+
+
Shares
विचार :

गगन थापाले देश र कांग्रेसमा खोजेको परिवर्तन

कांग्रेसभित्र र बाहिरको ठूलो पंक्तिले भावी प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको व्यक्ति गगन नै हो । किनकि, मूलधारका राजनीतिक दलका ठूला पंक्ति यतिबेला यथास्थितिमै रमाउन पुगेकै समय उनी भने पार्टीलाई परिवर्तनको धारमा उभ्याउँदै सिंगै देशलाई रूपान्तरण गर्ने जोखिम उठाउँदैछन्।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०८२ मंसिर २२ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापाले आगामी कांग्रेस महाधिवेशनमा नेतृत्व परिवर्तन गरी प्रधानमन्त्री बन्ने तयारी गरिरहेका छन्।
  • उनी जेनजी विद्रोहपछि नेपाली राजनीतिमा जवाफदेही नेतृत्वका रूपमा प्रस्तुत भएका छन्।
  • गगनले पार्टी र मुलुकमा निर्वाचन अपरिहार्य भएको भन्दै समयमै निर्वाचन गर्नुपर्ने जोड दिएका छन्।

थाहा छ, शीर्षकले नै कतिपयको मनै अमिलो बनाउने निश्चित छ । तर सत्य के हो भने; उत्तरी छिमेकी, भीमकाय मुलुक चीनमा देङ स्याओ पिङ, मलेसियाले समेत लिन अस्वीकार गरेको सिंगापुरमा ली क्वान यू र दक्षिण अफ्रिकामा नेल्सन मण्डेला नेतृत्वमा आउनुपूर्व उनीहरूका बारेमा समेत अनुहार खुम्च्याउनेहरूको कमी थिएन।

विदेशी एजेन्ट बताएर ट्याक्टर कारखानामा कामदारका रूपमा थन्क्याइएका देङ कामदारबाट बाहिर निस्किएर उनकै नीतिले चीनले आजको चीन बन्न मद्दत पुगेको देख्दा आश्चर्य मान्नुपर्ने हुन्छ।

सिंगापुर निर्माणको सपना बोकेका लीले पाएको हन्डर सिंगापुर निर्माणमा उनले उठाएको जोखिम र संकल्प आफैंमा दुस्साहसपूर्ण लाग्छ। तर देङ, ली र मण्डेलाले जोखिम उठाएकै कारण आफूले नेतृत्व गरेको देशलाई माथि त उठाए नै, इतिहासमा समेत स्वर्णिम अक्षरले आफ्नो नाम लेखाए।

हो, नेपाल पनि आज त्यस्तै एक थान नेताको तीव्र खोजी तथा व्यग्र प्रतीक्षामा छ । जसले पार्टी, परिवार र बिचौलियाको प्रभावमा नपरी नेपाल निर्माण सम्भव गराओस्।

जेनजी विद्रोहपश्चात् नेपालको राजनीतिले नयाँ बाटो तय गर्ने निश्चित छ । तर, त्यसका निम्ति भने केही समय प्रतीक्षा गर्नैपर्ने हुन्छ । प्रसंग शुरु गरौं– ११ मंसिर, २०८२ मा अनलाइनखबरले ‘भावी प्रधानमन्त्री को ?’ शीर्षकमा प्रकाशित गरेको एउटा आलेखबाट। त्यसमा उठाइएको छ-लोकतान्त्रिक देशमा प्रायः चुनावअघि नै भावी प्रधानमन्त्री वा राष्ट्रपतिको सम्भावित उम्मेदवार थाहा हुन्छ।

राजनीतिक दलहरूले चुनावमा जाँदा नै फलानो नेता सरकारप्रमुख बन्नेछन् भनेर जनतासँग भोट माग्छन्। उक्त आलेखमा प्रकाशित विषयपछि आजको मितिसम्म आइपुग्दा भावी प्रधानमन्त्रीका बारे राष्ट्रिय बहस प्रारम्भ भएको पाइँदैन । यसरी बहस प्रारम्भ नगरिनुका पछाडि दुई कारण स्पष्टै देखिन्छ।

पहिलो, घोषित मिति, अर्थात् फागुन २१ मा आमनिर्वाचन हुनेमै द्विविधा र दोस्रो कारण हो, नेपालका राजनीतिक दलभित्र ‘टावर पर्सनालिटी’ को खडेरी । तथापि, लोकतन्त्रलाई लयमा ल्याउनका निम्ति पनि निर्वाचन अपरिहार्य छ भने आसन्न कांग्रेस महाधिवेशनमा सभापतिका रूपमा त गगन थापा ‘नो डाउट’, भावी प्रधानमन्त्रीका रूपमा समेत उनलाई हेर्न थालिएको छ।

कांग्रेस महामन्त्रीका रूपमा क्रियाशील गगन नेपाली राजनीतिलाई नजिकबाट नियाल्नेका लागि मात्र नभई राजनीतिमै चासो नराख्नेका लागि समेत चिनाइराख्नुपर्ने नाम होइन । समकालीन राजनीतिक फाँटमा क्रियाशील पुस्तामध्ये जोखिम उठाएकै कारण सर्वाधिक चर्चामा समेत उनी छन्।

विरासतको राजनीतिबाट जन्मँदै चर्चामा रहने भाग्यशाली नेताको सूचीमा उनी नरहे पनि सडक संघर्षबाट राजनीतिमा जबरजस्त स्थापित नेता हुन्, गगन। उनको नाम लिनेबित्तिकै ‘जोखिम’ भन्ने शब्द पनि सँगै जोडिएर आउने गर्दछ।

बीपी कोइरालाकालीन समयलाई छाडेर तुलनात्मक रूपमा कमै उमेरमा कांग्रेस महामन्त्री भएर क्रियाशील गगनबारे हिजोका मितिमा नेपाली राजनीतिमा उनले उठाएका र उठाउँदै आएका जोखिमबारे चर्चा नगरी ‘प्रधानमन्त्रीमा अब गगन’ भनेर चर्चा गरिनु सान्दर्भिक नहोला ।

जेनजी विद्रोह अघिसम्म गगन नेपाली राजनीतिमा मनग्ये प्रश्न गर्थे । तर, नेपालको इतिहासमा मात्र नभई विश्व इतिहासमै अभूतपूर्व मानिएको जेनजी विद्रोहपछि गगन आफैं पनि बदलिएर नेपाली जनतासामु ‘जवाफ’ लिएर उपस्थित भएका छन्।

भदौ २३ र २४ को आगो निभ्न नपाउँदै एउटा जिम्मेवार पार्टीको जिम्मेवार नेताको हैसियतले मुलुकमा राजनीतिक स्थिरतादेखि सुशासन समेत दिन नसकेको स्वीकारोक्ति सहित पार्टी र सरकार समेतको आलोचना गर्दै आफू भने सच्चिने प्रतिबद्धता लिएर जनतासामु प्रस्तुत भए।

आफ्नै पार्टी सम्मिलित हिजोको सरकारका प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको प्रवेश बारेको उनको अभिव्यक्ति केपी सरकारकै समयमा चर्चामा थियो । उनी भन्दै थिए, ‘विचार नै नमिल्नेसँग गठबन्धन, त्यो पनि सरकार ।’ तथापि, पार्टीभित्र अल्पमतमा परेका कारण टुलुटुलु हेर्न बाहेक हिजो विकल्प नै थिएन । तर, अबका दिन ‘न झुक्छौं, न झुक्किन्छौं।’

प्रश्न गर्नु मात्र राजनीतिक योग्यता होइन । प्रश्नै गर्नका निम्ति नेपाली पत्रकारलाई नै छायाँमा पार्ने गरी ‘स्टन्ट’ वाला नयाँहरू व्यापक प्रश्न लिएर नेपाली राजनीतिमा उदाएका छन् । तर, आज नेपाल र नेपालीका लागि जवाफ दिने नेतृत्व चाहिएको छ । सँगै, राजनीतिमा जोखिम उठाउन तयार नेता पनि । भावी प्रधानमन्त्रीका रूपमा बुझ्न लागिएका गगनले हिजो उठाएका जोखिमबारे केही विवेचना गरौं।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा शासनसत्ता हातमा लिएर प्रत्यक्ष शासन प्रारम्भ गरेलगत्तै विद्यार्थी नेताकै हैसियतले शाही शासनका विरुद्ध उनी सडक आन्दोलनको नेतृत्व गर्न पुगे। आन्दोलनकै दौरानमा राज्यद्रोहको मुद्दा खेप्न पुग्दा पनि उनी सडकको मोर्चाबाट पछि हटेनन् । सोही कारण तत्कालीन शाही शासनका विरुद्ध जनमत निर्माण गर्न महत्वपूर्ण आधार बन्न पुग्यो।

सडक आन्दोलन चर्कंदै जाने र तत्कालीन राजाले शासन सत्ता नछाड्ने गोलचक्कर बीच गगन गणतन्त्रको पक्षमा गगनभेदी नारा लगाउँदै उभिन पुगे । कांग्रेसकै कतिपय शीर्ष तहका नेता राजाको पक्षमा उभिएको समयमा गगन गणतन्त्रको पक्षमा उभिनु तत्कालीन समयमा कम चुनौतीपूर्ण थिएन । तथापि, उनी सतिसाल भएर उभिए।

सँगै, नेतृत्वलाई युवाको भावना अनुसार चल्न र नेतृत्वमा युवालाई पुर्‍याउन गगनले आज शेरबहादुर देउवाकालीन समयमा मात्र विद्रोह गरेका होइनन् । २०६२/६३ को आन्दोलनकै दौरानमा गणतन्त्रको आवाज उठाउन पुगेका गगनले आन्दोलनलगत्तै कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका कार्यशैलीको समेत खुलेर विरोध गरे।

कोइरालाको कार्यशैलीप्रति मौन रहँदा नेपाल विद्यार्थी संघको सभापति प्राप्त हुने कुरा उनले नबुझेका होइनन्। तर, उनले त्यो सभापति पदलाई भन्दा ज्यादा आफ्नो मान्यता, अर्थात् कोइरालाले सत्तामा बढी समय बिताएको र नयाँ पुस्तालाई अवसर नदिएको विषय उठाएर कोइरालालाई एकप्रकारले वैचारिक टक्कर नै दिए।

गगनले उठाएको जोखिम तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन कांग्रेस सभापति कोइरालासँग मात्रै सम्बन्धित थिएन । समानान्तर सरकारको अभ्यास नै थालेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ‘सत्ता सञ्चालन सिंहदरबारले गर्ने हो, टंगालले गर्ने होइन’ मात्र भनेनन्, व्यवस्थापिका संसद्मा महाभियोग लगाएर उनलाई हटाउन महत्वपूर्ण भूमिका नै खेल्न पुगे।

शक्तिशाली अख्तियार प्रमुख कार्कीका विरुद्ध महाभियोग लगाउने विषय उक्त कालखण्डमा निकै जोखिमपूर्ण थियो । उनले उठाएका जोखिमका शृङ्खला त्यतिमै रोकिएन । २०६२/६३ को जनआन्दोलनले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य त गर्‍यो नै, तर त्यस समयमा भएको हिंसात्मक गतिविधि र युद्धको ‘वैचारिक आलोचना’ भने गगनले गरी नै रहे। जसको मूल ध्येय भनेको माओवादीलाई लोकतान्त्रिक प्रणालीमा पूर्ण रूपमा समाहित गराउनु र सशस्त्र द्वन्द्वका समयमा भए/गरेका कमजोरी स्वीकार्न दबाब दिनु नै थियो।

झट्ट सुन्दा ‘भावनात्मक र जनप्रिय’ लाग्ला, तर ठोस तथा वैचारिक तर्कबेगर नै आफूबाहेक बाँकीको कटाक्ष गर्ने नयाँ भनिएका दलहरूको समेत धरातल औंल्याइदिंदै आएका गगन कांग्रेसले नै जनतालाई ‘वास्तविक र जिम्मेवार विकल्प’ दिनुपर्ने पक्षमा उभिएका छन् । उनी भन्दैछन्, ‘मेरो नेतृत्वमा कांग्रेस निर्माण हुँदै गर्दा कांग्रेसले गुमाएको मौलिक चेत, जस्तै– २००६ सालको जस्तो क्रान्तिचेत, २०१५ सालको जस्तो जनमुखी, २०४८ सालको जस्तो लोकप्रिय र २०६२ सालको जस्तो राष्ट्रिय अभिभावकत्वको जिम्मेवारीबोध भएको कांग्रेस निर्माण गर्न चाहन्छु।

पछिल्ला वर्षहरूमा ‘प्रिन्सिपल’ भन्दा पनि ‘सत्ता’ लाई हामीले महत्व दियौं । सँगै ‘ग्लोबल सिटिजन’ बनिसकेको पुस्ताले खोजेको गति हामीले समात्नु परेको छ । उनी थप्दैछन्, ‘पार्टीलाई त्यो सोच्ने तहमा पुॐयाउनुपरेको छ ।’ उनको जोड थियो– स्वतन्त्रता र समानताको खम्बामा उभिएको नेपाली कांग्रेस पार्टीले यो विषयलाई ‘इग्नोर’ गरेर अगाडि जान सक्दैन।

समयमै महाधिवेशन सम्पन्न गरेर नेतृत्व परिवर्तन गरी जेनजी पुस्ताको समेत भरोसायुक्त राजनीतिक दल बन्दै उक्त दलबाट गगन थापाले मुलुकको नेतृत्व गर्ने समयको पूर्वसन्ध्यामा छन्, गगन थापा।

माथि उल्लेख गरिएका विषय प्रश्न मार्फत गगनले उठाएका जोखिम हुन् । भावी प्रधानमन्त्रीका रूपमा जनता र पार्टीबाट अनुमोदन हुनुपूर्व कांग्रेसलाई महाधिवेशनसम्म र मुलुकलाई निर्वाचनसम्म पुर्‍याउनै पर्दछ । त्यसका लागि संसद् पुनर्स्थापनाको कानूनी बाटो भन्दा पनि जनतामै जाने विषयलाई प्राथमिकता दिइएको उनको अभिव्यक्तिबाट स्पष्ट हुन्छ । उनी भन्दैछन्, ‘निर्वाचनमा जाने नै हो, त्यसका निम्ति कुनै पनि थ्रेट कांग्रेसलाई स्वीकार्य छैन।’

पार्टीभित्रका आन्तरिक महाधिवेशनबारे पनि उनी स्पष्टैसँग भन्दैछन्, ‘तोकिएकै मितिमा नियमित महाधिवेशन सम्पन्न गरौं, युवालाई राजनीतिमा प्राथमिकता दिऔं, यदि नियमित महाधिवेशन सम्पन्न गर्ने सवालमा पार्टीभित्रको कुनै पनि तह, तप्का वा पक्ष बाधक भए त्यही मितिदेखि विशेष महाधिवेशन प्रारम्भ हुनेछ।’ उनी स्पष्ट छन्, ‘नेतृत्व त परिवर्तन भएरै छाड्छ ।’ त्यसो त उनले असोज ३ गते पार्टी पदाधिकारी बैठकमा जेनजी विद्रोहलाई आत्मसात् गर्दै महाधिवेशनको, त्यो पनि नियमित महाधिवेशनको माग औपचारिक रूपमा राखेका थिए।

पार्टी संस्थापन पक्षले उनको मागलाई नजरअन्दाज गरेकै कारण पुनः असोज २७ गते केन्द्रीय समिति बैठकमै मंसिर २७ देखिको कार्यतालिका नै प्रस्तुत गरिदिए । असोजदेखि मंसिरसम्मको रस्साकस्सीपछि अबचाहिं महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले महाधिवेशन सम्पन्न गर्न भ्याउँदैनन् भनेरै पुस अन्तिम साता सम्पन्न गर्ने गरी संस्थापनले एकलौटी तालिका सार्वजनिक गरेको छ।

महाधिवेशनको विषय कांग्रेसको आन्तरिक विषय भए पनि महाधिवेशनमा हुने नेतृत्व परिवर्तनको विषयले राष्ट्रिय राजनीतिमा प्रभाव त पार्छ नै । गगनले उठाएका जोखिम र कांग्रेसको आन्तरिक जीवनमा महत्वपूर्ण मानिएको महाधिवेशनको चर्चापछि ‘भावी प्रधानमन्त्री गगन’ भन्ने विषयमा नै थप चर्चा गरौं ।

आजका मितिमा गगनको राष्ट्रिय ‘स्ट्रेन्थ’ भनेकै उनको अध्ययन, इच्छाशक्ति र पछिल्ला समयमा उनले देखाएका परिपक्वपन नै हो । मुलुकमा पछिल्ला दशकमा देखिएका राजनीतिक अस्थिरताका सवालमा उनी बेखबर नभएरै होला, मुलुक निर्माणको खाका तयारका निम्ति उनी ‘प्रोजेक्ट गभर्मेन्ट’ नामक खाकामै लामो समयदेखि आन्तरिक ‘होमवर्क’ मा छन्।

लामै समयदेखि विज्ञ सम्मिलित गृहकार्यमा रहेका गगनले मुलुक निर्माणको ‘ब्ल्यु प्रिन्ट’ तयार गरिसकेको बताइन्छ । पार्टीभित्र र मुलुकमै रहेर उनको प्रतिस्पर्धामा रहेकाहरूका लागि ‘हवाई’ झैं लाग्ने उनको कार्ययोजना कार्यान्वयनका लागि भने उनी प्रधानमन्त्री बन्नै पर्दछ । जसको पहिलो शर्त हो, जनताबाट निर्वाचित हुँदै कांग्रेस पार्टीबाट संसदीय दलको नेता बन्नु।

हिजो प्रश्नमा अभ्यस्त गगन आज विश्वलाई चकित पार्ने जेनजी विद्रोहपछि नेपाली राजनीतिलाई नै ‘लय’ मा ल्याउन पार्टी र मुलुकमा निर्वाचन हुनैपर्ने तर्क सहित दृढतापूर्वक दुवै तहको निर्वाचनको पक्षमा उभिएका छन् । जेनजी विद्रोहको समयमा भएको अप्रिय घटनाको प्रत्यक्ष मारमा उनी पनि पर्न पुगे।

तथापि, विचारमा बेमेल हुँदा पनि सरकार निर्माणमा राजी भइहाल्ने ‘सत्ता राजनीति’ बाट वाक्क जनताको मनोभावना बुझेरै हुनुपर्दछ, जेनजी विद्रोहपछि उनले आफूलाई संयमित बनाउँदै प्रश्न गर्न चटक्कै छाडेर उत्तर लिएर आए । हो, आज साँच्चै मुलुकलाई उत्तर चाहिएको छ, प्रश्न होइन । मुलुक पटक–पटक राजनीतिको प्रयोगशाला बन्न पनि सक्दैन । अब त्यो रोक्न जरूरी छ।

मुलुकको अवस्था आज साँच्चै असामान्य छ । सरकार र दलहरूमा अझै पनि विश्वासयोग्य वातावरण बन्न सकेको छैन । शान्ति–सुरक्षाका हिसाबले सरकार आफैं कहाँ छ भनेर सोध्नुपर्ने अवस्था आज छ । हुँदाहुँदा निर्वाचन गर्ने म्यान्डेड पाएको सरकारकै स्थायित्वबारे प्रश्न उठ्न थालिसकेको छ ।

कांग्रेसभित्र र बाहिरको ठूलो पंक्तिले भावी प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको व्यक्ति गगन नै हो। उनी भने आफू र आफू सम्मिलित पार्टीलाई ‘परिवर्तन’ को धारमा उभ्याउँदै सिंगै देशलाई रूपान्तरण गर्ने जोखिम उठाउँदैछन् ।

यस्तो बेला सुरक्षा निकाय र सरकार स्वयंको मनोबल बढाउने नेतृत्व मुलुकलाई चाहिएको छ । एउटा पार्टीको महामन्त्रीकै हैसियतले पनि गगन निर्वाचन मार्फत ताजा जनादेश लिनैपर्ने भएकाले सरकारलाई निर्वाचनका सवालमा साथ दिनुपर्ने बताएर जिम्मेवार नेताका हिसाबले राजनीतिमा परिपक्वपन देखाएको छ । राजनीतिलाई विकृत बनाउने भ्रष्टाचारका बारे त उनी पार्टी वा जुनसुकै तहको जोसुकै परे पनि अख्तियार जस्तो संवैधानिक निकाय र सरकार भ्रष्टाचारका विरुद्धमा निर्मम बन्नैपर्ने तर्क जोडदार रूपमा गर्दै आएका छन् ।

कांग्रेस सभापति जित्ने कुरामा त ‘नो डाउट’, जनताबाट अनुमोदित हुँदै प्रधानमन्त्रीमा अब गगन पुग्दै गर्दा कम्तीमा मुलुकले गर्ने अपेक्षा भनेकै संयमित कूटनीतिक सम्बन्ध, संविधान संशोधन, सुशासनमा निर्मम, प्रोजेक्ट गभर्मेन्ट मार्फत मुलुक निर्माणका निम्ति तयार गरिएको ‘ब्ल्यु प्रिन्ट’, वर्तमान संविधानले एउटै राजनीतिक दलले बहुमत ल्याएर सरकार निर्माण गर्न सक्ने अवस्था नरहेकैले जनताले पत्याउने व्यक्तिको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय सरकारसँगै जेनजी पुस्ताले कल्पना गरेको जस्तो देश निर्माणमा आफूलाई केन्द्रित गर्न जरूरी छ।

तब मात्र जेनजी विद्रोहले परिकल्पना गरे जस्तो देश निर्माण सम्भव छ। यहाँ प्रधानमन्त्रीको ‘हट सीट’ मा पुग्नुपूर्व गगनलाई देवत्वकरण गर्न खोजिएको होइन, कांग्रेसले जनताबाट ठूलो पार्टीका रूपमा आफूलाई पाउनका निम्ति भने ‘भावी प्रधानमन्त्री गगन’ भनेर जनता बीच जाँदा नै कांग्रेसको आकार बढ्ने निश्चित छ।

उनले राज्य सञ्चालनको प्रारम्भिक संकेत ९ महिने स्वास्थ्य मन्त्री रहँदा नै देखाइसकेका छन् । आन्तरिक लोकतन्त्र कमजोर रहेको एमाले, पूर्वप्रधानमन्त्रीहरूको क्लब झैं देखिएको नेपाली कम्युनिष्ट पार्टी, विभाजनको बिम्ब बनेको मधेशवादी र सुशासनकै मुद्दामा चुकेका ‘नयाँ’ भनिएका पार्टीबाट मुलुकले प्रधानमन्त्री पाउने सम्भावना न्यून छ । सोही कारण पनि समयमै महाधिवेशन सम्पन्न गरेर नेतृत्व परिवर्तन गरी जेनजी पुस्ताको समेत भरोसायुक्त राजनीतिक दल बन्दै उक्त दलबाट गगन थापाले मुलुकको नेतृत्व गर्ने समयको पूर्वसन्ध्यामा छन्, गगन थापा।

यहाँनेर भन्नैपर्ने हुन्छ, कांग्रेसभित्र र बाहिरको ठूलो पंक्तिले भावी प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको व्यक्ति गगन नै हो । किनकि, मूलधारका राजनीतिक दलका ठूला पंक्ति यतिबेला यथास्थितिमै रमाउन पुगेकै समय उनी भने आफू र आफू सम्मिलित पार्टीलाई ‘परिवर्तन’ को धारमा उभ्याउँदै सिंगै देशलाई रूपान्तरण गर्ने जोखिम उठाउँदैछन् ।

(आचार्य नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य हुन्।)

लेखक
सुदर्शन आचार्य

(आचार्य, नेपाली कांग्रेसकाे महासमितिका पूर्व सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?