१० मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने रुचि आफूलाई नरहेको बताएका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै उनले जनताको सेवकको रूपमा सधैं काम गर्ने इच्छा आफूमा रहेको बताएका हुन् ।
‘मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन । प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन । तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन,’ प्रचण्डले भने ।
कार्यक्रममा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।
आफू भगवान नभएको भन्दै संयोजक प्रचण्डले धेरै वर्षदेखि जनताप्रति समर्पित भएको र जनताकै सेवक हुने बताए । जनताले र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट आफू कहिल्यै पछि नहट्ने उनको भनाइ थियो ।
देशको अहिले अप्ठ्यारो परिस्थिति र अराजकतामा रहेको भन्दै उनले यो अवस्थाबाट देशलाई पार लगाउन “निर्वाचन नै उत्तम विकल्प” भएको बताए ।
सुशीला कार्की नेतृत्वको सरकार सर्वदलीय सहमतिबाट गठन भएको स्मरण गर्दै उनले संविधानलाई सही ट्र्याकमा फर्काउनका लागि निर्वाचनमा सरकार केन्द्रित हुनुपर्ने बताए ।
संयोजक प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको दाबी गर्दै ढाँट, झुट र छलछाम गर्ने तिर नलागि संविधानलाई ट्र्याकमा ल्याउन देशमा निर्वाचको वातावरण बनाउने तर्फ लाग्न आग्रह समेत गरे ।
प्रतिक्रिया 4