१२ मंसिर, काठमाडौं । परम्परागत कूटनीतिक अभ्यासभन्दा अघि बढ्दै काठमाडौंस्थित बंगलादेश दूतावासले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन ‘फिस डिप्लोमेसी’ (माछा कूटनीति)को अनौठो र स्वादिलो प्रयोग गरेको छ ।
दूतावासले शुक्रबार अपराह्न आफ्नै परिसरमा आयोजना गरेको ‘बंगलादेश फिस फेस्टिवल २०२५’ मार्फत माछालाई केवल भोजनका रूपमा मात्र नभई सांस्कृतिक र आर्थिक सम्बन्ध जोड्ने शक्तिशाली माध्यमका रूपमा समेत प्रस्तुत गरेको हो ।
हिमालयको काखमा आयोजना गरिएको महोत्सवले माछालाई केवल एक परिकारको रूपमा मात्र सीमित राखेन, बरु यसलाई नेपाल र बंगलादेशबीचको व्यापार, संस्कृति र मित्रताको नयाँ कडीका रूपमा स्थापित गर्ने प्रयास गर्यो ।
‘माछा–दाल–भात’को सम्बन्ध
कार्यक्रममा काठमाडौंस्थित विभिन्न देशका राजदूत, मिसन प्रमुख, कूटनीतिज्ञहरु, नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू, व्यवसायिक समुदायका अगुवा, बुद्धिजिवी, नागरिक समाजका प्रतिनिधिहरू, होटल व्यवस्थापक लगायत सहभागी थिए । कार्यक्रममा नेपालका कार्यवाहक परराष्ट्र सचिव कृष्णप्रसाद ढकाल प्रमुख अतिथि थिए ।
कार्यक्रस्थलमा बंगलादेशका ऐतिहासिक स्थलहरुबारे जनकारीमूलक पोष्टर सजाएर राखिएको थियो । नेपाल र बंगलादेशका राष्ट्रिय गान बजाउँदै औपचारिक रुपमा सुरु भएको कार्यक्रमले दुवै देशको भावनात्मक सम्बन्धलाई प्राथमिकता दिएको आभाष मिल्थ्यो ।
नेपालका लागि बंगलादेशका राजदूत मोहमद शफिकुर रहमानले सहभागीहरुलाई स्वागत गर्दै नेपाल र बंगलादेशबिचको सम्बन्धलाई ‘माछा–दाल–भात’को संज्ञा दिए ।

साथै उनले हजारौं नदीहरू भएको बंगलादेश र हिमालयको देश नेपालबिचको भौगोलिक तथा सांस्कृतिक दुरीलाई माछाका परिकारमार्फत जोड्ने प्रयास गरे । उनले माछालाई बंगलादेशी नदी–संस्कृति, जीविका र राष्ट्रिय पहिचानको अभिन्न अंगको रूपमा अर्थ्याए ।
कार्यक्रममा बंगलादेशमा पाइने विभिन्न प्रजातिका माछाका परम्परागत तथा आधुनिक परिकार पस्केर पाहुनाहरूलाई बंगलादेशीपनको महसुस गराइएको थियो ।
आर्थिक कूटनीति र बजार विस्तार
यो ‘फिस डिप्लोमेसी’को अर्को मुख्य उद्देश्य नेपालमा बंगलादेशी माछा र समुद्री उत्पादनको बजार खोज्नु पनि हो । नेपालमा उच्च गुणस्तरका समुद्री खानाको माग बढिरहेको सन्दर्भमा यो महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवको पूर्वसन्ध्यामा मंसिर ८ गते (२४ नोभेम्बर) मा दूतावासले माछा आयातकर्ता र व्यवसायीहरूसँग विशेष प्रदर्शनी र अन्तरक्रिया पनि गरेको थियो ।

माछा प्रदर्शनी र माछा महोत्सव दुवै कार्यक्रममा सहभागी नेपाली व्यवसायी किरण खड्काका अनुसार, बंगलादेश दूतावासको यो पहल नेपाली आयातकर्ता र बंगलादेशी निर्यातकर्ताबीच आर्थिक सहकार्य बढाउन ‘उत्प्रेरक’ बन्न सक्छ ।
उच्चस्तरीय सहभागिता र प्रशंसा
माछा महोत्सवमा नेपालका कार्यवाहक परराष्ट्र सचिव कृष्णप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले यसलाई ‘नवीन र सकारात्मक पहल’ भन्दै प्रशंसा गरे ।
ढकालले यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने,आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने र जनस्तरको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

बंगलादेशका दूतावासका अधिकारीहरुले पनि यस महोत्सवले सांस्कृतिक उत्सवका साथै क्षेत्रीय सहकार्य गहिरो बनाउने विश्वास छ ।
कूटनीति सधैं बन्द कोठामा गरिने वार्ता वा सम्झौता पत्रमा मात्र सीमित हुँदैन, कहिलेकाहीँ एउटा देशको मौलिक स्वाद, त्यहाँका परिकार र त्यसले सिर्जना गर्ने आत्मीय माहोलले पनि दुई देशलाई जोड्ने बलियो पुलको काम गर्छ भन्ने सन्देश यस महोत्सवले दिएको छ ।






सबै तस्वीरहरु : नेपालस्थित बंगलादेशको दूतावास
प्रतिक्रिया 4