९ मंसिर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलबार बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति थियो । नगरका मुख्य चोक र एअरपोर्ट क्षेत्रमा करिब ७०० बढी सुरक्षाकर्मी परिचालित थिए ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेता सुर्खेत आउने कार्यक्रम थियो । जसका कारण यसरी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
राष्ट्रिय युवा संघको युवा जागरण अभियानलाई सम्बोधन गर्न वीरेन्द्रनगर पुगेका एमाले नेता बस्नेतको कार्यक्रम बिथोल्न युवाहरूले नाराबाजी गरे ।
वीरेन्द्रनगर–८, स्थित जिल्ला समन्वय समितिको सभा हलमा एमालेको युवा जागरण कार्यक्रम चलिरहेको थियो । युवाहरूले विरोध प्रदर्शन गर्नसक्ने आकलन गरिएपछि प्रशासनले उच्च सुरक्षा घेरामा बस्नेतको कार्यक्रम राखेको थियो ।
जिल्ला समन्वय समितिको चारैतर्फ बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । सभा हलतिर प्रवेश गर्ने युवाहरूलाई सोधपुछ परेर मात्रै छिर्न दिइएको थिएन । सभा हलदेखि ३०० मिटर पूर्वतर्फ प्रदेश रङ्गशाला छ । रङ्गशालामा केही युवाहरू क्रिकेट खेलिरहेका थिए । एक हुल सुरक्षाकर्मीले रङ्गशालामा रहेका युवाहरूलाई समेत निगरानी गरिरहेका थिए ।
त्यस्तै घण्टाघर आसपासको सडकमा प्रहरीको बाक्लो तैनाथ थियो । त्यहाँ सर्वसाधारणलाई हिँडडुल गर्न समेत रोक लगाइएको थियो ।

जिल्ला समन्वयको सभा हल देखि ५०० मिटर अगाडि जेनजी समूहका युवाहरू बस्नेतको विरोधमा हातमा प्लेकार्ड लिएर उभिएका थिए । विरोध प्रदर्शनमा उत्रिएका तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । ‘शान्ति सुरक्षा खल्बलिने देखिएपछि प्रदर्शनमा रहेका तीन जना युवालई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी बुढथापाले भने ।
त्यसअघि बस्नेतको विरोधमा जेनजी समूहका युवाले वीरेन्द्रनगरको घण्टाघर क्षेत्रमा पनि प्रदर्शन गरेका थिए । युवाहरूले विरोध प्रदर्शन गरे पनि कार्यक्रम भने सम्पन्न भएको डीएसपी बुढथापाले बताए । ‘प्रदर्शनले कार्यक्रममा कुनै असर परेन । सभा हल भित्र शान्तिपूर्ण रूपमा कार्यक्रम भयो,’ उनले भने ।
युवा जागरण कार्यक्रमस्थलको सुरक्षार्थ डीएसपी बुढथापाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । राजधानी वीरेन्द्रनगरको सुरक्षार्थ नेपाल प्रहरीबाट ४००, सशस्त्र प्रहरीबाट २५० र अन्यबाट गरी ७०० बढी सुरक्षाकर्मी परिचालन गरिएको सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए ।

पछिल्लो समय एमाले नेता बस्नेत जाने कार्यक्रमहरूमा विरोध प्रदर्शन हुने र त्यसले उग्र रूप लिने गरेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको एसपी शाहीले बताए । ‘यस्ता विरोध प्रदर्शनमा हुलदङ्गा हुने र त्यसले ठूलो क्षति हुने गरेको अन्य जिल्लाहरूका थुप्रै उदाहरण छन्,’ एसपी शाहीले अनलाइनखबरसँग भने, ‘त्यसो हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाएको छ हो ।’
यसअघि पनि नेता बस्नेत लगायतका नेता सिमरामा पुग्दा जेनजी समूहसँग लफडा भएको थियो । स्थिति तनावपूर्ण बन्न थालेपछि स्थानीय प्रशासनले कर्फ्यु नै लगाउनु परेको थियो । त्यस्तो अवस्था आउन नदिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार बेलुका सुरक्षा निकायका प्रमुख र जेनजी युवाहरूसँग पनि छलफल गरेको थियो ।
छलफलका क्रममा युवाहरूले बस्नेतको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका थिए ।
एमाले नेता बस्नेत जहाँ पुगे पनि भदौ २३ र २४ को जेनजी आन्दोलनको चर्को विरोध गर्दै आएका छन् । बस्नेतको अभिव्यक्ति र कार्यशैली विरुद्ध प्रदर्शन गर्न बाध्य भएको जेनजी अगुवा सुवर्ण थापाले बताए ।
‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका हौँ । हाम्रो प्रदर्शन एमालेविरुद्ध नभई नितान्त महेश बस्नेतको गुण्डागर्दी र बेलगाम बोलीविरुद्ध हो,’ थापाले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया 4