+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
Biratnagar won by 5 wickets
Won विराटनगर किंग्स 2025
135/5 (17.1)
Shares

मार्क्ससँग सोध्न मन लागेका अन्टसन्ट प्रश्न

मार्क्सका नाममा भइरहेका यस्तो अनौठा ठट्यौलीजन्य प्रयोगहरूले स्वयं मार्क्सलाई हँसीको पात्र बनाउनु बाहेक के गर्न सक्ला र ? कि कसो हो कमरेड मार्क्स !

झलक सुवेदी झलक सुवेदी
२०८२ मंसिर ७ गते ८:५१

एक

प्रश्न त मार्क्सलाई नै सोध्न मन थियो तर उनी बितेको पनि ७९ वर्षपछि मात्र यो धर्तीमा जन्मिन पुगेको मलाई त्यस्तो अवसर जुट्ने कुरै भएन । केही वर्ष पहिले प्रवीण खतिवडा र सुनिल पोखरेलले गुरुकुलमा मार्क्स फर्किए नामक नाटक प्रदर्शन गरेका थिए, घनश्याम भुसाल र कोमल भट्टराईहरूको पहलमा ।

सन्दर्भ थियो मार्क्सको दोस्रो जन्म शताब्दी मनाउने । नाटकमा सुनिल पोखरेल यमराजसँग एकदिन छुट्टी लिएर मर्त्यलोक फर्केका मार्क्सका रूपमा संवाद गरिरहेका देखिन्छन् । हवार्ड जिनले लेखेको ‘मार्क्स इन सोहो’ नाटकको नेपाली रूपान्तरण मार्क्स फर्किए मा जस्तै गरी मार्क्स यसो घुम्दैओर्दै कलंकीसम्म आए भने त त्यहीबेला सोधिहाल्नुहुन्थ्यो । तर नाटक र कथा बाहिर यस्तो हुनु सम्भव भएन ।

उनी बितेको १४२ वर्षपछि पनि उनका विचार र नामलाई लिएर किन विवाद भइरहन्छन्, मानिसहरूलाई उनी किन मन पर्छन् या किन घृणा गरिन्छन् भनेर सोध्ने मन थियो ।

मार्क्सको पाला साम्यवादको भूतले युरोपेली शक्तिहरूलाई तर्साइरहेको थियो । आज स्वयं मार्क्सको नाम र विचार अहिलेका विश्वभरका धनाढ्यहरू र हरेक प्रकारका दक्षिणपन्थीहरूलाई तर्साइरहेको छ । नेपाल मात्रै त्यस्तो देश हो जहाँ कम्युनिस्ट नाम गरेकै कतिपय शक्तिहरू पनि प्रगतिशील विचार र वर्गलाई तर्साइरहेका भेटिन्छन् ।

सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रको प्रस्तावनामा लेखिएकोे छ :

युरोपलाई एउटा भूतले तर्साइरहेको छ– साम्यवादको भूत । पुरानो युरोपका सबै शक्तिहरूले यो भूतलाई हटाउन पवित्र गठबन्धनमा प्रवेश गरेका छन् : पोप र जार, मेटरनिख र गुइजोट, फ्रान्सेली कट्टरपन्थीहरू र जर्मन प्रहरी–जासूसहरू ।

कुन छ त्यस्तो विपक्षी पार्टी जसलाई सत्तामा रहेका विरोधीहरूले साम्यवादी भनेर निन्दा नगरेको होस् ? कुन छ त्यस्तो विपक्षी जसले धेरै प्रगतिशील विपक्षी पार्टीहरूका साथै आफ्ना विरोधी प्रतिक्रियावादीहरूलाई कम्युनिस्ट भएको आरोप नलगाएको होस् ?

यस तथ्यबाट दुई कुरा निस्कन्छ –

१. साम्यवादलाई पहिले नै सबै युरोपेली शक्तिहरूले एउटा अलग शक्तिको रूपमा स्वीकार गरिसकेका छन् ।

२. समय आएको छ कि कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि खुलेआम आफ्नो विचार, आफ्नो उद्देश्य, आफ्नो प्रयासहरूबारे खुलस्त बताउनुपर्छ र साम्यवादको भूत सम्बन्धी यो बालकथाका ठाउँमा आफ्नो घोषणापत्र सार्वजनिक गर्नुपर्छ ।

१७७ वर्ष पहिले युरोपमा घुमिरहेको भूत अहिले पनि विश्व पूँजीवादको केन्द्र र पेरीफेरीमा घुमिरहेको छ । साम्राज्यवाद, एकाधिकार पूँजीपति वर्ग, विश्व बजारमा कब्जा जमाइरहेका बहुराष्ट्रिय नाफाखोर निगमहरू, पूँजीवादको केन्द्र होस् या पेरीफेरीका धनाढ्यहरू र तिनका राजनीतिक प्रतिनिधिहरू, राष्ट्रवादीहरू र धार्मिक कठमुल्लावादीहरू अलिकति सुधारवादी आफ्ना प्रतिपक्षीहरूलाई कम्युनिस्ट भएको आरोप लगाउँदै घृणायुक्त टिप्पणी र गाली गर्छन् ।

लेफ्ट र लिवरललाई देख्नै हुन्न कम्युनिस्ट भएको भन्दै हप्काउन खोज्छन् । यस्तो गाली खानेमा बाराक ओवामा पनि पर्छन् (जो अमेरिकी पूँजीवाद/साम्राज्यवादकै नरम भेषका कडा प्रतिनिधि हुन्) ।

राष्ट्रपति ट्रम्पले त कमला ह्यारिसलाई पनि कम्युनिस्ट भनेर गाली दिन्थे । जोन वाइडेन र उनको प्रशासन, वर्नी स्याण्डर्स या कुनै पनि खाले वामपन्थी झुकाव भएकाहरू या समाजवादी अथवा सामाजिक कल्याणका पक्षधरहरू अथवा जलवायु परिवर्तनलाई मानव जातिको पृथ्वीकै सृष्टिजन्य निरन्तरताका लागि जोखिम मान्नेहरू सबैलाई नवम्याककार्थियनहरू कम्युनिस्ट भएको भन्दै गाली गर्छन् । एलन मस्क विपक्षीहरूलाई कम्युनिस्ट भनेर घृणा गर्ने धनाढ्यहरूमा नम्बरी छन् ।

नामका पछाडि मार्क्सवादी, लेनिनवादी या माओवादी राखेर गरिएका सुल्टा–उल्टा व्यवहार हामी वर्षौंदेखि आफ्नै आँखाले देखि–भोगिरहेका छौं । मार्क्सका नाममा भइरहेका यस्तो अनौठा ठट्यौलीजन्य प्रयोगहरूले स्वयं मार्क्सलाई हँसीको पात्र बनाउनु बाहेक के गर्न सक्ला र ? कि कसो हो कमरेड मार्क्स ?

हालै न्युयोर्कका मेयर निर्वाचित भएका जोहरन ममदानीलाई गरिबहरूका पक्षमा या सार्वजनिक हितका पक्षमा लिएका अडानहरूका कारण कम्युनिस्ट भएको भन्दै खेदो खनियो । कतिपयले त रसियाली राष्ट्रपति पुटिनलाई पनि कम्युनिस्ट भनेर गाली दिएको देखिन्छ । र जसले यस्तो गाली दिन्छन् तिनका बौद्धिक प्रतिनिधिहरू चाहिं विश्वबाट मार्क्सवाद हारिसक्यो, साम्यवाद समाप्त भयो, अब मार्क्स पुरानो भयो पनि भनिरहन्छन् । समाप्त भयो भन्नेहरूले नै कसैलाई मार्क्सवादी या कम्युनिस्ट भएको भन्दै गाली गर्दा एउटा विरोधाभास देखिइहाल्छ ।

नेपाल चैं अझै पनि समाजवाद बिक्ने मलिलो भूमि हो । यहाँका नयाँ पुराना दलहरू समाजवादलाई आफ्नो ब्यानरमा राखेरै आफ्नो सान्दर्भिकता प्रमाणित गर्न खोज्छन् । केही राजतन्त्रको भूत लागेका या हिन्दुवादी राजनीतिको लुतो सल्केका कन्जर्भेटिभहरू मात्र छन्, जो कम्युनिस्ट या समाजवादीहरूको विरोध गर्दा राजनीतिक स्पेश बन्छ कि भनेर प्रयास गरिरहन्छन् ।

दुई

यहाँ दुईवटा सन्दर्भसँग साक्षात्कार भएकोले यो प्रसंग ल्याइएको हो । पहिलो, केही महिना पहिले कुनै काम परेर नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका बेला कुलपतिको कुर्सीमा बसिरहेका कवि भूपाल राईले आफ्नो संस्मरणात्मक कृति शब्द सायारेम पढ्न भनेर दिएका थिए ।

उनको अन्तस्करणमा चैं यो लेखन्तेले यसो पुस्तकबारे सार्वजनिक चर्चा गरिदेओस् भन्ने भाव लुकेको महसुस गरेको थिएँ । पुस्तक पढ्दै जाँदा एउटा निबन्ध भेटियो मार्क्सलाई लालसलाम गर्दाको त्यो साँझ शीर्षकको । यो शीर्षकले मलाई घोत्लिन बाध्य पारेको थियो ।

लेखकलाई जर्मन घुम्न जाने अवसर आउँछ । उनी जाने थाहा पाएपछि अध्येता भोगी चामलिङले भनेछन् : जर्मन गइसकेपछि कार्ल मार्क्स जन्मिएको ठाउँ नछुटाउनुहोला दाइ । त्यहाँ पुगेर केही सामग्रीहरू ल्याउनुपर्छ तपाईंले । र अर्को, पटक–पटक युरोप घुमिहिंड्ने काठमाडौंमा रहेका उनका आफन्तले पनि भनेछन् : तपाईं अवश्य पनि ट्रिय पुग्नुस् । त्यो ठाउँ लक्जेमवर्ग र जर्मनीको सिमानामै पर्छ । त्यहाँ पुगेपछि जस्तोसुकै मान्छे पनि एकपल्ट भावुक बन्नेछ ।

उनको कार्यक्रमको आयोजक आमन्त्रकहरूको घुम्ने–पुग्ने सूचीमा ट्रिय कतै थिएन । जर्मनमै रहेका एक जना प्रशंसकले उनलाई ट्रिय पुर्‍याउने जिम्मा लिएछन् । जर्मन घुम्दा कतै पनि कार्ल मार्क्सको मूर्ति नदेखेका लेखक छक्क पर्दै आफैंसँग गुम्फिंदै प्रश्न गर्छन् :

म त्यस महान् जर्मनीलाई सोध्न चाहन्छु के त्यतिकै लागि बर्लिनको पर्खाल ढलेको थियो ? के बर्लिनको पर्खालसँगै संसारका सारा वर्गीय पर्खालहरू ढलेका छन् ? के जर्मनीमा नै यस्तो हुनसकेको छ ?

मार्क्स जन्मेको घर भएको ठाउँ ट्रिय र उनको समाधि रहेको लन्डनको हाइगेट मसानघाट हरेक मार्क्सवादीले आध्यात्मिक प्रेरणा लिने ठाउँ हुन् । भुपाल राईले पनि यता फर्कनु अगाडि राति निकै अबेर गरेर ट्रिय पुगेको, अँध्यारो अँध्यारोमै मार्क्स जन्मे हुर्केको घरको साधारण पर्खाल र गेटमा स्पर्श गरेको, त्यहाँको एक चिम्टी माटो लिन पाउँदाको हर्ष उल्लेख गरेका छन् ।

र, राति पुगेकोले धीत मर्ने गरी त्यसको अवलोकन गर्न नपाएको पछुतो बोेकेर फर्केका छन् । र पनि उनले निष्कर्षमा आफ्नो भ्रमण सफल भएको भन्दै लेखेका छन् :

केही गल्ती भएको छैन, मैले ट्रिय टेकें । आखिर मार्क्स त एउटा खुल्ला म्युजियम हुन् । जताबाट जसरी पनि अध्ययन गर्न सकिहालिन्छ उनलाई । बरु राम्रो आज के भएको छ भने संसारभर व्याप्त एउटा विशाल वृक्षको मूल जरा स्पर्श गर्ने मौका पाएको छु मैले । नयाँ यो भएको छ कि एउटा विशाल समुद्रको स्रोतसम्म पुगेर फर्केको छु म ।

यो अनुच्छेदमा लेखकको मार्क्सप्रतिको अगाध श्रद्धा र आस्था व्यक्त भएको छ । कवि भूपाल किराँतीका निख्खर रैथाने स्वादका पहिचानप्रेरित कविता र त्यसमा प्रयुक्त भाषा र बिम्वहरूबाट प्रभावित भएको छु म । उनको वर्ग चेत र राष्ट्र चेत भरिएका आक्रामक कवितामा म मार्क्सेली स्वाद पाउँछु ।

तर नेपाली प्रगतिवादी साहित्यका धेरै ठूला अफिसियल र समालोचकहरू चैं यी कविलाई मार्क्सवादी मान्न फिटिक्कै तयार छैनन् भन्ने पनि मलाई थाहा छ । के सत्तारुढ या सरकारी मार्क्सवादीहरूको प्रभावमा परेर वर्ग चेतना गुमाएका अफिसियल प्रगतिवादीहरू भूपालको तलको पंक्ति जत्तिको पनि लेख्न सक्दैछन् ?

के बर्लिनको पर्खालसँगै संसारका सारा वर्गीय पर्खालहरू ढलेका छन् ?

यसो भनेर अफिसियल मार्क्सवादी कवि लेखकहरूले अफिसियल मार्क्सवादी दल र तिनका सदावहार नेताहरूलाई प्रश्न गर्न सकेका छन् ?

मेरो अर्को जिज्ञासा के रहन्छ भने भूपाल राई, भोगी चामलिङ, भूपालको घुमन्ते आफन्त र जर्मन बस्ने दीपकलाई मार्क्सका प्रति यतिका चासो किन छ ? मार्क्सले हाम्रो समयमा पनि १७७ वर्ष पहिलेकै साम्यवादी भूतले जस्तो विचारधारा, दर्शन या बौद्धिक राजनीतिक विमर्शलाई कसरी प्रभावित गरिरहन सकेका हुन् ?

समाजका प्राज्ञिक, बौद्धिक, राजनीतिक बहसलाई, समाजशास्त्र, राजनीतिशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, सांस्कृतिक अध्ययन, पुरातात्विक अध्ययन, कला, संगीत र सिनेमा लगायत हरेक विधामा मार्क्स अलग व्यक्तित्वका रूपमा कसरी टिकिरहेका, निर्देशित गरिरहेका, पढाइरहेका हुन् ?

तीन

दोस्रो चैं, (एकछिन ठट्टा गरौं कमरेड पार्थसँग) हालै नेपालका नयाँ पुराना कम्युनिस्ट पार्टीहरूका बीच तीव्र ध्रुवीकरण शुरु भएको छ । नयाँ नयाँ नामकरण सहित नयाँ–नयाँ नेताहरू देखापरेका छन् । कुन चैं अनलाइनमा त उनीहरूको वंशावली थर प्रवर गोत्रावली समेत प्रकाशित भएको थियो ।

नेपालको सन्दर्भमा अहिले ज–जसले कम्युनिस्ट पार्टीको नाम, झण्डा, मार्क्सवाद, लेनिनवाद र माओवादको व्यानरमा आफूलाई संगठित गरेका छन् तिनको परीक्षण यही वर्गीय अवधारणाका आधारमा गर्नु, गरिनुपर्छ । को–कोसँग उठ–बस गर्छन्, को–कोसँग चुनावी गठबन्धन गर्छन्, को–कोसँग सत्ता साझेदारी गर्छन् त्यसले उनीहरूको चरित्र निरुपण गर्न सहयोग गर्छ

मार्क्सकै नाममा भएका यी दलका गतिविधिले पनि मलाई यो लेख लेख्न प्रेरित गरेको हुनसक्छ । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, घनश्यामको वामपन्थी केन्द्र, विप्लवको माओवादी अनि अरू धेरै कम्युनिस्ट पार्टीहरू हुनुले के देखाउँछ भने अझै पनि नेपालको राजनीतिक वृत्तमा सबैभन्दा प्रचलित शब्द र दल कम्युनिस्टकै छन् । मार्क्सकै अनुयायी दाबी गर्नेहरूका छन् ।

कतिसम्म भने मार्क्सवाद माओवादलाई वासी विचार भन्दै माओवादी केन्द्रबाट निस्केका बाबुराम भट्टराईले समेत आफ्नो दलको नामको पछाडि समाजवादी राखेका छन् ।

मार्क्स हामीकहाँ किन पपुलर छन् ? यी कम्युनिस्ट दलहरू एउटाले अर्कोलाई नक्कली मार्क्सवादी भन्दै आफूलाई सक्कली देखाउने होडमा किन लागेका छन् ? हाम्रो राजनीतिक वृत्त र सार्वजनिक बौद्धिक बहसमा मार्क्स किन सर्वप्रिय छन् ?

यसमध्ये एउटा प्रसंग मलाई रमाइलो लागिरहेको छ । माओका नाममा सञ्चालित नेपाली युद्धका उपकमाण्डर मध्येका एकजना कमरेड जनार्दन शर्मा प्रभाकर ले हालै नयाँ न्वारान गरिएको प्रचण्ड नेतृत्वको पार्टीमा बस्न अस्वीकार गरेर बाहिर निस्के । कमरेड राम कार्की पार्थ पनि उनको साथसाथै बाहिरिए ।

बाहिरिनु अगाडि कमरेड प्रभाकरले भनेका थिए प्रचण्डले माओवादी विरासत, माओवाद छाडे त्यसैले म प्रचण्डसँगै जान सक्दिनँ । त्यसको केही दिनपछि त उनी गैरमार्क्सवादी समूहहरू रास्वपा या नयाँ शक्तिसँग सहकार्य र एकताका लागि ताउरमाउर गरिरहेका देखिए । अरू जोसँग पनि मिल्न सकिन्छ तर पुरानालाई हराउनुपर्छ भन्ने मूलमन्त्र जप्दै हिंडिरहेका ।

यस्तो देख्दा मलाई कास्कीकोटका एक जना कमरेडको याद आयो । कमरेड मैले चिन्दा एक जना इमानदार कम्युनिस्ट कार्यकर्ता थिए । घरमा एक मानो खानको बन्दोबस्त भएका उनले तत्कालीन नेकपा माले निर्माणका लागि आफ्नो समय, स्रोत र क्षमताको सक्दो प्रयोग गरेका थिए ।

कम्युनिस्ट आन्दोलनका शहीद कमरेड ऋषि देवकोटा आजादका एक जना सन्तानलाई पाले–पढाएका थिए । घर सेल्टर थियो । आफू आन्दोलनहरूमा सक्रियतापूर्वक सहभागी हुन्थे ।

२०४९ को स्थानीय निकायको निर्वाचनका समयमा उनलाई आफ्नो योग्यता र इतिहासको पार्टीले कदर नगरेको अनुभूति भएछ । एकदिन स्थानीय पत्रिकामा एउटा वक्तव्य आयो कमरेडले एमाले परित्याग गरेको समाचार सहित । म अहिले पनि सम्झन्छु, उनले एमाले त्याग्नु पर्नाको कारण मध्ये एउटा चैं एमालेले माओ विचारधारा छाडेको भन्ने पनि उल्लेख थियो ।

कुरा यहाँसम्म ठिकै थियो । माओ विचारधाराबाट दीक्षित कसैले माओ विचार नमान्ने पार्टीमा बस्दिन भन्नु स्वाभाविक पनि हुन्थ्यो । तर भोलिपल्ट अर्को समाचार आयो निज कमरेड नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको ।

अनि भने हामीलाई उदेक र हाँसो लाग्नु स्वाभाविक थियो : माओ विचारका पक्षमा उभिएर राजीनामा दिनेको रोजाइमा कांग्रेस कसरी पर्न गयो होला ? इतिहासले लखेट्दै लग्यो र ती कमरेड वामदेव–सीपीको माले हुँदै फेरि एमालेमै फर्किए, त्यो अलग कुरा हो ।

(म वहाँलाई दाइसरह सम्मानै गर्छु । यहाँ कास्कीकोटे कमरेडको विगत र तात्तातो रूपमा जनार्दनको व्यवहार मिल्न गएकोले मात्र जनार्दनको प्रसंग हालिएको हो, अन्यथा सबैजसो नेताका बोली र व्यवहार जनार्दनकै प्रतिरूप जस्ता छन् ।)

जनार्दन कमरेडले कुन राजनीतिक बाटो लिन्छन् त्यो उनको खुशीको कुरा हो । माओवाद मान्छन् कि गान्धीवादी बन्छन्, रविसँग मिल्छन् कि बाबुरामसँग त्यो पनि उनको रोजाइको कुरा हो । जहाँ गए पनि उनी लोकतन्त्रका पक्षमा, वामपन्थका पक्षमा उभिउन्, हाम्रो शुभकामना छ ।

तर एकातिर देखाएर अर्कोतिर कुद्ने तरिकाले राजनीतिक परिपक्वता देखाउँदैन । उनले शुरुमै त्यस्तो अपरिपक्वता देखाए, अनि हालसालै निकै हिमचिम गरिएका कमरेडहरू विप्लव सी र घनश्याम भुसाललाई पनि असमञ्जसमा धकेलिदिए (यहाँ विप्लव नामका पछि रहेको सी पनि एउटा हाँसोलाग्दो बिम्व हो ।

के भनेको हो यो कुन्नि ? विप्लव समूहका सबै कमरेडहरू आफ्नो नामका पछि सी थपेर लेख्छन् । यो सी आफूलाई असली साम्यवादी देखाउन लेखिएको हो भने पनि त्यो हास्यास्पद बचकाना नै हो । नामका पछाडि मार्क्सवादी, लेनिनवादी या माओवादी राखेर गरिएका सुल्टा–उल्टा व्यवहार हामी वर्षौंदेखि आफ्नै आँखाले देखि–भोगिरहेका छौं । मार्क्सका नाममा भइरहेका यस्तो अनौठा ठट्यौलीजन्य प्रयोगहरूले स्वयं मार्क्सलाई हँसीको पात्र बनाउनु बाहेक के गर्न सक्ला र ? कि कसो हो कमरेड मार्क्स ?

चार

मलाई यो पनि थाहा छ कि मेरो यो अपेक्षा पूरा हुन मुश्किल छ । यसरी आफैं भूतलाई पनि भूत लगाएर ब्युँझाउनुपर्ने अवस्था कसरी आयो होला त कमरेड मार्क्स ?

कम्युनिस्ट घोषणापत्रको सन् १८८३ मा प्रकशित जर्मन संस्करणको भूमिकामा, जुन मार्क्सको मृत्युपछि पहिलो पटक एंगेल्स एक्लैले लेखेका थिए, भनिएको छ : आर्थिक उत्पादन र त्यसबाट अनिवार्य रूपमा उत्पन्न हुने प्रत्येक ऐतिहासिक युगको सामाजिक संरचना, सोही युगको राजनीतिक तथा बौद्धिक इतिहासको आधारशिला हो; त्यसैले (भूमिको आदिम सामुदायिक स्वामित्व विघटन भएपछि) सम्पूर्ण इतिहास वर्ग–संघर्षहरूको इतिहास बनेको छ— शोषित र शोषक, अधीनस्थ र अधिपति वर्गहरू बीचका संघर्षहरूको इतिहास, जसले सामाजिक विकासका विभिन्न चरणहरूमा रूप परिवर्तन गर्दै आएको छ; यो संघर्ष अब यस्तो चरणमा पुगेको छ जहाँ शोषित र उत्पीडित वर्ग (प्रोलेटारियट) ले आफूलाई शोषण गर्ने र उत्पीडन गर्ने वर्ग (बुर्जुवा) बाट मुक्त गर्न, एकैसाथ सम्पूर्ण समाजलाई सधैंका लागि शोषण, उत्पीडन र वर्ग–संघर्षबाट मुक्त नगरी सम्भव छैन ।

एंगेल्सका उपरोक्त भनाइहरूले छर्लङ्गै पार्छन् कि वर्ग–संघर्षलाई बिर्सेका, वर्ग–संघर्षलाई आफ्नो मूल कार्यदिशा नबनाएका, उत्पीडित वर्ग (वर्गीय समाजमा सबै खाले उत्पीडनहरू वर्गीय उत्पीडनकै हिस्सा हुन् । लैंगिक, जातीय, क्षेत्रीय, सांस्कृतिक, रंगभेदी उत्पीडन र साम्राज्यवादी उपनिवेशवादी उत्पीडन पनि अन्तर्यमा वर्गीय उत्पीडनकै भिन्न रूपहरू हुन्) का पक्षमा आवाज नउठाउने, पूँजीवादी समाज व्यवस्थामा, बुर्जुवा राज्यसत्ता भएको समाजमा वर्चस्वशाली वर्गका पक्षमा काम गर्नेहरू समाजवादी या मार्क्सवादी होइनन् । वास्तवमा त्यसले आर्थिक उत्पादनको वर्तमान चरणको मार्क्सवादी विश्लेषणको सही प्रतिनिधित्व पनि गर्दैनन् । तिनीहरू प्रकारान्तरले बुर्जुवा सत्ताका सेवकहरू नै हुन् ।

नेपालको सन्दर्भमा अहिले ज–जसले कम्युनिस्ट पार्टीको नाम, झण्डा, मार्क्सवाद, लेनिनवाद र माओवादको व्यानरमा आफूलाई संगठित गरेका छन् तिनको परीक्षण यही वर्गीय अवधारणाका आधारमा गर्नु, गरिनुपर्छ । को–कोसँग उठ–बस गर्छन्, को–कोसँग चुनावी गठबन्धन गर्छन्, को–कोसँग सत्ता साझेदारी गर्छन् त्यसले उनीहरूको चरित्र निरुपण गर्न सहयोग गर्छ ।

राजावादीहरूसँग साँठगाँठ गर्नेहरू, महिलाको अधिकार खुम्च्याउने गरी नागरिकता ऐन बनाउन दबाब दिनेहरू, सांस्कृतिक अधिकार दिन आनाकानी गर्ने र अल्पसंख्यकमाथि बहुसंख्यक समूहका सांस्कृतिक वर्चस्व थोपर्नुलाई जायज ठहर्‍याउनेहरू कसै गरे पनि मार्क्सवादी हुन सक्दैनन् ।

त्यसैगरी सामाजिक क्रान्तिको वर्तमान चरणमा राष्ट्रिय पूँजी र पूँजीपति वर्गको रक्षा नगर्ने, दलाल पूँजीपति र दलाल पूँजीवादको पक्षपोषण गर्नेहरू मार्क्सवादी हुन सक्दैनन् । अनि पार्टीलाई अन्धभक्तहरूको व्यक्तिपूजक संस्थामा रूपान्तरण गर्नेहरू त कसैगरी मार्क्सका अनुयायी हुन सक्दैनन् ।

तर हाम्रा कतिपय कम्युनिस्ट पार्टीहरूलाई दक्षिणपन्थीहरूबाट, उदारवादीहरूबाट, जातिवादी र नश्लवादीहरूबाट छुट्याउन मुश्किल हुँदै गएको छ । यस्तो अवस्था देखेर (मार्क्स इन सोहोमा झैं) नयाँबानेश्वर, गोङ्गबु, कलंकी या वीरगञ्ज, सिमरा घुम्न निस्केका मार्क्सले के कस्तो टिप्पणी गर्दा हुन् ? हवार्ड जिन यता आएको भए कस्तो नाटक लेख्दा हुन् ? यस्ता प्रश्नले मलाई जिस्क्याइरहन्छन् ।

र, त्यस्तो प्रश्न त्यतिबेला बलियो भएर आउँछ जब कतिपय कम्युनिस्ट पार्टी र नेताहरू देशले यति गम्भीर अर्थ–राजनीतिक संकटको सामना गरिरहेको तथा यस्तो संकटको प्रति–क्रान्तिकारी र क्रान्तिकारी दुवै उपयोगको सम्भावना भएको बेला संकटलाई प्रति–क्रान्तिकारी समाधानतिर धकेल्न बल गरिरहेका देखिन्छन् ।

सडकबाट कमजोर जगमा बनेको परिस्थितिजन्य कारणले मात्र बलियो देखिएको सरकारलाई ढाल्ने धम्की दिने, जसले अहिलेको संकट निम्त्याएको थियो उनै संस्था र नेतृत्वलाई पुनर्स्थापित गर्न खोज्ने र निर्वाचन बिथोल्न खोज्नेहरू प्रकारान्तरले प्रतिक्रान्तिकै सेवकहरू हुन् ।

यो यस मानेमा पनि हो कि थप अस्थिरता र अन्योल, आन्दोलन र प्रदर्शन थेग्न सक्ने क्षमता अर्थतन्त्र र राज्यका संस्थाहरूले गुमाएका छन् । थप आर्थिक बर्बादी, थप अनिश्चय र भय सिर्जना गर्दैै त्यसको लाभ उठाउन खोज्नेहरू दक्षिणपन्थी अतिवादीहरू हुन् चाहे तिनीहरू कम्युनिस्ट पार्टीकै झण्डामुनि राजनीति गरिरहेका किन नहोउन् ! बदला र प्रतिक्रियाको राजनीति गर्नेहरू फाँसीवादीहरूले जस्तै समाजलाई आफू र अन्यमा ध्रुवीकृत गर्न चाहन्छन् (मार्क्सकै नाममा यस्तो कसरी सम्भव भयो त एंगेल्स कमरेड ?) ।

अचम्म यो छ मार्क्सकै नाममा राजनीति गर्नेहरूले कसैले पनि संकटमाथि क्रान्तिकारी हस्तक्षेपको नारा, कार्यक्रम र योजना अगाडि सारेको देखिन्न । यदि समाजलाई अहिलेको संकटबाट मुक्त गर्दै लोकतान्त्रिक मूल्यहरू सहित प्रगतिशील बाटोमा लैजाने हो भने, घोषणापत्रको प्रियम्बलमा भने जस्तो समय आएको छ कि नेपालका कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्नो विचार, आफ्नो उद्देश्य, आफ्नो प्रयासहरूबारे फेरि एकपटक खुलस्त बताउन् । समाजवादी क्रान्ति र निरपेक्ष लोकतन्त्र जस्ता अमूर्त अवधारणा र भुलभुलैयाका ठाउँमा गरिब उत्पीडित श्रमजीवी वर्गका पक्षमा, प्रगतिशील पूँजीवादको विकासको पक्षमा कार्यक्रमहरू ल्याउन्, स्पष्ट र सम्भाव्य विकल्पहरू अघि सारेर चुनावतिर जाउन् ।

मलाई यो पनि थाहा छ कि मेरो यो अपेक्षा पूरा हुन मुश्किल छ । यसरी आफैं भूतलाई पनि भूत लगाएर ब्युँझाउनुपर्ने अवस्था कसरी आयो होला त कमरेड मार्क्स ?

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?