई कायम राख्न देशहरूको साझा आकांक्षाका लागि एक गम्भीर प्रतिक्रिया हो । जसरी कुनै पनि देश अरूभन्दा श्रेष्ठ छैन, त्यस्तै कुनै पनि सभ्यता निम्न वा श्रेष्ठ हुँदैन । प्राचीन कालदेखि नै विभिन्न क्षेत्रका मानिसहरूले उत्पादनका क्रममा र प्रकृतिको शोषण र परिवर्तनमा असंख्य महान् सभ्यताहरू विकास गरेका छन् । उनीहरूले शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रताका साझा मानवीय मूल्य र लक्ष्यहरू पछ्याएका छन् र मानव समाजको प्रगतिलाई प्रवर्द्धन गरेका छन् । कुनै पनि मूल्य अन्य मूल्यहरूभन्दा माथि हुनु हुँदैन ।

आधुनिकीकरण र सभ्यतालाई एकभन्दा बढी मोडेलहरू मार्फत साकार पार्दै अगाडि बढाउन सकिन्छ । आत्मरतिमा रहेको ‘विश्वव्यापी सभ्यता’ को भ्रम सजिलै पतन हुनेछ । विचार र मूल्यहरूमा रेखाहरू कोर्न र विभाजन तथा टकराव सिर्जना गर्ने कार्यले संसारमा विनाशकारी परिणामहरू मात्र ल्याउनेछ र सभ्यताहरूलाई कलंकित गर्नेछ ।

सी चिनफिङले विभिन्न अवसरहरूमा मानव सभ्यताका लागि विविधताको महत्त्वका बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् । उनले जोड दिएको कुरा के हो भने जीसीआईले सबैभन्दा पहिले सभ्यताको विविधताको सम्मानको वकालत गर्दछ । विभिन्न देशहरूले विभिन्न सभ्यताहरूको मूल्यमान्यताको धारणालाई कदर गर्न खुला दिमाग राख्नुपर्छ । अरूमाथि आफ्नै मूल्यमान्यता वा मोडेलहरू लाद्न र वैचारिक टकरावलाई उक्साउने कार्यबाट टाढा रहनु पर्छ । यसले सँगसँगै समृद्ध हुन सबै देशहरूसँग संयुक्त रूपमा अन्तर सभ्यता सहयोगलाई प्रवर्द्धन गर्न चीनको समावेशी दृष्टिकोणलाई प्रदर्शन गर्दछ ।

अन्तर्राष्ट्रिय समुदायको निकट अन्तर सभ्यता संवाद र आदान प्रदानलाई थप जीवन्त सांस्कृतिक विकासको साझा आह्वानका लागि जीसीआई एक प्राकृतिक प्रतिक्रिया हो । हजारौँ वर्षको अवधिमा चिनियाँ सभ्यताले आफ्नो जरा जोगाएको छ र अन्य सभ्यताहरूसँगको आदान प्रदान र पारस्परिक सिकाइबाट प्रेरणा तथा ज्ञान प्राप्त गरेर निरन्तर नयाँ जग खडा गरेको छ । फलस्वरूप यसले आफ्नै विकाससँग मानव सभ्यताको प्रगतिलाई पनि अगाडि बढाएको छ ।

आर्थिक विश्वव्यापीकरणको विकास हुँदै जाँदा पारस्परिक सिकाइ मार्फत परम्परागत संस्कृतिहरूलाई आधुनिकीकरणको आवश्यकता पनि बढ्दै गएको छ । फलस्वरूप सी चिनफिङले विभाजनको सट्टा सांस्कृतिक आदान प्रदान, द्वन्द्वको सट्टा पारस्परिक सिकाइ र अहं भावको सट्टा सहअस्तित्वको वकालत सुरु गरेका हुन् । आदान प्रदान र पारस्परिक सिकाइ मार्फत उत्कृष्ट परम्परागत संस्कृतिहरूको रचनात्मक रूपान्तरण र नवीन विकासका लागि उनले जोड दिएका छन् । चीन सधैँ अन्तर सभ्यता आदान प्रदान र सहयोगको दृढ वकालतकर्ता र सक्रिय अभ्यासकर्ता रहेको छ । जीसीआई यस उद्देश्यका लागि निरन्तर प्रयासहरूको अर्को जिवन्त प्रमाण हो ।

जीसीआई विश्वभरका देशहरूले सभ्यताको प्रगतिलाई अगाडि बढाउन र साझा भविष्यका साथ मानव समुदाय निर्माण गर्ने समयको आह्वानका लागि एक इमान्दार प्रतिक्रिया हो । मानव समाजको विकास र साझा भविष्य भएको मानव समुदायको निर्माणलाई प्रवर्द्धन गर्न विभिन्न सभ्यताको उत्पत्ति र सारको गहन बुझाइ र समझ आवश्यक छ । मानवताले सबै सभ्यताको क्रिमबाट लाभ उठाउन सकून् भन्ने भावनालाई यसले केन्द्रमा राख्ने गर्छ ।

हालैका वर्षहरूमा चीनले अगाडि सारेको विश्वव्यापी विकास पहल जीडीआई र विश्वव्यापी सुरक्षा पहल जीएसआईले विकास र सुरक्षाका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका लागि नयाँ संभावनाहरू खोलेको छ । त्यसैगरी जीसीआईले विश्वव्यापी विकास सहयोग र विश्वव्यापी सुरक्षा सहयोगका लागि नयाँ गतिशीलता प्रदान गर्छ र नयाँ सुरक्षा उपायहरू निर्माण गर्छ ।

जीसीआईले साझा भविष्य भएको मानव समुदाय निर्माणका लागि एक शक्तिशाली आधार प्रदान गर्दछ र दिगो शान्ति तथा समृद्धिको संसारलाई बढावा दिने चीनको समग्र सोचलाई मूर्तरूप दिन्छ ।

(मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित चेतनाथ आचार्यको ‘चिनियाँ दृष्टिकोण’ पुस्तकको अंश । यो पुस्तक  आज मंसिर ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक हुँदैछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?