९ मंसिर, काठमाडौ । महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया सुरू भइरहँदा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
लामो वक्तव्य जारी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार बन्ने घोषणा गरेका हुन् ।
‘…११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु,’ पोखरेलले भनेका छन्, ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरीका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।’
नेतृत्वमा दाबी गरिरहँदा पोखरेलले आफ्नो पृष्ठभूमि र योगदान सम्झिएका छन् । ‘सामाजिक रूपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताएको छु । जेलनेल भोगेको छु, यातना सहेको छु,’ वक्तव्यमा भनिएको छ, ‘संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव छ ।’
पोखरेलले शक्तिमा नभएर सामूहिकतामा विश्वास गर्ने आधार प्रस्तुत गरेका छन् । ‘राष्ट्र, जनता र पार्टीलाई सदैव शीरमा राखेको छु । जीवनका उचारचढाबहरूमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन । यो नै मैले आर्जन गरेको नैतिक बल हो,’ उनको प्रतिबद्धता छ, ‘शक्तिमा होइन । विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु ।’
ओलीलाई विश्रामको प्रस्ताव
एमालेका संस्थापक नेता पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई भने अभिभावकीय भूमिकामा बस्न आग्रह गरेका छन् ।
‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ उनको प्रस्ताव छ, ‘अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।’
नेतृत्व हस्तान्तरणको प्रस्ताव गर्दै पोखरेलले ओलीलाई विगतका प्रतिबद्धता र भूमिका पनि सम्झाएका छन् ।
‘… पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनस्थापित गरिनु पर्दछ । नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्दछ,’ पोखरेलको बक्तव्यमा भनिएको छ । दुई कार्यकालको प्रस्ताव ओलीले नै सातौं महाधिवेशनमा प्रस्ताव गरेको र त्यस यताका महाधिवेशनहरूबाट अनुमोदन हुँदै आएको सम्झाएका छन् ।
सामूहिक निर्णय, लोकतान्त्रिक संस्कृति
एमाले अध्यक्षमा दाबी गरेका पोखरेलले पार्टी सञ्चालन गर्दा सामूहिक नेतृत्व, लोकतान्त्रिक संस्कृति र कार्यकर्ताको सम्मान हुने विश्वास दिलाएका छन् ।
‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु,’ पोखरेलले भनेका छन् ।
पार्टीको आन्तरिक लोकतन्त्र र संगठनात्मक सुदृढीकरणका निम्ति गर्नेुपर्ने कामको लामै विवरण उल्लेख गरेका छन् ।
‘राज्य, नेपाली समाजर पार्टीको लोकतान्त्रिकरण जबजको आधारभूत पक्ष हो । २१औं शताब्दीको खुला समाजमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने नीति हामीले अंगीकार गरेका छौं,’ वक्तव्यमा भनिएको छ, ‘पार्टीको सार्वभौमिकता पार्टी सदस्यहरूमा निहीत हुनुपर्दछ । नीति र नेतृत्व छनोटमा पार्टी सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्दछ ।’
पार्टीको वैचारिक पक्ष बलियो बनाउन र जनभावनाको सम्मान गर्ने व्यवस्था मिलाइने प्रतिबद्धता पनि गरेका छन् ।
‘महाधिवेशन पश्चात् पार्टी स्कूल विभाग र नीति अध्ययन प्रतिष्ठानको आयोजनामा देशव्यापी अन्तरक्रिया, छलफल, गोष्ठी आयोजना गर्ने, अन्तर्राष्ट्रिय अनुभवहरूको अध्ययन गर्ने, बौद्धिक तथा राजनीतिक व्यक्तिहरूसँग समेत छलफल र अन्तक्रिया गर्न हामी प्रतिबद्ध छौं,’ पोखरेलले भनेका छन् ।
जिम्मेवारीको बाँडफाँट र कार्यकर्ता मूल्यांकनको विधि पनि पारदर्शी हुने प्रतिबद्धता पोखरेलले गरेका छन् । ‘व्यक्तिको योग्यता अनुसार जिम्मेवारी, जिम्मेवारी अनुसार कार्यसम्पादन र कार्यसम्पादन अनुसार मूल्यांकन गरिने परिपाटी हुनुपर्छ,’ उनले भनेका छन्, ‘संसदीय फाँटका उम्मेदवारको छनोटमा पार्टी सदस्य र आम नागरिकको अभिमतलाई आधार मान्नु पर्दछ ।’
पार्टीका केन्द्रीय निकायहरू अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोगलाई महाधिवेशनप्रति जवाफदेही हुनेगरी स्वायत्तता दिइने विश्वास पनि उनले दिलाएका छन् । आन्तरिक प्रतिस्पर्धालाई सहज रूपमा लिने संस्कृतिको विकास गरिने उनको प्रतिबद्धता छ ।
‘प्रतिस्पर्धाको परिणामलाई सर्वस्वीकार्य गर्ने उच्चतम लोकतान्त्रिक संस्कार विकास गरिनु पर्दछ,’ पोखरेलको प्रस्ताव छ, ‘कमरेडली भावनाका साथ सहभागिता र सहकार्यको व्यवहार विकास गरिनु पर्दछ । निर्वाचनपछि पनि प्रतिस्पर्धीबीच सँगसँगै काम गर्ने संस्कृतिको विकास गरिनुपर्दछ ।’ पार्टीलाई थप समावेशी बनाउनेगरी विधान संशोधनको खाँचो औल्याइएको छ ।
सल्लाहकारहरूको सल्लाह लिने, थिङ्क ट्याङ मार्फत् वैचारिक काम गर्ने जस्ता प्रस्ताव पनि पोखरेलले राखेका छन् । उनले पार्टी र जनसंगठनहरुमा युवा पुस्ताका नेताहरूको सुनिश्चित गरिनुपर्ने प्रस्ताव पनि राखेका छन् ।
विद्या भण्डारीलाई साथ
केपी ओलीलाई अभिभावकीय भूमिकामा रहने प्रस्ताव गरेका पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भने पार्टी राजनीतिमा फर्कने बातावरण निर्माण गरिनुपर्ने तर्क गरेका छन् ।
‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ,’ उनले लेखेका छन्, ‘तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा गौरवको विषय हुने पनि पोखरेलले लेखेका छन् ।
‘चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4