News Summary
Generated by OK AI. Editorially reviewed.- एडगर एलान पो संग्रहालय रिचमण्ड, भर्जिनियामा अवस्थित छ जहाँ पोको बाल्यकाल, प्रेम, र साहित्यिक कृतिहरूको संग्रह गरिएको छ।
- पोको जीवन पीडादायी थियो, उनले धेरै व्यक्तिगत क्षति भोगे र ४० वर्षको उमेरमा रहस्यमय परिस्थितिमा मृत्यु भए पनि उनको साहित्यले विश्वमा अमिट छाप छोडेको छ।
न्यारेटर केटो आफू पागल नभएको दाबी गर्दै कथा सुरु गर्छ, तर उसको कार्यले त्यसको विपरीत प्रमाणित गर्छ । ऊ एक वृद्ध मानिससँग बसेको हुन्छ, जसले कहिल्यै कुनै गल्ती गरेका छैनन् । तर ती वृद्धका फिक्का निला आँखा, जो गिद्धका आँखाजस्ता देखिन्छन्, त्यसले कथावाचक केटालाई असहज बनाउँछ । ऊ यी गिद्धे आँखाहरूबाट छुटकारा पाउन चाहन्छ । त्यसैकारण उनको हत्याको योजना बुन्छ ।
हत्या गर्ने मनसायले ७ रात लगातार मध्यराति वृद्धको कोठामा पस्छ र बिस्तारै लालटिन बालेर ती गिद्धका जस्ता आँखा’ हेर्छ। तर निदाएका बेला आँखा बन्द हुन्छन्, त्यसैले हत्या गर्दैन । आठौं रातमा, वृद्ध ब्यूँझिन्छन् र डरले उसको मुटुको धड्कन तेज हुन्छ । त्यो धड्कन यति ठूलो हुन्छ कि कथावाचक केटो छिमेकीहरूले सुन्लान् भनेर अति डराउँछ । र, अन्त्यमा, उसले ती वृद्धलाई मारेरै छोड्छ, शरीर टुक्रा-टुक्रा पार्छ र कोठाको भुइँमुनि लुकाउँछ।
बिहान चार बजेतिर, छिमेकीले राति चित्कार सुनेको गुनासो गरेपछि तीन प्रहरीहरू आउँछन् । कथावाचक आत्मविश्वासका साथ उनीहरूलाई भित्र बोलाउँछ र लाश लुकाएको ठाउँमै कुर्सी राखेर बस्छ ।
तर त्यसपछि कथावाचकले एउटा आवाज सुन्न थाल्छ- मुटुको धडकनको आवाज । मृत मानिसको मुटुको धड्कन सुन्छ ऊ भुइँमुनिबाट। आवाज बिस्तारै ठूलो हुँदै जान्छ र असह्य बन्दै जान्छ । उसलाई लाग्छ कि, यो आवाज प्रहरीहरूले पनि सुनिरहेका छन् । अन्त्यमा, आफ्नै मनोविज्ञानको यातनाले सताइएर, उसको धैर्यताको बाँध भत्किन्छ र चिच्याएर अपराध स्वीकार गर्छ । उसले भन्छ, ‘यी यहाँ छ ! यहाँ छ ! भुइँमा हेर यो उसको घिनलाग्दो मुटुको धड्कन हो !’
सन् १८४३ मा पहिलोपटक प्रकाशित भएको ‘एडगर एलान पो’को प्रसिद्ध कथा ‘द टेल-टेल हार्ट’ को सारांश हो यो ।
यो एक मनोवैज्ञानिक डर सम्बन्धी कथाको उत्कृष्ट नमूना हो । अमेरिकी साहित्यको सबैभन्दा बढी पढिने र अध्ययन गरिने हरर कथाहरूमध्ये एक हो । यसले डर र मनोवैज्ञानिक थ्रिलर विधाको विकासमा ठूलो भूमिका निर्वाह गरेको छ।
वि सं २०५६ सालमा आई ए दोस्रो वर्षको विद्यार्थीका रूपमा कवि एडगर एलान पो सँग पहिलो चिनजान भएको थियो । बीरबहादुर बस्नेत सरको कमान्डिङ आवाजमा पो को यो कथा सुन्दा र पढ्दा यस्तो डरलाग्दो कथा रचना गर्ने कथाकार कस्ता थिए होला, कहाँ बसेर यस्तो कृति रचना गरे होलान्, उनको जीवन कस्तो थियो होला भन्ने जिज्ञासाहरू उत्पन्न हुन्थे उतिबेला ।
जिन्दगीको कुनै समय करिब सवा दुईसय वर्ष अघिका यिनै साहित्यकार बसेको ठाउँमै घरजम गरिएला र उनका नाममा बनेको संग्रहालय घुम्ने मौका मिल्ला भन्ने कुनै कल्पना थिएन । तर संयोग त्यस्तै पर्यो । आखिर जीवन भनेकै संयोगहरूको श्रृंखला त हो ।
यद्यपि भर्जिनियाको राजधानी रिचमण्डको बासिन्दा भए पनि, एडगर एलान पो का नामको ‘पो संग्रहालय’ पुग्ने मौका भने जुरेको थिएन । त्यो साइत जुर्यो गतआइतबार । हुन त साहित्यकार गोविन्द गिरी प्रेरणासँग त्यता जाने योजना बनेको थियो तर उहाँको नमिल्ने भएपछि कवि नारायण अधिकारी र म त्यता लाग्यौं ।
एडगर एलान पो (१८०९–१८४९) अमेरिकाका पहिलो महान् गीति कवि, जासूसी कथाका आविष्कारक, विज्ञान कथाका अग्रदूत र साहित्यमा भय र भयानकताका गुरु थिए । केवल ४० वर्षको आफ्नो छोटो जीवनकालमा, पो अन्तर्राष्ट्रिय रूपमा प्रभावशाली पहिलो अमेरिकी लेखक बने ।
पोले आफ्नो जीवनको अधिकांश समय हाल मेरो पनि होमटाउन रहेको रिचमण्ड, भर्जिनियामा बिताए । यही शहरमा उनले आफ्ना पहिला कविताहरू लेखे, पहिलोपटक प्रेममा परे, पत्रकारितामा आफ्नो क्यारियर सुरु गरे, विवाह गरे, र आफ्नो एकमात्र नाटक र एकमात्र उपन्यास सुरु गरे ।
उन्नाइसौं शताब्दीको प्रारम्भको रिचमण्ड जसलाई पोले घर भनेका थिए, त्यही स्थानमा उनका नाममा बनेको संग्रहालय घुम्न पाएर हामी धन्य महशुस गरिरहेका थियौं ।
रिचमण्डको डाउनटाउनका सडकहरू त्यसैपनि रोमाञ्चक इतिहास र पुराना कथाहरूले भरिएका छन् । हिउँदको मन्द चिसोले मनमा आनन्द थपेकै थियो सायद पो संग्रहालय नजिक पुग्दैछु भन्ने अनुभूतिले पनि हुन सक्छ । एउटा पुरानो ढुंगाको घर जसलाई ‘ओल्ड स्टोन हाउस’ भनिन्छ । यही ठाउँमा सन् १८२४ मा १५ वर्षीय एडगर एलान पो तत्कालीन एक क्रान्तिकारी जनरलको सुरक्षा गार्डका रूपमा उभिएका थिए । त्यही घर आज उनको सम्झनामा संग्रहालय बनेको थियो ।
जब हामी संग्रहालयअगाडि पुग्यौं, मलाई लाग्यो- म केवल एउटा भवन भ्रमण गर्न आएको होइन, बरू एक तीर्थ यात्रामा आएको हुँ, एक साहित्यिक आत्मासँग भेट गर्न आएको हुँ । एक यस्तो आत्मा, जसले आफ्नो छोटो र पीडादायी जीवनमा अमेरिकी मात्रै नभएर विश्व साहित्यमै अमीट छाप छाडे।
त्यो बुढो घरमा छिर्दा छिर्दैको काउन्टरबाट १२/१२ डलरको टिकट काट्ने क्रममा पो का तस्वीर, उनका चर्चित कविता र कृति अंकित टिसर्ट, कप, पुस्तक आदि उपहार सामग्रीहरूले हामीलाई एकमुस्ट स्वागत गरे ।
त्यसपछि संग्रहालयको पहिलो कोठामा पस्दा, त्यहाँ भित्तामा विभिन्न चित्रहरू देखिए । एडगरका विभिन्न मुद्राका तस्वीरहरू, उनका नाममा निस्किएका हुलाक टिकटका तस्वीरहरू, उनका कृतिमा बनेका नाटक र सिनेमाका पोस्टरहरू, उनका बारेमा लेखिएका लेखोटहरू आदि देखिए । मेरो नजर भने भित्ताको एक आकर्षक चित्रमा गएर अडियो, जो थिइन् एलिजा पो । उनी एक अभिनेत्री, एडगरकी आमा, जसले आफ्नो जीवनका अन्तिम क्षणहरू यही रिचमण्ड शहरमा क्षयरोगसँग लड्दै बिताइन् ।
उनको तस्बिरमा मैले हेरिरहें । त्यो युवा अनुहार, ती मायालु आँखा- जसले सायद सपना देखेकी थिइन् कि उनका छोराछोरी उनीभन्दा ठूला अभिनेता बन्नेछन् र जीवन सुखी हुनेछ । तर नियतिले अर्कै बाटो लियो । २४ वर्षकी आमा एलिजाको क्षयरोगका कारण मृत्यु हुँदा दुई वर्षका एडगर अनाथ बने । बाबुले त पहिले नै छोडेर हिंडिसकेकै थिए।
सो कोठाका भित्तामा रहेका चित्र, फोटा, पोस्टर आदिका अतिरिक्त पुराना सामान, फर्निचर, पोशाक र अन्य विभिन्न सामानहरूले भरिएको थियो । कोठाको पल्लो कुनामा एडगरले बाल्यकालमा प्रयोग गर्ने गरेको ओछ्यान चुपचाप सुतिरहेका थिए ।
अब्राहम लिंकन र चार्ल्स डार्विन जन्मेकै साल जन्मेका पो सम्बद्ध यी पुराना कुराहरू र ती चित्रहरू हेर्दा, लेनोर, एलिजा, भर्जिनिया जस्ता पो को जीवनमा आएका र छिटै हराएका सबै स्त्रीहरू पो को दुखको विलाप गाउँदै गुञ्जिरहे जस्तो लाग्थ्यो ।
त्यसपछि हामी अर्को कोठामा पस्न लाग्दा ढोकैमाथि केही अंग्रेजी लाइन कोरिएको देखियो-
अर्थ
बाल्यकालको घडीदेखि नै म म भएको छैन,
अरूले देखेजस्तै मैले देखेको छैन,
अरूले देखेजस्तै, म ल्याउन सक्दिनथें
मेरा जोशहरू सामान्य मुहानबाट’
यो पो को सन् १८२९ मा प्रकाशित कविता ‘एलोन’ बाट उद्धृत गरिएको हो, जसले उनले बाल्यकालदेखि नै महसुस गरेको एक्लोपन र अरूभन्दा अलग भएको भावनालाई व्यक्त गर्दछ । यसले उनको जीवनभरको पीडा र अरूभन्दा फरक हुने अनुभूतिलाई प्रतिबिम्बित गरेको छ।
त्यसपछि हामी अर्को कोठामा पस्यौं । जहाँ जोन एलानका केही कागजातहरू थिए । ती व्यापारी जसले असहाय एडगरलाई घरमा आश्रय दिए तर कहिल्यै आफ्नो छोरा मानेनन् । त्यहाँ उनीहरू सम्बद्ध चिठी जस्ता कागज पत्रहरू पनि थिए ।
जसले आफ्ना पिता कहिल्यै चिनेनन्, चिन्ने उमेरसम्म पुग्दा आमा पनि गुमाइसकेका थिए । माता पिताका रूपमा जसलाई चिने ती आफ्ना थिएनन् । कस्तो पीडादायी बाल्यकाल थियो एडगरको । कस्तो दयनीय स्थिति ! घरमा हुनु, तर आफ्नो नहुनु । एलान परिवारको नाम पाउनु, तर अधिकार नपाउनु !
त्यहाँ भर्जिनिया विश्वविद्यालयको एउटा दस्तावेज पनि थियो । १७ वर्षका एडगर ११० डलर लिएर कलेज गए, जहाँ ट्यूसन शुल्क त्यसको तीन गुना बढी थियो । त्यसैले पैसा कमाउने धुनमा उनले जुवा खेले । तर उल्टै २,००० डलर ऋणमा डुबे । विद्यार्थी बेलाको आशा र उन्माद, आर्थिक अभाव र विपत्ति, जीवनका घोर निराशा र असफलताहरू बेलैमा बेहोरे उनले ।
र त्यहीँ एल्मिरा रोयस्टरको एउटा पुरानो चित्र पनि थियो- जो उनकी पहिलो प्रेमिका थिइन् । कस्तो भयो होला उनलाई जब उनी कलेजबाट फर्केर आउँदा थाहा पाए कि उनले लेखेका पत्रहरू कहिल्यै एल्मिरासम्म पुगेनछन् । उनका बुबाले थाहा पाएर सबै पत्र आफैंसँग राखेका रहेछन् । पछि उनले एल्मिराको अर्कै मानिससँग विवाह गरिदिए । यसरी पहिलो प्रेममा वियोग भोग्नुपर्यो किशोर एडगरले ।
संग्रहालयको मुख्य कोठामा पुग्दा पो का साहित्यिक कृति र कर्महरूसँग साक्षात्कार गर्न पाइयो । ‘तपाईंले बडो राम्रो ठाउँमा लिएर आउनुभो यार’ नारायणजी विस्तारै फुस्फुसाउँनुभो । जहाँ पो का अथाह पीडाबाट जन्मिएका कृतिहरूबारे जानकारी थिए । वास्तवमा पीडाबाट कला जन्मन्छ । कष्ट र पीडाकै मुहानबाट साहित्य सिर्जनाको नदी बग्छ । र कहिलेकाहीं, एउटा भाँचिएको, भत्किएको, क्षतविक्षत हृदयले अमर कृतिहरूको सिर्जना गर्छ । आखिर पीडाबाट नै त जन्मिँदोरहेछ अमर साहित्य, गौरीदेखि मुनामदनसम्म, ओथेलोदेखि द रेभनसम्म !
एउटा सानो कोठामा ‘द रेभन’ को मूल पाण्डुलिपि थियो वा कम्तीमा त्यसको प्रतिलिपि हुनसक्छ ।
मैले नजिकै गएर हेरें। ती लाइनहरू जो विश्वप्रसिद्ध भए:
‘Once upon a midnight dreary,
while I pondered, weak and weary…’
कस्तो अद्भुत लय ! कस्ता सम्मोहक शब्दहरू ! ती पंक्ति पढ्दै गर्दा मलाई लाग्यो म मध्यरातको त्यही कोठामा छु, जहाँ एउटा काग ढोका माथि बसेर ‘नेभरमोर’ भनिरहेको छ।
चौथो कोठामा पुग्दा भने म छाँगाबाट खसे जस्तो भएँ । त्यहाँ जे जानकारी थियो त्यसले यी महान् साहित्यकारप्रतिको श्रद्धाको स्तम्भ गर्ल्यामगुर्लुम ढलेझैं भयो । यो पीडादायी जानकारी भर्जिनिया क्लेमको बारेमा थियो । जो पो की काकाकी छोरी थिइन् जसलाई उनले २७ वर्षको उमेरमा विवाह गरे, जो त्यसबेला केवल १३ वर्षकी थिइन् ।
थाहा छैन त्यो समयमा अमेरिकी समाज र संस्कृतिका मूल्य मान्यताहरू के कस्ता थिए तर आजको आधुनिक आँखाबाट हेर्दा त्यो कृत्य सर्वथा अनुचित लाग्छ, तर त्यो बेलाको समाजको मान्यता र संस्कृति अलग थियो कि ?
भर्जिनियाको तस्वीरको त्यो अनुहारमा सुन्दरता र कोमलता प्रतिबिम्बित थियो । जानकारी दिइएअनुसार उनी पोको प्रेरणा थिइन्, उनको जीवन, उनको आधार थिइन् । तर उनलाई पनि क्षयरोग लाग्यो, जसरी पोकी आमालाई लागेको थियो । र, २४ वर्षकै कलिलो उमेरमा भर्जिनियाको पनि मृत्यु भयो ।
त्यहाँ एउटा नोट थियो । पो आफैंले लेखेको भनिएको सो नोटमा लेखिएको थियो ‘मेरो जीवन ध्वस्त भयो ।’ त्यो दुखान्तपछि पो अथाह शोकमा डुबे । त्यसपछि पनि उनले जति साहित्य रचना गरे सबैका विषय शोक, हानि र अन्धकार रहे ।
सो ओल्ड स्टोन हाउससँगै जोडिएको अर्को दुईतले घरका दुवै तलाहरू जो संग्रहालयका अन्तिम भाग थिए, त्यहाँ पो को मृत्युका बारेमा जानकारी थिए । सन् १८४९ मा, मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा ४० वर्षको उमेरमा रहस्यमय परिस्थितिमा उनको मृत्यु भयो । कोही भन्छन् उनको मृत्यु अधिक मद्यपानले भयो, कोही भन्छन् रेबिजले, कोही भन्छन् हत्या गरियो । पोको मृत्युका बारेमा छब्बीस वटा सिद्धान्तहरू प्रकाशित भएको त्यहाँ उल्लेख छ । वास्तवमा उनको मृत्यु पनि उनका कथाहरू जस्तै रहस्यमय रह्यो।
त्यहाँ एउटा कालो कफिन ठड्याएर राखिएको थियो । जहाँ लेखिएको थियो- पोसँग जिउँदै गाडिनुहोस्, यो कफिनमा पाइला राख्नुहोस् र पोले ‘द प्रिम्याच्योर ब्युरियल’ मा वर्णन गरेको क्लस्ट्रोफोबिक डरको स्वाद लिनुहोस् । पो संग्रहालयको यो एक रोचक प्रदर्शनीले आगन्तुकहरूलाई पोको प्रसिद्ध र डरलाग्दो कथा ‘द द प्रिम्याच्योर ब्युरियल’ को अनुभव गर्न दिँदोरहेछ । सोही कोठामा रहेको यार्कमा पो का विभिन्न पुस्तकहरूको संग्रह पनि देखियो ।
त्यहाँ अर्को खण्ड पनि थियो- उनका प्रभावहरूको बारेमा । पोले जासुसी कथाको सिर्जना मात्रै गरेनन् यो विधाको सुरूवातकर्ता पनि उनै बने । जसले भय र डरले भरिएको साहित्यलाई कलाको स्तरमा पुर्याए । उनले मनोवैज्ञानिक कथाहरूको आधार निर्माण गरे । वास्तवमा ४० वर्षको छोटो र पीडापूर्ण जीवनमा कसरी यत्रो विशाल विरासत निर्माण गर्न सके होला एडगर एलान पो ले ! म सोचमा डुबें निकैवेर ।
सो भवनबाट बाहिर निस्कँदा संग्रहालयबाहिरपट्टिको फराकिलो बगैंचाको बीचमा रहेको वाटर फाउन्टेनबाट पानीको कलकल आवाजआइरहेको थियो, हिउँदको मन्द चिसो हावाको स्पर्शले शरीरमा आनन्दको सञ्चार भएको थियो । बगैंचाको पल्लो कुनामा एउटा मैलोमैलो सेतो मूर्ति देखियो, त्यतापट्टि इशारा गर्दै नारायणजीलाई भनें, तपाईंलाई एडगर एलान पोको एउटा कविता सुनाउँछु । ‘ए तयारी त राम्रै गरेर आउनुभएको रहेछ’ उहाँले यसो भनिसक्दा हामी आगन्तुकहरूले पैसा र गिफ्टकार्ड चढाएर र चराले बिस्ट्याएर मैलो पारेको पो को मूर्तिसामु पुगिसकेका थियौं ।
मैले गुगलबाट अनुवाद गराएको पो को द रेभन कविताका केही पंक्तिहरू वाचन गरें, नारायणजीले भिडियो खिच्नुभो…
एक पटक मध्यरातको उदासीमा,
जब म सोचमग्न थिएँ,
कमजोर र थकित,
धेरै अनौठा र जिज्ञासु
बिर्सिएका ज्ञानका पुस्तकहरूमा,
जब निद्रा ओइरिंदै थियो,
तुरून्तै त्यहाँ एउटा ठकठक आवाज आयो,
जस्तो कि कसैले बिस्तारै ढकढक गरिरहेको,
मेरो कोठाको ढोकामा ढकढक गर्दै।
‘कोही आगन्तुक हुनुपर्छ,’ म गनगनाएँ,
‘मेरो कोठाको ढोकामा ठकठक गर्दै
केवल यति र अरू केही होइन ।’…
मैले फेरि एकपटक त्यो तीनसय षर्ष पुरानो ढुङ्गाको घरलाई हेरें । जहाँ १५ वर्षीय एडगर एकपटक कसैको सुरक्षार्थ गार्डको रूपमा उभिएका थिए । के उनले सपनामा पनि सोचेका थिए होला र ! कुनै दिन यही घर उनकै नामको संग्रहालय बन्नेछ ? नियतिको खेल पनि उदेक लाग्दो छ !
त्यो तीनसय वर्ष पुरानो इतिहासलाई त्यतै छाडेर हामी निस्कियौं । जब म सडकमा हिँड्न थालें । दिमागमा पो को यो भोगाइ र भनाइ गुञ्जिरहेको थियो:
‘हामीले देख्ने वा देखिने सबै कुरा
सपना भित्रको सपना मात्र हो।’
प्रतिक्रिया 4