News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले कोशी नदी किनारमा एउटा व्यक्तिलाई एउटा खुट्टा पानीमा र अर्को खुट्टा बालुवामा टेक्दै हिँडिरहेको देख्दा तातो र चिसो एकै समयमा महसुस गरेको अनुभव सुनाइन ।
- २०८० सालमा शिल्पी थिएटरमा कुमार नगरकोटीको नाटक \'ट्रान्जिट\' प्रस्तुत भएको र लेखकले उहाँसँग भेटघाट गरी जीवन्त अनुभूति प्राप्त गरेको वर्णन गरेकी छिन् ।
त्यसमा पनि म उँहाको विधार्थी, भूत, प्रेत, आत्मा, अदृश्य चेतना र अलौकिक यर्थाथको कुरा त गर्नु नै पर्यो ।
कति हतार हो तिमीलाई
एकछिन पर्ख ।
कति घाट चहारी हिँड्छौ
अब घर फर्क ।
माथिका शब्दहरूले मलाई केही वर्ष अगाडिका सम्झनाहरू ताजा बनाउँदै छ । साझको समय, सुनकोशी र तामाकोशीको पानी मिसिँदै, दुई फरक स्वभावका नदी तर अन्ततः एउटै बगाइमा । डुब्न आतुर रंगिन घाम क्षितिजतिर हराउँदै, नदी भने आफ्नै शान्त तालमा बगिरहेको, चिसो बतासले झोलुङ्गे पुलका तारहरू हल्का सर्सर हल्लाइरहेको, झोलुङ्गे पुल हल्लिँदा मन पनि सिरिङ्ग हुने सम्झँदा पनि सबै यथास्थान फर्किन्छ ।
स्कुल सकिएपछि मेरो दैनिक काम माछा मार्ने डोरी तान्ने हुन्थ्यो । झोलुङ्गे पुलमा उभिँदा म सधैँ अलिकति डर, अलिकति आनन्द भने महसुस गर्थे । सोही समयमा मेरा आँखाले कोशी किनारको अनौठो दृश्य टिप्यो । म एकछिन त टोलाएँ, एउटा खुट्टा पानीमा र अर्को खुट्टा बालुवामा टेक्दै एउटा मान्छे हिँडिरहेको थियो । अलि नजिक आएर हेरेँ, त्यो देखेर अच्चम लाग्यो ।
माछा मार्ने डोरी हतार-हतार फ्याकेर दौडिँदै कोशी किनारमा पुगेँ । ती व्यक्तिले जस्तै एउटा खुट्टा पानीमा र अर्को खुट्टा बालुवामा टेक्दै अलि परसम्म हिडें । मलाई तातो र चिसो मात्र महसुस भयो । बल्ल अहिले लेख्दै गर्दा याद आयो, घाम डुब्दै गर्दा बालुवा अलिअलि तातो र कोशीको पानी चिसो हुन्छ ।
उहाँले तातो र चिसोलाई एउटै समयमा महसुस गर्न त्यसो गर्नुभएको थियो होला सायद । साच्चै, त्यो समयमा शून्यता र अनुभूतिको सन्तुलन खोज्ने आत्माको दृश्य थियो । अझै पनि मैले बुझ्न सकिन तातो र चिसोको सम्बन्ध के थियो, संवेदना वा शून्यता । त्यो त कुमार नगरकोटीलाई नै थाहा होला ।
हतार नगरी,
कोशी आफनै गतिमा बग्दै थियो
मृत आत्माका अधुरा प्रश्नले
नदीका छालहरू उम्लिँदै थिए
उत्तर बिनाका प्रश्न जसरी !
अलि टाढा कोशीको किनारमा,
कोही खाली खुट्टा हिँड्दै थियो,
एउटा खुट्टा पानीमा, अर्को बालुवामा ।
उसको चाल शान्त थियो, अनुहारमा कुनै भाव थिएन ।
मैले सोचें- किन त्यसो गरेको होला ?
कौतूहलले तान्यो,
डोरी फ्याँकेँ, दौडँदै किनारमा पुगेँ ।
र
म पनि उस्तै गरी उभिएँ
एक खुट्टा पानीमा, अर्को बालुवामा ।
पानी चिसो थियो, बालुवा तातो
दुई विपरीत अनुभूति एउटै क्षणमा
जीवन र मृत्युको, संवेदना र शून्यताको,
तातोपन र चिसोपनको बीचमा ।
म ठिङ्ग उभिएँ फर्केर हेरेँ,
पानीले पैतालाका डोबहरू पखालेको थियो,
न कुनै डोब, न कुनै छाप ।
प्रायजसो बिहान टयूसन जाने अनि स्कुल छुट्टि हुनेबित्तिकै बाबासँग माछा मार्न । हाम्रो गाँउ सुनकोशी र तामाकोशी नजिकै थियो । कोशी नजिकै भएकाले माझी समुदायको बाहुल्यता धेरै थियो । मलाई अहिले पनि स्पष्ट सम्झना छ । गाउँमा अधिकांश घरमा बिजुली बत्ति थियो, रेडियो पनि ।
विशेषगरी कुमार सरको घरतिर पुग्दा रेडियोको आवाज टाढैबाट सुनिन्थ्यो । कहिले पुरानो गीत, कहिले समाचार । रेडियो नै हाम्रो सूचनाको घडी अनि बिहान ८ बजेको समाचार नै ट्युसन छुट्टिको संकेत थियो । सरको गहिरो ध्यान, रेडियोको आवाज र कक्षाको मौनताले अनुशासनको पाठ सिकाएको थियो । कुमार सरले ५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरूलाई पढाउनुहुन्थ्यो । सर गाउँकै राम्रो शिक्षकमा पर्नुहुन्थ्यो ।
केही महिनापछि फेरि, साँझ परेकाले चराचुरुङ्गी बास बस्ने तरखरमा थिए । सिमलको रुख जबरजस्ती हल्लिदै, भुइँमा पातहरू झर्दै थिए । तल कोशीबाट मेरा साथीहरू चिच्याउँदै थिए, ‘सुन्ते पारी सिमलको रुखमा जोगी बाबा छन् नजा है ! हल्का डर लागे पनि बिस्तारै गएर नजिकबाट जोगी बाबालाई पहिलो पटक देखें ।
मनमा हल्का डर भए पनि उत्सुकता भने थियो । सानैमा हजुरआमाले सुत्ने भए सुत नभए जोगी बोलादिन्छु अनि जोगीले लान्छ, काटेर खान्छ भनी डर देखाउनुहुन्थ्यो । पहेंलो टीका, पहेंलो लुगा अनि कति धेरै घाँटीमा मालाहरू र हातमा त्रिशुल हेर्दा नै डर लाग्ने, ठ्याकै हजुरआमाले भन्या जस्तो । तर जोगीसँगै कुमार सरलाई पनि देखें ।
उहाँहरू मस्त गफमा हुनुहुन्थ्यो । मनमनै सोचें सर त खत्रा, कस्तो जोगीसँग पनि डर नलाग्ने । जोगी बाबाले सरलाई घाँटीको माला झिकेर दिँदै थिए । कुमार सरको लामो दाह्री, ओभरसाइज टिर्सट अनि जोगी बाबाले दिएको माला ।
म डरले हतार-हतार डोरी फालेर साथीहरूसँग गएँ । अनि साथीहरूलाई सुनाउदै भोलिदेखि कुमार सरसँग ट्यूसन पढ्न नजाने भनेर सबैलाई फकाएँ । किनभने कुमार सर पनि अब जोगी हुनुभयो, जोगीबाबाले देको माला लगाउनुभएको छ भन्दै भोलिपल्ट हामीहरू ट्यूसन गएनौँ । घरमा गाली खाएपछि २-३ दिनपछि डराई-डराई गयौँ । तर, दाह्री र मालाले हामीहरूमा एउटा छुट्टै त्रास भने थियो । अहिले पनि सरको फोटो हेर्दा त्यही पलको याद आउँछ ।
मलाई याद भएसम्म कुमार सर अरू मान्छे भन्दा फरक, कम बोल्ने, साधारण तर रहस्यपूर्ण लाग्थो र अहिले पनि लाग्छ । उहाँले लेखेका लेख र सामाजिक सञ्जालमा आएका पोष्टहरू अझै पनि मलाई रहस्यमय नै लाग्छ । कहाँ जमेर बसेका थिए यति धेरै शब्दहरू, कसरी त्यति सहज तर धारिलो भाषामा जन्मिए होलान् ? मानौँ शब्दहरू कुनै साधारण कागजमा होइन, धेरै वर्ष कुहिरो र मौनता चिरेर बटुलेको अनुभवबाट उदाएका जस्ता तटस्थ, गम्भीर, अप्रत्याशित र शक्तिशाली ।
अहिले बुझ्दै छु,
पहेंलो टीका, पहेंलो लुगा
अनि घाँटीमा घुमेका मालाहरू
समर्पणमा डुबेको एउटा संसार
र
जोगी बा हुनुको रहस्य !
त्यसैले कुमार सर भन्नु हुन्छ,
म जुन ठाँउबाट आएँ,
त्यो ठाँउ मलाई मन पर्दैन ।
र,
कुन ठाउँतिर जाँदैछु,
त्यो ठाँउ पनि मलाई मनपर्ने छैन ।
त्यसैले,
जीवन स्थिर होइन, यात्रा मात्र हो ।
म कक्षा ७ मा पढ्दै गर्दा सरले गाएँ छोड्नुभयो । कहिलेकाँही चाडपर्वमा आउनुहुन्थ्यो । हामी साथीहरूमा हो-हल्ला हुन्थ्यो- कुमार सर आउनुभयो, राम्रो पढाउनुहुन्छ, गाउँ नै बसे हुने, तर उहाँ एक हप्ता बस्ने अनि फेरि काठमाडौं फर्किनुहुन्थ्यो । बाटोमा देख्दा पनि हामीहरू लुकेर हेर्थ्यौँ । एक साँझ फेरि मैले सरलाई देखें कोशीको किनारै-किनार खाली खुट्टाले हिँड्दै गरेको, पहिलेजस्तै ।
म पनि बाबासँग पछिपछि कोशीको किनारै-किनार गएँ । कोशीका छेउमा ठूला-ठूला ढुंगा थिए, मैले ती ढुंगामा कालो अंगारले नाम लेख्दै हिँड्दा, बाबाले गाली गर्दै मरेको मान्छे पोलेको अंगार हो त्यो किन छोएको भन्दै हातबाट फ्यालदिनुभयो । तर मलाई अच्चम लाग्यो कुमार सर त त्यही मसानघाटको ढुंगा नजिकै बस्नुभएको थियो एक्लै, चुपचाप तर गहिरो सोचमा । सरलाई देखेर म ढुंगा पछाडि लुकें । पछि मैले फर्कने बेला बाबालाई सोधें, ‘सर किन यस्तो मसानघाटमा एक्लै बस्नुभएको उहाँलाई डर लाग्दैन् ?’ बाबाले सामान्य तरिकाले भन्नुभयो- ठूलो मान्छेलाई डर लाग्दैन् ।
त्यसपछि गाउँमा मैले कहिले पनि कुमार सरलाई देखिनँ । मेरो हजुरआमा र कुमार सरको आमा साथीजस्तै हुनुहुन्थो । कहिलेकाँही सरको बारेमा कुराहरू सुनिरहेको हुन्थें । पछि काठमाडौं आएको धेरै वर्षपछि थाहा भयो- कुमार सर लेखक हुनुभयो भनेर त्यसपछि पुस्ताकलयहरूमा खोज्न थालें, कुमार नगरकोटी । लेखहरू पनि उहाँजस्तै अनौठो र रहस्यमय लाग्थ्यो ।
इमान्दारीपूर्वक भन्दा सुरु-सुरुमा त खासै बुझिनँ । पछि पढ्दै जाँदा बुझ्दै गएँ । सरको एउटा लेख थियो, ‘म चराजस्तो मान्छे, मेरो कुनै जात छैन ।’ यो लेख पढेपछि आत्मकथाको स्वर, संघर्ष र आत्मपहिचानको खोजका लागि आफैंलाई प्रश्न गरें र मेरा कथाहरू लेख्न थालें । समग्र दलित समुदायले भोगेका जातीय विभेद र दलित अधिकारका विषयमा अहिले पनि लेख्दैछु । त्यो एउटा वाक्यले मलाई पनि आत्मपहिचानको खोजका लेखहरू लेख्न प्रेरणा मिलेको थियो । त्यही प्रेरणाले गर्दा आज शब्दहरूले यो स्थान पाइरहेका छन् ।
२०८० सालतिर सामाजिक सञ्जाल स्क्रोल गरिरहेका बेला शिल्पी थिएटरको एउटा पोस्टले मेरो आँखा खिच्यो । ‘नाटककार कुमार नगरकोटीद्वारा लेखिएको ट्रान्जिट नाटक प्रस्तुत हुँदैछ ।’ लेखन त पहिले नै मन पर्थ्यो, तर यसपाली थिएटरमै नाटक हेर्न पाइने कुराले छुट्टै खुसी दियो ।
पोस्ट आएको केही दिनमै शिल्पी थिएटर पुगिसकेकी थिएँ । संयोगले त्यही दिन निर्देशक युवराज घिमिरे सर पनि त्यहाँ हुनुहुन्थ्यो । सरले मलाई देख्नेबित्तिकै मुस्कुराउँदै स्वागत गर्नुभयो । ‘सुनिता जी, आउनुस्, आज त कुमार सर पनि हुनुहुन्छ । चिनाइदिन्छु ।’
त्यो वाक्य सुन्नेबित्तिकै म एकछिन थामिएँ, कुमार नगरकोटी सर ! उही व्यक्ति, जसका लेखहरूले गर्दा मेरो आत्मपहिचानको पुनर्जन्म भएको थियो ।
सरले मलाई हेर्नुभयो, मैले नमस्कार गरे ।
नमस्कार फर्काउँदै, पहिलो प्रश्न आयो- घर कता हो ?
मैले घर, बाबाको नाम र ट्युसनको कुरा सम्झाएँ ।
ओहो ! त्यही त अब सम्झें, सरले हाँस्दै भन्नुभयो ।
उहाँलाई नजिकबाट हेरें । कालो दाह्री सेतो भएछ । घाँटीमा झुन्डिएको माला उही जोगी बाबाले दिएका जस्तै । कालो पहिरन र बोल्ने शैली पनि उस्तै । मेरा लागि त्यो समय केवल संयोग होइन, एउटा जीवन्त क्षण थियो । त्यो भेटमा संवाद भन्दा गहिरा थिए अनुभूति, पुरानो सम्झनाले नयाँ आत्मबल जगाइदिएको थियो ।
मेरा लागि यो एउटा रहस्यमय स्मृति हो । जसले हामीलाई संवेदना र शून्यता, जीवन र मृत्युको भौतिक अनुभूति झ्ल्काउँछ ।
प्रतिक्रिया 4