News Summary
Generated by OK AI. Editorially reviewed.- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुन अपिल गरेका छन् ।
- उनले मधेश प्रदेशका केही जिल्लामा धार्मिक विषयमा भइरहेको प्रदर्शनलाई लिएर संवाद, मेलमिलाप र भाइचारालाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।
- उपराष्ट्रपतिले सबैलाई शान्ति, संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
२२ पुस, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुन अपिल गरेका छन् ।
धार्मिक एवं सामाजिक विषयलाई लिएर पछिल्ला केही दिनदेखि मधेश प्रदेशका केही जिल्लामा प्रदर्शन भइराखेको छ । यस सन्दर्भमा अपिल जारी गर्दै उपराष्ट्रपति यादवले भनेका छन्, ‘कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुनुहोस । बरु संवाद, मेलमिलाप, भाइचारा, अपनत्वभाव र सहयोगलाई प्राथमिकता दिनुहोस् ।’
मुलुकका केही भूभागमा पछिल्ला दिनहरूमा सम्प्रदायबीच उत्पन्न असमझदारी, वैमनस्यता र द्वन्द्वले नेपालको साझा सामाजिक सद्भावलाई चुनौती दिएको भन्दै उनले यस्तो कार्यकले सबैलाई गम्भीर रूपमा चिन्तित बनाएको बताएका छन् ।
नेपालको संविधानले राष्ट्रलाई धर्मनिरपेक्ष, समावेशी र विविधतापूर्ण समाजको रूपमा परिभाषित गरेको छ । संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने स्वतन्त्रता सुनिश्चित गरेको छ । यो स्मरण गर्दै उनले भनेका छन्, ‘हाम्रो मुलुकको शक्ति नै विविधता, सहिष्णुता र परस्पर सम्मानमा निहित छ । जुनसुकै धर्म मान्ने सम्प्रदाय, समुदाय, समाज र नेपाली नागरिकहरू सबै एउटै राष्ट्रिय परिवारका सदस्य हौं । हाम्रो भाइचाराको सम्बन्ध, सहअस्तित्व र परस्पर विश्वास नै हाम्रो पहिचान हो, जसलाई अक्षुण्ण राख्नु हामी सबैको साझा कर्तव्य हो ।’
यी पृष्ठभूमि राख्दै उपराष्ट्रपति यादवले अफवाहजन्य गतिविधिमा संलग्न नहुन अपिल गरेका हुन् ।
आपसी द्वन्द्व र वैमनस्यता त्यागी शान्ति, सद्भाव र सहिष्णुताको बाटो रोज्न र धार्मिक वा सांस्कृतिक भिन्नतालाई विभाजनको कारण नभई समृद्ध विविधताको धरोहरका रूपमा स्वीकार गर्न उनको आह्वान छ ।
स्थानीय प्रशासन, धार्मिक अगुवाजन तथा नागरिक समाजलाई मिलेर सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले लेखेका छन्, ‘हाम्रो साझा लक्ष्य भनेको एकताबद्ध, शान्तिपूर्ण र समावेशी नेपाल निर्माण गर्नु हो । यस मार्गमा कुनै पनि प्रकारको द्वन्द्व वा वैमनस्यताको स्थान छैन ।’
उनका अनुसार नेपाल साझा फुलबारी भएको र फुलबारीलाई सुन्दर, मनमोहक, सुरक्षित, सम्मानजनक र प्रेमपूर्ण बनाउन सबैको समान जिम्मेवारी, दायित्व र कर्तव्य हो । यस कर्तव्यमा किंचित पनि विचलित नभई मुलुकको समुन्नत र दिगो विकासका लागि सबै दृढसंकल्पका साथ अगाडि बढ्नुपर्ने उनको आह्वान छ ।
नेपाल विश्व शान्तिदूत गौतम बुद्धको भूमि, जनकको कर्मभूमि र ज्ञान केन्द्र भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘हामी सबै शान्तिप्रिय नेपालका नागरिक हौं ।’
विश्वमा विरलै पाइने मौलिकता र पहिचान नेपालमा रहेको र यसलाई कायम राख्न प्रत्येक नेपालीले आ–आफ्नो स्थानबाट योगदान दिनु अपरिहार्य रहेको उनको आग्रह छ । उपराष्ट्रपति यादवले भनेका छन्, ‘हाम्रो विविधता नै हाम्रो शक्ति हो, हाम्रो सहिष्णुता नै हाम्रो गौरव हो र हाम्रो एकता नै हाम्रो भविष्य हो ।’
हाल मुलुकको अवस्था संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई शान्ति, संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि जिम्मेवार भूमिका निर्वाह गर्न पनि उपराष्ट्रपति यादवको आग्रह छ ।

प्रतिक्रिया 4