+
+
Shares

पिंकी गुरुङ : यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी ‘आमा’

होटल व्यवसायतिर फर्केर पिंकीले प्रश्न उठाइन्- ‘गरि खाऊ’ भन्नुहुन्छ तपाईहरू मध्ये कस-कसले काम दिनुहुन्छ हात उठाउनुहोस् त ? तर कसैले पनि हात उठाएनन् ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ मंसिर ७ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पिंकी गुरुङले नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका हजारौंलाई माया र जिम्मेवारीसहित ‘मम्मी’ को रूपमा सम्बोधन गरिन्छ।
  • पिंकीले यौनिक अल्पसंख्यकका लागि आर्थिक साक्षरता, सीप प्रशिक्षण, सुरक्षा र मनोसमर्थन कार्यक्रम सञ्चालन गरी हजारौंको अभिभावक बनेकी छिन्।

नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा जब कोही नयाँ आउँछ, उसले पहिलो पटक खोज्ने नाम हुन्छ पिंकी गुरुङ । समुदायका हजारौं व्यक्तिले उनलाई ‘मम्मी’ भनेर बोलाउँछन् । यो सम्बोधन समुदायले उनलाई जिम्मेवारीसँगै दिएको माया हो ।

लमजुङको भूमिचोकमा जन्मिएकी पिंकीको तत्कालीन नाम ‘डोक बहादुर गुरुङ’ हो । उनी छ महिनाको हुँदा बुबाआमाले काठमाडौं ल्याएका थिए । एक वर्षको बीचमा उनका दुई दाजुहरू बितेपछि पुत्रवियोगको पीडा खप्न नसकेर बुबाआमाले गाउँ छाडेका थिए ।

नेपाल सेनाबाट सेवानिवृत्त भइसकेका उनका बुबा ‘ग्रिलेन्स बैंक’ हालको स्ट्यान्डर्ड चार्टर्डमा सुरक्षा गार्डको काम गर्थे । स्थिर परिवार, राजधानीको जीवन बीचको दैनिकीमा डोकभित्र भने एक फरक संसार हुर्कँदै थियो ।

८-९ वर्षको उमेरदेखि नै उनको हाउभाउ, बोलीचाली र प्रस्तुति फरक थियो । साथीहरूले ‘केटी जस्तो’ ‘छक्का’ भन्दै जिस्क्याउँथे । उनलाई आफू को हुँ भन्ने थाहा थिएन, तर आफू अरूभन्दा फरक छु भन्ने चाहिँ महसुस भइसकेको थियो ।

उमेर बढ्दै गएर किशोरावस्थामा पुग्दा आफूलाई चिन्नुभन्दा पहिले नै समाजले उनलाई ‘फरक’ ठहर गरिसकेको थियो । उनको तन पुरुषको भए पनि मन महिलाको थियो । त्यसैले उनले आफूलाई जति नै पुरुषको रूपमा प्रस्तुत गरे पनि कतै न कतै महिलाको हाउभाइ देखिहाल्थ्यो ।

साथीहरूले केटीजस्तो भनेर जिस्क्याउँछन् भन्ने डरले गर्दा उनी साथीहरूसँग बोल्न, खेल्न छोडेर आफूलाई एकान्तमा भुलाउन थाले । मन र तनको कुरा नमिल्दा उनलाई छटपटी हुन्थ्यो । भित्र–भित्रै ठूलो अन्तर्द्वन्द्व थियो । जसको असर उनको पढाइमा पनि देखा पर्न थाल्यो । यही कारणलेकक्षा ८ र ९ मा फेल भए ।

अरूभन्दा फकर किन छु, मलाई किन महिला भन्दा पुरुष नै मनपर्छ लगायतका प्रश्नले हरपल सलाइरहन्थ्यो । मानसिक तनावका कारण बारम्बार बेहोस हुने, ग्यास्ट्रिक, एसिडिटी र डिप्रेसन जस्ता स्वास्थ्य समस्या देखापर्‍यो ।

यस्ता समस्या बढ्दै गएपछि परिवारले उनलाई अस्पताल पुर्‍याए तर रिर्पोटमा केही समस्या पत्ता लागेन । त्यसको केही समयपछि फेरि उनी अस्पताल गए तर त्यहाँ मानसिक रोग विभागमा पठाइयो उनलाई लाग्थ्यो ‘मेरो त शारीरिक समस्या हो मानसिक विभागमा किन पठाएको होला ?’

समस्या बढ्दै गएर उनलाई रातभर निद्रा नलाग्ने, समय-समयमा बेहोस् हुने समस्या बढी भएपछि चिकित्सकले निद्रा लाग्ने औषधि दिए । सानै उमेरमा निद्रा लाग्ने औषधि खायो भने यो त जीवनभर खानुपर्छ भनेर एउटा साथीले सुनायो । त्यसैले एक हप्ता औषधि खाएर उनले छाडे ।

स्वास्थ्य समस्याकै कारण एसएलसीपछि दुई वर्ष पढाइ पनि छुट्यो । फेरि प्रमाणपत्र तह पढ्नका लागि उनी आरआर क्याम्पस भर्ना भए । त्यहाँ पढ्दै गर्दा उनले रत्नपार्कमा आफूजस्तै साथीहरू देखे । औषधि खान छाडेर ध्यान र विपश्यना शिविरमा गए ।

१० दिने विपश्यना शिविरले उनलाई आत्मनियन्त्रण र सकारात्मक सोच सिकायो २०५७–५८ तिरको समय थियो त्यो । रत्नपार्कमा यौनिक अल्पसङ्ख्यकहरू भेला हुन्थे । त्यहाँ पुग्दा पिंकीले पहिलो पटक आफूजस्तै मान्छेहरू भेटे । पीडा, भावना र अनुभव मिलेपछि उनमा आत्मविश्वास जाग्यो ।

त्यो बेला रत्नपार्कमै कुटपिट, ब्ल्याकमेल र हिंसा हुन्थ्यो । उनले त्यसविरुद्ध आवाज उठाउन थाले ।

ट्रान्स महिला र परिवारको स्वीकृति

२००६–२००७ तिर उनले हर्मोन थेरापी सुरु गरिन् । बिस्तारै कपाल लामो पारिन्, महिलाका लुगा लगाउन थालिन् र डोक बहादुर गुरुङ अब पिंकी गुरुङ भइन् । घरबाट पूरै केटी बनेर निस्कने पहिलो दिन खुट्टा लरबराए । तीन पटक ढोकासम्म आएर भित्रै फर्किइन् । चौथो पटकमा हिम्मत जुटाएर बाहिर निस्किइन् ।

‘मान्छेले कपालदेखि खुट्टाको नङसम्म नियाल्थे’ पिंकी सुनाउँछिन्, ‘तर मैले सोचेँ– जसले कुरा काट्छ, उसैको अगाडि हिँड्नुपर्छ, बानी पर्छ ।’

परिवारमा पनि विस्तारै पर्दै गयो । केटीकै रूपमा बस्दा, हिँड्दा परिवारले ठूलो आपत्ति जनाएन । बुबा केही चिन्तित देखिन्थे तर ‘तैंलै किन यस्तो केटीजस्तो लुगा लगाएको ?’ भनेर कहिल्यै सोधेनन् । परिवारले स्वीकारेपछि अब उनलाई समाजले के भन्छ भन्ने डर लाग्न छाड्यो ।खुलेर महिलाको रूपमा हिँड्न थालिन् ।

उनी पिंकी भएपछि पनि छोराले जस्तै परिवारमा आर्थिक भरथेग गर्थिन् । ‘आफ्नो खुट्टामा उभिएर परिवारलाई पाल्न सक्ने सन्तानलाई कसले न्याय नदेला ? त्यसैले पनि सायद परिवारबाट मलाई स्विकार गरियो’ उनी भन्छिन् ।

२००१ मा सुनिलबाबु पन्तको नेतृत्वमा स्थापना भएको ब्लू डायमण्ड सोसाइटीमा पिंकी संस्थापक सदस्य थिइन् । पछि लामो समय अध्यक्ष भइन् ।

..अनि आमा बनिन्

२००७–२००८ तिरैदेखि समुदायका साथीहरूले उनलाई ‘ममी’ भन्न थाले । कसले पहिलो पटक भन्यो भन्ने याद छैन, तर सबैको पीडा र समस्या पिंकीसँग जोडिन्थ्यो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका धेरै युवायुवतीको भरोसा बनिन् उनी । जसलाई समाजले अस्वीकार गर्‍यो, हेला गर्‍यो, परिवारले निकालिदियो र भावनात्मक चोटले छियाछिया बनायो तिनले पिंकीको काखमा गएर रुन पाए ।

स्याहार पाए, घर पाए, परिवार पाए । परिवारले निकालेका, बिरामी परेका, आत्महत्या प्रयास गरेका धेरैको उद्धार उनले गरिन् ।

नयाँ बसपार्क, गंगबुमा एक दिन प्रहरीले आठ जना यौनिक तथा लैंगिक अल्पसंख्यक युवतीलाई नियन्त्रणमा लियो । रेस्टुरेन्ट व्यवसायीहरूको उजुरी थियो ‘यहाँ यौनिक तथा लैंगिक अल्पसंख्यक आएर यौन श्रम गर्छन्, अनैतिकता बढ्यो, बन्द गर्नुपर्छ, यत्रो हातखुट्टा छ काम गरेर खानू नि’ भन्ने ।

प्रहरी चौकीमा राखिएका यौनकर्मीहरू एकातिर थिए ।उनीहरूलाई थप दवाब दिन करिब ५०–६० जना होटल व्यवसायीहरू भेला भएका थिए । पिंकी पनि उपस्थित थिइन् ।

त्यही भीडतिर फर्केर पिंकीले कडा प्रश्न उठाइन् । ‘गरि खानु पर्‍यो भन्नुहुन्छ, तर तपाईंहरूले नै काम दिन मान्नुहुन्न । पढेलेखेका त छैनन् तर होटलमा भाँडा मोल्ने, झ्याल पुछ्ने, भुँइ पुछ्ने काम गर्न सक्छन् उनीहरूलाई तपाईँहरू मध्ये कस-कसले काम दिनुहुन्छ हात उठाउनुस् ?’

तर कसैले पनि काम दिन हात उठाएनन् । त्यसपछि पिंकीले भनिन् ‘तपाईंहरूले नै पालना नगर्ने सुझाव अरूलाई कसरी लागू गर्न भन्नु हुन्छ ?’

पिंकीले ती व्यवसायीलाई नैतिकताको भ्रम तोडेर देखाइन् । समस्या व्यक्ति होइन, अवसरको अभाव हो भनेर एकै प्रश्नले सिकाइदिइन् ।

‘हामीलाई मात्र नियम लागू हुने, अरू सबै होटलमा ‘अनैतिक’ गतिविधि चलिरहेकै छन् । बराबरी नियम लागू गर्नुस्, हामी पनि मान्छौँ’ उनले छलफलमा भनिन् । यसै क्षणबाट समुदायले उनलाई थप ‘आमा’को रूपमा हेर्न थालेको उनी सम्झिन्छिन् ।

पिंकीको ‘आमा’को भूमिका केवल आन्दोलनमै सीमित रहेन । जीवन मरणको घडीमा समेत उनी अगाडि उभिइन् । धनगढीकी अमिशा भण्डारी ट्रान्स महिला सम्बन्धी तनाव र अल्कोहोलको कारण विष सेवन गरेर भेन्टिलेटरमा पुगेकी थिइन् । उनी सम्झिन्छिन् ‘उसलाई भेन्टिलेटरमा राखेको थियो । एक दिनको २० हजार खर्च परिवारले तिर्न सकेन । साथीहरूले जिम्मा मलाई दिए ।’

त्यसपछि पिंकीले फेसबुकमार्फत सहयोग अभियान चलाइन् । ‘२० दिनमा तीन लाख पचास हजार जम्मा भयो । पिंकीको अनुरोधमा अस्पतालले ५० हजार छुट गरिदियो । त्यसपछि मात्र अमिशा ठिक भइन् । आज अमिशा स्वस्थ छिन्, बसुन्धारामा बस्छिन् । पिंकीलाई भेट्दा ‘मम्मी’ भनेर बोलाउँछिन् ।

त्यस्तै, चितवन माडीका ट्रान्स पुरुष अभि महतो तेस्रो चरणको क्यान्सरले थला परे । उनले पिंकीलाई म्यासेज पठाए- मम्मी, म बाँच्न चाहन्छु । मेरा लागि केही गरिदिनू। उसको त्यो पीडामा मलम लगाउने निर्णय पिंकीले गरिन् ।

उसको क्युआर कोड मागेर उनले आफ्नो फेसबुकमा पोस्ट गरिन् । तीन–चार लाख जुट्यो । आज पनि अभि बाँचिरहेका छन्, हाँसिरहेका छन् ।

पिंकीको अनुभवमा यौनकर्मीहरूको जीवन रुचि होइन, बाध्यता हो । मान्छे इज्जतका साथ बाँच्न चाहन्छ । आफ्नो अस्मिता सडकमा निलाम गरेर कोही बस्दैन । समाजको संकीर्ण सोचले धकेलेर धेरैलाई सडकमा ल्याएको हो ।

‘मेरो आत्मा र उनीहरूको आत्मा उस्तै हो । उनीहरूको दु:ख मेरो दु:ख हो’ पिंकी भन्छिन्, ‘जसले मलाई मम्मी भन्छ, उसको सुख–दु:खमा साथ दिनु मेरो कर्तव्य हो ।’

परिवार, पढाइ, रोजगारी सबैबाट टाढा परेर राजधानीमा आएको समुदायलाई उनी आर्थिक साक्षरता, सीप प्रशिक्षण, सुरक्षा र मनोसमर्थनका कार्यक्रममार्फत विकल्प खोजिदिन्छिन्।

पिंकी गुरुङ एक व्यक्ति मात्र होइनन्, एउटा आशा हुन्, जो आफैं पीडाबाट गुज्रिएर हजारौंको अभिभावक बनिन् । उनको कथाले सन्देश दिन्छ- जब समाजले ठाउँ दिँदैन, तब पनि माया र साहसले नयाँ परिवार बनाउन सकिन्छ र त्यो परिवारको नाम हुन्छ समुदाय ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?