+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

६५ वर्षीय करनबहादुर ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा

उमेर पुगेका धेरै मानिसले विश्राम खोज्ने बेला, छोराबुहारीको भर पर्नुपर्ने समयमा ऐर भने आफ्नै पौरखमा बाँच्दै आएका छन् । व्यवसायमा उनको सबैभन्दा ठूलो सहाराका रूपमा श्रीमती छिन्। ‘दुई जनाले मिलेर चलाउँछौँ, यसैमा घर सजिलै चल्छ’, उनी भन्छन् ।

रासस रासस
२०८२ मंसिर २६ गते ६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • करनबहादुर ऐर ६५ वर्ष नाघेका एक स्थानीय व्यापारी हुन् जसले झलारी बजारमा ठेला लगाएर फलफूल, खेलौना र खाद्यान्न सामान बेच्दै आएका छन्।
  • उनले दैनिक एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म कमाइ घरखर्च, औषधोपचार र लत्ताकपडामा खर्च गर्ने बताउनुभयो।
  • ऐरले दश वर्षदेखि ठेला व्यवसाय गर्दै आएका छन् र सामाजिक नेतृत्वमा समेत सक्रिय रहँदै आएका छन्।

२६ मंसिर, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन– सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बसेका छन् करनबहादुर ऐर। ६५ वर्ष नाघ्नै लागेका उनका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ ।

उज्यालो फाट्दै गर्दा चार किलोमिटर टाढाको घरबाट पैदल हिँड्दै झलारी बजार आइपुग्छन् । बजार उनलाई धेरैले नामले भन्दा पनि मेहेनतले चिन्छन् । ठेलामा सजाइएका थरिथरिका फलफूल, खेलौना, विस्कुट, चाउचाउ, कुरकुरे, बदामलगायत सामान धेरै छैनन्, तर ऐरका लागि ती नै परिवार धान्ने आधार हुन्।

दशक अघिदेखि सुरु गरिएको यो व्यापार अहिले स्थिर आयस्रोत बनेको छ । करिब २० हजार रुपैयाँ लगानीबाट चलेको ठेलाले उनलाई दैनिक  एक हजारदेखि एक हजार ५०० रुपैयाँ सम्म कमाइदिन्छ । सडक छेउकै ठेला भएकाले सवारीसाधनका चालक, परिचालक, सडकमा हिँड्ने यात्रु उनका ग्राहकका रूपमा रहने गर्दछन् ।

‘ठेलाको कमाइ घरखर्च, लत्ताकपडा, औषधोपचारलगायत लागि पुग्छ’, उनी भन्छन्, ‘पाखुरी चल्दासम्म अरुको भर पर्नुपरेको छैन, जति कमाइ हुन्छ त्यसबाट घर चलेको छ, अरूकहाँ हात पसार्नु मन पर्दैन।’ ऐरका दुई छोरा भए पनि उनको आफ्नै काम छ। छोराहरूको कमाइमा भने ऐर दम्पतीले अहिलेसम्म भर पर्नुपरेको छैन ।

उमेर पुगेका धेरै मानिसले विश्राम खोज्ने बेला, छोराबुहारीको भर पर्नुपर्ने समयमा ऐर भने आफ्नै पौरखमा बाँच्दै आएका छन् । व्यवसायमा उनको सबैभन्दा ठूलो सहाराका रूपमा श्रीमती छिन्। ‘दुई जनाले मिलेर चलाउँछौँ, यसैमा घर सजिलै चल्छ’, उनी भन्छन् ।

ठेलामा समान बेच्ने मात्र नभई ऐर गाउँका पुराना अगुवा पनि छन्। तत्कालीन झलारी गाउँविकास समितिका वडाध्यक्ष, नगरपालिका गठनपछि वडा सदस्य, अनि असिग्राम माध्यमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष भएर कार्य गरेका यी सबै भूमिका उनका समाजसेवा र नेतृत्वका प्रमाणका रूपमा रहेका छन्।

जीवनका सबैभन्दा ऊर्जाशील वर्षहरू उनले समुदायका काममा खर्चिएका छन् । ‘समाजका लागि सकेजति गरेँ’, उनी भन्छन्, ‘अब बाँकी जीवनका लागि आफैँले केही गर्नुपर्छ ।’ झलारी बजारमा आवतजावत गर्ने जोकोही पनि उनको अनुशासन, समयपालन र ग्राहकसँगको व्यवहारबाट प्रभावित हुन्छ।

उनी चर्को आवाजमा बोल्दैनन्, तर उनको विनम्र व्यवहारले धेरैलाई आकर्षित गर्छ। उनलाई धेरैजसोले सभापति भनेर पनि चिन्ने गर्दछन् । सभापतिज्यू भनेपछि मुस्कुराएर विनम्र स्वरमा बोल्ने बानीले सबैले उनको आदर गर्ने गर्दछन् । जब साँझ पर्छ बजार सुस्ताउँदै जान्छ। नजिकैका पसल र होटलमा बत्ती बल्न थाल्छन् ।

त्यही बेला ऐर आफ्नो ठेलामा भएका समान समेटेर नजिकका पसलमा राखेर घर फर्कन्छन् । त्यो प्रक्रिया दैनिक दोहोरिरहन्छ । तर ऐरका कदम थाक्दैनन् । किनकि थकानले उनलाई रोक्दैन– जीवनले सिकाएको आत्मनिर्भरता अगाडि बढिरहन्छन्।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?