+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट   

कतारमा करिब तीन लाख ६५ हजार नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गरे ।

रासस रासस
२०८२ मंसिर २४ गते १७:३३

२४ मंसिर, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले भेटवार्ता गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको शिष्टाचार भेटमा नेपाल र कतारबीचको आपसी सम्बन्ध, बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य, श्रम, आप्रवासन, व्यापार लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र कतारबीचको सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रही उत्कृष्ट रूपमा विकसित भएकामा सन्तोष व्यक्त गरे ।

उनले संयुक्त राष्ट्रसंघ तथा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका रूपमा नेपाल र कतारले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा निरन्तर सहकार्य प्रशंसनीय रहेको बताए ।

उनले हालैका वर्षहरूमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानले दुई देशबीचको सम्बन्ध अझ घनिष्ट बनेको बताए ।

कतारमा करिब तीन लाख ६५ हजार नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गरे ।

‘नेपाली श्रमिकहरूले कतारको अर्थतन्त्रमा पुर्‍याएको योगदान र नेपालमा रहेका परिवारलाई सहयोग गर्दै नेपालको अर्थतन्त्रलाई सुदृढ बनाएकामा खुसी व्यक्त गर्दछु,’ उनले भने, ‘नेपाल सरकार सुरक्षित तथा सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्न प्रतिबद्ध छ ।’

उपराष्ट्रपति यादवले सन् २०२५ को रमादान तथा ईदका अवसरमा नेपाली बन्दीहरूलाई ‘अमीरि क्षमादान’ प्रदान गरेकामा कतारका अमिरप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

साथै, नेपाल २०२६ मा अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति गर्ने र २०३० सम्म मध्यम आय भएको देश बन्ने लक्ष्य राखेको सन्दर्भमा कतारसहितका मित्रराष्ट्रहरूबाट थप लगानी तथा सहयोग आवश्यक रहेको बताए ।

नेपाल र कतारबीचको प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले काठमाडौं र दोहा प्रत्यक्ष उडानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।

नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा नेपाली जनताको आतिथ्यभाव कतारी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताए ।

कतारको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति यादवले राजदूतमार्फत कतारका अमिर हिज हाइनेस शेख तमिम बिन हमाद अल–थानी तथा कतारका जनतालाई हार्दिक बधाई दिँदै अमिरको सुस्वास्थ्य, खुसी तथा कतार जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरे।

कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीले नेपाल र कतारबीच धेरै पुरानो तथा बलियो सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा कतारले ३० जना नेपालीलाई कतारको कारागारबाट रिहा गरेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?