जीवनका बाटा आखिर कति नै छन् र ? सीमित ती बाटामा दुई आत्माको आकस्मिक भेट भयो । यायावर नाउँको घुमक्कड र निशा नाउँकी युवतीको । यायावर आज तन्नेरी औतारमा थियो । आज उसको खल्ती पनि किञ्चित पोटिलो थियो । आफ्नै फिरन्ते धुनमा सुमुसुुमु हिंड्दै के थियो, यायावरका जिज्ञासु नजर हठात् निशाको अनुहार स्पर्श गर्न पुगे । निशा बाटोछेउको सुकेको ठुटोमा बसेकी थिई । नजर भुइँतिर लत्रेका, मुहारमा गाढा उदासी । मानौं मर्मान्तक सन्तापको विराट पर्वतले थिचिएर त्यसैत्यसै थकित र गलित ।
बोलूँ कि नबोलूँ, मन दोमन हुँदाहुँदै यायावरका ओठबाट चञ्चल बोली फुत्किहाल्यो— ‘सोध्न पो नमिल्ला कि ?’
यसोक्क मुन्टो उठाएर निशाले पुलुक्क हेरी । तर उसको बक् फुटेन ।
‘बिरामी पो हुनुहुन्छ कि ?’
प्रत्युत्तरमा द्रवित स्वरमा निशाले चित्तको औडाहा पोखी— ‘मेरा दुई छोरी भोकै छन् !’
निशा उठी ।
बाहिर चम्किलो घामको कति राम्रो उज्यालो थियो । भित्र निशाको मन सघन अन्धकारमा डुबेको थियो । उसको आहत चित्त औडाहाको करौंतीले रेटिंदै थियोे— मेरा दुई छोरी भोकै छन् ! मेरा दुई छोरी भोकै छन् !
भारी पाइला चाल्दै निशा आफ्नो बाटो लागी । त्यतै हिंडेको हुँ जस्तो गरी यायावर लाग्यो उसको पछिपछि ।
‘तपाईंका भोका छोरी कत्रा छन् ?’ कुरो खोतल्न यायावरले कुरो कोट्यायो ।
‘चार वर्ष र ६ वर्षका’, व्यथित स्वरमा निशाले भनी ।
‘चिचिला छोरी किन भोकै छन् हँ ?’ यायावरले लट्ठक टाइपको प्रश्न सोध्यो ।
उग्र अरुचिवश निशाका कुम यसोक्क हल्लिए । उसका आक्रामक नजरका तीर यायावरको अनुहारतिर ताकिए । ती क्रूद्ध र आहत नजरमा मानौं यस्तो भाव थियो— बुद्धु ! गरिबका चिचिला छोरी किन भोकै हुन्छन् तँलाई थाहा छैन ? कुन संसारको जीव होस् तँ ?
निशा र यायावर बात मार्दै हाराहारी हिंड्दै गए ।
‘छोरी भोकै छन् ! छोरी भोकै छन् !’ आफ्नै असहाय स्वरको प्रतिध्वनिले निशालाई नित्य डसिरह्यो ।
‘म केही गर्न सकूँला कि ?’ अहिले भने यायावरले सविनय सोध्यो ।
‘के केही ?’ सोधाइको उत्तरमा निशाको सोधाइ प्रकट भयो ?
‘छोरीहरूको भोक मेट्न यसो केही ।’ भनूँ नि नभनूँ, गम्दागम्दै यायावरले भनिहाल्यो ।
‘के यसो केही ?’
‘यो लिन मिल्छ कि ?’ यायावरले एक हजारको नोट लम्कायो ।
‘भो, म सित्तीमा कसैको केही लिन्नँ’, निशाले ठाडै नकारी ।
उता छोरी भोकै छन्, यता ‘यो लिन्नँ’ रे ! कस्ती आमा हो यो ? यायावर जिल् पर्यो ।
‘सित्तीमा नलिए कसरी लिनुहुन्छ त ?’
‘आफूसँग जे छ, म त्योसँग साट्छु ।’
‘साट्नलाई के छ तपाईंसँग ?’
‘शरीर छ ।’
‘तपाईं ठट्टा गर्दै हुनुहुन्छ ?’
‘नाइँ, मेरा छोरी भोकै छन् !’
ती हाराहारी हिंड्दै गए । दुवै छेवैको प्राणीबारे मनमा कुरा खेलाउँदै । दुवै मौन । दुवै गजधम्म ।
सोधूँ कि नसोधूँको द्विविधा बीच यायावरले सोध्यो— ‘तपाईंको दररेट कति हो ?’
प्रत्युत्तरमा खप्की पो खाइएला कि ? यायावरलाई डर थियो । तर निशाले नितान्त सहज भावले उत्तर दिई— ‘पध्र–बीस हजार जोगाड हुँदा मेरो दररेट पाँच हजार ।’
‘जोगाड नहुँदा नि ?’
‘घटीमा तीन हजार ।’
‘यो लिनोस्, छोरीलाई केही ख्वाउनोस् र ग्राहक खोज्नोस्’ यायावरले फेरि उही हजारको नोट तेर्स्यायो ।
निशाका नजरमा धप्धपी आगो बल्यो । उसको घायल स्वर गर्ज्यो, ‘मलाई भिखारी ठान्नु भा’ हो ? म सित्तीमा कसैको केही लिन्नँ भन्या अहिलेको अहिल्यै बिर्सनुभो ?’
‘सरी’, यायावरले हत्तपत्त आफ्नो मूर्खता सकार्यो । र, भन्यो— ‘ल, म तीन हजार दिने भएँ । ठाउँ कहाँ हो ?’
‘नजिकै छ । पुग्न त्यस्तै पन्ध्र मिनेट लाग्ला ।’
यायावर र निशा ठाउँतिर हाराहारी हिंडे ।
जाँदाजाँदै बाटोछेउको ‘शुद्ध दूधको मिठो चिया’को विज्ञापन यायावरका आँखामा पर्यो । ‘शुद्ध’ र ‘मिठो’ले लोभिएर उसको मुख रसायो ।
चिया पसलतिर लाग्दै यायावरले भन्यो, ‘एक कप चिया खाएर जाऔं है ।’
‘मेरा छोरी भोकै छन्’ निशाका ओठ यन्त्रवत् चले । तथापि भोकग्रस्त निशाका पाइला भने यायावरका पछि लागे ।
चिया पाक्न बेर लागेन ।
यायावरले क्रिम क्र्याकर बिस्कुट माग्यो । यायावर र निशा चिया–बिस्कुट खाँदै के थिए, भद्दा कोट लाएको एउटा भुँडे झ्याट्ट आइलाग्यो ।
‘यी मान्छे को हुन् ?’ बल्ड्याङ्ग्रे आँखाले यायावरलाई डस्दै भुँडेले सोध्यो ।
‘मेरी फुपूका छोरा’, निशाले कण्ठस्थ उत्तर दिई ।
‘साख्खै फुपूका छोरा होलान्, हैन के ?’ भुँडेको उपहासपूर्ण वचन निशाको अहम्को शिरमा बज्रियो ।
निशाका उदास नजर लामो सुस्केरासँगै शून्य आकाशमा बरालिए ।
भुँडे चिया खानपट्टि नलागी जताबाट आएको थियो लखरलखर त्यतै हिंड्यो ।
‘को हो यो ?’ यायावरले खुल्दुली प्रकट गर्यो ।
‘यो मेरो मालिक हो’, निशाले चिनाई । अनि चिया पसलेका कान छल्दै सानो स्वरमा भनी, ‘मेरो कोठा यसकै घरको भुइँतलामा छ ।’
‘मालिक त खुबै दयावान् जस्तो नि, कसो ?’
‘छ’ मुख बिगार्दै निशाले बयान गरी, ‘लोभको घैंटो हो यो घैंटे ।’
‘हँ ! लोभको घैंटो ?’
‘यो मलाई चुस्छ, सताउँछ र मेरो दु:खमा रमाउँछ ।’
‘कसरी ?’
‘यो मलाई दिउँसो मान्छे नले भन्छ ।’
‘अनि ?’
‘यो कोठाभाडा बाहेक दिउँसो पटकैपिच्छेको भाग माग्छ ।’
‘कति ?’
‘तीन सय ।’
‘मक्खीचुस रहेछ ।’
‘अनि मलाई ढाँट्न बाध्य पार्छ ।’
‘कसरी ?’
‘देख्ने र सोध्नेलाई मैले मेरो कोठामा आउने मान्छे मेरो यस्तो नातेदार, उस्तो नातेदार भन्नुपर्छ ।’
‘दुष्ट रहेछ ।’
‘यो दुष्ट मान्छे सँगै लिएर नआउनू, कोठाबाट सँगै ननिस्कनू भन्दै मलाई दिनदिनै टोक्छ ।’
बात मार्नलाई बात जति पनि थिए । तर यायावर र निशा दुवैलाई बात मार्न उतिसाह्रो जाँगर थिएन । भोका छोरीको दारुण दशाको सम्झनाले निशाको हृदयमा आँसुको भल बगिरहेको थियो । जे गर्न मन थिएन त्यही गर्न विवश हुनुपर्दा यायावर उद्विग्न मुद्रामा थियो ।
‘निर्वाह चलाउनलाई गर्न अरू पनि त इलम हुँदा हुन्’ यायावरले जिज्ञासा प्रकट गर्यो, ‘आखिर यस्तो बाटो किन रोज्नुभो ?’
यायावरको ‘यस्तो’मा टड्कारै घृणाभाव झल्क्यो । यायावरले ‘किन रोज्नुभो’ भनेको सुन्दा निशालाई झनक्क रिस उठ्यो । झीर जस्ता आँखाको तीरले यायावरका आँखा ताकेर क्रोधाग्निले जलेको स्वरमा उसले भनी, ‘कोही रहरले दुनियाँका नजरमा गिर्ने बाटोमा लाग्छ ?’
अलिबेरको मौनतापछि निशाले ‘यो बाटो’ लाग्नुको करुण कथा सुनाई । सानी छोरी पाठेघरमा थिई । निशाले लोग्ने अन्त–अन्त चर्न जान थालेको सुइँको पाई । ऊ राति मातेर अबेर आउँथ्यो । गति छाडेर बोल्थ्यो । कहिले त दोजिया जहानलाई झापट पनि दिन्थ्यो । अति भएपछि एक रात निशाले लोग्नेलाई दह्रो झापट दिई । खल्बलीले छिमेकीहरूलाई खिचेर ल्यायो । भएको जे हो, निशाले केही बाँकी नराखी सुनाई । लोग्ने अन्त–अन्त चर्न जान थालेको, रक्सीले मातेर आउने गरेको, गति छाडेर बोल्ने भएको, गालामा झापट हान्न थालेको….। रिसको झोंकमा निशाले छिमेकीहरूका मुखेन्जी लोग्नेलाई अर्को एक झापट दिई । छिमेकीहरूलाई मुख देखाउन नसकेर लोग्ने कुद्दै अँध्याराका पत्रभित्र हरायो ।
झापट, लाज र ग्लानिले लखेटिएको निशाको लोग्ने फर्केर आएन । एक दिन, दुई दिन, तीन दिन— कतिकति दिन बिते । सँगै बसेको, सँगै खाएको, सँगै सुतेको मान्छे कहाँ सजिलै बिर्सिइन्छ र ? निशाका सपनामा भगुवा लोग्ने आइरह्यो । कोही भन्थे— ऊ खाडीमा कतै छ रे ! कोही भन्थे— ऊ मलेशियामा कतै छ रे ! कोही भन्थे— ऊ छोरीहरूलाई सम्झेर क्वाँक्वाँ रुन्छ रे ! खालि ‘रे’का कुरा सुनिए, निशाको लोग्ने फर्केर आउँदै आएन । मास्टर थियो, केही न केही कमाउँथ्यो । लोग्ने पनि हरायो, उसको कमाइ पनि उसँगै हरायो । अब परिवारको सिङ्गो सगर निशाको निम्छरो शिरले एक्लै थाम्नुपर्ने भयो ।
निशाले पेटी व्यापार शुरु गरी । उसको सानो व्यापारमा ठूलो विविधता थियो । नाङ्ले पसलमा चुरोट र लाइटर त हुने नै भए । त्यहाँ सस्ता बिस्कुटका पुरिया र चकलेटका पोका पनि थिए । मौसम हेरी त्यहाँ कहिले बदाम हुन्थे । कहिले सुन्तला । कहिले आँप । कहिले केरा । कहिले आरुबखडा, कहिले भुइँकटहर । पेटी व्यापारले निशा आमा–छोरीको निर्वाह दुखम्–सुखम् चल्दैथियो । एक दिन नगर प्रहरीको जत्था हुरी भएर आयो । निशाले रुँदै र चिच्याउँदै दु:ख पुकारा गरी— ‘पुलिस दाइ ! म दुखियाको पसलमा हात नहाल । मेरा छोरी भोकै मर्छन् ।’ भष्मासुरको आदेश लिएर आएको प्रहरी जत्था न हो, ऊ किन बाँकी राख्थ्यो ? निशाको नाङ्ले पसल पलभरमै ध्वस्त भयो । चिजबिज सडकभरि छरपस्ट भए । नाङ्ले पसलसँगै निशाका आशा जले, कामना जले, सपना जले । र, उसको सिङ्गो संसारमै आगलागी भयो ।
निशाले प्लस टु छिचोलेकी थिई । अलि दिन उसले एउटा झुत्रे बोर्डिङमा पढाई । सँगसँगै बिहान–बेलुका हुनेखानेका जुठा भाँडा पनि माझी । तर त्यो कमाइले घर चलाउन एकछेउ पनि पुगेन । डेराभाडा, तीनोटा पेटलाई चारो, बोर्डिङमा छोरीको फिस, बोर्डिङका युनिफर्म, लुगाफाटा, दबाइमूलो, पानी–बिजुली, पाहुनापासा— खर्चै नाथे त कति कति !
अब निशाका अगाडि जीवनका बाटा केवल दुईवटा थिए । चिचिला छोरीहरूलाई कतै नदीमा हुत्याउनु र आफू पनि छोरीहरूसँगै डुबेर मर्नु । अथवा, छोरीहरूको पालन–पोषण गर्न आफूसँग जे छ, त्यो बेच्नु । निशाले मनमनै कुरा खेलाई— अबोध र अशक्त छोरीहरू उसका सपना, ममता, रगत, मासु र आँसुका सिर्जना हुन् । तिनको पनि जिउने हक छ । जन्म दिने आमाका काँधमा सन्तानलाई जोगाउने, बढाउने, पढाउने र आफ्नै जीवनको खोजीमा उडिजाने पखेटा लाइदिने कर्तव्य पनि त हुन्छ । अतिशय कष्टकर मानसिक द्वन्द्वपछि आमाको कर्तव्य पूरा गर्न निशा शरीर बेच्ने बाटोमा लाग्न विवश भई ।
‘अहो’ कति ममतामयी र त्यागी आमा !’ यायावरले मुक्तकण्ठले तारिफ गर्यो ।
निशा विना कुनै प्रतिक्रिया यायावरको हाराहारी सुमुसुमु हिंडिरही ।
कोठा नजिक आयो । निशा फटाफट अघि लागी । निशाको इशारामा यायावर सुस्त चालले पछि लाग्यो । आधा घण्टामा कर्म सकियो र यायावरले निशाका हातमा तीन हजार थमायो ।
यायावर कोठाबाट निस्केर बाटो लाग्यो । एकछिनपछि निस्केर निशाले उसलाई पछ्याई ।
ती दुई प्राणी अलिबेर चुपचाप हाराहारी हिंडे ।
‘तपाईंको दारुण दशा देख्दा मेरो हृदय साह्रै पग्लियो’ छुट्टिने बेलामा यायावरले भन्यो । ‘गाह्रो नमानी यो लिनोस् प्लिज’ उसले बक्सिस स्वरुप एक हजारको नोट निशातिर लम्कायो ।
एकाएक क्रोधले निशाको ब्रह्माण्ड धपधपी बल्यो । ‘मलाई कसैको दयाको पात्र बन्नु छैन’, दाह्रा किट्दै उसले भनी । ‘म भिखारी हुइनँ, म सित्तीमा कसैको केही लिन्नँ भनेर तपाईंलाई कतिचोटि भन्नुपर्ने हो ?’
नोट लम्काइरहेको यायावरको हात काम्यो । यायावरले केही भन्न नपाई निशाको झापट उसका गालामा चड्याम्म बज्रियो । कठोर झापटको उग्र धक्काले तीन हात पर हुत्तिंदै यायावर भूमिसात् भयो । आँखासामु उडेका तोरीका फूल अलप हुँदा यायावरका दृष्टिको पहुँचभित्र निशा कतै थिइनँ ।
प्रतिक्रिया 4