+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares
विचार :

भाषा-राजनीति र शब्दचेत : लुसिफरदेखि बैगुनी केटोसम्म

राजनीतिक व्यक्तित्वहरूले प्रयोग गर्ने शब्दहरूमा शक्ति लुकेको हुनाले नेपाली समाज सभ्य कि अश्लील बनाउने भन्ने कुरा उनीहरूको शब्द चयनमा भर पर्छ। महावीर पुनले यो कुरा नेपाली समाजलाई सिकाएका छन्। सिक्ने प्रयास गरौँ। मिठो बोल्दा कसैलाई घाटा हुन्न।

डा. भीमलाल गौतम डा. भीमलाल गौतम
२०८२ मंसिर १४ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली समाजमा हालै विकसित भएका शब्दहरू जस्तै 'लुसिफर', 'फक', 'बा', 'बाघ', 'दाइ', 'आमा', 'सर्को तान्नु' र 'बैगुनी केटो'को सामाजिक र राजनीतिक प्रयोगमा चर्चा बढेको छ।
  • जेन-जी आन्दोलनपछि 'लुसिफर' शब्द काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग जोडिएको छ र यो शब्द नेपाली मिडियामा व्यापक रूपमा प्रयोग भएको छ।
  • शिक्षामन्त्री महावीर पुनले 'सर्को तान्ने' शब्दको प्रयोगमा संयम राख्न आग्रह गर्दै नेपाली समाजमा शब्द चयनले संस्कार र सभ्यताको प्रतिनिधित्व गर्ने बताएका छन्।

नेपालको इतिहासमा राजनीतिक परिवर्तन र उथलपुथलहरू नसोचिएको र अनुमान बाहिरबाट हुने गर्छन्। हालैको दुई दिने जेन-जी आन्दोलनको सन्दर्भमा समकालीन नेपाली समाजमा विकसित भाषा-राजनीति र हामीभित्रको शब्दचेत निकै दयनीय देखिन्छ।

कहाँ, कुन समय कस्तो शब्द प्रयोग गर्ने भन्ने कुराको ज्ञान नहुँदा यसले नेपाली समाजको अवमूल्यन गरेको मानिन्छ। यो लेखमा हालै विकसित र भाइरल भएका केही शब्दहरू र तिनको वास्तविकताका बारेमा छलफल गरिएको छ।

१. लुसिफर

ईसाई धर्मशास्त्रमा लुसिफरलाई पतीत स्वर्गदूत र शैतान मानिन्छ। लुसिफरलाई घमण्डी र पाप सँग सम्बन्धित मानिन्छ। उनले भगवान्को शक्ति हडप्ने प्रयास गरेको विश्वास गरिन्छ, जसका कारण उनलाई नर्कमा पठाइएको थियो।

ईसाई धर्मशास्त्रअनुसार लुसिफर परमेश्वरको विरोधी भएकाले शैतानवादका केही सम्प्रदायहरूले उनलाई स्वतन्त्रताको वाहकका रूपमा पूजा गर्न थाले। अन्य धार्मिक समुदायहरू, जस्तै ग्नोस्टिक र फ्रीमेसनहरूले पनि लुसिफरलाई आफ्नो देवताका रूपमा पूजा गरेको आरोप लगाइएको पाइन्छ।

‘लुसिफर’ शब्द पछि विभिन्न सन्दर्भमा प्रयोग हुँदै आयो। सन् २०१९ को मलयालम फिल्म र २०१६–२०२१ को शैतानमा आधारित टिभी शृङ्खला जस्ता लोकप्रिय संस्कृति सन्दर्भहरूमा लुसिफरलाई ‘प्रकाश ल्याउने’ भनी चित्रण गरिएको थियो। मूल रूपमा यसलाई रोमन देवताका रूपमा बिहानी तारा वा शुक्र का रूपमा मानिएको थियो। तर, आजभोलि यो शब्द नेपाली मिडियामा बारम्बार देखा परिरहेको छ।

नेपालमा यो शब्दको बढी प्रयोग खासगरी अध्येता एवं विश्लेषक सौरभले टीका राम यात्रीसँगको एउटा अन्तरवार्तामा (सेप्टेम्बर, २०२४) जेन-जी आन्दोलनका बारेमा कुराकानी गर्दा साङ्केतिक रूपमा पहिलोपटक गरेको भेटिन्छ। जहाँ उनले शब्दहरू समाजमा कसरी प्रयोग र विकसित हुन्छन् भन्ने कुरा व्यक्त गरेका छन्। पुरानो र नयाँ पुस्तामा हुने जानकारी र यसको प्रयोगबारे उनले यो अन्तरवार्तामा अरू धेरै कुरा गरेका छन्।

यहाँ मैले कसैको राजनीतिक विचारधाराको पक्षपोषण गर्नु छैन, तर नेपाली समाजमा व्याप्त निराशाका बीचमा शब्दहरू कसरी प्रयोग हुन्छन् भन्ने बारेमा बिहान र दिउँसोको सङ्केतका रूपमा उनले लुसिफर शब्द साङ्केतिक रूपमा व्यक्त गरेका छन्।

त्यसपछि यो शब्द नेपाली राजनीति र मिडियामा बढी व्यापक भयो। केही नेताहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई नै वर्तमान नेपाली समाजको लुसिफरका रूपमा चिनाउने प्रयास गरेका छन्। बालेन, जो ट्वीट र फेसबुकमार्फत बेलाबेलामा देखा पर्छन्, उनको छद्मभेषी चरित्रले पनि मानिसहरूलाई यो शब्दका बारेमा जानकारी हुने सन्दर्भ मिल्यो।

२. फक

व्युत्पत्तिको हिसाबले ‘फक’ शब्द प्रोटो-जर्मानिक मूलबाट आएको हो। जसको अर्थ १६ औं शताब्दीको सुरुमा ‘मुक्का लगाउनु’ वा ‘प्रहार गर्नु’ थियो। १८ औं शताब्दीको मध्यतिर यो शब्दको अर्थमा परिवर्तन भएर “निषेध” मा सरेको थियो।

अहिले यो शब्द यौन सम्बन्धका लागि हल्का रूपमा प्रयोग गरिने शब्द वा एक अश्लीलताका रूपमा प्रयोग हुन्छ। खासगरी अङ्ग्रेजी साहित्यकार डीएच लरेन्सले यसलाई संज्ञा, क्रिया, विशेषण र क्रियाविशेषणका रूपमा प्रयोग गरेको देखिन्छ।

हुन त ओशो रजनीश र यसको शब्द निर्माण प्रक्रिया बुझेकाहरूले यो शब्दलाई खासै महत्त्व दिएको पाइँदैन, तर बालेनले लेखेको स्टाटस, जसमा “फक अमेरिका, फक चाइना, फक इण्डिया र फक मुख्य राजनीतिक पार्टी” भनेकाले आफूलाई नेपाली राजनीतिमा राष्ट्रवादी देखाउने दौडमा लागेका नेता र तिनीहरूका समर्पित कार्यकर्ताहरूलाई यो स्टाटसले राम्रै झट्का दियो। यस कारणले लगभग पन्ध्र दिन जति यो शब्दले पनि नेपाली समाजमा हल्लीखल्ली मच्चाउन सफल भयो।

३. बा

नेपाली समाजमा ‘बा’ शब्द निकै चलेको र सम्मानित पनि छ। कुनैबेला नेपाली समाजमा ‘केपी बा आई लभ यु’ निकै चलेको थियो। तत्कालीन प्रधानमन्त्री र हालका एमाले अध्यक्ष खड्ग प्रसाद ओली आफू निस्सन्तान भएकाले सबै नेपालीहरूलाई आफ्नै छोराछोरीसरह मानेको कुरा पनि त्योबेला चलेको थियो।

हुन त ६ वर्षअघि कलाकार मनोज गजुरेलले सिस्नुपानीको कार्यक्रममा ‘बा’ का विभिन्न रूपलाई कवितात्मकरूपमा प्रस्तुत गरेका थिए। त्यसरी नै अर्का व्यङ्ग्यकार लक्ष्मण गाम्नागेले पनि ‘मेरा बा’ कविता त्यति नै बेला व्यक्त गरेको देखिन्छ।

जहाँ उनले बाका कथा र व्यथाहरू व्यक्त गर्दै हामी सबैले बालाई सम्मान गर्नुपर्छ भन्ने कुराको जानकारी दिएका थिए। “मेरा बा जान्दिनँ, केही भन्नु हुन्न र अरूको कुरा मान्नु हुन्न” भन्ने कुराको कडा व्यङ्ग्य गरेको उनको त्यो कविता युट्युबमा अझै पनि सुन्न पाइन्छ।

यसअघिको संसदीय चुनावका बेला मेरा मित्र प्राध्यापक ऋषिराम शर्माले ‘बालकोटे बा’ नामको पप गीतको रचना गरेको कुरा पनि सम्झेको छु। यसबाट के बुझिन्छ भने ‘बा’ शब्द नेपाली समाजमा फरक फरक किसिमले प्रयोग हुँदै आइरहेको छ।

४. बाघ

‘बाघ’ शब्द पनि नेपाली समाजमा नौलो होइन। ‘बाघ बुढो र स्याल तन्नेरी हुन्न’ भन्ने नेपाली उखान धेरै पुरानो हो। यो उखानले बूढो, अनुभवी र शक्तिशाली (बाघ) र जवान, चतुर तर तुलनात्मक रूपमा कमजोर वा अनुभवहीन (स्याल) बीचको अन्तर्निहित भिन्नता र असङ्गतिलाई जनाउँछ।

यसको अर्थ हो कि उमेर, अनुभव, शक्ति, स्वभाव वा दृष्टिकोणमा ठूलो भिन्नता भएका दुई पक्षहरू कहिल्यै एक हुन सक्दैनन्, मिल्न सक्दैनन् वा समान हुन सक्दैनन्। तिनीहरूको प्रकृति फरक भएकाले उनीहरूबीच साँचो एकता वा सहकार्य सम्भव हुँदैन।

नेपाली राजनीतिमा कुनैबेला रास्वपाका सभापति रवि लामिछानेलाई उनका कार्यकर्ताले ‘बाघ’ भनेर सम्बोधन गरेको देखिन्छ भने नेपाली खेल जगत्‌मा यो शब्द खासगरी क्रिकेटमा बढी प्रयोग भएको देखिन्छ।

नेपाली राजनीतिमा कुनैबेला रास्वपाका सभापति रवि लामिछानेलाई उनका कार्यकर्ताले ‘बाघ’ भनेर सम्बोधन गरेको देखिन्छ भने नेपाली खेल जगत्‌मा यो शब्द खासगरी क्रिकेटमा बढी प्रयोग भएको देखिन्छ।

गत सालको एनपीएल संस्करणदेखि सुदूर पश्चिमका अलराउण्डर खेलाडी दीपेन्द्र सिंह ऐरीलाई नेपाली क्रिकेटको ‘बाघ’ का रूपमा चित्रण गरिएको पाइन्छ। जब-जब उनी खेल मैदानमा देखा पर्छन्, फ्यानहरूले उनलाई “बाघ आयो” भनेर सम्बोधन गरेको देखिन्छ।

५. दाइ

सामान्यतया आफूभन्दा जेठो उमेरको रगतको सम्बन्धित मान्छेलाई ‘दाइ’ भनिन्छ। तर, दाइसँग रगतको साइनो मात्र होइन, भावनात्मक सम्बन्धमा पनि विकास हुन सक्छ। कुनै पनि विषयको अनुभवी मान्छे ‘दाइ’ हुन सक्छ। शिक्षा, ज्ञान र अनुभवले निखारिएको कम उमेरकै व्यक्ति पनि ‘दाइ’ हो।

‘दाइ’ हुन चिनजान आवश्यक छ र आत्मीयता तथा भावनात्मक सम्बन्धको विस्तार हुनु आवश्यक छ। नेपाली राजनीतिमा यो शब्दको बढी प्रयोग काङ्ग्रेसी कार्यकर्ताहरूमा भएको देखिन्छ। जस्तै: शेरबहादुर दाइ, खुमबहादुर दाइ, शेखर दाइ आदि।

‘जय नेपाल’ जस्तै यो शब्द कुनैबेला आम काङ्ग्रेस कार्यकर्तामा सीमित थियो। तर, आजभोलि यो शब्दले अन्य नेपाली समुदायमा नजिक र आत्मीयताको पहिचान दिने गरेको भेटिन्छ। मान्छेको मनोविज्ञान पनि सम्बोधनको कारणले नै चिनिने हुँदा कुनै नियोजित काम बनिहाल्छ जस्तो गरी साइनो लागाउँदा पनि अपरिचित मानिस वा बटुवालाई ‘दाइ’ भन्ने चलन नेपाली समाजमा बढ्दै गइरहेको छ।

६. आमा (हजुरआमा)

सामान्यतया आमा वा माता कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुक्राणुसँग मिलेर बच्चाको विकासका लागि अण्ड प्रदान गर्ने महिलालाई भनिन्छ। आमा संसारमा सबैभन्दा निस्वार्थ माया गर्ने पवित्र नाम हो।

यस धर्तीमा जन्म लिइसकेपछि बच्चाले पहिलोपटक बोल्ने र उच्चारण गर्ने शब्द हो ‘आमा’। धर्मशास्त्रमा आमालाई पृथ्वी र धरातलसँग तुलना गरिएको पाइन्छ। तर, नेपाली समाजमा यो शब्दलाई हजुरआमासित जोडिएर हेरिन्छ, जसलाई हामी हरेक परिवारको जननीका रूपमा पाउँछौँ।

जेन-जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जब जेन-जी युवाहरूले ‘डिस्कोर्ड’ मा चार हजार मतभन्दा बढीले चयन गरे, त्यसपछि एकाएक नेपाली राजनीतिमा जेन-जी नेताका रूपमा उदाएका सुदन गुरुङले उनलाई भेट्दासाथ नमस्कार र ढोग गरेको दृश्य नेपाली टेलिभिजन र छापाहरूमा व्यापक भयो।

केही समयका लागि भए पनि नेपालीहरूले उनलाई सच्चा नेपाली छोराका रूपमा व्याख्या र विश्लेषण गरेको पाइयो। तर, त्यसको एक महिना नबित्दै तिनै सुदन गुरुङले सुशीला कार्की र गृहमन्त्रीको विरूद्धमा अन्टसन्ट बोल्न थालेपछि यो शब्दको पनि अवमूल्यन हुन थालेको छ।

पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली र उनकै पार्टीका अर्का नेता महेश बस्नेतले त ‘आमै’, ‘बज्यै’ जस्ता शब्दहरू प्रयोग गर्दै ‘हुर्मत’ लिन छाडेका छैनन्। अर्का एमाले नेता तथा पूर्व पत्रकार सूर्य थापाले त तरकारी किन्न हिँडेकी हजुरआमालाई एक्कासि प्रधानमन्त्री पद चिट्ठा परेको कुरा पनि गरेका छन्।

७. सर्को तान्नु

नेपाली समाजमा खासगरी गण्डकी क्षेत्रमा ‘सर्को तान्नु’ भन्ने शब्द निकै परिचित छ। खासगरी चुरोट, गाँजा वा अन्य कुनै लागु पदार्थ चिलिमको प्रयोग गरेर आनन्द लिने कामलाई ‘सर्को तान्ने’ भनिन्छ। केशव पिँडालीको ‘खै खै’ निबन्ध पनि सर्को तान्ने कुरामै आधारित भएको पाइन्छ।

मानिसहरू किन यसरी शब्दहरू बोल्दा र प्रयोग गर्दा ध्यान दिँदैनन् ? के नेपाली समाज अब पूर्णरूपले संस्कारहीन हुन थालेको हो? हामीले बोल्ने शब्दहरूले हाम्रो संस्कार र समाजको प्रतिनिधित्व गरेको हुन्छ। कसैलाई गाली गर्नु छ भने पनि शब्द चयन गर्दा ख्याल गरौँ।

जेन-जी आन्दोलनपछि काठमाडौँका मेयर बालेन र नागरिक अभियन्ता निकोलश भुसाललाई ‘गँजडी’ भनेर नेपाली मिडियामा गालीको वर्षा हुँदा वर्तमान शिक्षामन्त्री महावीर पुनले आफ्नो फेसबुक स्टाटसमा भनेका थिए, “केही आशलाग्दा अभियन्ता र अगुवाहरूले बेला-बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ। सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नलेख्न र नबोल्न अनुरोध छ।” (महावीर पुन, नोभेम्बर २)

८. बैगुनी केटो

नेपाली समाजमा ‘बैगुनी केटो’ पनि निकै चलेको शब्द हो। केही समयअघि एमाले अध्यक्ष केपी ओलीले नेता योगेश भट्टराईलाई प्रयोग गरेको यो शब्द तत्कालीन समयमा निकै चर्चामा आयो। अहिले पनि योगेश भट्टराई भनेपछि ‘बैगुनी केटो’ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा छ।

जति गुन लगाए पनि नसुध्रिने र आफूले भनेको नमान्ने मान्छेलाई ‘बैगुनी’ का रूपमा चित्रण गरिन्छ। समय-समयमा योगेश भट्टराईले ट्वीट गर्दा वा कुनै राजनीतिक प्रतिक्रिया दिँदा सर्वसाधारणहरूले उही ‘बैगुनी केटो’ को पगरीसहित उनको विरोध गरेको देखिन्छ।

मानिसहरू किन यसरी शब्दहरू बोल्दा र प्रयोग गर्दा ध्यान दिँदैनन् ? के नेपाली समाज अब पूर्णरूपले संस्कारहीन हुन थालेको हो? हामीले बोल्ने शब्दहरूले हाम्रो संस्कार र समाजको प्रतिनिधित्व गरेको हुन्छ। कसैलाई गाली गर्नु छ भने पनि शब्द चयन गर्दा ख्याल गरौँ।

खासगरी राजनीतिक व्यक्तित्वहरूले प्रयोग गर्ने शब्दहरूमा शक्ति लुकेको हुनाले नेपाली समाज सभ्य कि अश्लील बनाउने भन्ने कुरा उनीहरूको शब्द चयनमा भर पर्छ। महावीर पुनले यो कुरा नेपाली समाजलाई सिकाएका छन्। सिक्ने प्रयास गरौँ। मिठो बोल्दा कसैलाई घाटा हुन्न।

(लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा प्राध्यापनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?