७ मंसिर, काठमाडौं । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ बारास्थित किसान श्रेष्ठको घर पुगेर स्थानीय युवालाई नधम्काउन अनुरोध गरेका छन् ।
पीडित युवालाई लिएर उनी शनिबार पूर्वमन्त्री श्रेष्ठको घर पुगेका थिए । घरमा श्रेष्ठ भने थिएनन् ।
आफूले सो घरमा रहेकाहरुलाई नधम्काउने सन्देश श्रेष्ठलाई पुर्याइदिन भनेको गुरुङले बताए ।
श्रेष्ठको घरबाट बाहिरिएपछि सुदनले भने, ‘बारबार आएका थर्काउने गर्दो रहेछ । जेनजीहरुलाई यानतान गरेर यसोउसो गर्दो रहेछ । मेन्टल टर्चर दिन गएको रहेछ । त्यसकारण उहाँको घरमा यस्तो काम नगर्दिनुहोला भनेर रिक्वेस्ट गरेर उहाँका म्यासेन्जरहरुलाई पठाएको छु ।’ किसान श्रेष्ठसँग भने भेट नभएको उनले बताए ।
स्थानीय युवासँग द्वन्द्वको वातावरण नबनोस् भन्नका लागि श्रेष्ठको घर पुगेको सुदनको भनाइ छ । ‘द्वन्द्वको वातावरण नबनोस् भनेर,’ किसान श्रेष्ठको घर जानुको कारणबारे सुदनले भने, ‘भाइको सुरक्षाका लागि नै हामी वार्ता गर्न गएका थियौं ।’
सुदनसँगै रहेका एक युवकले आफू प्रहरीकै सामुन्ने कुटिएको भन्दै आफूले असुरक्षित महसुस गरिरहेको बताएका थिए । प्रहरीमाथि नै आशंका गर्दै उनले भने, ‘सुरक्षाको अलिकति पनि महसुस भइराखेको छैन । मलाई पुलिस प्रशासनसँग पनि विश्वास छैन । पुलिस प्रशासनकै अगाडि मलाई चार-पाँच जनाले पिट्यो ।’
कुटपिटमा कसको संलग्नता छ भनेर उनले खुलाएन् । तर, आफूलाई कुट्नेहरुलाई प्रहरीले नरोकेको उनले गुनासो गरे ।
जेनजीको नाममा भएको आतंक रोक्न किसान श्रेष्ठको माग
जेनजीको अगुवा दाबी गरिरहेका सुदन गुरुङ घरमै गएर धम्की दिएपछि कृष्णकुमार श्रेष्ठ(किसान)ले आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । जेनजी आन्दोलनका बेला जलाइएको घर पुनर्निर्माण भइरहेको बेला लुटपाट र गुन्डागर्दीको शैलीमा सुदन पुगेर कामदारलाई धम्क्याएको श्रेष्ठको आरोप छ ।
उनले लेखेका छन्, ‘म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपी आज ६ गते मेरो जितपुर सिमरा -४ औराहामा रहेको मेरो घरमा करिव विहान ११ वजे जेन जी को कथित नेता हुँ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाईएका घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदारलाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाको घोर भर्त्सना गर्दछु । यसरी जेन जीका नाममा भैरहेको आतंक रोकी शान्ती सुरक्षाको प्रत्याभूति गराइदिन नेपाल सरकार र स्थानीय सरकारलाई अनुरोधसमेत गर्दछु ।’
प्रतिक्रिया 4