१९ मंसिर, काभ्रेपलाञ्चोक । उच्च पदस्थ व्यक्तिलाई धम्की दिने ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (ईएनजी) भनेर लेटरहेडमा लेखिएको पत्रमा ‘चेयरमेन’ भनेर लेखिएको पत्रका पात्रबारे यतिबेला नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।
निकै शंकास्पद र गम्भीर विषयहरू उल्लेखित यो पत्रले अहिले ठूलो हलचल र चिन्ता उब्जाएको छ । सुरक्षा संयन्त्रको टाउको दुखाइ बनेको पत्रमा ‘चेयरमेन’ को नाम उल्लेख भएका व्यक्ति काभ्रेपलाञ्चाक जिल्लाको तेमाल गाउँपालिका १ सर्स्युंखर्कका प्रकाश पाठक हुन् । ३३/३४ वर्षका उनी भारतमा डाक्टर पढिरहेका व्यक्ति हुन् । तर, पारिवारिक रुपमा सम्पर्कमा नरहेका उनी पछिल्लो समय कहाँ र के गर्दै थिए भन्नेबारे यकिन जानकारी छैन ।
उनलाई अहिले उच्च पदस्थ व्यक्तिलाई धम्की दिएकाको घटनामा प्रहरीले खोजी गरिरहेको छ ।
‘सामान्य तथा इमान्दार थिए, परिवारले धेरै रकम खर्च गरेर डाक्टर पढाउन भारत पठाएको थियो, लामो समय देखि सम्पर्कमा छैनन्,’ उनका मामा उमेश खकुरेल भन्छन् ।
परिवारले विद्यालयस्तरको पढाई पनि बनेपामा राखेर बोर्डिङमा पढाएका थिए । विद्यालय तहको पढाई सकिनेबितिक्कै काठमाडौं बसेर पढेका उनी डाक्टर पढ्न भन्दै भारत गएका थिए ।
‘डाक्टर नै चैं भए कि भएनन् तर हामीसँग पनि तीन वर्षदेखि सम्पर्कमा छैनन्,’ खकुरेलले थपे, ‘उनी कुन अवस्थामा छन् के गर्दै छन् पछिल्लो अवस्था हामीलाई थाहा नै छैन ।’
उनका आफन्त पनि सम्पर्कमा नरहेको उनी बताउँछन् ।
‘कुन देशमा छन् इष्टमित्र मात्र हैन घरमा समेत कुनै माध्यमबाट पनि सम्पर्कमा छैनन्,’ उनले भने, ‘भान्जाको बारेमा एक्कासी समाचारहरू आएपछि न कसैको उक्साहटमा पो गरेकी भन्ने लागेको छ ।’
प्रकाशका भाइ प्रदीपले धेरै वर्षदेखि दाई पारिवारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिए । ‘परिवारमा त निकै भयो सम्पर्कमा नभएको म सँग पनि डेढ दुई वर्ष भयो,’ प्रदीपले भने ।
प्रकाशले चलाउने सामाजिक सञ्जाल पनि अहिले निष्क्रिय छ ।
उच्च पदस्थ व्यक्तिलाई धम्कीको घटनामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । धम्की दिएका प्रकाश पाठक नाम गरेका व्यक्तिसँग कनेक्सन देखिएका तथा चिनजानका दुई व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
केही दिनअघि मिति उल्लेख नगरी दुई पृष्ठ लामो पत्र सार्वजनिक भएको थियो ।
पत्रमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको नाम उल्लेख गर्दै धम्की दिइएको छ ।
पत्र सार्वजनिक भएपछि एउटा भिडियो सन्देश समेत सार्वजनिक गर्दै प्रकाश पाठक नाम बताउनेले १० दिनभित्र राजीनामा दिन अख्तियार प्रमुख राईलाई धम्की दिएका छन् ।
बहालवाला अख्तियार प्रमुखलाई ज्यान मार्नेसम्मको धम्की आएपछि यसबारे अख्तियारले प्रहरीसँग समेत छलफल गरेको थियो ।
प्रतिक्रिया 4