News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबारमा वित्तीय अपराध बढेपछि सुपरीवेक्षण दायरा कसिलो बनाएको छ।
- रेमिट्यान्स कम्पनीहरूले मासिक कारोबार विवरण महिना सकिएको ७ दिनभित्र बुझाउनु पर्ने व्यवस्था गरिएको छ।
- रेमिट्यान्स कम्पनीले त्रैमासिक सञ्चालक समिति र वित्तीय विवरण १५ दिनभित्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
२५ मंसिर, काठमाडौं ।रेमिट्यान्स कारोबार मार्फत वित्तीय अपराधका घटना बढेपनि नेपाल राष्ट्र बैंकले सुपरीवेक्षकीय दायरा कसिलो बनाएको छ । रेमिट्यान्स पठाउने बैंक तथा वित्तीय संस्था तथा रेमिट्यान्स कम्पनीहरूको विवरण थप विस्तारित र छिटो उपलब्ध गराउन निर्देशन दिइएको छ ।
पछिल्लो समयमा रेमिट्यान्स कारोबारबाट सुरु भएर बैंकिङ कसुरसम्म पुगेका घटना दोहोरिन थालेपछि कारोबारको सुपरीवेक्षणलाई कसिलो बनाउन थालिएको छ ।
सोही क्रममा राष्ट्र बैंकले रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थासँगै कम्पनीहरूको कारोबार विवरण बुझाउने समय घटाएको हो । त्यसैगरी रेमिट्यान्स पठाउने कम्पनी, देशगत समेतको तथ्याङ्क माग गरेको छ ।
‘रेमिट्यान्स कम्पनी आफैले वा सबएजेन्ट वा सब रिप्रिजेन्टेटिभ मार्फत गरेको कारोबार विवरण मासिक रुपमा केन्द्रीय बैंकको गैरवित्तीय संस्था सुपरीवेक्षण विभागमा पठाउनु पर्ने व्यवस्था गरिएको छ’ राष्ट्र बैंकले भनेको छ ‘यस्तो विवरण महिना सकिएको ७ दिनभित्र बुझाइसक्नु पर्नेछ ।
त्यसैगरी रेमिट्यान्स कम्पनीले कारबाही गरेका सब एजेन्टहरूको विवरण पनि मासिक रुपमा बुझाउनुपर्ने व्यवस्था भएको छ । यो पनि महिना सकिएको ७ दिनभित्र नै बुझाउनु पर्ने व्यवस्था भएको हो ।
रेमिट्यान्स कारोबार गर्ने बैंक वित्तीय संस्था तथा कम्पनीलाई देश अनुसार रेमिट्यान्स कारोबारको विवरण पनि बुझाउनुपर्ने व्यवस्था भएको छ । यो विवरण मासिक रुपमा महिना बितेको ७ दिन भित्र पेश गर्नुपर्नेछ । केन्द्रीय बैंकका अनुसार देशगत कारोबार विवरण ३ दिनमा र कम्पनी अनुसारको कारोबार विवरण ७ दिनभित्र पेश गर्नु पर्नेछ ।
त्यसैगरी रेमिट्यान्स कम्पनीको सञ्चालक समितिको विवरण र प्रोभिजनल वित्तीय विवरण त्रैमासिक पेश गर्नु पर्नेछ । उक्त विवरण त्रैमास सकिएको १५ दिनभित्र बुझाउनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4