१५ मंसिर, बुटवल । बुटवलसँग जोडिएको पाल्पाको बसन्तपुरस्थित कामाख्या धाम पर्यटकीय गन्तव्यसँगै पछिल्लो समय विवाह स्थल (वेडिङ डेस्टिनेसन) का रूपमा विकास हुन थालेको छ ।
आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको गरी डेढ अर्ब लगानीमा साढे दुई वर्षअघि लुम्बिनी प्रदेशमै पहिलोपटक लुम्बिनी केबलकार सञ्चालनमा आएको थियो । साढे दुई वर्षमा करिब चार लाख पर्यटक भित्रिएको कम्पनीले जनाएको छ । जसमा भारत उत्तर प्रदेशका विभिन्न शहरबाट केवलकार चढ्न र घुम्न आउनेको संख्या उल्लेख्य रहेको व्यवस्थापक प्रज्ज्वल घिमिरेले बताए ।
केबलकारको माथिल्लो स्टेसनमा प्रख्यात शक्तिपीठ कामाख्या देवी मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको भनिने दुर्गा मन्दिर पनि रहेकाले यो ठाउँलाई नेपाली र भारतीय नागरिकले विवाह गर्ने ठाउँका लागि पनि रोज्न थालेका हुन् ।
कामाख्या देवीको दर्शनले दाम्पत्य जीवन सफल हुने र सन्तान सुख प्राप्ति तथा मानव जीवनमा आइपर्ने संकट मोचन हुने हिन्दु धर्मावलम्बीहरुमा आस्था र विश्वास छ । यही विश्वासले कामाख्या मन्दिरमा विवाह गर्न आउनेको संख्या बढ्दै गएको मन्दिरका मूल पूजारी सुरेश पौडेलले बताए ।
दुई दिनअघि मात्रै भारत उत्तर प्रदेशका विजय जैसवाल र चाँदनी जैसवाल आफन्तसहित बसन्तपुर आएर विवाह गरेका थिए ।
‘विवाह हरेकको जीवनको एक अविस्मरणीय सुखद् घटना भएकाले हामीले नयाँ डेस्टिनेसन रोजेका हौं,’ दुलाहा जैसवालले भने, ‘हाम्रो परिवार कामाख्यादेवीको भक्त भए पनि भारतको गुहावटी पुग्न धेरै टाढा भएकाले नेपालको कामाख्या धाममा विवाह गर्न आएका हौं ।’
समुन्द्री सतहभन्दा करिब एक हजार मिटर उचाइको बसन्तपुर डाँडो हरियालीयुक्त, मनमोहक र शान्त वातावरणको रहेकाले यहाँ आएर विवाह गर्न पाउँदा छुट्टै आनन्द आएको उनले बताए ।
‘अघिल्लो वर्ष भन्दा यो आर्थिक वर्षमा यहाँ विवाह गर्न आउनेको संख्या बढेको छ, यो मंसिरमा मात्रै ५ जोडीको विवाह हुँदैछ’ मन्दिरका मूल पुजारी सुरेश पौडेलले भने, ‘यो सिजनमा विवाह गर्ने पहिलो जोडी भारत उत्तरप्रदेशका हुन् ।’
भारत उत्तर प्रदेशको २४ करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै हरेक वर्ष बुटवल भित्राएर केबलकार यात्रा गराउन र बसन्तपुर हिल स्टेसनमा पुर्याउन सके रुपन्देहीको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल बताउँछन् ।

‘बुटवलसँग जोडिएका हिल स्टेसनहरु बसन्तपुर, नुवाकोट र हिलपार्कमा भारतीय पर्यटक भित्राउन सम्बन्धित सरकारी निकायले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ’ अर्याल भन्छन्, ‘जेनजी आन्दोलनपछि शिथिल भएको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने सजिलो माध्यम पर्यटन क्षेत्र नै हो ।’
बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुरलाई जोडेको छ । बुटवलस्थित तल्लो स्टेशनबाट करिब ३ किलोमिटर दुरीमा रहेको माथिल्लो स्टेशनमा १२ मिनेटमै पुगिन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजुले जानकारी दिए । साढे दुई वर्षमा झण्डै एक लाख भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ ।
दशकौं वर्र्षसम्म सुनसान पाल्पाको बसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
बसन्तपुरमा जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ (आधुनिक पिङ), बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुराँ, सेमिनार हल लगायत पर्यटकीय संरचना बनाइएको छ ।
केबलकारले जन्मदिनमा नि:शुल्क यात्रा र ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट दिने गरेको छ । हरेक महिनाको १ गते साँझ महाआरती हुने गरेको छ ।
बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडोयाममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको म्यानेजर घिमिरे बताउँछन् ।
धार्मिक र पर्यटकीय पुर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम, बजारको कोलाहल र प्रदूषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाइको थलो बनेको घिमिरेले बताए ।
अष्ट्रियाको डुपलमायर कम्पनीबाट बनेको केबलकार २ किलोमिटर ६ सय मिटर लामो छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।
केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचिमा सूचीकृत गरेको परिषद्का प्रमुख रामु जोशीले बताए ।
प्रतिक्रिया 4