News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन्।
- मन्त्री घिसिङले तीन सिफ्टमा काम नगरेको भन्दै निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
- संसद् भवनको सिभिल संरचनाको प्रगति ८७ प्रतिशत र इन्टेरियर कामको प्रगति ३० प्रतिशत रहेको छ।
१० मंसिर, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा भएनभएको जानकारी लिए । आगामी २१ फागुनको चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई पटक पटक निर्देशन दिएका थिए ।
तर, बुधबार उनको आकस्मिक अवलोकनमा तीन सिफ्टमा काम भएको पाइएन । निर्देशनअनुसार तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेको मन्त्री घिसिङले निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री घिसिङले नियमित सुपरीवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिने बताएका छन् । संसद् भवन निर्माण एकदमै महत्वपूर्ण भएकाले आगामी चैत अगाडि नै निर्माण सम्पन्न हुनु पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरबाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी पनि दिए ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ ।
आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ । इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८० मा अर्को ठेक्का सम्झौता भएको थियो । यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ ।
यसअघि ८ कात्तिकमा स्थलगत अनुगमन गरी निर्माण भइरहेका भवनहरूमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गरेका थिए ।
धेरै मेहनत नगरिए तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेको भन्दै उनले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिंदै निर्माण कार्यको आफैंलेसमेत नियमित अनुमगन गर्ने बताएका थिए ।
प्रतिक्रिया 4