News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी विद्रोहले नेपालको संसदीय पार्टीहरुलाई एकाएक पुराना बनाइदिएको छ र एमाले र कांग्रेसबीच सहकार्य समाप्त भएको छ।
- एमालेले काठमाडौंमा प्रदर्शन गरी कांग्रेसलाई संसद् पुनर्स्थापनाको मागमा आउन अपिल गरेको छ र आगामी महाधिवेशनमा ओलीलाई चुनौती दिने तयारी छ।
- माओवादी अध्यक्ष प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीका संयोजक भएका छन् र वामपन्थी ध्रुवीकरणमा विभिन्न नेताहरुले नयाँ शक्ति बनाउन प्रयास गरिरहेका छन्।
७ मंसिर, काठमाडौं । जेनजी विद्रोहको ठोस योगदान के हो भन्नेबारे नेपाली राजनीतिमा लामै व्याख्या, अनि भाष्यहरूको भिडन्त चलिरहने छ । अझ भन्ने हो २७ घण्टामा नेपालमा भएको भदौरे विद्रोह अनि उत्पातका बारेमा पछिसम्मै परिभाषा भइरहने छन् ।
अहिलेलाई यो विद्रोहले थपेको एउटा विशेषताबारे यहाँ चर्चा गरौं । जेनजी विद्रोहले नेपालको संसदीय अभ्यासमा क्रियाशील रहेका पार्टीहरुलाई एकाएक ‘पुराना’ बनाइदिएको छ । फागुनको चुनावमार्फत् ती पार्टीमध्ये कुन-कुन पार्टी बढ्ता सान्दर्भिक, अनि कम सान्दर्भिक भएर आउलान्, अहिल्यै भन्नु हतारो हुन्छ ।
अनलाइनखबरको यो ब्रिफिङमा हामी चलिआएका पार्टी र नेताहरुको यही अस्तित्व कायम राखिराख्ने प्रयासबारे एकमुष्ट जानकारी पेश गर्दैछौं ।
जेनजी विद्रोहअघि एक अर्कासँग कि त सहकार्य, कि त प्रतिष्पर्धामा रहेका पार्टी, अन्तर–पार्टी आदिका नेताहरु कसरी एकाएक तीव्र ध्रुवीकरणमा लागे, अनि त्यो ध्रुवीकरणको अन्तर्यमा केवल आफ्नो शक्ति र अस्तित्व जोगाउने ध्याउन्न मात्रै निहित थियो भन्नेबारे हामी यहाँ एकसरो दृश्य वर्णन गर्न गइरहेका छौं ।
हामीलाई प्रष्टै थाहा भइसक्यो– अब एमाले र कांग्रेस परस्पर सहकार्यमा छैनन् । मधेस सरकार गठनका क्रममा अघिल्लो साता त्यो छताछुल्ल नै भयो । अनि संसद् पुनर्स्थापनाको मागमा कांग्रेसलाई डोहोर्याउने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयासले अब काम गर्नेवाला छैन ।
विद्रोहपछि सत्ताच्यूत ओलीले आफूलाई राष्ट्रियता र लोकतन्त्रको नारामा पुनः सान्दर्भिक गराउन खोजिरहेका छन् ।

शनिबार काठमाडौंमा भएको एमाले प्रदर्शन, जसका पछिल्तिर कुनै ठोस एजेन्डा थिएन । तैपनि एमालेले कार्यकर्ताहरुलाई अनिवार्य सहभागी हुने निर्देशन दिएको थियो । को-कति कार्यकर्ता कतिखेर आए, कहाँ हाजिर गरे भन्ने लगत समेत पार्टी संगठनहरुले राखेका थिए ।
यही सभामार्फत् एमालेले कांग्रेसलाई संसद् पुनर्स्थापनाको मागमा आउन एमालेले अपिल समेत गरेको थियो ।
तर कांग्रेसभित्र यसपल्टको सबैभन्दा ठूलो बहस नै पछिल्लो डेढ वर्षयता एमालेसँग लतारिएको भन्नेबारेमा थियो । मतभेद चर्किँदै जाँदा कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर जानुअघि सुरु केन्द्रीय कार्यसमिति बैठक एक महिनासम्म अनिर्णित रहयो ।
त्यसै बीचमा देउवा सुविधासम्पन्न अस्पतालको उपचार पाएर फर्के । पार्टीभित्रका आठ भाइ र केही नेपो बेबीहरुको उत्प्रेरणासहित फेरि देश र कांग्रेस बनाउने ‘बाँकी कार्यभार’ पूरा गर्न उनी फर्केलान् कि भन्ने ‘त्रास’ पार्टी पंक्तिमा सुरु भयो ।
अझै देउवा देख्नुपर्ने हो, विशेष महाधिवेशन टार्ने हो भने महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगन थापाले चुनावै नलड्ने धम्की दिएको पनि सुन्न पाइयो ।
हिजो शनिबार बैठक टुंग्याउँदै कावा सभापति पूर्णबहादुर खड्काले दुई स्पष्ट सन्देश दिएका छन्– देउवा आफू सक्रिय राजनीतिमा फर्किने छैनन् । कांग्रेसभित्रको पुस्तान्तरण प्रक्रिया अब कुनै पनि बहानामा रोकिने छैन ।
जेनजी विद्रोहले शेखर कोइरालालाई पनि चर्को संस्थापन विरोधी कित्ताबाट मझदारमा ल्याइदिएको छ । उनी महामन्त्रीहरुसँग छलफल गर्ने सुरमा छन् ।

यससँगै कांग्रेसका औपचारिक निर्णयबाट संसद् पुनर्स्थापना भनाउने ओली प्रयास असफल भएको छ । एमालेलाई दल दर्ता गरी चुनावमा जानैपर्ने नैतिक दबाब यस निर्णयले थप सिर्जना गर्ने छ ।
एमाले यसै पनि चुनावबाट भाग्ने पार्टी होइन, यसका विगतले देखाउँछ । विवादास्पद व्यक्तिलाई भोलेन्टियरको अध्यक्ष बनाए पनि, वा उर्जा शिथिल गराएर कतिपय नेताहरुलाई पार्टीभित्र भित्र्याउँदै गरे पनि यसको एउटै उद्देश्य चुनावको तयारी नै हो ।
एमालेमा निर्विकल्प ठानिएका ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने घोषणा गर्दैगर्दा पृष्ठभागमा विद्या भण्डारी देखिन्छिन् । यसै मंसिरमा हुने एमाले महाधिवेशनमा यसको उत्कर्ष देखिने छ ।
अब माओवादीको कुरा, जसको कुरा नगरी नेपाली राजनीतिका ध्रुवीकरणहरुको बहस अघि नै बढ्दैन । माओवादी अध्यक्ष प्रचण्ड अहिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक भएका छन् । एमालेकालदेखि नै ‘म नेता हो, नेता’ भन्दै आएका माधव नेपालले यस विन्दुमा प्रचण्डको सर्वोच्चता विनाशर्त स्वीकारेका छन् ।
माओवादीले बाह्र समूहसँग एकताको नाममा नेपाली कम्युनिस्ट पार्टी बनाएको हो, जसमा एकीकृत समाजवादी र माओवादी राजनीतिक शक्ति हुन्, बाँकी चाहिँ संख्या ।
त्यसैले यो ध्रुवीकरण हुनुअघि नै पार्टी नेतृत्वबाट प्रचण्डलाई हटाउनुपर्छ भन्ने जनार्दन शर्मा यति बेला बाबुराम भट्टराईतर्फ छन् । नयाँ शक्ति बनाउन आफैं १० वर्षअघि अध्यक्ष बनेका बाबुरामले यसबीचमा दुर्गा सोबलाई अघि बढाउँदै नेसपा नयाँ शक्ति बनाएका थिए ।
अब आइतबारदेखि उनीहरु प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रलोपामा समाहित छन् । यो ध्रुवीकरणले विगतमा वामपन्थी राजनीति हुँदै रास्वपा पुगेका सन्तोष परियारलाई फेरि वामपन्थी बन्ने निर्णयमा पुर्याएको छ । उनी रास्वपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका छन् ।

यस ध्रुवीकरणमा घनश्याम भूसाल अलग छैनन् । जनार्दन शर्मा र विप्लवसँग वाम ध्रुवीकरण गर्ने तयारीमा रहेका उनलाई वामपन्थी केन्द्र बनाउने दबाब आइलागेको छ । भूसाल, शर्मा र विप्लव तीनैजना महत्वाकांक्षी रहे पनि रणनीति बनाउन तीनैजना चुकेजस्तो देखिन्छ ।
विप्लव माओवादी छाडेर नेकपामा एक दशकअघि नै गएका थिए । तर यसै बीचमा प्रचण्डले माओवादी झोला बिसाएको मौका पारेर त्यसलाई विप्लवले टपक्क टिप्न खोजेका छन् । उनीसँग विगतमा सहकार्यमा रहेका धर्मेन्द्र बास्तोला आदिले यसअघि नै आफ्नो बाटो समाइसके । भर्खरै विप्लवको पार्टी फुटाउने मध्येका एक चिरन पुन प्रचण्डसँग मिसिन पुगेका छन् । माओवादी फुटको शृंखला अझै केही समय चल्ने देखिन्छ ।
योसँगै लामो समय झलनाथ खनालसँग निकट वैचारिकतामा रहेका भूसाललाई बाँकी यात्रा अलग्गै तय गर्ने अवस्था उत्पन्न भएको छ ।
उता वाम एकता नहुन्जेल कतै लाग्दिन भनेर बसिरहेका वामदेव गौतमको किस्सा बेग्लै छ । उनी एमाले र माओवादीको दोधारमा थिए । कम्युनिस्ट एकता महाअभियानको संयोजक पनि बनेका थिए । तर ०५४ सालमा माधव नेपालसँग फुट्दा मालेकालीन तारा चिह्नबाट चुनाव लडेका वामदेव यति बेला त्यही तारा चिह्नमा फेरि खुसी भएर प्रचण्ड र माधवसँग मिल्न पुगेका छन् ।

पहिलेदेखि अस्तित्वमान् शक्तिहरुले चुनाव लड्ने रणनीतिसहित ध्रुवीकरण गर्दा रास्वपा लगायत शक्तिहरु पनि आफ्ना योजनामा देखिन थालेका छन् ।
उपसभापति स्वर्णिम वाग्लेले काठमाडौं मेयर बालेनको टिम लगायत विभिन्न जेनजी समूहसँग वार्ता चलाएका थिए । तर रास्वपा आफ्नै ताकतमा चुनावमा जाने तयारी गरिरहेको बुझिएको छ ।
नक्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट्न विभिन्न पार्टीका नेताहरु, तथा समूहका युवाहरु निरन्तर संवादरत रहेको बुझिएको छ । रविले नयाँ दल र समूहसँग मोर्चाबन्दी तथा गठबन्धन हुनसक्ने ढोका खुला गरेका छन् ।
रवि ठान्छन्– जेनजी विद्रोहमा ठूलो बलिदान भए पनि उपलब्धि संस्थागत नहुने खतरा छ । त्यसैले यो नेतृत्व शून्यतामा रास्वपाले ध्रुवीकरणको अगुवाई गर्ने उनको बुझाइ छ ।

बालेन समूहका नेता रवि, अनि रास्वपा नेतासँग संवादमा रहे पनि अहिलेसम्म ठोस नतिजा देखिएको छैन । तर चुनावको मिति नजिकिँदै जाँदा संवादले दिशा पाउने उनीहरुको बुझाई देखिन्छ ।
रास्वपासँग एकता वार्तामा रहेका कुलमान घिसिङले उज्यालो नेपाल पार्टी दर्ता गराइसकेका छन् । जेनजीसँगको उनको वार्ता प्रयासले पनि गति पाएको थिएन, तर देखिएका चिनिएका कतिपय अनुहार उज्यालो पार्टीमा सामेल छन् ।
जेनजी आन्दोलनमा जोडिएका खगेन्द्र सुनारले आइतबारमात्रै हाम्रो पार्टी नेपाल दर्ता गराएका छन् । अरु पन केही समूह स्थापित हुने क्रममा छन् ।
जेनजी आन्दोलनको केन्द्रमा रहेकी रक्षा बमले आफ्नो नेतृत्वमा जेनजी युथ फ्रन्ट घोषणा गर्दै प्रादेशिक इकाइ निर्माण गरिरहेकी छन् । सुदन गुरुङ, जेम्स कार्की, अनिल बानियाँ लगायतले आफ्नो शक्ति देखिनेगरी आउने भनिरहेका छन् । हालसम्म दल घोषणा भएको छैन ।

धरान मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी नामक दल निर्वाचन अयोगमा दर्ता गरेका छन् । दिनेश प्रसाई अध्यक्ष तथा बुद्ध एयरका सन्चालक वीरेन्द्र बहादुर बस्नेत सहितको गतिशील लोकतान्त्रिक पार्टीले आफ्ना गतिविधि थालिसकेको छ ।
क्षेत्रीय शक्तिहरु पनि ध्रुवीकरणकै बाटोमा
यो ध्रुवीकरणमा छुटाउने नमिल्ने शक्तिहरु हुन् पहिचान तथा क्षेत्रीयतावादी शक्तिहरु । नागरिक उन्मुक्ति पार्टीबाट सुरु गरौं ।
रेशम चौधरी र रन्जिता श्रेष्ठ चौधरी फुट्दा रेशमले जेनजी युवा कबिर सोबलाई अध्यक्ष बनाएर नाउपा नेपाल दर्ता गरे । विगतमा एमाले हुँदै संघीय समाजवादी पार्टी, समाजवादी फोरम, जसपा नेपाल, जसपा हुँदै अब अशोक राईको यात्राको नयाँ बिसौनी बन्न पुगेको छ उनै कबिर सोबको पार्टीमा ।
उनले रेशम र राष्ट्रिय मुक्ति पार्टी बनाउँदै राजनीति गरिरहेका राजेन्द्र महतोसँग मोर्चाबन्दी निर्णय गर्दा सहयात्री भने छुटेका छन् ।

विगतमा राईसँग एमाले, माले हुँदै संघीय समाजवादी पार्टीसम्म सँगै रहेका राजेन्द्र श्रेष्ठले अब राईको साथ छाडेका छन् । उनी प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा लागेका छन् ।
बाँकी सबै नामको चर्चा यहाँ सम्भव छैन । क्षेत्रीयतावादी पार्टीहरुमा शक्ति कम, संख्या बढी जो छन् ।
तर कुरा गरौं महन्थ ठाकुरको । मधेस आन्दोलनपछि लगातार ध्रुवीकरणको एउटा कुनामा उभिँदै आएका महन्थ ठाकुर अहिले पूरा अकर्मण्य बसेका छन् । लोसपा नेपालले चुनावकेन्द्रित ध्रुवीकरण चाहे पनि कदम चाल्न सकिरहेको छैन ।
विगतमा जनमत पार्टीसँग उतारचढावपूर्ण सम्बन्धमा रहेका उपेन्द्र यादव आफैं पनि मोर्चाबन्दी वा कुनै पनि खालको ध्रुवीकरणबारे सोचिरहेका छन् । अनि सीके राउतको समूह भर्खरै टुक्रिएर जनस्वराज पार्टी बने पनि आधिकारिकता नपाएपछि अब कतै ध्रुविकरणको कोसिसमा छ ।
प्रतिक्रिया 4