News Summary
Generated by OK AI. Editorially reviewed.- हन्ना अरेन्टले क्रान्ति पछि सत्ता पाउँदा नैतिक कम्पास हराउने खतरा देखाइन् र क्रान्ति जित्न सजिलो तर आत्मा जोगाउन कठिन भनेकी थिइन्।
- नेपालमा प्रजापरिषद्ले राणा शासन फाल्न अभियान चलायो तर नेतृत्वभित्रको मतभेद र रणनीतिक अभावले लक्ष्य पूरा गर्न सकेन।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०७९ सालमा गठन भएर २१ सिट जित्दै नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्यो र भ्रष्टाचार विरुद्धको अभियान अघि बढाइरहेको छ।
हन्ना अरेन्ट, जो आफैं २०औं शताब्दीकी अद्वितीय विचारक थिइन् जसले राजनीतिक शक्ति, क्रान्ति र मानव स्वभावको गहिरो रहस्य अध्ययन गरिन् । कसरी मानिसले स्वतन्त्रता र आदर्शका लागि लडेपछि पनि सत्ता पाउँदा आफ्नो नैतिक कम्पास हराउँछ भनेर विभिन्न कालखण्डमा भएका घटनाबाट साबित गरिन्।
उनले चेतावनीपूर्ण शब्दमा भनेकी थिइन्– द मस्ट र्याडिकल रेभलुसनरी बिकम्स अ कन्जरभेटिभ द डे आफ्टर द रेभलुसन । अरेन्टले फ्रान्सेली क्रान्तिदेखि लिएर रूसी बोल्सेभिक क्रान्तिसम्मका इतिहासहरू अध्ययन गर्दा एउटै खतरा बारम्बार दोहोरिएको देखिन्ः क्रान्ति गर्नेहरू सत्ता हातमा पाउँदै जाँदा उनीहरूकै मूल्य, आदर्श र विद्रोहको भावना कठोर संरचनामा परिणत हुन्छ, र उनीहरू स्वयं परिवर्तनको बिहानीमा उठेका एउटा नयाँ ‘संरक्षणवादी’ शक्ति बन्छन्।
अरेन्टको शब्द कुनै एउटै घटना वा देशको सन्दर्भमा मात्र सीमित थिएन। त्यो उनको दीर्घ अध्ययन, विशेषतः टोटालिटेरियन शासन, क्रान्तिको मनोविज्ञान र सत्ता प्राप्त भएपछि मानिस कसरी बदलिन्छ भन्ने विश्लेषणबाट आएको गहिरो निष्कर्ष थियो।
अरेन्टको भनाइ त्यही मानवीय कमजोरीतर्फ इङ्गित थियो मानिसले स्वतन्त्रता, समानता र परिवर्तनका नाममा गरेको संघर्ष भनेको त्यो आदर्शलाई कायम राख्नभन्दा सत्ता सुरक्षित राख्ने प्रलोभनमा धेरै छिटो पराजित हुन्छ।
उनका लागि क्रान्तिको सबैभन्दा ठूलो परीक्षा भनेको सत्ता पाएपछि पनि आत्मालोचना, जनउत्तरदायित्व र परिवर्तनप्रतिको निष्ठा जोगाइरहन सक्ने क्षमता हो । यही कारणले उनले ती शब्दहरू भनेकी थिइन् क्रान्ति जित्नु सजिलो छ, तर क्रान्तिको आत्मा जोगाउनु सबैभन्दा कठिन राजनीतिक नैतिकता हो।
इतिहाससँग सधैं सिक्ने कुरा हुँदैन, थुप्रै नसिक्ने कुरा पनि इतिहासले दिएको हुन्छ । के नसिक्ने भन्ने सिक्न सक्नु नै ठूलो सिकाइ हो । यही चेतको आवश्यकता बीच नेपालका लागि एउटा समय थियो जब मुलुकमा कुनै राजनीतिक दलको नामोनिशान थिएन, प्रजातन्त्र भन्ने शब्दको उच्चारण पनि साहसको विषय मानिन्थ्यो, नागरिक शासनको कल्पना सपनाभन्दा टाढाको क्षितिज जस्तै देखिन्थ्यो। राजनीतिक संगठन, जनचेतना, संरचनागत प्रतिरोध यी कुरा समाजले चिन्न नसकेको समय थियो।
त्यही कठिन, साँघुरो र दमनकारी वातावरण बीच जन्मिएको दल थियो प्रजापरिषद् । सीमित स्रोत, कडा निगरानी र जीवनको जोखिम बीच पनि यसले अभियान चलायो।यस दलले आफ्नो क्षमताभित्र भएकै सबै साधन र ऊर्जा प्रयोग गर्यो सशक्त, सक्षम र प्रतिबद्ध व्यक्तिहरूलाई एकतामा बाँध्यो, भूमिगत जालो विस्तार गर्यो, जनचेतना जगाउन जोखिमपूर्ण अभियानहरू सञ्चालन गर्यो । तर यति धेरै साहस र समर्पण हुँदाहुँदै पनि प्रजापरिषद् आफ्नो लक्ष्यको अन्तिम नतिजासम्म पुग्न सकेन । यसको पछाडि धेरै तहका कारण थिए ।
पहिलो, नेतृत्वभित्रै व्यक्तिगत प्रतिस्पर्धा र संघर्षले संगठनको एकतालाई कमजोर पार्यो । तीर्थराज जोशीको विवेकी–विचारमूलक तर अलि सावधान शैली, धर्मभक्त माथेमाको किनारा नहेर्ने साहसिकता, दशरथ चन्दको तीक्ष्ण राजनीतिक सोच, गंगालालको भावनात्मक तर दृढ समर्पण, र शुक्लादास वैद्यको योजनामुखी तर केही हदसम्म आत्मकेन्द्रित झुकाव यी भिन्न–भिन्न स्वभाव र कार्यशैलीले रणनीतिमा एकरूपता ल्याउन नसक्दा संगठनभित्र सूक्ष्म तर प्रभावशाली तनाव सिर्जना भयो, जसले अन्ततः प्रजापरिषद्को सामूहिक बललाई कमजोर बनायो।
दोस्रो, प्रजापरिषद्को रणनीतिक दिशानिर्देशन स्पष्ट थिएन राणा शासन गलत छ र नागरिक शासन आउनुपर्छ भन्ने बुझाइ सबैसँग थियो, तर ‘कसरी’ भन्ने दीर्घकालीन योजना तयार गर्न नसक्नुको कारण नेतृत्वभित्रको मतभेद, अनुभवको कमी र संस्थागत तयारीको अभाव थियो।
तेस्रो, आन्दोलनलाई लामो समयसम्म बाँधेर राख्न सक्ने करिश्मा र ठूलो जनभावनालाई एकताबद्ध गर्ने नेताको अभावले अभियान कमजोर भयो, तीर्थराज जोशी, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल, शुक्लादास वैद्य आन्तरिक मतभेदले ग्रसित थिए, जसले लामो समयसम्म जनसहभागिता जुटाउन र अभियानलाई निरन्तरता दिन असमर्थ बनायो।
यी सबै कारणले गर्दा, राम्रो सोच, राम्रो अभियान र राम्रो मनसाय हुँदाहुँदै पनि प्रजापरिषद् इतिहासमा पहिलो बीउ रोप्ने दल भएर मात्र सीमित रह्यो फूल र फल ल्याउने यात्रा भने पछि आउनेहरूले पूरा गरे।
पछि २००४ सालतिर नेपाली कांग्रेस उदायो र स्पष्ट घोषणा गर्यो, राणा शासन फालेर लोकतन्त्र ल्याउन केवल अहिंसात्मक सत्याग्रह पर्याप्त छैन, प्रतिरोध र सशस्त्र उठान अनिवार्य छ; यही साहसिक रणनीतिक निर्णयले नेपालको लोकतान्त्रिक यात्रामा निर्णायक मोड ल्यायो।
२००७ सालमा दिल्ली सम्झौता हुँदै नेपालमा प्रजातन्त्र आयो । कहिले राजा नजिक, कहिले भूराजनैतिक रूपमा अस्थिर भएर टंकप्रसाद आचार्य जस्ता नेता प्रजापरिषद्मा हुँदा पनि, राम्रो सोच राख्दाराख्दै, सही रणनीतिक अभावका कारण प्रजापरिषद् सधैं पछाडि धकेलियो । तर कांग्रेस भने निडर रूपमा प्रजातन्त्रका लागि लडिरह्यो।
२००७ देखि २०१५ सालसम्म प्रजा–परिषद्को जे हालत भयो, आजको विवेकशील नेपाली दलभित्रका हाँगाबिंगाहरू पनि त्यस्तै मोडबाट गुज्रिरहेका छन् । उज्ज्वल थापाको नेतृत्वमा विवेकशील दल त्यस्तो समयमा जन्मियो जब नेपालमा माओवादी शान्ति प्रक्रियामा प्रवेश गरिसकेको थियो।
चुनावबाट माओवादी लगभग बहुमतकै नतिजा सहित उभिएको थियो संविधानसभाको प्रत्यक्षतर्फको २४० सिटमध्ये १२० सिट उनीहरू एक्लैले जितेका थिए । कांग्रेस र एमाले जस्ता शक्तिशाली दलहरू समेत त्यतिबेला ‘गरुडको अगाडि सर्प’ जस्तै अवस्थामा थिए।
यस्तै आक्रामक र उथलपुथल राजनीतिक परिवेशमा, साना तर अत्यन्तै प्रतिबद्ध र निर्भीक युवाहरूको अभियान टोली विवेकशील आयो । उज्ज्वल थापा, कर्मा तामाङ, गोविन्दनारायण जस्ता नेताहरू, जो स्वार्थभन्दा बढी सेवा र काममा विश्वास गर्थे, लो–प्रोफाइलमा बसेर निरन्तर योगदान दिन्थे, यस अभियानलाई अघि बढाउने मूल शक्ति बने।
उज्ज्वल थापामा धेरै प्रशंसनीय गुण थिए, तर विवेकशीलले पनि पछि त्यही गल्ती दोहोर्याउन थाल्यो जुन प्रजापरिषद्ले गर्यो मात्र सदस्य संख्या बढाउँदा पार्टी ठूलो हुन्छ भन्ने विश्वास।
रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीसँग पुरानो मताधार थिएन । केही महत्वाकांक्षी अगुवा, अनि केही सुपठित विज्ञ त थिए तर सिंगो संगठन हेर्दा क्षमता कम, आकांक्षा बढी भएका व्यक्तित्वहरूको मेला जस्तो लाग्थ्यो । अझ कतिपयलाई हेर्दा त साझा पार्टी सेवा क्षेत्र वा ब्यूरोक्रेसीमा थाकेका आत्माहरूको निरुपाय मिसावट जस्तो थियो।
उता राजनीतिक सिद्धान्तका ठूला–ठूला शब्दहरूमा खेलिरहनुभन्दा, विवेकशीलका अभियन्ताहरूले जनतामा गएर, विपद्को बेला सहयोग गरेर होस् या, सडकमा उभिएर सेवा गरेर राजनीति अर्कै तरिकाले पनि गर्न सकिन्छ भनेर देखाइरहेका थिए।
यही कारणले साझा पार्टीभित्रका केही चनाखा व्यक्तिहरूलाई लाग्यो विवेकशीलका युवा अभियन्ता, जो माओवादीको आक्रामक शासनकालमै पनि निडर भएर सडकमा उभिन्थे। त्यतिबेला नेपाल बन्द भइराख्थ्यो तर विवेकशीलहरू ‘नेपाल खुला छ’ नारा लिएर बालुवाटार अगाडि उभिने सहास राख्थे, विपद्मा खाना बाँड्ने, उद्धारमा खटिने त्यस्ता युवाहरूलाई देखेर उनीहरू प्रभावित भए।
उज्ज्वल थापाको सदाशय, सरलता र समर्पणले धेरै युवालाई प्रभावित गर्यो । कर्मा तामाङ, रञ्जु दर्शना, पुकार बम, विराजभक्त श्रेष्ठ एउटै मालामा उनिए । रञ्जुले त काठमाडौंका मतदाताको माया पाएर मेयरमा उल्लासपूर्ण मत पाइन्।
उनले चुनाव नजिते पनि काठमाडौंका मतदातालाई विकल्पको चुनाव चिह्नमा मत खसाल्ने लत लागिसकेको थियो । विवेकशील अभियानमा लाग्दै गर्दा रन्जु आफैं नेता बनिहाल्ने महत्वाकांक्षामा थिइनन्। तर उनी उज्ज्वलहरूको सरलता र संकल्पबाट प्रभावित नवयुवा थिइन् । आज बालेनको उदयका पछाडि रञ्जुले हिंडेका पाइलाहरूको पनि योगदान छ । त्यसरी काठमाडौं लगायत अन्य शहरहरूमा विवेकशीलको अभियान विस्तारै फैलिंदै थियो।
यति सम्भावना हुँदाहुँदै पनि विवेकशीलले आफ्नो स्पेस सुरक्षित राख्न सकेन । जनता विस्तारै विवेकशीलप्रति आश्वस्त हुँदैथिए, तर उज्ज्वल थापालाई आफ्नो क्षमता र सीमाको राम्ररी थाहा थियो ‘आज पार्टी बनाएँ, तीन वर्षमा चुनाव जितेर सत्तामा पुगिहाल्छु’ भन्ने भ्रम उनीसँग थिएन।
उनीसँग त्यो समयको विषाक्त राजनीतिक माहोलमा अर्को विष थप्ने चाहना पनि थिएन । केही मतदाता बदलिएलान् तर बहुसंख्यक मतदाता एकै दिनमा बदलिंदैनन् भन्ने विवेकशीलले बुझेको थियो । यसका लागि लामो धैर्य र थप संकल्प चाहिनेवाला थियो।
यति राम्रो मनोवृत्तिका साथ अघि बढ्दा–बढ्दै पनि विवेकशीलले आफ्नो आत्मा बचाउन सकेन । दुःखपूर्वक भन्नुपर्छ– सीमित क्षमता, अधिक महत्वाकांक्षा भएका व्यक्तिहरूको प्रभावमा परेर, विवेकशीलका केही नेताहरू पनि छिटो पद–प्रतिष्ठा प्राप्त गर्ने दौडतर्फ मोडिन थालेकै हुन्।
सोही समयमा दोस्रो संविधानसभाको चुनाव भयो, २०७४ सालतिर आइपुग्दा विवेकशीलमा यस्तो गिरावट आउन थाल्यो, जस्तै २००७ सालदेखि २०१५ सालसम्म प्रजापरिषद्ले भोगेको थियो।
जसरी राणा शासन फाल्ने अभियान लिएर हिंडेको प्रजापरिषद् बीचैमा हरायो, जसरी साना–साना सुधारको बाटो समातेको विवेकशील विस्तारै हरायो त्यसरी नै एकातिर स्वतन्त्र मेयर आए, अर्कोतिर रास्वपा आयो।
रवीन्द्र मिश्रले साहसपूर्वक मार्ग परिवर्तन गरे; उनी आफैं राज्य–शक्ति बन्न सक्थे तर आफ्नो शक्तिमाथि विश्वास गुमाएर राजतन्त्रतिर आकर्षित हुन थाले, यही परिस्थितिले नयाँ राजनीतिक शक्तिहरूलाई झन् भ्रमित बनायो । वैकल्पिकहरू स्वयंले विकल्प खोजिरहेको, तर जाने बाटो नपाइरहेको यही पृष्ठभूमिमा हामीले २०७९ सालमा रास्वपा निर्माण गर्यौं ।
देशमा सुशासनको गम्भीर अभाव थियो । भ्रष्टाचार चारैतिर फैलिएर गहिरो जरा गाडेको थियो । घूसखोरी र कमिशन विनाको काम नगर्ने प्रवृत्ति विकराल बन्दै गएको थियो । ‘हुनेखाने’ र ‘हुँदा खाने’ बीचको दूरी दिनानुदिन बढ्दै गएको थियो, र त्यही बेथितिले नागरिकहरूलाई नयाँ राजनीतिक विकल्प खोज्न र नयाँ बाटोतर्फ उन्मुख गराइरहेको थियो।
त्यही दूरी घटाइदिन्छौं भनेर वाचा गरेका कम्युनिस्टहरूले पनि आफ्नो वाचा पूरा गर्न सकेनन् । उनीहरूका वाचा असफल भए, कांग्रेसको बोली पहिलेभन्दा पनि कमजोर हुँदैथियो । सिद्धान्तहीन गठबन्धनहरूको शृंखलाले नागरिकमा असन्तुष्टि बढायो, र यही असन्तुष्टिको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन्मियो।
हामीले छिट्टै पार्टी निर्माण गर्यौं र संसद्मा २१ सिट लिएर देखायौं जुन सिट संख्या विवेकशीलले आफैं कहिल्यै लिन सकेको थिएन । चाहे प्रजापरिषद्ले गरेका गल्तीका बीचमा कांग्रेसको उदय सम्झाउने सन्दर्भ होस् वा विवेकशीलको गल्तीका बीचमा रास्वपाको उदय सम्झाउने दुवै सन्दर्भमा समानता स्पष्ट देखिन्छ।
हुनत जर्मन दार्शनिक हेगेलको भनाइ छ– ‘वी लर्न फ्रम द हिस्ट्री द्याट वी डु नट लर्न फ्रम द हिस्ट्री ।’ अर्थात् ‘हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्दैनौं ।’ यो भनाइ प्रायः राजनीतिक शक्तिहरूका हकमा बढ्ता लागू हुन्छ । हाम्रा प्रतिस्पर्धी पार्टीहरूको हकमा अझै बढ्ता सान्दर्भिक भएर आउँछ यो भनाइ।
तर रास्वपाको सदस्य हुनुको नाताले अरूलाई दोषारोपण भन्दा हामी आफ्नै अनुहार ऐनामा हेर्ने कुरामा बढ्ता रुचि राख्छौं । हामीले सीमाबद्ध गरेका कोर भ्यालु अर्थात् मूल्यहरू हामीले कति राखेका छौं । खासगरी जेनजीहरूको विद्रोह सुशासन, भ्रष्टाचार अन्त्य र ‘नेपो बेबी’ हरूको विरोधमा केन्द्रित रह्यो।
यही विषयलाई हामीले पछिल्लो आम चुनावभन्दा ठीक अघि ‘इनफ इज इनफ’, ‘नो नट अगेन’ जस्ता शब्दावली मार्फत परिभाषित गर्न चाह्यौं । सभापति रवि लामिछानेको अगुवाई अनि थुप्रै सामथ्र्यवान् नेताहरूको सामूहिक जोश मार्फत नागरिकले हाम्रो अपिललाई बडो प्रेमले सुने । तीमध्ये सातै प्रदेशमा छरिएको जनमतको निकै उल्लेख्य अर्थात् हिस्सा १२ लाखभन्दा बढी मत हामीलाई प्राप्त भयो।
हामीले सुशासनका लागि केही सुरुवात गरेका पनि हौं । भ्रष्टाचारीका फाइल खोल्ने साहस रास्वपाले नै गरेको हो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले भुटानी शरणार्थी काण्डका दोषी पक्राउ तथा अभियोजनमा देखाएको साहसलाई आज पनि तत्कालीन प्रधानमन्त्री प्रचण्ड तथा राजनीतिक वर्ग मात्रै होइन कतिपय सुरक्षा अधिकारीले समेत प्रशंसा गर्ने गर्छन्।
तर सत्तामा बसेर कतै विपक्षी वा फरक मतमाथि प्रतिशोध साध्ने काम पो भयो कि भनेर अहिले पनि प्रश्नहरू हामीमाथि उठाउने गरिन्छ । बदलाको भावना राखियो भने त्यसले नेपाल बन्दैन, बंगलादेश बन्छ । हाम्रै पार्टीपंक्तिले सही ढंगले यो यथार्थ बुझ्न सकेन कि ? पछाडि फर्केर हेरौं।
हन्ना अरेन्टले भने जस्तै शक्तिमा भएका बेला हाम्रो नैतिक कम्पास कतापट्टि फर्कियो भन्नेबारे जाँचौं।आज विवेकशीलले जस्तै हामीले आफैंलाई पनि प्रश्न गर्नुपर्छ हामीले पार्टी किन खोलेका थियौं ? हामीले बिहानदेखि बेलुकीसम्म आत्मसमीक्षा गर्नुपर्छ त्यो उद्देश्य पूरा गर्न कति काम गर्यौं ?
संस्थागत ऊर्जा जहाँ लगाउनुपर्ने हो, त्यहाँ लगायौं कि लगाएनौं ? हाम्रो पार्टीमा आउने–नआउने मान्छेको छनोटमा अझै स्पष्टता छैन । पार्टीमा प्रवेशका लागि एउटा ‘ढोका’ व्यवस्थित बनेको छैन, त्यसैले नै त्यो ढोकाबाट जसरी सजिलै मान्छे भित्र आए, त्यस्तै सजिलै बाहिर निस्किंदै छन् । समस्या केवल मान्छेमा मात्र थिएन समस्या हाम्रो ढोकामै पनि थियो।
सचिवालय बनाउँदा, विभाग बनाउँदा, जुन ढाँचामा हामीले हिजो गल्ती गर्यौं आज त्यही गल्तीको मूल्य तिर्दैछौं । विवेकशील र प्रजापरिषद्ले दोहोर्याएको गल्ती आज हामी पनि दोहोर्याउँदैछौं । हामी त उनीहरू भन्दा ठूलो आकारमा पुगेका छौं तर भोलि हामीभन्दा अझ ठूलो आकारमा अरू आए भने के गर्ने ?
यथार्थ भनेको सुशासनको मुद्दा प्रभावकारी रूपमा बोकेर हिंड्न सक्ने एक मात्र पार्टी अहिले रास्वपा नै हो, हामी नै हौं । तर त्यसका लागि आवश्यक मिहिनेत हामीले गरेका छैनौं । हामी त सामान्य साना–साना कुरामा नै समय खर्च गरेर बसेका छौं।
हामी एकअर्काको बारेमा बोल्दा यो विचार गर्दैनौं कि हामीमध्ये कसैले पनि महाधिवेशन देख्न पाएका छैनौं । जति ठूलो पदमा बसे पनि आजका दिनमा हामी सबै अनिर्वाचित हौं जसका सामु पार्टीका सदस्यहरूबाट विश्वास जितेर मात्रै अघि बढ्नुपर्ने म्यान्डेट छ।
हामीमध्ये कसैले पनि कसैलाई ठूलो स्वरमा सोध्नुअघि सोचौं– के त्यो ठूलो स्वर गर्ने सुविधा पाउनका लागि हामीले पार्टीका सदस्यहरूको अनुमति लिएका छौं ? हामीले उहाँहरूलाई सोधेका छौं?
आज समयले रास्वपालाई जेनजी विद्रोहपछि उदाएका सबैजसो नयाँ आकांक्षी दलहरूप्रति एक किसिमले संयोजनकारी भूमिका खेल्ने अवसर दिएको छ । कतिसम्म भने पुराना पार्टी र नयाँ दलबीच समेत हामीले गतिशील पुल बन्दै अघि बढ्नुपर्नेछ। चुनावको प्रतिस्पर्धा आफ्नो ठाउँमा होला तर दैनिक राजनीतिप्रतिको हाम्रो दायित्व सकिएको छैन । हामी सशक्त छौं भन्नुको अर्थ हामीसँग बढ्ता जिम्मेवारी छ भन्ने पनि हो।
त्यसैले एउटा सशक्त पार्टीको लागि आकार मात्र पर्याप्त छैन सत्यनिष्ठा, समर्पण र जनताको विश्वास हामीले पाउनुपर्छ । आज हामीसँग त्यो अवसर छ, आज हामीसँग त्यो शक्ति छ । यदि हामीले आज मिहिनेत, प्रतिबद्धता र धैर्य अपनायौं भने, भोलि हाम्रो नाम केवल ठूलो पार्टीको रूपमा मात्र होइन, सुशासन र जिम्मेवार नेतृत्वको प्रतिमूर्ति भएर इतिहासमा चम्कनेछ।
नेता साहसी हुन सक्छन्, सच्चा पनि हुन सक्छन्, तर संस्थागत सोच र रणनीतिक स्पष्टता विना साहसले मात्र इतिहास बदल्दैन प्रजापरिषद् र विवेकशील दुवै यसको उदाहरण हुन् । नयाँ राजनीतिक शक्ति जन्मिनु असन्तुष्टिको परिणाम मात्रै होइन त्यो विगतका दलहरूले गुमाएको विश्वास पुनः प्राप्त गर्ने ऐतिहासिक चक्र पनि हो।
इतिहासले हरेक पुस्तालाई एउटा मौका दिन्छ । तर त्यो मौका सम्हाल्न नसक्नेहरूलाई इतिहासले फेरि त्यही गल्ती दोहोर्याउने ठाउँमा फर्काइदिन्छ। विवेकशील वास्तवमा हराएको छैन उसको आत्मा, उसको निष्ठा, उज्ज्वल थापाको सपनाभित्र अझै बाँचिरहेको छ । अब त्यही अधुरो सपना पूरा गर्ने जिम्मा रास्वपामाथि छ। इतिहासले फेरि ढोका खोलेको छ यसपटक हामीले त्यस ढोकाभित्र पस्ने हिम्मत र इमान दुवै देखाउनै पर्छ।
म रास्वपाको एक सदस्य हुनुको नाताले कहिलेकाहीं ठान्छु– हामी उनै उज्ज्वल थापा लगायत अभियानीहरूका अधुरा इच्छाहरू समाजमा रोप्न र त्यसलाई नयाँ समयको खाँचो पूर्ति गर्दै हुर्काउन अघि बढेका पार्टी हौं । जनताले १२ लाखभन्दा बढी मत दिएर तीन वर्षअघि माया र विश्वास सुम्पिदिएका हामीसँग विवेकशील जस्तै विगतका साना–ठूला अभियानहरूको अविच्छिन्न विरासत छ।
म यही विन्दुमा विवेकशील अभियानीहरूको उच्च कदर सहित केही समीक्षा वा सिंहावलोकन समेत गर्न चाहन्छु । इतिहासबाट सिक्नेले वर्तमानलाई बुझ्छ । वर्तमानलाई बुझ्नेले भविष्यको बाटो सही ढंगले तय गर्न सक्छ।
हामी प्रजापरिषद् र विवेकशीलका गुणहरूबाट उत्प्रेरणा लिऊँ । कमजोरीहरूबाट पनि सिकौं ताकि अब त्यसलाई दोहोर्याएर हाम्रो बहुमूल्य समय बर्बाद नहोस् ! याद गरौं– एउटा पार्टीले सही काम गर्दा ऊ मात्रै सही हुँदैन । इतिहासको इन्जिन नै अगाडि जान्छ । पार्टीमा बर्बादी शुरु भयो भने त्यस बर्बादीको मूल्य पार्टी सदस्यले मात्रै होइन सिंगो समाजले चुकाउनुपर्छ।
प्रतिक्रिया 4