+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

कांग्रेस सदस्यलाई अपहेलना गरेको देख्दा मन रोयो

कांग्रेसमा गगन बाहेक हामीले गल्ती गर्‍यौं भनेर अरूले स्वीकार गरेको देखेको छैन । नेतृत्वले गल्ती स्वीकार गर्नु ठूलो कुरा हो ।

हरि शर्मा हरि शर्मा
२०८२ मंसिर १० गते १९:४०

पार्टीमा कार्यकर्ता हुँदैन, सदस्य हुन्छ । कसैको पछि लागेर झोला बोकेर हिँड्छ भने त्यो कार्यकर्ता हुनसक्छ । सदस्यको रूपमा सभापति र एउटा कार्यकर्ताको भूमिका बराबरीकै हैसियतमा हुन्छ ।

समानताको सिद्धान्तको आधारमा दलको अपनत्व उसको सदस्यबाट आउँछ । संगठित भएपछि कसैले अह्राए/पराएको काम छँदैछ । संगठनमा नेतृत्व हुन्छ । नेतृत्वको तह हुन्छ । तर जब पार्टीको कार्यक्रम आउँछ नीति, सिद्धान्त, व्यवहार, एक अर्कालाई हेर्ने दृष्टिकोण आउँछ, त्यसबेला सबै बराबर हुन्छन् ।

नेपाली कांग्रेसको बृहत्तर प्रजातान्त्रिक छहारी भित्र मेरो परिवार थियो । मेरो परिवारले सुख पायो, दु:ख पायो, नाम पायो, ठाउँ पायो । मैले सानै उमेरमा नेता गिरिजाप्रसाद कोइरालासँग काम गर्ने मौका पाएँ । २४ वर्षको उमेरमा उहाँको सचिव भएको थिएँ । डा. रामवरण यादवको सल्लाहकार भएर काम गरें ।

तर, म कांग्रेसको सदस्य होइन । म कांग्रेसको सदस्य नहुनुको कारण के हो भने, त्यो कालखण्डमा पार्टी सदस्यको आवश्यकता नै थिएन । कांग्रेस हुन पार्टीको सदस्य हुनुपर्दैनथ्यो । लोकतन्त्रको आवाज बोल्नको निम्ति पार्टीको सदस्य हुनु आवश्यक थिएन ।

पार्टी जनताको अधिकार सुरक्षित गर्नको निम्ति चाहिन्छ । जनताका बीचमा विभिन्न विचार र मत मतान्तर हुन्छन् । ती मत मतान्तरलाई आवाज प्रदान गर्न, प्रतिनिधित्व दिन पार्टीको आवश्यकता परेको हो । निर्वाचनका निम्ति आवश्यक परेको हो । पार्टी निर्वाचन लोकतन्त्रको अपरिहार्य तत्व हो । सामाजिक रुपान्तरणको निम्ति पनि पार्टी आवश्यक परेको हो ।

अहिले कांग्रेसको अवस्था हेर्दा, सदस्यहरूलाई केन्द्रीय समितिले बिरालोले मुसा खेलाएको जस्तो खेलाएको छ । कांग्रेस सदस्यहरूलाई अपहेलना गरेको देखेर नागरिकको हैसियतले मेरो मन रोयो । कांग्रेसका सदस्यले विधानले व्यवस्था गरेबमोजिम विशेष महाधिवेशन माग गरेका छन् । तर पार्टी भित्र जुन किसिमको तिरस्कारका कुराहरू सुनिरहेको छु, त्यसले लोकतन्त्र बलियो होला जस्तो मलाई लागेन । मेरा छोरीहरू छन् । उनीहरूको भविष्य के हुन्छ ? हाम्रो दिन त लड्दालड्दै गयो ।

अहिले म आफ्नो काम गरेर बसेको छु । पढाउँछु । देश विदेश जान्छु । आफ्नो कर्म गर्छु । तर लोकतन्त्रमाथि कुनै किसिमको कालो बादल आयो भने मेरो नागरिक चेत खलबलिन्छ । मैले माया गर्ने, मैले भोट हालेको पार्टीमा जुन किसिमको व्यवहार देख्छु, यो के गरिरहेको होला भन्ने लाग्छ ।

हिजोको परिवेशमा र कुनै कालखण्डमा परिस्थिति यस्तो थियो कि, नेताको विवेकमा, विश्वासमा जिम्मा लगाउने गर्थ्यौं । कांग्रेसका सदस्यले बडो मिहिनेत गरेर आफ्नो अधिकार हातमा लिएका छन् । अब मिलेमतोले चल्दैन ।

षड्यन्त्र र लोकतन्त्र कहीँ पनि सँगसँगै जान सक्दैन । त्यसकारण, कांग्रेसमा षड्यन्त्रको भाषा होइन, खुला कुराकानीसहित विमति र सहमतिको भाषाको कुराकानी हुनुपर्छ ।

कांग्रेसको भोलिको नेतृत्वका बारेमा कुराहरू सुन्दै आएको छु । नेता विधिमा टेकेर निर्भयताकापूर्वक छान्न म आग्रह गर्दछु । कुनै साधन-स्रोतको परिवेश बिना नेता छान्नुस् । एकपटक नेतृत्वमा पुगेपछि सधैँभरि त्यहीं बसिरहने हो भने समाज परिवर्तन हुँदैन ।

आज हामी कुन परिवेशमा उभिएका छौं, यसको विश्लेषण गर्न जरुरी छ । तर त्यो विश्लेषण गर्ने ठाउँमा अल्मलिने समय छैन । किनभने, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत ढलेको यथार्थ हो । हाम्रा आँखा अगाडि भएका घटना हुन् यी । षड्यन्त्रको तानाबानामा बस्नुभयो भने अगाडि जाने बाटो हुँदैन । अगाडि जाने बाटोमा कांग्रेसका लागि चुनौतीसहित बसेको पुस्ता छ, जो हामीले गरेको कामले खुसी थिएनन् ।

ठूलो स्वतन्त्रताको वकालत गर्‍यौं । तर आजको स्वतन्त्रताको युगमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरियो । प्रविधिको प्रयोग गर्ने पुस्तालाई बन्देज लगाउने काम भए । त्यसप्रति आक्रोश जन्मियो ।

वाकसहित अभिव्यक्ति र रोजगारीको स्वतन्त्रता पनि हुनुपर्छ । तर एउटा नेतृत्वको मुढता र घमण्डले गर्दा राज्यका विभिन्न निकाय ढले । कांग्रेस पार्टी कहाँ थियो, अहिले किन यो अवस्था बन्यो, जेनजी आन्दोलनमा ती परिदृश्य किन देखिए, कांग्रेसले समीक्षा गर्नु जरुरी छ । तर विडम्बनाका साथ भन्नुपर्छ, कांग्रेसमा गगनले बाहेक हामीले गल्ति गर्‍यौं भनेर स्वीकार अरूले गरेको देखेको छैन । नेतृत्वले गल्ती स्वीकार गर्नु ठूलो कुरा हो ।

भदौ २४ गतेको जस्तो अराजकताको स्थिति मैले दरबार हत्याकाण्ड हुँदा पनि देखेको थिइनँ । किनभने, त्यतिबेला हामीसँग गिरिजाप्रसाद जस्तो एउटा दृढ नेतृत्व हुनुहुन्थ्यो । राष्ट्रपतिका कारण यो व्यवस्था जोगिएको हो । त्यो दिनको घटना राष्ट्रपति कार्यालय नपुगी मिलिट्री हेडक्वार्टरमै अड्केको भए तपाईं/हामी आज यहाँ हुँदैनथ्यौं । रक्षा बम लगायतका जेनजीले सैनिक पोशाक लगाएर अशोक सिक्देललाई ‘तपाईंले कु गर्न खोजेको हो ?’ भनेर गरेको प्रश्नले लोकतन्त्र जोगिएको हो ।

प्रश्नले लोकतन्त्र जोगिन्छ, समर्पणले जोगिँदैन । कांग्रेसमा उठिरहेको प्रश्नले मलाई खुसी लागेको छ । त्यसले लोकतन्त्र जोगाउँछ । ‘तिम्रो दायित्व के हो ? तिमीले कसरी पार्टीलाई सुरक्षित अवतरण गर्छौ ?’ भन्ने प्रश्नले पार्टी बाँच्छ ।

यो मुलुकमा नयाँ परिवर्तन हुन्छ, हाम्रो पनि ठाउँ छ भन्ने आकांक्षा छ । नयाँ पुस्तालाई संगठित बनाउने नाममा विभिन्न भागमा बाँडेका छौं । उनीहरूको भावनालाई कुण्ठित गरिरहेका छौं । कांग्रेसले भावी पुस्ताको भावनालाई जबसम्म समेट्दैन, अगाडि बढ्न सक्दैन ।

कांग्रेसलाई भोट दिने व्यक्ति हुँ म । मान्छेहरू लुतेलांग्रे, डरले थिचिएको र भ्रमित हुनु हुँदैन । ठूलो छाती बनाएर बोल्न सक्ने हुनुपर्छ । गल्ती गर्‍यौं भने सुध्रिन्छौं भन्ने भाव लिएर हिँड्न सक्ने मान्छे हुनुपर्छ ।

कांग्रेस सानातिनो दुःखले उठेको पार्टी होइन । राजाले धपाएको र नेताहरूको सर्वस्वहरण गरिएको पार्टी हो । जुन धरातलमा उभिएर आएको थियो, त्यसप्रति मलाई गर्व छ । लोकतन्त्रको एउटा मूल छहारी कांग्रेस नहुँदा अरूले पनि लोकतन्त्रको अनुभव गर्न पाउँदैनन् ।

पुसको जाडोमा बीपी कोइराला बिरामी भएर कम्बल ओढेर बसे भने नेपाली जनताले लोकतन्त्रको न्यानो पाउने कल्पना त्यो बेला गरिन्थ्यो । बीपी कोइरालाले निर्णय गर्न नसकेको बेला माटो लिएर निर्णय लिन भन्नुभएको थियो ।

अहिले कांग्रेसमा विश्वासको खडेरी छ । किनभने, नेतृत्वले आफ्नै कार्यकर्तालाई पत्याइरहेको छैन । सदस्यहरू बोलिरहँदा पनि केन्द्रीय समितिले सुनेको छैन ।

लोकतन्त्र र षड्यन्त्र सँगसँगै जानै सक्दैन, चाहे त्यो देशी वा विदेशी होस् । कांग्रेसका सदस्यहरूलाई आघात परेको छ । लोकतन्त्र पारदर्शी व्यवस्था हो । बोल्न पाउने व्यवस्था हो । कुरा गर्न पाउने व्यवस्था हो । मत मतान्तरमा लड्न पाउने व्यवस्था हो । षड्यन्त्र र लोकतन्त्र कहीँ पनि सँगसँगै जान सक्दैन । त्यसकारण, कांग्रेसमा षड्यन्त्रको भाषा होइन, खुला कुराकानीसहित विमति र सहमतिको भाषाको कुराकानी हुनुपर्छ ।

कांग्रेस भएर कुनै जमानामा गाउँठाउँमा डुल्दै हिँड्दै गर्दा पैसाको आवश्यकता थिएन । साथीको घरको न्यानो बास थियो । पुलिसले खोज्दै हिँड्दा अर्को कुनै साथीले बचाएर राख्ने गरेका थिए । त्यो बेला विश्वास थियो । अहिले कांग्रेसमा विश्वासको खडेरी छ । किनभने, नेतृत्वले आफ्नै कार्यकर्तालाई पत्याइरहेको छैन । सदस्यहरू बोलिरहँदा पनि केन्द्रीय समितिले सुनेको छैन । सहमतिको सुगा रटाइबाट पार्टीलाई सदस्यहरूले अब मुक्त गराउनुपर्छ । त्यसका लागि सदस्यहरूलाई विधानको अधिकार छ । त्यो अधिकार प्रयोग गर्नुपर्छ ।

जसले जुत्ता लगाएको हुन्छ, त्यसलाई नै जुत्ताले कहाँ घोच्छ भनेर थाहा हुन्छ । त्यसरी नै पार्टीभित्र हुनेहरूलाई नेतृत्वको हैकमबारे थाहा हुन्छ । त्यहाँ भित्रका विषयहरू मैले मिडियामा पढेर मात्रै बुझ्ने हो । कांग्रेसको सदस्य नभए पनि त्यहाँ भित्रको दुःख मैले बुझ्न सक्छु । किनभने, लोकतन्त्रमै मेरो भविष्य छ । कांग्रेसका सदस्यलाई विवेक प्रयोग गर्न आग्रह गर्दछु ।

नयाँ नेतृत्व चयन गरी नयाँ नीति र कार्यक्रमका साथ देखिएको अवस्थामा नयाँ पुस्ताले कांग्रेसमा आफ्नो प्रतिनिधित्वको ऐना देख्न सक्छन् । पार्टीलाई टलक्क टल्किने बनाउनुभयो भने पुस्ताले कांग्रेसमा आफ्नो अनुहार देख्न सक्छ ।

(राजनीतिक विश्लेषक शर्माले कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले बुधबार राखेको विशेष सभामा राखेको विचारमा आधारित)

लेखक
हरि शर्मा

लेखक राजनीतिशास्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?