+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
54/3 (9.4)
Shares

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने, अनलाइन सचेतना कक्षा पनि सञ्चालन

‘अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले सुवेदीले भने । यसबाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १२:३६

१८ मंसिर, काटमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले यो नयाँ व्यवस्था लागू गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडक किनारमै रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा विशेषगरी ‘पिक आवर’मा सडकमा जाम हुने गरेको छ ।

‘राजधानीका सडकमा भिडभाड बढिरहेको छ, त्यसमा पनि लामो दुरीका गाडीहरूले नियमविपरीत सडकमा रोकेर यात्रु चढाउने–झार्ने गर्दा जाम अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो,’ सुवेदीले भने ।

यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताए ।

ट्राफिक नियम उल्लंघनकर्तालाई अनलाइन सचेतना कक्षा

ट्राफिक प्रहरीले सडक अनुशासन पालनाका लागि कडाइ गर्दै आएको जनाएको छ । रातो बत्ती उल्लंघन गर्ने, जथाभाबी लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ । चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ ।

यसबाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ । यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गर्दै आएका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुन: इन्स्टल गर्नुपर्ने प्रवक्ता सुवेदीले बताए ।

नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?