२१ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ ।
उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने बताइएको छ ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।
तर विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि यादवले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस दलका नेता यादवले कांग्रेससहित जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका ७७ सांसदहरूको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रतिक्रिया 4