नेपालको उत्तरी नाका खासा जाँदा स्थानीयले भनेको सुनेको थिएँ- चीनका सेना मितेरी पुलको आधा भागभन्दा यता जे-जस्तो परे पनि आउँदैनन् । अनुमति नलिई उनीहरू नेपाली भूमि टेक्दैनन् ।
पछि भारतसँगको सीमामा पर्ने महाकाली नदी हेर्न जाँदा पुलभन्दा धेरै यता नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई नै चेकजाँच गरेको देखेपछि मनमा कस्तो-कस्तो लागेको थियो। अनि दिमागमा एउटा प्रश्न उठेको थियो- सीमा र सम्बन्ध कसरी स्थापित र व्यवस्थापन हुन्छन् होला ?
मैले भर्खरै नेपालको इतिहासमा भएको कहालीलाग्दो खम्पा विद्रोह, यसको कारण र दु:खद भोगाइहरूबारे राजेन्द्र कुँवरले लेख्नुभएको पुस्तक ‘नेपाली दृष्टीकोणमा खम्पा विद्रोह’ अध्ययन गरेँ। खम्पा विद्रोह भनिए पनि त्यो राष्ट्रियताको आवाजभन्दा पनि कसैको इशारामा अन्योल, मुर्ख्याइँ अनि बदलाको लागि गरिएको हिंसा मात्र रहेछ भन्ने पुस्तकमा पाएँ।
उद्देश्यभन्दा आडम्बरको मुर्ख्याइँ, आत्मीय सम्बन्धभन्दा सिमानाको चिन्ता। जसले चीन-भारत सम्बन्धमा दरार स्थापित गर्यो, चीन-अमेरिकाबीच दुश्मनी सिर्जना गर्यो, नेपाल-तिब्बतको आत्मीय सम्बन्धको अन्त्य गर्यो। केही तिब्बतीहरूलाई देशविहीन र परिवारविहीन बनायो। बमप्रसादले शहीद हुनुपर्यो, निलादेवी र परिवारको खुसी खोसियो। कयौं लास छरपष्ट भए, स्थानीयको निद्रा, आराम र अस्मिता लुटियो। केवल सबैले लामो समयसम्म हार्नुपर्यो।
दुई देशको सिमाना भनेको मानव निर्मित राजनीतिक र कूटनीतिक घेरा मात्र हो। प्राकृतिक रूपमा त कुनै सिमानाको घेरा हुँदैन, केवल मानवीयताको अदृश्य आत्मीयता हुन्छ र हुनुपर्छ।
दुई देशबीच सिमानामा हुने विवाद, द्वन्द वा युद्ध त आफूलाई ठूला र शक्तिशाली देश ठान्नेहरूको आडम्बर, अज्ञानता र मुर्ख्याइँको पराकाष्ठा मात्र हो। कसले, कहिले, कसरी, किन र कोसँग लड्यो मतलब हुँदैन। किनकि, त्यहाँ मानवता मरेको हुन्छ, प्रकृति रोएको हुन्छ, अनि जलेको मूल्यहीन इतिहास पढ्न र सुन्न लायक पनि हुँदैन।
दुई छिमेकीबीच सिमानाभन्दा सम्बन्धको चिन्ता हुनुपर्छ, जसरी खोलीभन्दा मुहानको चिन्ता हुन्छ। खोलीले दुवै किनारालाई निरन्तर नछोडे जस्तै सिमानाले पनि सम्बन्धहरूलाई आत्मीय अँगालोमा बाँधिरहनु पर्छ, हल गोरु नारे जस्तै । ताकि, खोली र किनाराहरू सागरसम्म पुग्न सक्छन् । अनि, सिमानाले पनि दुवै देशको राष्ट्रियतालाई सदासदा भरोसा दिलाइरहनु पर्छ।
लेखकले मुस्ताङ, हुम्ला, दार्चुला, मनाङ, मुस्ताङ, गोरखा, डोल्पा, ताप्लेजुङ, पोखरा, भैरहवा, वीरगञ्ज र इनरुवासम्म पुगेर खम्पा विद्रोह प्रत्यक्ष देखेरभोगेका व्यक्तिहरूसँग भेटे । जसका आधारमा नेपाली भूमिमा भएको खम्पा विद्रोहको बारेमा रिपोर्ट तयार पारेका हुन् ।
पुस्तकमा नेपाली सेनाका तत्कालीन अधिकृत तथा जवानसँग भेटेर गरेको कुराकानी समेटिएको छ । जसमा खम्पा विद्रोहको सुरुवात कसरी भयो, उनीहरूले नेपाली भूमि प्रयोग गरेर कस्ता गतिविधि गरे, विद्रोहीले नेपालीलाई कस्तो दु:ख दिए जस्ता यावत् कुरा समेटिएको छ ।
खम्पा विद्रोहका बेला घटनास्थलमा खटिएका सुरक्षाकर्मीदेखि स्थानीयवासीले खम्पाबाट कसरी त्रास र कष्ट भोग्नुपरेको थियो भन्ने विषयमा प्रत्यक्षदर्शीको बयानमा आधारित तथ्य प्रस्तुत गरिएको छ ।
खम्पा विद्रोहलाई मलजल गर्न अमेरिकी गुप्तचर संस्था सीआईए र भारतीय गुप्तचर संस्था रअको भूमिका के थियो भन्नेदेखि खम्पा विद्रोहको निर्मुलीकरण अभियान कसरी सुरु भयो भन्नेसम्म जानकारी पुस्तकमा पाइन्छ ।
कसको, कस्तो योगदानले खम्पा विद्रोह समाप्त भयो भन्ने विषयमा तत्कालीन सुरक्षा निकायका प्रमुख तथा खम्पासँग लडाइँ गरेका सुरक्षाकर्मीसँगै कुराकानी गरेर तथ्य बाहिर ल्याउने प्रयास लेखकले गरेका छन् ।

खम्पाको नेपाल प्रवेश सन् १९६० देखि सुरु भयो । उनीहरू भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गरेका थिए । त्यस विद्रोही समूहका कमान्डर को-को थिए । अनि निकै धुर्त र सन्की स्वभावका खम्पाका अन्तिम कमान्डर गे वाङ्दी कसरी मारिए भन्ने विषयमा पुस्तकले तथ्यसहित प्रस्तुत गरेको छ ।
खम्पा विद्रोहका बारेमा विदेशी लेखकहरूले थुप्रै पुस्तक प्रकाशित गरेका छन् । तर नेपाली भूमिमा भएको यति ठूलो घटनामा नेपालको राजनीतिक स्वार्थ के थियो ? किन यसलाई दबाइयो ? भन्ने विषयमा अहिलेसम्म लेखिएको थिएन ।
नेपाली दृष्टिकोणमा खम्पा विद्रोहमा भने नेपाली भूमिमा भएको खम्पा विद्रोहको बिजारोपणदेखि निर्मुलीकरणसम्मको नालीबेली प्रस्तुत गरिएको छ ।
पुस्तक पढेपछि मेरो मनमा लागेका केही भ्रमहरू हटेका छन्। जस्तै:
– छिमेकी राष्ट्रहरू बाहेक अन्य केही ठूला शक्ति राष्ट्रहरूले हिजोदेखि आजसम्म पनि नेपाललाई रणभूमि नै बनाउन खोजेको कुरामा कुनै शंका रहेन।
– त्यतिबेला चीन र भारतबीच वास्तवमा कुनै द्वन्द नभई बुझाइ मात्र समस्या रहेछ। चीनले भारतलाई एक छिमेकीकै रूपमा हेरेको तर भारतले भने चीनलाई आफ्नो आन्तरिक दृष्टिकोण बनाउन नसकेर हो वा अरूको दृष्टिकोणबाट हेरेर हो, समस्याको रूपमा या प्रतिद्वन्द्वीको रूपमा मात्र बुझेको पाइयो।
– नेपालको राजसंस्थाप्रति राजनीतिक स्थायित्वको लागि चीनले सकारात्मक र सचेतनाको रूपमा हेरेको तर भारतले जहिले पनि संशय र समस्याकै रूपमा हेरेको प्रष्ट भयो।
खम्पा विद्रोहमार्फत लेखकले के कुरा चेतावनीपूर्वक देखाएका छन् भने, साँधका छिमेकीसँग बरु केही झुक्नु, केही नरम हुनु, केही माग्नु, केही दिनु तर टाढाका छिमेकीलाई गुहारेर साँधका छिमेकीलाई नचिढ्याउँनू। किनभने, साँधका छिमेकीभन्दा परका वैदेशिक सम्बन्ध र सहयोग कि बढी व्यावसायिक हुन्छ कि त बढी रणनीतिक हुन्छ । तर दीर्घकालीन राष्ट्रहितमा कदापि हुँदैन।
जुन कुरा अहिले पनि युक्रेन, बंग्लादेश, नेपाल जस्ता देशहरूले भोगिरहेका छन्।
खम्पा विद्रोहीलाई निशस्त्रीकरण परियोजना आफैँमा एउटा गजब, जटिल र चुनौतीपूर्ण कार्य थियो, जसका लागि एक बलियो रणनीतिक योजना र व्यवस्थापकीय योजना आवश्यक थियो। राजा महेन्द्र र वीरेन्द्रको व्यवस्थापकीय क्षमताले काम गर्यो । तर चीनको अन्तरात्मादेखिको सहयोग असल छिमेकीको भूमिकाबिना सम्भव थिएन। अनि नेपाली सेनाको टिमवर्कले र स्थानीयको समन्वयले पनि साथ दियो।
पुस्तकले राजनीतिक चेतना दिने भरपुर प्रयास पनि गरेको छ। खम्पा विद्रोहको तथ्यगत कुराहरूलाई लिएर लेखकले सही राष्ट्रिय दृष्टिकोणबिनाको अरूको इशारामा ल्याइएको आयातित राजनीतिक सिद्धान्त र अभ्यास र सोही आधारमा निर्धारण गरिएको राष्ट्रियता प्रतिकूल तय गरिएको संयुक्त सैन्य अभ्यास र परराष्ट्र नीति कतिसम्म घातक हुनसक्छ भन्ने कुरा छर्लङ्ग देखाएका छन् ।
चीनलाई उदाहरणको रूपमा लिएर कुनै पनि राजनीतिक आन्दोलनबाट प्राप्त हुने उपलब्धिहरू राजनीतिक दलको नभई समग्र नागरिक र राष्ट्रको साझा हुनुपर्छ भन्ने कुरा पुस्तकमा दर्शाइएको छ। जनताको वलिदानी र समयको मागसँगैका प्राप्ति र उपलब्धिहरूको स्वामित्व लिन हतार र तँछाडमछाड गर्ने, समस्याहरूबाट भाग्ने अनि सम्पूर्ण दोषारोपण गर्ने नेपाली राजनीतिक दलको संस्कारलाई गतिलो झापड दिएको छ।
एउटा देशमा भएको राजनीतिक तरङ्ग वा फेरबदल अर्को छिमेकी राष्ट्र वा छिमेकीलाई कति गम्भीर हुनसक्छ भन्ने प्रमाणको रूपमा खम्पा विद्रोहमार्फत देखाइएको छ। कुनै पनि घटना वा सूचनाहरूलाई आफ्नो गलत र निहित स्वार्थको लागि तोडमोड, मिथ्या, कपोकल्पित वा आंशिक सत्य बनाई राष्ट्रिय रूपमा सञ्चार माध्यममा प्रस्तुत गर्दाको क्षति समग्र राष्ट्रले लामो समयसम्म बेहोर्नुपर्छ।
कति ठूला र गम्भीर समस्या वा घटनाहरू पनि समयमा सही सूचना दिई सुझबुझपूर्ण तरिकाले सम्बोधन गर्न सक्दा कति सजिलै समाधान गर्न सकिन्छ भन्ने कुराको उदाहरणको रूपमा पनि खम्पा विद्रोहलाई पुस्तकमार्फत प्रस्तुत गरिएको छ।
दुई छिमेकी देशको बीचमा कोरिएको सीमारेखा केवल राजनीतिक सीमा मात्र हो, पारस्परिक र सुमधुर सम्बन्ध सीमारहित हुन्छन् भन्ने चेत राज्य चलाउनेहरूमा नहुँदा मात्र सीमा विवाद हुने रहेछ भन्ने कुरा अझै पनि कतिपयले बुझ्न सकेका छैनन्।
राष्ट्रियताको रक्षा र राष्ट्रिय हितको सवालमा सम्बन्ध सुधारका लागि राष्ट्रहरूले नेपालप्रति कति र कुन हदसम्म लचकता र संयमता अपनाउनु पर्दोरहेछ, चीनबाट सिक्नुपर्ने रहेछ । किनभने, चीनविरुद्ध अरूको इशारामा तिब्बतीहरूले नेपाली भूमिबाट गरेको खम्पा विद्रोह अन्त्यका लागि चीनका सरकारी अधिकारीहरूको बारम्बारको नेपाल भ्रमण, चिठी आदानप्रदान र अन्य परस्परिक हितमा भएका वार्ताहरू नै त्यसका ज्वलन्त उदाहरण हुन्।
भारतका तत्कालीन शासक भने आफ्नो स्वार्थ अनुकूल नेपाललाई प्रयोग गर्न कुन स्तरसम्म झरेका रहेछन् भन्ने कुरा पनि गहिरो गरी दर्शाइएको छ पुस्तकमा । खम्पा विद्रोहको निर्मुलीकरणमा तत्कालीन राजा महेन्द्रले उठाएको कदम र दुरदृष्टिको बखान समेत पुस्तकले गरेको छ ।
पुस्तकमा अन्तर्राष्ट्रिय सम्बन्धका सवालमा बीपी कोइरालालाई राष्ट्रवादी नेताको रूपमा दर्शाइएको छ ।
उदाहरणका लागि, भारतले नेपाललाई संयुक्त सैनिक अभ्यासका लागि गरेको आग्रहमा बीपीले दिएको जवाफलाई लिन सकिन्छ । उनको जवाफ छ, ‘छिमेकी मित्र रहिआएका दुई देशका बीच सैन्य सम्झौता गर्नु निरर्थक हुन्छ ।’
उनले भारतलाई दिएको यो मिठो, स्पष्ट र कूटनीतिक शैलीको इन्कारी जवाफ थियो । यसबाट अन्तर्राष्ट्रिय सम्बन्धमा बलियो कूटनीतिक तयारी, देखाउनुपर्ने प्रस्तुति र दिनुपर्ने सवाल-जवाफ कति अपरिहार्य छ भन्ने कुरा पुस्तकमा छर्लङ्ग देखिन्छ ।
तत्कालीन समयमा राजा र राजसंस्थाले सोच्ने गरेको राष्ट्रहित, अन्तर्राष्ट्रिय अडान अनि दलहरूको बेमौसमी खेती क्षणिक लाभको लोभबीच भएको द्वन्द रूपमा झल्किएको छ। उदाहरणका लागि चिनियाँ साम्यवाद अब नेपालको बाटो हुँदै भारत प्रवेश गर्छ भन्ने भारतको कटाक्षलाई महेन्द्रले ट्याक्सी चढेर साम्यवाद आउँदैन भनेर भारतलाई दिएको स्पष्ट जवाफ, संयुक्त राष्ट्र संघमा तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले राखेको धारणालाई लिन सकिन्छ ।
विष घोले जस्तै गरी विदेशीले दिएको अनुदान अमृत मानेर ग्रहण गर्ने अनि उनीहरूकै स्वार्थमा काम गर्ने राष्ट्रहरू कालान्तरमा कसरी सकिन्छन् भन्ने कुरा पनि यसै पुस्तकबाट बुझ्न सकिन्छ।
राष्ट्र हितमा लाग्ने नेता वा सरकार प्रमुखसँग कूटनीतिक र व्यवस्थापकीय दुवै दृष्टिकोण स्पष्ट हुनुपर्छ अन्यथा इतिहासमा असल व्यक्तिको रूपमा उसको नाम स्थापित हुन सक्दैन। खम्पा विद्रोह निर्मुलीकरणमा तत्कालीन राजा र सुरक्षा निकायले देखाएको सुझबुझपूर्ण कदमलाई नेपाली दृष्टिकोणमा खम्बा विद्रोह पुस्तकले मिहिन ढंगले उठाएको छ ।
प्रतिक्रिया 4