१५ मंसिर, सुर्खेत । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि प्रतिनिधि चयनमा गर्दा कर्णाली प्रदेशमा भने अरु भन्दा भिन्न प्रकृतिको शक्ति–संघर्ष देखिएको छ ।
अरु प्रदेशतिर संस्थापन र इतर पक्षको प्रतिस्पर्धा भयो । तर कर्णालीमा भने केपी ओलीलाई नै नेता मान्ने स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटी गुटको टक्कर भएको छ ।
तत्कालीन नेकपा विभाजनपछि एमाले कर्णालीको शक्ति–संघर्ष फेरिएको छ । कर्णालीमा कँडेल र बोगटीले फरक फरक गुट चलाउँदै आएका छन् । पार्टीको प्रदेश र जिल्ला अधिवेशनमा दुई गुट बनाएर चुनावमा भिडेका यी दुई समूहको किचलो महाधिवेशन प्रतिनिधि चयमा पनि देखिएको छ । प्रदेशमा बलियो रहेको कँडेल समूहले बोगटी समूहलाई निषेध गर्दा कतिपय ठाउँमा विवाद चुलिएको नेताहरू बताउँछन् ।
‘कर्णालीमा संस्थापन समूह एकलौटी जस्तै छ । तर लडाइ दुई नेताले चलाका गुटहरूबीच हो,’ एमालेका एक केन्द्रीय सदस्यले भने, ‘यामलाल कमरेडको समूहले गोरख कमरेडको समूहलाई पूर्ण रुपमा निषेध गरेपछि केही जिल्लाहरूमा अझै सहमति जुट्न सकेको छैन ।’
स्थायी कमिटी सदस्य कँडेल र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले प्रतिनिधि छनोट गर्दा बोगटी समूहका नेता कार्यकर्तालाई बाइपास गरेको आरोप छ । पार्टीको जिल्ला अधिवेशनमा चुनाव लडेकाहरूलाई निषेध गरेर प्रतिनिधि छनोट गरिएको नेताहरू बताउँछन् ।
सुर्खेत–२, मा एमालेबाट प्रतिनिधि सांसदको उम्मेदवार बनेको निवर्तमान जिल्ला अध्यक्ष अमृत कुमार बिसीले महाधिवेशन प्रतिनिधिसम्म हुन पाएनन् । जिल्लाको नेतृत्व गरेको कँडेल समूहले एकछत्र प्रतिनिधि चयन गर्याे ।
पहिले कँडेल ससमूमै रहेका बिसीले जिल्ला अधिवेशनमा गुट परिवर्तन गरेर पुन: अध्यक्षका लागि चुनाव लडेका थिए । ‘त्यही चुनावमा प्रतिस्पर्धा गरेकै कारण अमृत कमरेडलाई महाधिवेशन प्रतिनिधि समेत हुन दिइएन, एकलौटी निर्णय गरियो,’ बिसी निकट एक नेताले भने, ‘यसरी निषेधको राजनीतिले पार्टीलाई कहाँ पुर्याउने हो, भन्न सकिदैन् ।’
एमाले प्रदेश अध्यक्ष शाहले आफ्नो गृह जिल्ला सल्यानमा पनि आफू निकट व्यक्तिलाई मात्रै एकलौटी प्रतिनिधि छनोट गरेको आरोप छ । शाहले यसअघि जिल्ला अधिवेशनमा आफ्ना विश्वास पात्र भीमबहादुर सेनको समूहलाई जिताएका थिए । अहिले त्यही समूहले जिल्ला अधिवेशनमा आफू विरुद्ध लडेकालाई प्रतिनिधि छनोटको छलफलमै समावेश नगरेको आरोप लागेको छ ।
जिल्ला अधिवेशनमा शाह पक्षका सेनविरुद्ध चुनाव लडेका नेता–कार्यकर्तालाई प्रतिनिधि छनोटमा पूर्ण रूपमा निषेध गरेको आरोप छ । विधि र प्रक्रिया मिचेर होटलको बन्द कोठाबाट एकलौटी ढङ्गले प्रतिनिधि छनोट गरिएको भन्दै असन्तुष्ट पक्षले चर्को विरोध जनाएको छ ।
सल्यानबाट अधिकांश वर्तमान पदाधिकारी नै महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । जिल्ला अध्यक्ष सेन, उपाध्यक्ष ओजबहादुर बुढाथोकी, घनश्याम शर्मा र लालबहादुर रावत खुल्लातर्फ प्रतिनिधि छनोट भएका छन् । महिलातर्फ सचिव पुष्पाकुमारी बोहरा र सनसिल्ला वली (डिसी) छनोट भएका छन् भने ४० वर्षमुनिको तर्फबाट उपसचिव गणेशमान सिंह र दलिततर्फ भिउसेन नेपाली प्रतिनिधि बनेका छन् ।
असन्तुष्ट पक्षले सदरमुकामको एक होटलको कोठामा बसेर शाह पक्षधरलाई मात्र समेट्नेगरी तयार पारिएको सूचीले चार हजार सङ्गठित सदस्यहरूको अधिकार कुण्ठित गरेको आरोप लगाएको छ । ‘कुनै विधि र मापदण्डविना डमी निर्वाचन समिति बनाएर फर्जी कागजात तयार पारी प्रतिनिधि छनोट गरिनु लोकतन्त्रको उपहास हो’ एमाले सल्यानका सङ्गठित सदस्य घनश्याम पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पारदर्शिता, समय सीमा र केन्द्रीय निर्देशनको उल्लङ्घन गर्ने यस्तो कार्य स्वीकार्य छैन ।’
रुकुम पश्चिमा पनि दुई समूहका नेताहरूबिच सहमति नजुट्दा निर्वाचन नै गर्नु पर्यो । निर्वाचनबाट खुल्ला तर्फ एमाले जिल्ला कमिटी अध्यक्ष नन्दाराम देवकोटा, दिनेश चन्द, महिलामा हिमकुमारी केसी र कौ शिला केसी, युवा (४० वर्ष मुनी) प्रकाश खड्का र दलितमा शशिराम परियार निर्वाचित भए ।
निर्वाचनबाट चुनिएका सबै नेताहरू कँडेल समूहका हुन् । केन्द्रमा ओली सरुहमै रहे पनि जिल्लामा भने कँडेल र बोगटी समूह चुनावमा भिडेको एमाले रुकुम पश्चिमका एक नेताले बताए । उक्त चुनावमा कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल भने पराजित भइन् । मल्ल केन्द्रमा ओली समूहमा भए पनि जिल्लामा कँडेल समूहमा नभएकै कारण चुनाव हारेको नेताहरूको भनाई छ ।
महिलातर्फबाट कौशिला केसी र हिमकुमारी केसी विजयी हुँदा मल्ल भने पराजित भइन् । महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि मल्लले सामाजिक सञ्जाल मार्फत चर्को असन्तुष्टि पोखेकी छन् । ‘महाधिवेशन प्रतिनिधि छनोटको आन्तरिक निर्वाचनमा केही कमरेडहरूले पाँच पटक, सात पटक, कसैले दुई/चार पटक भोट हाल्नु भयो । मतदानमा उपस्थित नभएका व्यक्तिहरूको मत हाल्नुभयो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन् ।
मल्लले यसरी मत हालेर जित्ने नेताहरूलाई अगामी निर्वाचन जितेर देखाउन चुनौती दिएकी छन् । ‘यो कला र सीप अब आउने २०८४ को निर्वाचनमा एमालेका उम्मेदवारलाई विजय बनाउन प्रयोग गर्नुहोला । हिजोको तपाईँहरूको कला देखेर म विश्वस्त छु,’ उनले लेखेकी छिन् ।
हुम्लामा आइतबार राति नै महाधिवेशन प्रतिनिधि चयन गरिए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । हुम्ला बोगटीको गृह जिल्ला हो । तर जिल्ला कमिटीमा कँडेल समूहको वर्चस्व भएकाले प्रतिनिधि छनोटमा सकस भएको एमाले हुम्लाका एक नेताले बताए ।
ती नेताका अनुसार हुम्लाबाट जिल्ला अध्यक्ष ज्ञामी बुमी, लोक बहादुर हमाल, महिलातर्फ प्रतिमा लामा, विमला कुमारी शाही, दलितबाट पर्वत सुनार र युवा (४० वर्ष मुनी)बाट तीर्थराज बोहरा (जिल्ला सचिव) छनोट भएका छन् । ६ जना प्रतिनिधि मध्य पाँच जना कँडेल समूह र एक जना महिना प्रतिनिधि मात्रै बोगटी समूहबाट छनोट भएको नेताहरू बताउँछन् । विमला कुमारी शाही बोगटी समूहकी हुन् ।
सुर्खेत क्षेत्र नम्बर १ बाट पनि ७ जना प्रतिनिधि चयन भइसकेका छन् । तर अझै सार्वजनिक भने गरिएको छैन । जसमा खुल्ला तर्फ पूर्व प्रदेश मन्त्री खड्का बहादुर खत्री, कवीन्द्र केसी, मानबहादुर खत्री र टिकाराम सोमई रहेका छन् । महिला तर्फ विमला खड्लुक, तुलसी शर्मा र युवा तर्फ पूर्णबहादुर थापा छनोट भएका छन् । यी सबै कँडेल समूहका हुन् ।
प्रदेशका चार जिल्लामा अझै प्रतिनिधि चयन हुन सकेको छैन । केही हुम्ला र सुर्खेतमा प्रतिनिधि चयन गरिए पनि अझै घोषण भने गरिएको छैन । मुगु, हुम्ला, सुर्खेत–१ र दैलेखमा प्रतिनिधि चयन ढिलाइ भइरहेको छ । नेताहरूका अनुसार सर्वसम्मतिबाटै प्रतिनिधि चयन गर्ने उद्देश्यले छलफलहरू भइरहेका छन् ।
प्रदेश बाँकी ६ जिल्लामा प्रतिनिधि छनोट भइसकेको छ । जाजरकोट, सल्यान, कालिकोट, सुर्खेत–२, रुकुम पश्चिम, डोल्पा र जुम्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । रुकुम पश्चिममा निर्वाचन भएको थियो भने सल्यानमा विवादित बनेको छ ।
एमालेमा ओली र माधवकुमार नेपाल समूहको गुट हुँदा प्रदेशमा दुवै पक्षको बराबरी जस्तै थियो । तर अहिले नेपालले एमाले छोडेर छुट्टै पार्टी खोलेपछि नेतृत्वमा ओलीकै पक्षमा कर्णाली एकलौटी छ । ओलीको विकल्प खोज्नुपर्छ भन्नेलाई प्रतिनिधि चयनमै रोक्ने रणनीति अनुसार नै एकछत्र रूपमा ओली समूहका प्रतिनिधिहरू मात्रै छनोट गरिएको नेताहरूको बुझाइ छ ।
प्रतिनिधि चयन गर्दा यमलाल कँडेल र गुलाबजंग शाहको लगभग एकलौटी चलेको नेताहरू बताउँछन् । ‘कर्णालीमा संस्थापन इतरबाट बोल्ने र नेतृत्व लिने ठुला नेता छैनन्, जिल्ला तहका नेताहरूलाई यमलाल कँडेलले पेलेर अगाडि बढेका छन्,’ एक नेता भन्छन् ।
कर्णालीमा गुलाबजंग शाहसँग प्रदेश अध्यक्ष हारेका मीनबहादुर शाहीले समेत फरक मत राख्न सक्ने अवस्था छैन । आफूलाई प्रदेश अध्यक्षमा हराउने यमलाल र गुलाबजंगहरूकै लाइनमा शाही उभिएका छन् ।
केन्द्रमा ओली समूहमै रहेको बताउँछे शाही कर्णालीमा भने बोगटी समूहमा छन् । केन्द्रीय सदस्य विष्णु रिजाल र नीरज आचार्य पनि बोगटी समूहका हुन् । त्यसैले कर्णालीमा प्रतिनिधि चयनमा एकलौटी जस्तो भएको नेताहरूको दाबी छ ।
तर निर्विरोध भएका र चुनावबाट जितेर आउने प्रतिनिधिहरूको पृष्ठभूमि हेर्दा संस्थापन इतरमा पनि राम्रै मत जाने सम्भावना रहेको नेताहरू बताउँछन् । ‘ईश्वर पोखरेललाई कर्णालीबाट २० प्रतिशत मत जान सक्छ,’ संस्थापनकै एक नेता भन्छन्, ‘कर्णालीमा ईश्वर कमरेडको पक्षमा खुलेर जाने अवस्था छैन, तर लुकेर भने प्रतिनिधिहरू गइरहेका छन् ।’
तत्कालीन नेकपा विभाजन अघि माधव नेपाल समूहमा रहेका जिल्लाका नेताहरू अहिले ओली समूहमा रहनुको विकल्प छैन । नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रहेका केही नेताहरू अहिले पुन: एमालेमै फर्किएका छन् । ‘जिल्लामा जुन पक्षको भनेर प्रतिनिधि चुनिए पनि निर्णय बदल्ने धेरै नेताहरू छन्,’ ती नेताले भने । संस्थापन इतर भनेर प्रतिनिधि चयन हुन नसक्ने भएकाले उनीहरू अहिले संस्थापन बनेको उनको बुझाइ छ ।
डोल्पाबाट प्रतिनिधि छनोट भएका नन्दसिंह बुढा कर्णालीको राजनीतिमा विवादास्पद पात्रका रूपमा चिनिन्छन् । गत असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा उनीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
२०७४ मा डोल्पा (१) बाट प्रदेश सभामा निर्वाचित उनी नेकपा कालमा मन्त्री पद जोगाउन ‘फ्लोर क्रस’ गरेर चर्चामा आएका थिए । पछि एकीकृत समाजवादीमा लागेका उनी २०७९ को चुनावअघि पुन: एमालेमा फर्किएका थिए । कर्णाली प्रदेशबाट ११३ जना प्रतिनिधि मात्रै चयन हुनेछन् ।
प्रतिक्रिया 4