News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको प्रारम्भिक मस्यौदा तयार गरी सुझाव माग गरेको छ।
- मस्यौदामा मार्जिन कारोबारका लागि योग्य सेयर र ब्रोकरको योग्यता तोकिएको छ।
- ब्रोकरले ग्राहकको मार्जिन कारोबार विवरण छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
९ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको प्रारम्भिक मस्यौदा तयार गरेको छ । सो प्रारम्भिक मस्यौदापछि बोर्डले सम्बद्ध क्षेत्रबाट सुझाव माग गरेको छ ।
मस्यौदामा अपुग भएका र जरुरत भएका विषय सरोकारवाला तथा आम सर्वसाधारणले इमेलमार्फत पठाउन सक्नेछन् ।
प्रारम्भिक मस्यौदामा मार्जिन कारोबारका लागि योग्य सेयर, ब्रोकरको योग्यता तथा मार्जिन कल तथा सेयर बिक्री सम्बन्धी व्यवस्थाहरु तोकिएको छ ।
जसअनुसार मार्जिन कारोबारमार्फत सेयर किनिने कम्पनीको कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण हुनुपर्ने, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको हुनुपर्ने, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको हुनुपर्ने, सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था तोकिएको छ ।
त्यस्तै ब्रोकरका लागि पनि योग्यता तोकिएको छ । जसअनुसार चुक्ता पुँजी कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्नेछ ।
ब्रोकरले मार्जिन कारोबार सुविधा अन्र्तगत खरिद गरिएको सेयरको विवरण तथा मार्जिन रकमको विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्नेछ ।
प्रारम्भिक मार्जिनको रुपमा लिइएको सेयर र मार्जिन सुविधा अन्तर्गत खरिद भएको सेयरको मूल्यांकन दैनिक रुपमा मार्क्ड टु मार्केटको आधारमा गर्नुपर्नेछ । तर उक्त सेयरको मूल्यमा भएको वृद्धिको आधारमा थप सुविधा दिन पाइने छैन ।
ब्रोकरले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्नो सेयरधनी वा संचालकसँग असुरक्षित ऋण लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्नसक्ने मस्यौदामा उल्लेख छ । ब्रोकरले प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने उल्लेख छ ।
धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको २० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नसक्ने मस्यौदामा उल्लेख छ ।
मार्जिन कारोबार गर्ने लगानीकर्ताले ब्रोकरमा मार्जिन कारोबार हितग्राही खाता र मार्जिन कारोबार खाता खोल्नुपर्नेछ ।
प्रतिक्रिया 4