+
+
Shares
कांग्रेस नेता गुरु घिमिरेसँग वार्ता :

‘देउवाले कांग्रेसलाई फुटतिर धकेलिरहेका छन्’

नजरअन्दाज गर्ने रवैया निरन्तर जारी राख्नुभयो भने परिस्थितिले कुन मोड लिन्छ त्यो हामीले भन्न सक्दैनौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १२:१४

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले  विशेष महाधिवेशन गर्ने कि नियमित गर्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन । प्रतिनिधिसभा निर्वाचन अगावै  गर्ने कि, निर्वाचन पछाडि भन्नेमा  पनि विवाद छ ।

कांग्रेसको १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर बुझाएका थिए । विधानअनुसार माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनका लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।

महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा आगामी पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालाले आगामी पुस मसान्तसम्म नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । उनी हस्ताक्षरमार्फत् नभएर केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशनबारे निर्णय गर्नुपर्ने पक्षमा छन् ।

महाधिवेशनको विषयमा टुंगो लगाउन कांग्रेसले ११ मंसिरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । त्यसको अघिल्लो दिन विशेष महाधिवेशन पक्षधरले राष्ट्रिय सभा गृहमा ‘विशेष भेला’ बोलाएको छ ।

केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन बोलाइएको भेला र भेलाको एकदिनपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले गर्ने निर्णय के–के होलान् भन्नेमा यतिबेला चासो छ ।

कांग्रेसमा पछिल्लो समय चुलिएको विवादबारे विशेष महाधिवेशन पक्षधर नेता गुरूराज घिमिरेसँग विनोद घिमिरेले गरेको कुराकानी ।

नेपाली कांग्रेसमा महाधिवेशन, विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा लम्बेतान छलफल चलिरहेको छ । टुंगो कहिले लाग्छ ?

यो विषयमा रस्साकस्सी छ । पार्टीको नेतृत्वले, खासगरी शेरबहादुर देउवा नै भन्नुपर्‍यो अहिले । किनभने निर्वाचन आयोगमा हस्ताक्षर पठाएपछि त अन्तत: अल्टिमेट पावर शेरबहादुरमै रहेछ भन्ने बुझियो नि त्यसबाट । अस्ति कार्यवाहक दिएपछि फेरि उहाँले नै हस्ताक्षर बुझाउने निर्णय गर्‍यो भनेपछि त सबै कुरा उहाँमै निहित रहेछ भन्ने बुझियो ।

यसले झन् पेचिलो, झन् जटिल बनाएको देखिन्छ । र, नियमित महाधिवेशन कि विशेष भन्ने यो बहस अहिले जुन चलाइएको छ, यो पनि निरर्थक बहसजस्तो लाग्छ । हामीले विभिन्न समयमा बोल्दा, मलाई लाग्छ अस्ति ६ गते अगाडिसम्म पनि बोलेको कुरा के हो भने नियमितको कार्यतालिका ल्याएर नियमित गराइदिनुस् । १५औं महाधिवेशन गराइदिनुस्, विशेषलाई त्यसैले सम्बोधन गर्छ भनेर हामीले बारम्बार भन्दै आयौं । अस्ति ६ गते अगाडिसम्म पनि भन्यौं । उहाँहरू यो कुरा सुन्न पनि तयार हुनुभएन ।

आएको ५४ प्रतिशत हस्ताक्षरलाई बेवास्ता गरेको देखियो ?

बेवास्ता त गर्नुभयो, गर्नुभयो । नियमित १५औं महाधिवेशन गर्ने आफ्नो जिम्मेदारी पूरा गर्नेतर्फ पनि गम्भीर हुनु भएन । हामीलाई बेवास्ता गरे पनि अब महाधिवेशन चाहिँ गर्नुपर्छ भन्ने कुरामा गम्भीर भइदिएको भएत भइहाल्थ्यो ।

यसलाई कसरी लिनु भएको छ ?

समयको आवाजलाई, युगको आवाजलाई नेताले बुझ्न सक्नुपर्छ । समयको पदचापलाई, समयको आहटलाई रोकेर लिइएको अग्रसरता जुन थियो, केपी ओलीसँगको सरकारको सहयात्रा जुन थियो, जब २३ गते मुभमेन्ट भएर त्यत्रो ठूलो नरसंहार भएपछि हामीले बाटो बदल्नु पर्थ्यो ।

त्योबेलामै केपी शर्मासँगको यात्राको बाटो बदलेर हामीले आफूलाई करेक्सन गराउन सक्थ्यौं । तर, दुर्भाग्यको कुरा आजसम्म पनि उहाँहरूले केपी ओली प्रतिको आकर्षण अथवा सहकार्यको सम्भावनालाई जीवित राख्नु भएको छ ।

पहिलो कुरा– यो नेपाली कांग्रेसका लागि मात्र नभएर नेपालको लोकतान्त्रिक भविष्य र नेपाली कांग्रेसको भविष्यका लागि पनि प्रतित्युत्पादक बाटो हो ।

नम्बर दुई कुरा– उहाँ (सभापति) कार्यवाहक दिएर उपचारका लागि जानुभयो । नेपालको एउटा टावरिङ, डेमोक्रेटिक लिडरले अब सहज मार्गप्रशस्त गर्नुभयो, नेपाली कांग्रेस भनेको कम्युनिस्ट पार्टीहरू जस्तो होइन, प्रजातान्त्रिक पार्टीको आधारभूत चरित्र नै फरक हुन्छ भन्ने कुरा प्रदर्शन गर्नुभयो भन्ने कुरा सन्देशका रूपमा गयो ।

पार्टी चलाउनुस् भन्नु सक्रिय राजनीतिमा नफर्किने कुरा हो नि त्यो । त्यस्तो सन्देश, त्यस्तो आभास थियो नि त हिजो । तर, अब अहिले आएर निर्वाचन आयोगमा आफ्नै हस्ताक्षर पठाइसकेपछि के भयो भने फेरि एक प्रकारको पुरानै ठाउँमा, भदौ २२ गतेको ठाउँमा आफूलाई फर्काएको भन्ने बुझेका छन् पार्टीका साथीहरूले ।

यी सबै कुरा नाटकीय कुरा हुन् । तर, वास्तविक शक्ति शेरबहादुर देउवाकै हातमा छ भनेर बुझे अब पार्टीका साथीहरूले र आम हाम्रा शुभचिन्तकहरूले । यसले फेरि के हो भने हाम्रो कांग्रेसप्रतिको सहानुभूतिको जुन ग्राफ बढेको थियो, त्यो अब स्वाट्टै सुक्यो फेरि । जहाँको त्यहीँ पुग्यो । भदौ २२ अगाडि गएपछि त त्यहीँ पुग्ने भयो नि त ।

तपाईंले भन्नुभयो नि हस्ताक्षर बुझाएको भनेर, सभापतिलाई त्यो अधिकार छैन र ?

उहाँहरूमा हामी यत्ति काफी छौं भन्ने मनोविज्ञान देखिन्छ । यो नै विभाजनकारी मनोविज्ञान हो । उहाँहरूमा रहेको अहिलेको मनोविज्ञान जुन छ, यो विभाजनकारी र फुटपरस्त मनोविज्ञान हो ।

हैन, जसले पनि कार्यालयको जसको बुझाए पनि हुन्छ । कार्यवाहक सभापतिको बुझाए पनि हुन्छ, महामन्त्रीको बुझाए पनि हुन्छ । मुख्यसचिवको बुझाए पनि हुन्छ । पार्टीले निर्णय गरेर बुझाएपछि त्यो अफिसियल हुन्छ ।

कांग्रेसले हतार नगरेर परिपक्व निर्णय गर्दैछ भन्नेहरू पनि छन् नि ?

होइन । जस्तो कि ०७४ सालको निर्वाचनमा हामीले केन्द्रदेखि तलसम्म कसले कहाँ हस्ताक्षर गर्ने भनेर जिम्मेवारी बाँडफाँट गरेका थियौं । मैले ओखलढुंगाकोे मनोनयन पत्रमा हस्ताक्षर गरेको हुँ । पार्टी केन्द्रले निर्णय गरेर मनोनयन पत्रमा केन्द्रीय सदस्यको नाताले हस्ताक्षर गरेर ओखलढुंगा जिल्लाका सबैले मेरो हस्ताक्षरमा नोमिनेसन गरेका हुन् ।

अहिले त्यसभित्रको निहितार्थ बुझिन्छ के । निहितार्थ के हो भने बागडोर आफ्नै हातमा राख्ने । किनभने मल्टीपार्टी डेमोक्रेसीमा त चुनावको प्रतिस्पर्धा र परिणामलाई हेरिन्छ नि । त्यसले मापन गरिन्छ नि त । कति जना नेता छन्, उनले राखेका विचार कति महान छन् भन्ने कुराको अर्थ हुँदैन ।

कति सदस्यीय कार्यसमिति छ, कति जिल्लामा कार्यसमिति छन्, कति सदस्य त्यसले मापन गर्दैन । पार्टीको मापन गर्ने ठाउँ भनेको निर्वाचनको प्रतिस्पर्धा र परिणाम हो । कति जिल्लामा उम्मेदवार उठायो र कति जित्यो, कति प्रतिशत मत प्राप्त गर्‍यो त्यसले मापन गर्छ ।

भनेपछि यसको निहितार्थ के देखिन्छ भने पार्टीलाई पुरानै आधिपत्यमा कायम राख्ने भन्ने देखिन्छ । जसले जेसुकै भने पनि, जुनसुकै तर्क गरे पनि मूल कुरा यही हो ।

सभापति देउवा आफैंले चुनावको टिकट बाँड्ने कुरा पनि आएको छ । विशेष महाधिवेशन गर्न पनि उहाँले नमानेको भनेर तपाईंहरुले भनिरहनु भएको छ । नियमित पनि कहिले हुने हो ठेगान छैन । त्यस्तो स्थितिमा तपाईंहरूको अबको रणनीति के हुन्छ ?

अब कुरा के हो भन्नुहुन्छ भने नेपाली कांग्रेसजस्तो पार्टीले इतिहासको विभिन्न कालखण्डमा तुरुन्तै आफूलाई सम्हालेर आवश्यक कदम चालेको छ, आवश्यक निर्णय लिएको छ । चाहे त्यो ०१५ सालको निर्वाचन अघिको कुरा होस्, जनमत संग्रहमा विनाशर्त सामेल हुने कुरा होस्, चाहे ०४२ मा बमकाण्ड भएपछि तत्काल सत्याग्रह रोक्ने कुरा होस्, ०६२–०६३ को आन्दोलनमा माओवादीसँग १२ बुँदे समझदारी गर्ने कुरा होस् । इतिहासका हरेक कालखण्डमा, हरेक टर्निङ प्वाइन्ट जुन आएको छ, ती टर्निङ प्वाइन्टमा कांग्रेसले आफूलाई प्रस्ट रुपबाट उभ्याएको छ ।

अहिले मात्रै हो कांग्रेस अल्मलिएको । यसअघि कांग्रेस कहिले पनि अल्मलिएको छैन । अहिले आएर कांग्रेस अल्मलियो । एउटा गैरराजनीतिक, गैरदार्शनिक, गैरसंस्थागत, गैरसंगठित शक्तिले पनि सत्तामा उलटफेर ल्याउन सक्छ भन्ने विश्वलाई नै सन्देश दिने गरी जुन जेनजी मुभमेन्ट भयो, त्यसपछि नेपाली राजनीतिमा राणाकाल, पञ्चायतकाल, राजाकाल हैन, अब माओवादीलाई छोडेर माओवादीकालमा पनि त दूरदराजका संरचना उडाएको त हो लुकीछिपी ।

अब हाम्रा राष्ट्रिय सम्पदाहरू ध्वस्त पारेर बहालवाला प्रधानमन्त्री हेलिकप्टर चढेर भागेर, पूर्वप्रधानमन्त्री, सबैभन्दा ठूलो पार्टीको सभापति, विदेशमन्त्रीले कुटाई खाएर, कुनै अन्तर्राष्ट्रिय मानवधिकारवादी संस्था, कूटनीतिक नियोग कसैले पनि एक शब्द सहानुभूति व्यक्त नगरेर, राष्ट्रपति भवन जलेर, राष्ट्रपतिको निजी निवास जलेर, राष्ट्रिय सम्पदा जलेर सरकारी कार्यालय जलेको अवस्था छ । त्यो ‘न भुतो, न भविष्यति’ भन्ने छ नि, यत्रो घटनापछि पनि कांग्रेस अलमलमा बस्ने, डेढ महिनासम्म मिटिङ गर्ने कुरा आफैँमा अप्रत्याशित छ ।

अहिले पार्टीका साथीहरूले हस्ताक्षर गरेर विधानसम्मत बुझाएको विषयमा पनि के गर्ने त नभन्ने, विशेष महाधिवेशनको प्रस्ताव आयो भनेर छलफल पनि नगर्ने । केन्द्रीय समितिको एजेन्डा पनि नबनाउने । जबकी विशेष महाधिवेशनको प्रस्ताव आएपछि अरू सबै एजेन्डाहरू प्रतिबन्धित हुन्छन् । यो एजेन्डाले अग्राधिकार पाउँछ । यो एजेन्डामा छलफल नगर्ने ? विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरूलाई औपचारिक रुपबाट सम्बोधन गरेर कुराकानीको लागि बोलाउँदै नबोलाउने । हुँदाहुँदा सिंगापुरबाट आएपछि पार्टी सभापतिले यत्रो छलफल गरे । एउटा महामन्त्रीलाई भेट्दै नभेट्दै, कुरै नगर्ने ?

तपाईंहरुले सभापतिलाई भेट्नुभयो कि भएन ?

हामीलाई त अब धेरै भेट्न जाँगर पनि छैन । किनभने हामीलाई दोस्रोको दर्जाको व्यवहार गरिएको छ । भेट्न बोलाइएको भए के गर्थ्यौं ? अब दु:ख परेको छ, यत्रो घटना भएको छ, पार्टी पनि समस्यामा छ, भेट्थ्यौं होला, भेट्छौं पनि होला । तर, जुन किसिमको नजरिया हामीप्रति राख्नुभएको छ उहाँले, त्यो त एकदमै अकल्पनीय छ । धेरै दु:खद छ ।

अब हुँदाहुँदा भदौ २२ सम्म भोलि प्रधानमन्त्री बने बनुन् भनेर त्यत्रो सदासयता राखेका एउटा महामन्त्रीलाई भेट्ने अर्कोलाई नभेट्ने ? त्यो फुट ल्याउन, विभाजन ल्याउन र खेल्न खोज्या हो नि । हामीलाई बेवास्ता गरिदिने । बेवास्ताको परिणाम कति भयानक हुन्छ भन्ने उहाँले अनुमान पनि गर्नु भएको छैन होला । हिजो आफैं भोगेर पनि आउनु भएको हो । पार्टीबाट निकाल्दा कुन परिणाममा पार्टी पुग्यो ? यी सबै कुराहरु बडा सुझबुझपूर्ण ढंगले हुनुपर्थ्यो, भएका छैनन् ।

तपाईंले भन्नुभयो नि अब परिणाम भयानक हुन्छ भनेर । यो भन्न खोजेको के हो ?

बोलाउनु भएन भने हामी बस्छौं । बसेर अगाडिको उपयुक्त बाटो के हुन सक्छ साथीहरूको जुन परामर्श, सुझाव आइरहेको छ देशभरिबाट त्यसैको जगमा उभिएर हामी अगाडिको निर्णय लिन्छौं । हामी अल्मलिदैनौं, अगाडिको निर्णय लिन्छौं

सरोकारवाला पक्षका बीचमा कुराकानी भएन भने दूरी बढ्दै जान्छ नि, हैन ? समस्या समाधानको प्रारम्भिक पहल पनि संवादै हो । अन्तिम सूत्र पनि संवाद नै हो । विकल्पै छैन ।

हामीसँग संवाद गर्नुभएन, ल ठीक छ । महामन्त्रीज्यूहरूले आहवान गर्नुभयो । उहाँ त समाधान गर्ने ठाउँमा हुनुहुन्छ । एक प्रकारले केन्द्रीय समितिमा त संस्थापनै हो नि बाहिरबाट हेर्दा त । संस्थापन र इतर भनेको त हाम्रो प्राक्टिस न हो, जबकी विधानत: हेर्ने हो भने त्यो संस्थापनै हो । उहाँहरू र हाम्रो सहकार्य छ भन्ने कुरो त प्रस्ट नै छ ।

तर, कुरा के हो भने सरोकारवाला हामी हौं नि त । हामीले हस्ताक्षर बुझाएका छौं । हाम्रो हस्ताक्षरमा हामीले कलम चोभ्या छौं । अनि हामीलाई बाहिर राखेर समाधान निकाल्न हामीले मान्दिनुपर्ने त हुँदैन होला नि ।

यस्तो भयो भने हामी पनि त आफ्नो स्वाभिमान भएका, हामी पनि एउटा कन्भिक्सनले लागेका, हामीसँग चार दशकभन्दा बढी योगदान भएका मान्छेहरू छन् ठूलो संख्यामा, डेमोक्रेटिक मुभमेन्टका लागि, पार्टीका लागि, देशका लागि । भोलि कुनै विपद आइलाग्यो पार्टीमा भने त्यसको जिम्मेवारी कसले लिने ?

विपदको सम्भावना छ पार्टीमा ?

पार्टीको संस्थापनले जुन व्यवहार गरिराखेको छ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूलाई जुन व्यवहार गरिराखेको छ, जुन दुर्व्यवहार गरिराखेको छ, यसले आफैँ विपदलाई आमन्त्रण गरिराखेको छ । उसको व्यवहारले विपदलाई आमन्त्रण गरेको छ ।

पार्टीमा सभापति देउवाले पेल्दै जाने, पार्टीमा कहीँ भाउ नै नदिने, बेवास्ता गर्ने भयो भने तपाईंहरू के गर्नुहुन्छ ?

दिमागमा भोलि यो पार्टीलाई अनेकतामा लैजाने, विखण्डनमा लैजाने कुरा अहिले नभए पनि, अहिलेसम्म त्यो बाटोमा हिँड्ने कुनै पनि परिकल्पना नभए पनि, भोलि उहाँहरूले यसलाई सामान्यीकरण गर्ने, यसलाई केही पनि भएको छैनजस्तो गरेर नजरअन्दाज गर्ने रवैया निरन्तर जारी राख्नुभयो भने परिस्थितिले कुन मोड लिन्छ त्यो हामीले भन्न सक्दैनौं । र, यसको सम्पूर्ण जिम्मेवार उहाँहरू नै ठहरिनु हुन्छ, हामी ठहरिदैनौं।

जनताले बुझ्ने भाषामा भन्दा कांग्रेस विभाजन हुनसक्छ, विभाजन निम्ताउँदै हुनुहुन्छ देउवाले भन्न खोज्नुभएको हो तपाईंले ?

विभाजनका लागि मलजल गर्दै हुनुहुन्छ । उहाँहरूको अहिलेको मनोविज्ञान पढ्दा हामीलाई केही मान्छे कांग्रेस पार्टीमा चाहिएकै छैनन् भन्नेजस्तो देखिन्छ । यी मान्छेहरूले जता गए पनि हुन्छ, यी मान्छेहरू रहे पनि हुन्छ, नरहे पनि हुन्छ । हामी काफी हुन्छौं र पार्टीको प्राण गए पनि अस्थिपन्जर मात्रै काफी हुन्छ । केही थोत्रा–मोत्रा, केही काम नलाग्ने, बिग्रेका–भत्केका, पार्टीमा बसेर पार्टीलाई हानी पुर्‍याएका केही मान्छेहरूको सानो एउटा डबली, एउटा सानो जत्था भए हामीलाई पुग्छ ।

हामीलाई जीवन दिन सक्ने, प्राण दिन सक्ने, आफ्नो जीवन–जवानी गुमाएका होनाहार मान्छेहरू, जनताले मन पराएका, रुचाएका लोकप्रिय मान्छेहरू नभए पनि फरक पर्दैन । हामी यति काफी छौं भन्ने मनोविज्ञान देखिन्छ अहिले उहाँहरूको ।

यो नै विभाजनकारी मनोविज्ञान हो । उहाँहरूमा रहेको अहिलेको मनोविज्ञान जुन छ, यो विभाजनकारी र फुटपरस्त मनोविज्ञान हो ।

यस्तो स्थितिमा तपाईंहरू अलग लोकतान्त्रिक धार बनाएर जान तयार हुनुहुन्छ ?

हामी अहिले त्यो निष्कर्षमा हामी पुग्या छैनौं । मंसिर ११ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठक छ । ११ गतेले नै विशेष महाधिवेशनको निर्णय गरोस् भन्ने हामी चाहन्छौं । अब हामी नियमित गर्नुस् भन्ने कुरा त उठाउँदै उठाउँदैनौं ।

अब ११ गतेको बैठकले हाम्रो पार्टीको विधानको १७(२) अनुसार त्यसको पहिलो वाक्यांशले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा भनेर जुन भनिएको छ, विशेष महाधिवेशन बोलाउन सक्ने जुन व्यवस्था छ । त्यो व्यवस्था बमोजिम उहाँहरूले विशेष महाधिवेशन बोलाउनु हुन्छ कि हुन्न हामी त्यो पर्खिरहेका छौं ।

बोलाउनु भएन भने ?

बोलाउनु भएन भने हामी बस्छौं । बसेर अगाडिको उपयुक्त बाटो के हुन सक्छ साथीहरूको जुन परामर्श, सुझाव आइरहेको छ देशभरिबाट त्यसैको जगमा उभिएर हामी अगाडिको निर्णय लिन्छौं । हामी अल्मलिदैनौं, अगाडिको निर्णय लिन्छौं ।

अलग लोकतान्त्रिक धार बनाउने सुझाव आइरहेको छ ?

जे होस् अग्रगामी सुझावहरु नै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?