+
+
Shares
डिम्ब कारोबारको जालो :

एजेन्ट खटाएर कलेजमा किशोरी खोजिन्थ्यो, होप ल्याएर डिम्ब झिकिन्थ्यो

जस्टिना नामकी एजेन्ट सुरुमा इन्स्टाग्रामबाट किशोरीको खोजी गर्थिन् । त्यसपछि कलेज-कलेज पुगेर सम्पर्क विस्तार गर्थिन् । कलेजबाट किशोरीलाई होप फर्टिलिटीमा ल्याएर डिम्ब झिकिन्थ्यो ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ मंसिर ५ गते १५:४६

५ मंसिर, काठमाडौं । त्यस दिन कल्पना (नाम परिवर्तन) ले इन्स्टाग्राममा आफ्नी बहिनीको अनौठो वार्तालाप देखिन् । एक अमुक महिला र बहिनीबीच डिम्ब (अण्डा) कारोबारको कुरा हुने रहेछ ।

मात्र १७ वर्षकी उनकी बहिनी काठमाडौंको एक निजी कलेजमा कक्षा ११ मा पढ्दै छिन् ।

इन्स्टाग्राममा कुरा भएअनुसार बहिनीले सुटुक्क आफ्नो डिम्ब बेचेकी रहिछिन् । उनले डिम्ब किन बेचिन् ? कहाँ बेचिन् ? कसका लागि बेचिन् ? कतिमा बेचिन् ?

यी प्रश्न सँगसँगै आउने अर्को मूल प्रश्न थियो- डिम्ब कारोबारको जालोमा उनी कसरी पुगिन् ?

०००

बहिनीले गोग्य रूपमा यस्तो कृत्य गरेको थाहा पाएपछि घरमा खैलाबैला मच्चियो । उनीहरूले यसबारे थप जान्न बहिनीलाई केरकार गरे । त्यसपछि बहिनीले आफू डिम्ब कारोबारमा कसरी जोडिएँ भन्ने कुरा खुलस्त बताइन् ।

डिम्ब कारोबारमा उनी मात्र थिइनन्, १७ वर्षीया उनकै साथी पनि सामेल भएकी थिइन् । उनीहरू छुट्टाछुट्टै कलेजमा अध्ययनरत छन् । ती दुईलाई जोडाउने काम गरेकी थिइन्, जस्टिना प्रधानले । इन्स्टाग्राममार्फत जस्टिना यी किशोरीसमक्ष पुगेकी थिइन् ।

जस्टिना इन्स्टाग्रामबाट किशोरीको खोजी गर्थिन् र कलेज-कलेज पुगेर सम्पर्क विस्तार गर्थिन् ।

यही सिलसिलामा उनी ती किशोरीसँग नजिक हुन थालिन् । केही दिनको अन्तरालमा कलेजमै गएर उनीहरूलाई भेटन् थालिन् । अनि, लोभ-लालच देखाउन थालिन् ।

महान्यायाधिवक्ता सविता भण्डारी र होप फर्टिलिटी सञ्चालक डा. स्वस्ति शर्मा ।

उनले एक दिन डिम्ब बेच्न प्रस्ताव राखिन् । ‘सुई मात्रै लगाउने हो । १०–१५ हजार पाइन्छ ।’

जस्टिनाले आश्वस्त पार्दै भनिन्, ‘मैले पनि दिएको हो । महिनावारीमा बगेर जाने कुरा हो, दिँदा केही फरक पर्दैन ।’

केही दिनपछि इन्स्टाग्राममा थप संवादपछि ती दुई किशोरी डिम्ब दिन राजी भए । अनि जस्टिनाले उनीहरूलाई काठमाडौँको बबरमहलमा रहेको होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकमा पुर्‍याइदिइन् ।

त्यसपछि होपले ती किशोरीको स्वास्थ्य परीक्षण सुरु गर्‍यो ।

कहिले बानेश्वर त कहिले चाबहिलको कुनै क्लिनिकमा एक्सरे, ईसीजी, रगत परीक्षण लगायतको काम भयो ।

डिम्ब निकाल्नका लागि आवश्यक सबै परीक्षण सकियो । ती किशोरी बिहान कलेजमा पढ्न जान्थे । अनि दिउँसो होप फर्टिलिटी सेन्टर ।

पठाओमा जान-आउनका लागि होपकै कर्मचारीले पैसा दिन्थे । त्यही बीचमा किशोरीको महिनावारी चल्यो । अनि होपका चिकित्सकले बोलाएर औषधि दिन थाले ।

डिम्ब निकाल्न महिनावारीको दोस्रो वा तेस्रो दिनदेखि सुईमार्फत औषधि दिइन्छ । त्यसपछि करिब १० देखि १४ दिनमा अन्डा तयार हुन्छन् ।

यही क्रममा एक किशोरीलाई औषधिको केही साइट इफेट देखियो । आफ्नो शरीरका अंग दुखेको भन्दै उनले यस्तो काम नगर्ने बताइन् ।

तर, क्लिनिकका कर्मचारीले हप्काउँदै भने, ‘पैसा लिइसकेका छौ । खुरुक्क भनेको मान ।’

किशोरीलाई एजेन्टले केही हजार थमाइसकेका थिए । उनी डर, धम्कीका कारण डिम्ब दिन राजी भइन् । यही क्रममा क्लिनिक कर्मचारीले एउटा फर्म भरेका थिए । तर त्यसमा किशोरीको नागरिकतादेखि कुनै कागजजात मागिएन ।

क्लिनिकका कर्मचारीले नाम परिवर्तन गरेर फर्म भरे, उमेर पनि बढाए ।

केही दिनपछि डिम्ब निकाल्नका लागि होपमै बोलाइयो । ती किशोरीलाई बेहोस बनाइयो । अनि शल्यक्रिया गरेर डिम्ब निकालियो । दुई किशोरीको शल्यक्रियाको प्रक्रिया केही हप्ताको अन्तरालमा भएको थियो ।

किशोरीले अवैध रूपमा हुने गरेको डिम्ब कारोबारको विषय परिवारमा सुनाए । घटना सुनेर परिवारका सदस्य आश्चर्यचकित भए ।

त्यसपछि ती किशोरीका परिवारले नै खोज्न थाले, डिम्ब कारोबार गर्ने गिरोह ।

‘इन्स्टाग्रामको कुराकानी देखेपछि छाँगाबाट खसे जस्तै भएँ । मलाई त नेपालमा यस्तो हुन्छ भन्ने थाहा नै थिएन,’ अनलाइनखबरसँगको सम्पर्कमा आएकामध्ये एक किशोरीका बुबाले भने, ‘कलिला छोरीलाई आर्थिक लालच देखाएर अंग बेचिरहेको थाहा पाएपछि गिरोह खोज्ने थालें ।’

अनि गिरोह खोज्न थाले

गत असारको कुरा हो । किशोरीकै माध्यमबाट परिवारले जस्टिनाको खोजी गर्न थाल्यो । ती किशोरीले अरू पनि डिम्ब दिने मानिस फेला परेको सूचना जस्टिनालाई दिइन् । त्यसपछि जस्टिना चुच्चेपाटीको हेलम्बु बसपार्कमा भेट्न आइन् ।

किशोरीका परिवारका सदस्यले केरकार गरेपछि जस्टिनाले भनिन्, ‘म त किशोरी मिलाइदिने मात्र हो । म भन्दा माथि पनि अरू एजेन्ट छन् ।’

जस्टिनाले बताएका एजेन्ट होप फर्टिलिटीसँग जोडिएका कर्मचारी थिए ।

जस्टिनाको नम्बरबाट तत्काल फोन लगाइयो । र, एजेन्टलाई अर्को किशोरी मिलेको भन्दै चुच्चेपाटीमा भेट्न बोलाइयो ।

सीआईबीले घटनाको फेहरिस्त सुन्यो र असारको अन्तिम सातादेखि अनुसन्धान थाल्यो । अनुसन्धानको क्रममा क्लिनिक सञ्चालकदेखि बिचौलियासम्म पक्राउ परे ।

केही घण्टापछि एक युवक चुच्चेपाटी आइपुगे । अनि ती युवकलाई डिम्ब कहाँ बेचियो ? कतिमा बेचियो ? भन्ने प्रश्न सोधियो ।

क्लिनिकसँग किशोरीलाई डिम्ब भेटाइदिए बापत ती एजेन्टले ४५ हजार रुपैयाँ पाउने बताए । त्यसमध्ये जस्टिनाले २५ हजार पाएकी थिइन् भने एक जनालाई १० र अर्कालाई १५ हजार रुपैयाँ दिइएको थियो ।

ती युवकलाई डिम्ब झिकेको ठाउँ देखाउन भनियो । तर आनाकानी गरे । केहीबेर नोकझोक चल्यो । त्यसबीचमा ती युवकले डाक्टरसँग कुरा गरिरहेका थिए । तर परिवारका सदस्यले फोन खोसिदिएपछि मात्रै युवकले डिम्ब झिकेको ठाउँ देखाउन तयार भए ।

ती युवकले बबरमहलको होप फर्टिलिटी पुर्‍याए ।

उल्टै धम्कीको भाषा

क्लिनिक पुगेपछि किशोरीका बुबाले चिकित्सकलाई मेरो छोरीको डिम्ब किन झिकेको भनेर प्रश्न गरे । तर चिकित्सकको जवाफ झस्काउने थियो, ‘हाम्रो पावर माथिसम्म छ । जहाँ जानु छ, जानुहोस् ।’

बुवाले प्रतिप्रश्न गरे, ‘शरीरबाट अंग निकाल्दा बुवाआमाको सहमति चाहिँदैन ? बच्चालाई ललाइफकाइ अरूको शरीरमाथि खेलबाड गर्न पाइन्छ ?’

त्यसबेला त्यहाँ उपस्थित थिइन्, क्लिनिककी साझेदार तथा हालकी महान्यायाधिवक्ता सविता भण्डारी ।

प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता सविता भण्डारी

भण्डारीले पनि उल्टै धम्कीको भाषा प्रयोग गरिन्, ‘म वरिष्ठ अधिवक्ता हुँ । मेरो पहुँच माथिसम्म छ । तपाईं जहाँ गए पनि लछारपाटो लाग्दैन ।’

किशोरीका बुबाले तिखो प्रश्न तेर्स्याए, ‘तपाईंको छोरीलाई यस्तो गरेको भए के हुन्थ्यो ?’

यो प्रश्नमा भने महान्यायाधिवक्ता भण्डारी झोक्किइन् । उनले भनिन्, ‘यो विषयमा मेरी छोरीको नाम नजोड्नुस् ।’

त्यसपछि परिवारका सदस्य न्याय खोज्दै मानव बेचबिचखन अनुसन्धान ब्युरो हुँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म पुगे । किशोरीका परिवारले जाहेरी दिए ।

सीआईबीले घटनाको फेहरिस्त सुन्यो र असारको अन्तिम सातादेखि अनुसन्धान थाल्यो । अनुसन्धानको क्रममा क्लिनिक सञ्चालकदेखि बिचौलियासम्म पक्राउ परे ।

करिब एक महिनाको अनुसन्धानपछि सीआईबीले बालबालिका ऐन, २०७५ को दफा ६६ (२०) को ‘थ’ अन्तर्गत मुद्दा चलाउन सिफारिस गर्दै काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

उक्त कानुनमा बालबालिकाको अंग झिक्ने, औषधि वा अन्य कुनै परीक्षणका लागि बालबालिकालाई प्रयोग गर्ने कार्यलाई पनि बालबालिका विरुद्धको हिंसाको कसुर मानिएको छ ।

ऐनको दफा २ मा बालबालिका भन्नाले १८ वर्ष पूरा नगरेको व्यक्ति भनेर प्रष्ट पारिएको छ ।

त्यस्तै, यही कानुनको दफा (२)(ख) मा भनिएको छ, ‘बालबालिकाको हित र स्वार्थ जोडिएको कुनै पनि विषयमा निर्णय गर्नुअघि निजको बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकलाई आफ्नो भनाइ राख्ने अवसर दिनुपर्छ ।’

यसरी बालबालिका र उनीहरूका अभिभावकको पक्ष सुन्नुपर्छ भनेर कानुनले तोकेको अधिकारलाई पाखा लगाएर ३० असोजमा डिम्ब झिकिएको विषयमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नै नचलाउने निर्णय गर्‍यो ।

डा. स्वस्ति शर्मा

यो निर्णय गर्नुमा सिधै महान्यायाधिवक्ता भण्डारीको स्वार्थ जोडिएको देखिन्छ । होप फर्टिलिटीमा उनको समेत लगानी छ, जसमा उनकी छोरी डा. प्रत्युषा बराल कार्यरत छिन् । त्यसैगरी डा. स्वस्ति शर्मा महान्यायाधिवक्ता भण्डारीको पारिवारिक सदस्यसमेत हुन् । स्वस्ति भण्डारीकी सानीआमाकी छोरी हुन् ।

अनलाइनखबरलाई प्राप्त होप फर्टिलिटीको सेयर लगतमा उल्लेख भएअनुसार सविता भण्डारी स्वयंको नाममा ४६ हजार कित्ता संस्थापक सेयर कायम रहेको देखिएको छ ।

प्रहरी अनुसन्धानले प्रमाणसहित मुद्दा चलाउन सिफारिस गरे पनि सरकारी वकिलदेखि महान्यायाधिवक्तासम्म शक्तिको दुरुपयोग गर्दै निर्णय गर्न भण्डारी सफल भइन् ।

पीडित परिवारका सदस्य महान्यायाधिवक्ताका कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएपछि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने तयारीमा छन् ।

सीआईबी होपका कर्मचारीलाई सोधपुछका लागि बानेश्वर पुग्दा वरिष्ठ अधिवक्तासमेत रहेकी भण्डारी पनि पुगेकी थिइन् । होपका कर्मचारीलाई प्रक्राउ गरेर लैजाँदा भण्डारी स्वयं जमानीमा छुटाउन सीआईबी पुगिन् । त्यसबेला भण्डारीले क्लिनिकको पक्षमा अदालतमा बहस गरेकी थिइन् र प्रहरीले उनको बयानसमेत लिएको थियो ।

उनले नाबालिगको डिम्ब प्रयोग योग्य नहुने भन्दै क्लिनिक दोषमुक्त रहेको जिकिर गरेकी थिइन् । त्यसपछि आफ्नो लगानीसमेत रहेको संस्था, छोरी र बहिनीलाई चोख्याउन भण्डारी मैदानमै उत्रिन् । नेपालमा डिम्ब संकलनसम्बन्धी कुनै कानुन नै नभएको भन्दै उनले लबिइङ थालिन् ।

भण्डारीको निरन्तर दबाबले काम गर्‍यो । जिल्ला सरकारी वकिल हुँदै काठमाडौं जिल्ला अदालतमा पुग्दा हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिसमेत दिएन । भण्डारीले अनुसन्धान रोक्न प्रभाव बढाइरहेकी थिइन् ।

तर, प्रहरीले अडिग रहँदै बालबालिकासम्बन्धी कसुर गरेको ठहरसहित मुद्दा चलाउन प्रस्तावित रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझायो ।

जिल्ला सरकारी वकिलबाट फाइल उच्च सरकारी वकिलको कार्यालय, पाटन पुग्यो । भण्डारीको इच्छाअनुसार नै मुद्दा नचल्ने निर्णयको ड्राफ्ट अन्तिम फैसलाका लागि २६ असोजमा महान्यायाधिवक्ताको कार्यालय पुग्यो ।

यसरी गत भदौमा नयाँ सरकार गठनपछि महान्यायाधिवक्ता बनेकी भण्डारी निर्णय आफ्नै पक्षमा पार्न सफल भइन् ।

होप फर्टिलिटीले धेरै नाबालिकालाई प्रयोग गरेर डिम्ब झिक्दै आएको किशोरीका बुबाले दाबी गरेका छन् । ‘१७ वर्षका छोरी कोही सुरक्षित भएनन् । मुद्दा मैले नलड्ने हो भने डिम्बको तस्करी झन् मौलाउँदै जान्छ भनेर जाहरी दिएको थिएँ,’ उनले निराश हुँदै भने, ‘तर गरिबका लागि कानुन रहेनछ ।’

महान्यायाधिवक्ता भण्डारीलाई प्रश्न गर्दै उनी भन्छन्, ‘शक्ति छ भन्नुहुन्थ्यो । मुद्दा नचल्ने निर्णय गराउनु भएर प्रमाणित गरिदिनुभयो । अहिलेको सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न बनेको भन्छन् । तर महान्यायाधिवक्ताले नै यसको खिल्ली उडाउनुभयो ।’

पीडित परिवारका सदस्य महान्यायाधिवक्ताका कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएपछि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने तयारीमा छन् ।

किशोरीका बुबा दृढतासाथ भन्छन्, ‘पछि हट्दैनौं । यस्ता कति किशोरी पीडित होलान् । नाबालिकाको शरीरमाथि खेलबाड गर्नेलाई कारबाही हुनैपर्छ ।’

भिडियो : चन्द्र आले 

(नोट :  गोपनीयताका लागि भिडियोमा पीडित किशोरीको बुबाको आवाजलाई परिवर्तन गरिएको छ ।)

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?