+
+
Shares
एमनेष्टी प्रतिवेदन :

‘जेनजी आन्दोलनमा आवाज उठाउन गएका थियौं, मारिन होइन’

भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा गएका जेनजी(नवयुवा)माथि भएको अस्वाभाविक बल प्रयोग र हताहतीलाई एमनेष्टी इन्टरनेशनलले ‘घातक हतियारको प्रयोग गरी भएको गैरन्यायिक र स्वेच्छाचारी हत्या’ भनेको छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८२ मंसिर २२ गते २१:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमनेष्टी इन्टरनेशनल नेपालले भदौ २३ को जेनजी प्रदर्शन नियन्त्रणमा सुरक्षाकर्मीहरूले घातक हतियारको गैरकानुनी प्रयोग गरेको निष्कर्ष निकालेको छ।
  • प्रतिवेदनले गोली प्रहारलाई 'गैरन्यायिक र स्वेच्छाचारी हत्या' भनेको छ र सुरक्षाकर्मीहरूले चेतावनी नदिई बल प्रयोग गरेको उल्लेख गरेको छ।
  • एमनेष्टीले कानुन संशोधन गरी बल प्रयोग सीमित गर्न र गैरकानुनी बल प्रयोगमा संलग्नलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

२२ मंसिर, काठमाडौं । एमनेष्टी इन्टरनेशनल नेपालले गत भदौको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले घातक हतियारको गैरकानुनी प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

एमनेष्टी इन्टरनेशनल (एआई) नेपालले सोमबार काठमाडौंमा प्रतिवेदन सार्वजनिक गर्दै प्रदर्शनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डको दुरुपयोग भएको निष्कर्ष निकालेको हो ।

प्रतिवेदनका विवरणहरू सार्वजनिक गर्दै एआई नेपालका निर्देशक निराजन थपलियाले भने, ‘प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले कम घातक हतियारको दुरुपयोग गर्नुका साथै घातक हतियारको गैरकानुनी प्रयोग गरेको देखियो ।’

उसले बानेश्वरस्थित संसद् भवन आसपासको क्षेत्रमा भएको गोली प्रहारलाई सांकेतिक रुपमा ‘गैरन्यायिक र स्वेच्छाचारी हत्या’ भनेको छ । प्रदर्शनलाई तितरबितर पार्न कयौं उपाय अपनाउनुपर्नेमा त्यसो नगरी प्रहरीले बल प्रयोग गरेको निष्कर्ष निकालेको हो ।

एक पूर्वसुरक्षा अधिकारीको विश्लेषण उद्धृत गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रतिवेदनमा भनेको छ, ‘जब भिड आक्रामक भयो, सशस्त्र वा नेपाल प्रहरी आत्तिएर भित्र जे-जे उपलब्ध थियो, त्यसैलाई प्रयोग गरेको हुनसक्छ ।’

आधा दर्जनभन्दा बढी रबरको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीले आफूहरू त्यहाँ शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न गएको र गोली चल्ने कुनै अनुमान समेत नभएको बताएका थिए ।

‘हामी त्यहाँ हाम्रो आवाज उठाउन गएका थियौं, मारिन होइन । या त राज्य सुरक्षामा कमजोर छ, या त सबैलाई स्तब्ध पार्ने ढंगले क्रूर छ,’ उनले अध्ययन टोलीसँग भनेका थिए, ‘राज्यले दुवै अवस्थामा आफ्ना जनताको सुरक्षा गर्न असफल भएको जिम्मेवारी लिनुपर्छ ।’

एमनेष्टीले तिनै घाइतेको भनाईलाई उदृत गरेर ‘हामी त्यहाँ हाम्रो आवाज उठाउन गएका थियौं, मारिन होइन’ भनी प्रतिवेदनको शिर्षक बनाएको छ ।

‘बन्दुकको गैरकानुनी प्रयोग’

कानुन कार्यान्वयन गर्ने अधिकारीहरूद्वारा बल तथा बन्दुकको प्रयोग सम्बन्धी संयुक्त राष्ट्रसंघीय सिद्धान्तहरू अनुसार, भेला हिंसात्मक हुँदा पनि बन्दुकको प्रयोग गर्नु हुँदैन । झनै त्यसमाथि कुनै भिडले अर्कोको ज्यान लिने जोखिम नभएको अवस्थामा त्यसरी बल प्रयोग गर्न मिल्दैनथ्यो ।

तर जेनजी आन्दोलनमा प्रहरीले ठूलो संख्यामा धातुको गोली प्रयोग गरेको थियो, तरपनि प्रहरीले धातुको गोली प्रयोग नगरी ‘ब्ल्याङ्क फायर’ मात्रै भएको दाबी गरेको छ । महत्त्वपूर्ण संरचनामा क्षति पुग्ने अवस्थामा समेत घातक बल प्रयोग गर्न नहुने भन्दै एमनेष्टीले प्रतिवेदनमा भनेको छ, ‘प्रदर्शनकारीहरूबाट मानिसको ज्यानै जाने वा गम्भीर चोट लाग्ने जोखिम नहुँदा पनि प्रहरीले घातक बल प्रयोग गरेको प्रमाण फेला परेको छ, जसबाट (प्रदर्शनकारीको) जीवनको अधिकारलाई स्वेच्छाचारी रुपमा छिनिएको छ ।’

एमनेष्टीले भदौ २३ मा सुरक्षाकर्मीहरूले प्रहार गरेको गोलीलाई लापरवाहीपूर्वक र घातक बल भनेको छ । एक प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै उसले प्रतिवेदनमा उल्लेख गरेअनुसार, ‘अवस्था अस्तव्यस्त देखिन्थ्यो र एकैचोटी धेरै स्थानबाट गोलाबारी भइरहेको थियो ।’ उसले केही त्यस्ता फोटोहरू पनि प्रतिवेदनमा समावेश गरेको छ ।

जेनजी प्रदर्शन : मृतकको संख्या ३६ पुग्यो – Online Khabar

जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको घटनापछि एमनेष्टीले २९ भदौदेखि ३ असोजसम्म प्रत्यक्षदर्शी, सुरक्षाकर्मीहरू, प्रदर्शनकारी, घाइते र अस्पतालका चिकित्सकहरूसँग कुराकानी गर्नुका साथै अरु प्रमाण संकलन गरेको थियो ।

एक प्रत्यक्षदर्शीले बानेश्वरमा त्यतिबेला भएको घटनालाई ‘युद्धजस्तै अवस्था’ भनी बयान गरेका छन् । एक प्रत्यक्षदर्शीको भनाई उद्दृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘गोली कहाँबाट बर्सिरहेको छ भन्ने निश्चित थिएन, प्रहरीले स्थितिको पूर्ण रुपमा नियन्त्रण गुमाएजस्तो देखिन्थ्यो ।’

प्रदर्शन भइरहँदा रेलिङ भाँच्ने र ब्यारिकेड तोड्ने क्रम शुरु भएको थियो । कतिपयले प्रहरीको ढाल र छेकबारमा प्रहार गरिरहेका थिए । त्यसपछि संसद् परिसरभित्रको सशस्त्र इकाईबाट अन्धाधुन्ध गोलाबारी सुरु भएको थियो । पीडितहरूले बयानका क्रममा ‘लापरबाहीपूर्वक र अनियन्त्रित रुपमा गोलाबारी भइरहेको’ बताएका थिए ।

टाउको, घाँटी र छातीमा प्रहार

एमनेष्टी इन्टरनेशनलले घाइते र मृतकमध्ये अधिकांशलाई टाउको, घाँटी, छाती अघि पेटको माथिल्लो भागमा गोलीको चोट लागेको निष्कर्ष निकालेको छ । मारिएका सबैलाई कम्मरभन्दा माथि गोली प्रहार गरिएको थियो ।

‘धेरै बिरामीहरू भारी रक्तश्रावमा थिए र त्यसलाई रोक्नु सबैभन्दा कठिन काम थियो’ एक चिकित्सकलाई उद्दृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘अपरान्ह करिब २ बजे आकस्मिक कक्षको अवस्था भयावह थियो, जताततै रगतैरगत, विरामीहरू ढलिरहेका, डाक्टर र नर्सहरू लगातार दौडधुप गरिरहेका थिए ।’

२०६२/६३ सालको जनआन्दोलनका क्रममा ठूलाठूला प्रदर्शन देखेका एक चिकित्सकका अनुसार, यसपाली एकाएक धातुको गोली प्रयोग भएको थियो, जसलाई उनले आकस्मिक रुपमा बल प्रयोग बढेको संकेत मानेका छन् ।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने उपायको रुपमा पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्नुपर्नेमा एकाएक ‘काइनेटिक इम्प्याक प्रोजेक्टाइल (केआईपी) अर्थात धातुको गोली प्रयोग गर्नुमाथि उनले प्रश्न उठाएका थिए । धातुकै गोली प्रयोग गर्दा पनि टाउको र छाती जोगाउनुपर्नेमा प्रहरीले त्यसमा ध्यान नदिएको एमनेष्टीको प्रतिवेदनमा उल्लेख छ ।

एमनेष्टीले प्रतिवेदनमा भनेको छ, ‘शुरुदेखि नै प्रहरीको प्रतिक्रिया अत्यधिक आक्रमक देखिन्छ र जे अन्तिम उपाय हुनुपर्ने थियो, त्यसलाई शुरुमै प्रयोग गरिएको देखिन्छ ।’

अध्ययनले सुरक्षाकर्मीहरूको बल प्रयोगलाई चारवटा कोणबाट गलत भन्दै गोली प्रहारको घटना कुनैपनि दृष्टिकोणबाट औचित्ययुक्त हुन नसक्ने भनेको हो । पहिलो, कुनै ठूलो खतरा नभएको अवस्थामा बल प्रयोग भएको थियो ।

दोस्रो, बल प्रयोग गर्नुअघि चेतावनीसम्म पनि दिएको थिएन । तेस्रो, घातक हतियारहरूको प्रयोग भएको थियो । चौथो, प्रदर्शनकारीहरूको टाउको, छाती जस्ता भागमा ताकेर प्रहार भएको थियो । यी चार आधार औल्याउँदै प्रतिवेदनले १९ जनाको ज्यान जाने र कयौं व्यक्तिलाई जीवनपर्यन्त अपांग बनाउने घटनालाई ‘गैरन्यायिक र स्वेच्छाचारी हत्याको संकेत’ भनेको हो ।

कम घातक हतियारको दुरुपयोग

भदौ २३ गते प्रदर्शनकारीहरूले एभरेष्ट होटल अगाडि ब्यारिकेड तोडेपछि सुरक्षाकर्मीहरूले सुरुमै कम घातक हतियारहरूको दुरुपयोग गरेको निष्कर्ष निकालेको हो । तुलनात्मक रुपमा मृत्युको जोखिम नहुने र गम्भीर चोट पुर्‍याउने जोखिम कम हुने पानीको फोहोरा, अश्रुग्यास, प्लाष्टिक र रबरका गोलीहरूलाई कम घातक हतियार भनिन्छ ।

एमनेष्टी इन्टरनेशनलले बानेश्वरको ब्यारिकेड तोडिनासाथ कम घातक हतियारहरूकै दुरुपयोग भएको निष्कर्ष निकालेको हो । प्रतिवेदन अनुसार, बानेश्वरको ब्यारिकेड तोडिनासाथ प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो, जब कि त्यतिबेला ठूलो भिड शान्तिपूर्ण थियो ।

भिड अघि बढेपछि प्रहरीले पानीको बल बढायो । कयौं प्रदर्शनकारी र घाइतेहरूसँगको कुराकानीपछि एमनेष्टीले भनेको छ, ‘प्रहरीको तयारी अपर्याप्त देखिन्थ्यो र बढ्दो तनावलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिरहेको थिएन । उसले छिट्टै नै पानीको फोहोरा लगायतको बल प्रयोग गर्न थालेको थियो ।

स्थानीय प्रशासन ऐन अनुसार, पानीको फोहोरा प्रयोग गर्नुअघि व्यापक हिंसाको अवस्था स्पष्ट हुनुपर्छ । र भिडले हिंसात्मक र ध्वंसात्मक प्रवृति अपनाएर स्थिति प्रहरीको नियन्त्रण बाहिर गएको हुनुपर्छ । पानीको फोहोरा प्रयोग गर्नुअघि नै सुरक्षाकर्मीहरूले आफ्नो अधिकार दुरुपयोग गर्न थालिसकेको एमनेष्टी इन्टरनेशनल नेपालले प्रतिवेदनमा निष्कर्ष निकालेको छ ।

स्थिति नियन्त्रणमा लिन नसकिने र परिस्थिति व्यापक हिंसाको अवस्थामा मात्रै पुगेपछि प्रयोग गर्नुपर्ने अश्रुग्यासको दुरुपयोग भएको अध्ययनको निष्कर्ष छ । अध्ययन टोलीले ‘समग्र प्रदर्शन शान्तिपूर्ण रहेको भएपनि प्रदर्शनकारीहरूको सानो समूहले ब्यारिकेड तोडेपछि प्रहरीले अश्रुग्यास प्रयोग गर्न थालेको’मा प्रश्न उठाएको देखिन्छ ।

जेनजी प्रदर्शन ः देशभर १९ जनाको मृत्यु, ३४७ घाइते - kanakaikhabar

प्रहरीको आन्तरिक प्रतिवेदनलाई उद्दृत गर्दै एमनेष्टी इन्टरनेशनल नेपालले ६ हजार २७९ सेल अश्रुग्यास प्रयोग भएकोमा काठमाडौंमा मात्रै ३ हजार ९६ सेल प्रयोग भएकोमा प्रश्न उठाएको छ ।

प्रदर्शन भएको नजिकैको भवनका छानाबाट अश्रुग्यास प्रहार भएको र भिडलाई सिधै लक्षित गरिएको प्रचलित अभ्यासको उल्लंघन भएको उसको निचोड हो ।

प्रहरीले एमनेष्टीसँगको प्रतिक्रियामा प्रदर्शनकारीहरूले ब्यारिकेड तोड्न खोजेको, स्कूल र कलेजका किशोरकिशोरीहरूलाई अघि सारेर पछाडिबाट बोतल र ढुंगाले प्रहार गरेको दाबी गरेको थियो ।

ब्यारिकेड भत्काउने कामलाई प्रहरीले गैरकानुनी ठाने पनि हिंसा भएको मान्न नहुने एमनेष्टीको निष्कर्ष छ ।

केआईपीहरूलाई कहिल्यै पनि लापरबाहीपूर्वक भिडमा प्रहार गर्नुहुँदैन र अरुलाई हानी पुर्‍याउने निश्चित हिंसात्मक व्यक्तिहरूलाई लक्षित गर्नुपर्छ- एमनेष्टी प्रतिवेदन

उसले प्रतिवेदनमा भनेको छ, ‘हिंसात्मक काम नगरेको बेला ब्यारिकेड भत्काउन रोक्न प्रदर्शनकारीहरूमाथि बल प्रयोग गर्ने काम मानवअधिकारका अन्तराष्ट्रिय मापदण्डको समानूपातिक सिद्धान्तसम्बन्धी गम्भीर चासोमा पर्छन् ।’

त्यो भिडलाई एभरेष्ट होटलबाट अघि बढ्न दिएर शान्तिपूर्ण प्रदर्शनलाई सहजीकरण गर्ने र संसद् भवन परिसर वरपर उपयुक्त र योजनावद्ध घेराबन्दी गरेको भए औल्याउँदै एमनेष्टीले सुरक्षा तयारीमाथि प्रश्न उठाएको छ ।

एम्नेष्टीको प्रतिवेदन भन्छः नेपालमा दण्डहीनताले जरा गाडेको छ – Online Khabar

बन्दुकबाट प्रहार गरिने र कम घातक हुने प्लाष्टिक र रबरका साना-ठूलो गोलीलाई ‘काइनेटिक इम्प्याक प्रोजेक्टाइल(केपीआई) भन्ने गरिन्छ । एमनेष्टीले केपीआईको समेत दुरुपयोग भएको निष्कर्ष निकालेको छ । सघन बस्तीका बीचमा सडकमा रहेका अन्य व्यक्तिलाई लाग्ने जोखिम हुँदाहुँदै त्यसको प्रयोग भएको भन्दै उसले फायर हुनुअघि चेतावनी समेत नदिइएको निष्कर्ष निकालेको छ ।

एमनेष्टीले प्रतिवेदनमा भनेको छ, ‘अश्रुग्यास र पानीको फोहोराको प्रयोगपछि प्रदर्शनकारीहरू संसद्को गेटमा रहेको भवनमा चढ्दा प्रहरीले लापरबाहीपूर्वक कुनै चेतावनीविना भिडमा रबरको गोली प्रहार गर्न थालेको प्रमाणले देखाएको छ ।’

प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली हान्नुअघि कुनै चेतावनी दिएको थिएन, बरु कर्फ्यूको बारेमा माइकबाट जानकारी गराएको थियो । प्रहरीले हवाइफायरलाई नै चेतावनी ठानेको थियो, जब कि हवाईफायर गर्नुअघि समेत भिडलाई स्पष्ट रुपमा चेतावनी दिनुपर्छ ।

एमनेष्टीले रबर र प्लाष्टिकका गोली प्रयोगको जोखिमबारे भनेको छ, ‘केआईपीहरूलाई कहिल्यै पनि लापरबाहीपूर्वक भिडमा प्रहार गर्नुहुँदैन र अरुलाई हानी पुर्‍याउने निश्चित हिंसात्मक व्यक्तिहरूलाई लक्षित गर्नुपर्छ ।’

१४ वर्षिय किशोर समेत घाइते भएको उदाहरण दिँदै एमनेष्टीले प्रहरीले गरेको बल प्रयोगलाई लापरवाही प्रकृतिको रहेको र अन्तराष्ट्रिय मापदण्ड पालना हुन नसकेको औंल्याएको हो ।

‘कानून नै संशोधन गर’

एमनेष्टी इन्टरनेशनलले सरकारी अधिकारी, महान्यायाधिवक्ता, सुरक्षा निकाय, संसद्, जाँचबुझ आयोग र अन्तर्राष्ट्रिय समूदायहरूलाई छुट्टाछुट्टै रुपमा झण्डै दुई दर्जनजति सिफारिस गरेको छ । एमनेष्टी इन्टरनेशनलले गैरकानुनी बल प्रयोगमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

शान्तिपूर्ण प्रदर्शन र भिड नियन्त्रणका लागि अहिलेसम्म पञ्चायतकालीन स्थानीय प्रशासन ऐन, २०२८ प्रचलनमा छ । सभालाई तितरवितर गर्न समेत बन्दुकको प्रयोग अनुमति दिएको उक्त कानुनी व्यवस्थामाथि प्रश्न उठाउँदै एमनेष्टीले बन्दुकको प्रयोगलाई सीमित गर्न त्यो लगायत अरु कानुन र निर्देशिका संशोधन गर्न सुझाव दिएको हो ।

सुरक्षाकर्मीहरूले सभा, जुलुस वा भिडमा अश्रुग्यासको दुरुपयोग गरिरहेको औंल्याउँदै उसले व्यापक हिंसाको घटना नियन्त्रणमा मात्रै अश्रुग्यासको प्रयोग सीमित हुनेगरी कानुनी व्यवस्था संशोधन गर्न सुझाव दिएको हो ।

हालको कानुनले रबर वा प्लाष्टिकको गोली र धातुको गोलीको प्रयोगलाई एउटै मापदण्डका साथ व्यवहार गरेको भन्दै एमनेष्टी नेपालले धातुको गोलीको प्रयोगलाई अझै सीमित गर्न कानुन संशोधन गर्नुपर्ने सुझाव दिएको हो ।

नेपालले सन् २०२१ मा मानवअधिकारसम्बन्धी प्रतिबद्धताको आवधिक समीक्षामा शान्तिपूर्ण सभामा हस्तक्षेप रोक्ने र प्रदर्शनकारीहरूमाथि अधिक बल प्रयोग नगर्ने प्रतिबद्धता जनाएको थियो । एमनेष्टीले त्यसको पालना गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

उसले जेनजी आन्दोलनमा भएको बल प्रयोग र प्रदर्शनकारीहरूको हत्याको अनुसन्धानको नतिजा सार्वजनिक गर्न र अरु अनुसन्धान टुंग्याउन भनेको छ ।

उसले बल र बन्दुक प्रयोगसम्बन्धी राष्ट्रसंघीय आधारभूत सिद्धान्तको पालना गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ । उसले शान्तिपूर्ण भेलामा गोलीको प्रयोग निषेध गर्न भनेको छ ।

एमनेष्टी इन्टरनेशनलले सुरक्षाकर्मीहरूद्वारा भएको गोली प्रहार र दमनको घटनामाथि शीघ्र, स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान सुनिश्चित गर्न माग गरेको छ । अनि बल प्रयोगमा संलग्नहरूलाई कारबाहीका लागि प्रमाणसहित अनुसन्धानका निष्कर्षहरू पेश गर्न भनेको छ ।

गैरकानुनी हत्यामा मुछिएकाहरूलाई ‘फौजदारी दायित्व’ प्रमाणसहितको निष्कर्ष पेश गर्न भनेको छ, त्यसो हुँदा गैरकानुनी रुपमा गोली चलाउनेमाथि व्यक्तिहत्याको आरोपमा मुद्दा चलाउने बाटो खुल्छ । उसले जाँचबुझ आयोगलाई काम सकिनासाथ प्रतिवेदन सार्वजनिक गर्न भनेको छ ।

एमनेष्टीले जेनजी आन्दोलन दमनमा मुछिएका जोसुकैलाई न्यायको कठघरामा उभ्याउन महान्यायाधिवक्ताको ध्यानाकर्षण गराएको छ । अनि, जेनजी आन्दोलनको दमनमा रहेकाहरूलाई कारबाही प्रक्रियामा लैजान सिफारिस गरेको छ ।

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?