News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै युद्धस्तरमा जुट्न आग्रह गरेका छन्।
- पौडेलले महाधिवेशनका लागि सदस्यता नवीकरण र वितरणलाई सहज बनाइएको र सबैलाई सदस्यता उपलब्ध गराइने व्यवस्था गरिएको बताएका छन्।
- महाधिवेशनले पार्टीमा एकता कायम हुने, नीतिगत प्रष्टता आउने र आगामी निर्वाचनमा पार्टीलाई लाभ हुने पौडेलले उल्लेख गरे ।
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै युद्धस्तरमा जुट्न आग्रह गरेका छन् । पार्टी पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बनेर लाग्नु पर्ने उनको भनाइ छ ।
केन्द्रीय कार्यसमिति बेठक सुरु भएको दोस्रो दिन नै आफूले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर सहमति गर्नु पर्ने प्रस्ताव राखेको जनाउँदै उनले डेढ महिना यसै खेर गएको जिकिर गरेका छन् ।
नियमित महाधिवेशनको कार्यतालिका पारित भएसँगै आफूलाई धेरै नेता–कार्यकर्ताले फोनमार्फत सम्पर्क गरेर समयमा सकिँदैन कि भन्ने संशय व्यक्त गरिरहेको बताएका पौडेलले अब युद्धस्तरमा काम हुने र महाधिवेशन भएरै छाड्ने बताए ।
‘मैले गत ३० कात्तिकमा नै तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव छ । बैठक लामो नचलाऔं । बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’ नेता पौडेलले भिडियो वक्तव्य जारी गर्दै भनेका छन्, ‘तर, यसलाई गम्भीर रूपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो ।’
केन्द्रीय सदस्य पौडेलले बैठकमा कार्यतालिकासहित पुस महिनाभित्र महाधिवेशन गर्न सकिने लिखित प्रस्ताव दर्ता गरेका थिए । पछि महामन्त्रीबाट समेत सोही अनुसार प्रस्ताव आएको भन्दै नेता पौडेलले भने, ‘पछि महामन्त्रीको प्रस्ताव पनि पुष भित्रै सम्पन्न गर्नेगरी आयो । तर, त्यतिबेला निर्णय हुन सकेन । निर्णय भएको भए समयको त्यति चाप पर्ने थिएन ।’
अझै पनि तोकिएकै मितिमा महाधिवेशन सम्भव भएको भन्दै नेता पौडेलले तर त्यसका लागि सबै युद्धस्तरमा खटिनु पर्ने बताए ।
महाधिवेशनका लागि सबैभन्दा महत्वपूर्ण पाटो सदस्यता नवीकरण र वितरण भएको भन्दै उनले यसपालिको व्यवस्थाले विगतमा जस्तो विवाद र समय नलगाउने विश्वास गरे ।
‘तर, यो पटक धेरै सजिलो बनाइएको छ । सदस्य कसैले नवीकरण गर्न चाहेमा बन्चित हुने छैन । विधानले वर्जित गरेको बाहेक कसैको सदस्यस्ता वर्जित हुने छैन । वडा, जिल्ला, केन्द्र र डिजिटल्ली पनि नवीकरण हुने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘अब चाहने नेपाली नागरिकले सदस्यता पाउने स्थिति बनेको छ ।’
पार्टी प्रतिबद्धता पूरा गरेको अवस्थामा वडा, केन्द्र वा प्रविधिबाट सदस्यता दिइने भन्दै नेता पौडेलले चाहने सबैलाई उपलब्ध गराएर सबैका लागि कांग्रेस खुला गराउने व्यवस्था गरिएको बताए । उनले विशेष महाधिवेशन माग गर्नेको पनि पहिलो प्राथमिकता नियमित महाधिवेशन भएकाले यसले ५४ प्रतिशत हस्ताक्षरकर्ताको समेत माग सम्बोधन हुने बताए ।
महाधिवेशनले पार्टीमा एकता कायम हुने र नीतिगत प्रष्टता समेत हुने भएकाले आगामी निर्वाचनमा पार्टीलाई लाभ हुने उनले बताए ।
‘महाधिवेशनपछि पार्टीमा एकता कायम हुन सक्छ । नीतिगत रूपमा प्रष्ट भएर आउन सक्छ । जेनजी पुस्ताको विषय समेटेर धारणा ल्याउन सक्छ । पार्टीका सबै संरचना चलायमान हुन सक्छन् । सबै पक्षबाट प्रष्ट भएर अपिल गर्न सक्ने नेतृत्व आउन सक्छ । फागुन २१ को मतदानमा मत बढाउन सक्छ,’ केन्द्रीय सदस्य पौडेलले भने ।
प्रतिक्रिया 4