३० फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरमा रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहले दिएको अभिव्यक्तिले अधिकार पाउने आशा जागेको बताएका छन् ।
शनिबार बिहान मधेश प्रदेश प्रहरी कार्यालयको व्यारेक तथा भान्छा घर भवनको निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री यादवले बालेनको नम लिँदै उनले अधिकार दिने आशा पलाएको बताए ।
फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम र बालेनले चुनावताका जनकपुरमा ‘काठमाडौं अधिकार होइन, पशुपति घुम्न आउने’ भन्दै नमागेको अधिकार उनले आफैं दिने भनेकोमा खुसी व्यक्त गरे ।
‘अब काठमाडौंमा पशुपति दर्शन गर्न आउनु होला, अधिकार माग्न होइन भन्ने कुरा सुनेको छु’ उनले भने, ’त्यो कुरा सुन्दा मलाई खुसी लागेको छ ।’
उनले वरिष्ठ नेता बालेन्द्र शाहलाई सम्बोधन गर्दै प्रदेशलाई अधिकार दिनेबारे आएको अभिव्यक्तिलाई स्मरण गराए । ‘वरिष्ठ नेता बालेन्द्र शाहलाई भन्न चाहन्छु, हामीले नमागेरै तपाईँले दिन चाहनु भएको छ भने त्यसका लागि धन्यवाद,’ मुख्यमन्त्री यादवले भने ।
मुख्यमन्त्री यादवले संविधान जारी भएको लामो समय बितिसक्दा पनि प्रदेशबारे संविधानले कल्पना गरेका सबै अधिकार नपाएको गुनासो गरे । ‘आठ वर्षभन्दा बढी भइसक्यो, तर संविधानले दिएको अधिकार पनि प्रदेशले पूर्ण रूपमा पाएको छैन । आशा छ हामीले त्यो अधिकार नमागेरै बालेनले दिने भन्नु भएको छ,’ उनले भने ।
उनले अहिलेको अवस्थालाई असामान्य भन्दै प्रदेश सरकारसँग आफ्नै प्रहरी प्रशासन नभएको उल्लेख गरे। ’यो प्रहरी प्रशासनबिनाको सरकार हो । विश्वमा कहीँ पनि प्रहरी प्रशासनबिनाको सरकार हुँदैन, तर हाम्रो सरकार त्यस्तै अवस्थामा छ,’ उनले बताए ।
११ करोडको लागतमा बन्न लागेको व्यारेक तथा भान्छा घर भवनको मुख्यमन्त्री यादव र मधेशका गृहमन्त्री फकिरा महतोले संयुक्त रुपमा शिलान्यास गरेका छन् । सो अवसरमा मधेश प्रदेश प्रमुख डिआइजी गोबिन्द थपलिया लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4