News Summary
Generated by OK AI. Editorially reviewed.- डा. अजयकुमार झाका अनुसार गाउँ र शहरमा क्यान्सरको समस्या समान छ, तर दक्ष जनशक्ति र अत्याधुनिक मेसिनको कमीले उपचारमा ठूलो ग्याप छ।
- सरकारले रोकथाममा ध्यान दिनुपर्ने र रेफरल सिस्टम बलियो बनाउनुपर्ने सुझाव डा. झाले दिएका छन् ।
नेपालमा क्यान्सर किन बढ्दै छ ?
आजभन्दा केही दशक अघिसम्म निदानको साधन सीमित भएकाले धेरै क्यान्सर पत्ता नै लाग्दैनथ्यो, तर अहिले स्क्रिनिङ, जाँच–प्रविधि र अस्पताल पहुँच सबै बढेका छन् । त्यसैले पहिले नदेखिएका धेरै केस आज पहिचान हुने गरेको छ भन्ने सुनिन्छ यो कुरामा कति सत्यता छ ? नेपालमा क्यान्सरको सबै उपचार छ भनिन्छ, तर धेरै बिरामीहरु भारत धाइरहेका छन् । यसको कारण के होला ?
यी विषयमा रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झासँग गरिएको कुराकानी
अहिले क्यान्सर जस्ता दीर्घ रोगहरू धेरै बढे भन्ने सुनिन्छ । मान्छेहरू भन्छन् पहिला अस्पताल र डायग्नोस्टिक सुविधा थिएन, त्यसैले रोग पत्ता लाग्दैनथ्यो, अहिले सुविधा बढ्यो त्यसैले धेरै देखियो । के यसमा कति सत्यता छ ?
पछिल्लो समय अस्पताल र रोग पत्ता लगाउने प्रविधि बढेर क्यान्सर जस्ता रोग बढी पत्ता लागेको हो भन्ने कुरा आधा मात्र सत्य हो । सुविधा बढेकाले केही हदसम्म पत्ता लाग्ने दर बढेको त हो, तर वास्तवमा रोगहरू नै बढेका छन् । दीर्घ रोगहरूको मूल कारण दीर्घकालीन विषाक्त पदार्थको एक्स्पोजर हो । यस्ता रोग रुघाखोकी जस्तो एकै पटक सर्ने होइन, यो वर्षौँसम्म शरीरका कोषहरूमा विषाक्त पदार्थ जम्मा हुँदै गएर हुने हो ।
३०–४० वर्षअघिको जीवनशैली सम्झिऊ त खाना पूर्णरूपमा जैविक हुन्थ्यो । आफ्नै बारीको तरकारी, दूध, दही, दाल, चामल । केही सीमित कुरा मात्र बजारबाट किनेर ल्याइन्थ्यो । खेतबारीमा विषादीको प्रयोग न्यून हुन्थ्यो । मान्छेहरू बिहान ५ बजे उठ्थे, खेतबारीमा दिनभरि काम गर्थे, साँझ घर फर्केर खाना खान्थे ८–९ बजेतिर सुत्थे । पहिलेका मान्छेहरू बाहिरको घाम, हावा, पानीको प्रत्यक्ष सम्पर्कमा हुन्थे ।
अहिले के भयो भने कृषि उत्पादनमा अत्यधिक रासायनिक मल, विभिन्न रसायन तथा कीटनाशकहरूको प्रयोग हुन्छ । एउटा मात्र सिजनमा पाइने फलफूल तरकारी बाह्रै महिना उत्पादन हुन थाल्यो । धेरै किसानहरू भन्छन् ‘बालीमा पहिला २ पटक कीटनाशक स्प्रे गर्थ्यौँ, अहिले ७–८ पटक गर्नुपर्छ, नत्र बाली नै हुँदैन ।’
जमिनको उर्वराशक्ति घट्दै गएको छ, तर यसको अनुसन्धान र नियन्त्रण शून्य छ ।
जीवनशैली पूर्णरूपमा इन्डोर भएको छ । बिहान ८–९ बजे उठ्ने, गाडी चढ्ने, एसी कोठामा बस्ने, साँझ फेरि गाडीमै घर फर्कने । घाम, प्राकृतिक हावामा ज्यादै कम बस्ने। व्यायाम शून्य हुन थाल्यो।
वायुप्रदूषण, गाडीको धुवाँ, औद्योगिक धुलो, ओजन तहको क्षय यी सबै टक्सिनहरू वर्षौँसम्म जम्मा हुँदै गए । नतिजा स्वरूप मोटोपन बढ्यो, रोगप्रतिरोधी क्षमता घट्यो, दीर्घ रोगहरू बढे । पहिला टाइफाइड, निमोनिया, झाडापखालाबाट मान्छेहरू मर्थे किनकि औषधि थिएन । अहिले ती रोगको औषधि छ, तर कतिपय दीर्घ रोगको औषधि छैन । केहीको औषधि छ र जीवनभरि खानुपर्छ । त्यसैले क्यान्सर जस्ता रोगहरूको परीक्षण मात्रै बढेको हैन रोग नै बढेको हो ।
शहरमा धेरै क्यान्सरका बिरामी धेरै छन्, गाउँमा कम छ भनेको सुनिन्छ नि ?
यो एकदम गलत धारणा हो । क्यान्सरको समस्या शहरमा मात्र हैन गाउँमा पनि उत्तिकै छ, बरू कतिपय ठाउँमा अझै बढी छ । म आफैँ ग्रामीण क्षेत्रमा बसेको मान्छे, ग्रामीण क्षेत्रका बिरामीहरू हेर्छु । भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र गण्डकीका गाउँहरूमा तरकारी खेती धेरै हुन्छ । त्यहाँ ब्लड क्यान्सर र अन्य क्यान्सरका बिरामी धेरै आउँछन् । किसानहरू नै भन्छन् ‘खेत बारीमा पहिला २ चोटि कीटनाशक स्प्रे गथ्र्यौं, अहिले ८ चोटि गर्नुपर्छ ।’
एउटा गाउँमा ३६ जनालाई क्यान्सर भएको भन्ने त समाचार नै आयो । तराईमा माछा पालन गर्ने घरका सदस्यहरूलाई बढी क्यान्सर देखिन्छ । उनीहरू फर्मालिन (फर्मल डिहाइड) प्रयोग गर्छन् ।
क्यान्सरको मूल स्रोत खाना शहर र गाउँमा साझा छ । गाउँले खेती गर्छ, शहरले खान्छ । दुवै ठाउँमा उही विषादीयुक्त खाना पुग्छ । त्यसैले गाउँ शहरमा क्यान्सर जस्ता
दीर्घरोगको वितरण लगभग उस्तै छ ।
नेपालमा क्यान्सरको उपचार सबै छ भनिन्छ, तर बिरामीहरू भारत जानुपर्छ भन्छन् किन होला ?
नेपालमा नै क्यान्सरको उपचार सम्भव छ भने पनि क्यान्सरको पहिचान गर्ने र उपचार दुवैमा ठूलो ग्याप छ । नेपालमा अझै पनि दक्ष जनशक्ति अत्यन्त कम छन् । भएका दक्ष जनशक्ति पनि सबै एकै ठाउँमा विशेष गरी शहरी क्षेत्रमा केन्द्रित छन् । यसले गर्दा गाउँका बिरामीलाई दक्ष चिकित्सककोमा पुग्नै समस्या छ ।
अत्यधुनिक मेसिनहरू सीमित छन् र भए पनि सरकारी अस्पतालहरूमा तिनको पूर्णउपयोग हुँदैन । बहुविशेषतायुक्त टिम जस्तो प्याथोलोजिस्ट, रेडियोलोजिस्ट, अंकोलोजिस्ट, सर्जन एकै ठाउँमा सँगै बसेर काम गर्ने प्रचलन छैन ।
रेफरल सिस्टम पूर्णरूपमा विफल छ । गाउँ वा शहरका डाक्टरले पनि सही ठाउँमा सही समयमा बिरामीलाई पठाउँदैनन् । जसले गर्दा बिरामी महिनौँसम्म अलमलिन्छ, पैसा सकिन्छ, रोग बढ्छ ।
अधिकांश बिरामी हामीकहाँ आउँदा स्टेज ३–४ मा हुन्छन् । ४८ घण्टामा डायग्नोसिस गर्न सकिने केस सरकारी अस्पतालमा २५–३० दिनसम्म पनि डायग्नोसिस हुँदैन । अनावश्यक जाँचहरू धेरै गराइन्छन् । त्यसैले यी सबै समस्याबाट बच्न धेरै बिरामी उपचारका लागि भारत जाने गर्छन् ।
सरकारले क्यान्सर लाग्नै नदिन चाहिँ के गर्नुपर्छ ?
हामीले उपचारमा जति खर्बौं खर्च गर्छौं, त्यति नै खर्बौं जनताले चुरोट, रक्सी, गुट्खा, विषादीयुक्त खानामा खर्च गरिरहेका छन् । सरकारले एकातिर ‘उपचारमा सहयोग गर्छु’ भन्छ, अर्कोतिर ती रोग निम्त्याउने वस्तु बेच्न दिइरहेको छ ।
रोग लाग्न नदिनु नै सबैभन्दा सस्तो र प्रभावकारी उपचार हो । त्यसैले सरकारले पैसा दिएर उपचार होइन, रोकथाममा ध्यान दिनुपर्छ । जैविक खेतीलाई प्रोत्साहन गर्नुपर्छ, विषादीको अत्यधिक प्रयोगमा कडा अनुगमन र नियन्त्रण गर्नुपर्छ । खाद्य सुरक्षा तथा गुणस्तरमा कडा निगरानी गर्नुपर्छ ।
कृषिमा विषादीको मात्रा, भण्डारणमा रङ्ग–केमिकलको प्रयोगमा कडा नियन्त्रण गर्नुपर्छ । बजारमा पुग्ने हरेक तरकारी÷फलफूलको विषादी परीक्षण गर्नुपर्छ । सुर्तीजन्य पदार्थ र मदिरामा पूर्ण प्रतिबन्ध वा अत्यधिक कर र नियन्त्रण गर्नुपर्छ । हरेक वडामा पार्क, हिड्नका लागि ट्र्याक, खेल मैदान, शारीरिक सक्रियता बढाउने पूर्वाधार निर्माण गर्नुपर्छ । स्कुलदेखि नै स्वास्थ्य शिक्षा र शारीरिक व्यायाम अनिवार्य गर्नुपर्छ ।
अर्को महत्वपूर्ण काम भनेको रेफरल सिस्टम बलियो बनाउनुपर्छ । गाउँको स्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालसम्म एउटै डिजिटल प्लेटफर्ममा जोड्नुपर्छ । आवश्यक परेको खण्डमा एक अस्पतालबाट एम्बुलेन्समा अर्को अस्पतालसम्म पुर्याउने व्यवस्था गरिदिनुपर्छ । जसले गर्दा बिरामी अलमल पर्दैनन् कहाँ जाने कसलाई भेट्ने भनेर ।
प्रारम्भिक डायग्नोसिसका लागि गाउँ–गाउँमा स्क्रिनिङ क्याम्प र सचेतना कार्यक्रम गर्नुपर्छ । हामी उपचारमा मात्र होइन, कारण हटाउनतर्फ लाग्नुपर्छ ।
खाना शुद्ध बनाउने, जीवनशैली सक्रिय बनाउने, वातावरण जोगाउने । यी तीन कुरा भए ७०–८० प्रतिशत दीर्घ रोग आफैँ कम हुन्छ । यो व्यक्तिगत, सामाजिक र सरकारी तहको साझा जिम्मेवारी हो ।
प्रतिक्रिया 4