+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
५६ बलमा ८७ रन आवश्यक
लुम्बिनी लायन्स 2025
71/5 (10.4)
Shares

किन झुण्ड्याइयो बाछोको घाँटीमा गह्रौं काठ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगु गमगढीमा कलिलो बाछोलाई काँधेश्वरी नामक गह्रौं काठ झुण्ड्याएर जोत्ने तालिम दिइन्छ, जसले बाछोलाई हिँड्न गाह्रो बनाउँछ।

अभियन्ता आशिका तामाङले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियो अहिले भाइरल छ । भिडियोमा देखिन्छ, एउटा गाइको बाछोको घाँटीमा गह्रौं काठ झुण्ड्याइएको छ । आशिका सोध्छिन्, ‘यो के हो ? किन यसरी झुण्ड्याएको ? बिचरालाई कति गाह्रो भयो होला ?’

स्थानीय महिला जवाफमा भन्छिन्, ‘यहाँका मान्छेले यस्तै गर्छन् । बाछो दाउनका लागि हो।’ बेवारिसे छाडिएको जस्तो देखिने बाछो सहजतापूर्वक हिँडडुल गर्न समेत सकेको छैन । आशिकाको समूहले घाँटीबाट डोरी काटेर काठ निकालिदिएपछि बाछो उफ्रिदै दौडिन्छ । महिनौंदेखि त्यतिको बोझ बोक्नुपर्दा कति कष्ट भयो होला ? सहजै अनुमान गर्न सकिन्छ ।

यो दृश्य हो, मुगु सदरमुकाम गमगढीको । जुन छायाँनाथ रारा नगरपालिकामा पर्छ । त्यस क्षेत्रमा किसानहरूले यसलाई काँधेश्वरी भन्ने गर्छन् । यो भनेको गह्रौं काठको माला हो, जुन बाछोलाई जोत्नुअघि त्यसका लागि तयार पार्ने विधि हो ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामका अनुसार कलिलैमा बाछोलाई यसरी काँधेश्वरी झुण्ड्याउने गरिन्छ । ‘यसरी काँधमा भार बोकाइएपछि जोत्नका लागि सहज हुन्छ’ भाम भन्छन्, ‘नभए त जोत्न गाह्रो हुन्छ ।’ यसलाई उनीहरूको भाषामा दाउने भनिन्छ ।

कलिलो बाछोको घाँटीमा १० किलो हाराहारीको भार झुण्ड्याएर क्रुरतापूर्वक दिइने तालिम त्यहाँ सामान्य मानिन्छ । यसरी भार झुण्ड्याएपछि बाछाहरू मनलाग्दी हिँड्न सक्दैन । टुक्रुक्क बस्छन् । त्यसबेला बाछालाई पिट्नेसमेत गरिन्छ । ‘जति तालिम दिइयो पछि त्यति सजिलो हुन्छ’ भाम भन्छन्, ‘यहाँ खनजोत गर्ने ट्याक्टर छैन । त्यसैले बाछोलाई तालिम दिनुपर्छ ।’ यो परम्परागत तरिका अहिले पनि उत्तिकै व्यापक रहेको उनको भनाइ छ ।

यो पशुमाथिको क्रुरता र अमानवीय तरिका भएपनि तत्काल रोक्न सकिने अवस्था नरहेको भामले बताए ।

परम्पराको नाममा पशुमाथि हुने यस्तो ज्यादती रोक्नुपर्ने बताउँछिन्, प्रमदा शाह । एनिमल नेपालकी अध्यक्ष शाह भन्छिन्, ‘पशु भन्दैमा मान्छेले उसमाथि जथाभावी गर्दै जाने र त्यसलाई छुट दिँदै जाने हो भने यस्तो क्रुरता कहिल्यै अन्त्य हुँदैन ।’

‘पशुलाई जे गरे पनि हुन्छ’ पुरातन मानसिकता हटाउनका लागि जनचेतना र कानुन दुवै जरुरी रहेको उनको भनाइ छ । ‘तर, हामीकहाँ न त यस किसिमको जनचेतना जगाउने प्रभावकारी संयन्त्र छ’ उनी भन्छिन्, ‘न त यस्तो कृत्य रोक्ने कडा कानुन नै ।’ पशुमाथि हुने क्रुरता रोक्नका लागि ठोस कानुन नभएकाले समाजमा यस्ता कृत्य सामान्य बन्दै गएको उनी बताउँछिन् ।

पशुप्राणीलाई क्षमताभन्दा बढी काम लगाउनु, भारी बोकाउनु, दौडाउनु, जुधाउनु वा कुनै पनि हिसाबले सताउनु अपराध मानिन्छ । यद्यपि त्यस क्षेत्रमा यसलाई अपराध नभई परम्परागत तरिका मान्ने गरिएको छ । यसो हुनुमा जनचेतनाको अभावसँगै कृषिमा यान्त्रिकरण नहुनु नै मूख्य कारण रहेको छायाँनाथ रारा नगरपालिका प्रमुख भाम बताउँछन् । ‘खेती किसानी गर्नका लागि जोत्ने गोरु चाहिन्छ’ उनी भन्छन्, ‘जोत्ने गोरू बनाउनका लागि बाछोलाई त्यसरी तालिम दिनुपर्छ ।’

पशु अधिकारकर्मी प्रमदा शाहको बुझाइमा यस्तो क्रुरता कम गर्न क्रमशः कम गर्न पशु सेवा विभाग, पशु चिकित्सक, पशु प्राविधिकहरू जस्ता गाउँमा खटिएका व्यक्तिहरूमार्फत सकारात्मक तालिमबारे जानकारी फैलाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?