+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

हङकङको आवासीय भवनमा भीषण आगो, १३ जनाको मृत्यु (तस्वीरहरू)

अचानक आगलागी हुँदा घना बसोबास रहेको भवनमा थुप्रै मानिस फसेका हुनसक्ने आशंका छ । ताइ पो मा रहेको फुक कोर्ट नामक आवासीय क्षेत्रका कूल ८ ब्लकमध्ये ७ वटामा आगलागी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते २०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हङकङको ताइ पो आवासीय क्षेत्रमा बुधबार भीषण आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन्।
  • आगलागी नियन्त्रणमा ल्याउन ६६७ अग्नि नियन्त्रक र ४०० प्रहरी परिचालित भएका छन् र ७०० भन्दा बढीलाई उद्धार गरिएको छ।
  • चिनियाँ राष्ट्रपति सी चिनफिङले पीडितप्रति दु:ख व्यक्त गर्दै आगो निभाउन र क्षति कम गर्न निर्देशन दिएका छन्।

१० मंसिर, काठमाडौं । हङकङको ताइ पो आवासीय क्षेत्रमा बुधबार भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

१५ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एक जना अग्नि नियन्त्रक समेत रहेका चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार बुधबार दिउँसो २ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।

मर्मतका लागि लगाइएको बाँसको स्काफफोल्डिङबाट आगो अन्य भवनमा समेत फैलिँदा ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।

अचानक आगलागी हुँदा घना बसोबास रहेको भवनमा थुप्रै मानिस फसेका हुनसक्ने आशंका छ । ताइ पो मा रहेको फुक कोर्ट नामक आवासीय क्षेत्रका कूल ८ ब्लकमध्ये ७ वटामा आगलागी भएको छ ।

सार्वजनिक भएका तस्वीर र भिडियोमा धेरै भवनहरूमा आगलागी हुँदा ठूलो क्षति भएको देखिन्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइ पो मा भएको भीषण आगलागीका पीडितहरूप्रति दु:ख व्यक्त गरेका सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ  ।

राष्ट्रपति सी ले आगो निभाउन र आगलागीबाट हुने हताहती र क्षतिलाई कम गर्न सक्दो प्रयास गर्न निर्देशन दिएका छन् ।

सुरुमा एक श्रेणीको मानिएको आगो फैलँदै ५ श्रेणीमा पुगेको छ । आगोको स्तरलाई मापन गर्न सामान्यस्तर १ देखि क्रमश: बढ्दै ५ श्रेणीलाई आपतकालको स्थिति बुझिन्छ ।

अग्नी नियन्त्रक दलका उपनिर्देशक चानले फसेका बासिन्दालाई झ्यालहरू बन्द गरेर बस्न र मद्दतका लागि सम्पर्क गर्न आग्रह गरेका छन् ।

अत्यधिक तापक्रमका कारण माथिल्लो तल्लाका केही फ्लाटमा अग्नि नियन्त्रकलाई पुग्न गाह्रो परिरहेको बताउँदै उनले प्रयास जारी रहेको बताए ।

आगो निभाउन र उद्धारका लागि ६६७ अग्नि नियन्त्रक र ४०० प्रहरी अधिकारी परिचालित भएका छन् ।

आगलागी पछि आवासीय भवनमा बस्दै आएका ७०० भन्दा बढीलाई उद्धार गरेर ताइ पो जिल्ला कार्यालयले स्थापना गरेका पाँच सामुदायिक शिविरमा राखिएको छ ।

साउथ चाइना मर्निङ पोस्टको आगलागी भइरहेको क्षेत्रबाट युट्युबमा प्रत्यक्ष प्रसारण गरिएको छ र आगो अझै नियन्त्रणमा आइनसकेको देखिन्छ ।


प्रहरीले आपतकाल घोषणा गर्दै हटलाइन सञ्चालनमा ल्याएको छ । आगलागीमा फसेकाहरूको उद्धार र हतहतीको जानकारी लिन त्यहाँका बासिन्दाको सहजताको लागि हटलाइन स्थापना गरिएको हङकङ प्रहरीले जनाएको छ ।

आगलागीको यकिन कारण खुलेको छैन । स्थानीयहरूले भवनको मर्मतमा खटिएका कामदारले धुम्रपान गरेको देखेको बताउँदै त्यसैबाट सल्किएको हुनसक्ने आशंका गरेका छन् ।

आगलागी भएको यस इस्टेटमा ४ हजार मानिसको बसोबास छ । यस इस्टेटमा एक हजार ९८४ फ्लाटहरू छन् । आगलागीले धेरै मानिस प्रभावित हुने देखिएको छ ।

हङकङमा १७ वर्षपछि यो स्तरको भीषण आगलागी भएको बताइएको छ ।

यसअघि सन् २००८ मा कोर्नवाल कोर्ट नामक आवासीय भवन क्षेत्रमा नम्बर ५ अर्लाम श्रेणीको आगलागी भएको थियो । त्यतिबेला मोङ कोकको कराओके बार र नाइट क्लबबाट सुरु भएको आगलागीमा दुई अग्नी नियन्त्रकसहित ४ जनाको मृत्यु भएको थियो भने ५५ जना घाइते भएका थिए ।

तस्वीरहरू : साउथ चाइना मर्निङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?