News Summary
Generated by OK AI. Editorially reviewed.- आन्ध्र प्रदेशमा यात्रु बस खोलामा खसेर कम्तीमा ९ जनाको मृत्यु र २९ जना घाइते भएका छन्।
- दुर्घटना तुलसीपाकालु गाउँ नजिकै भएको र बसमा ३८ जना सवार रहेको प्रहरीले जनाएको छ।
- प्रधानमन्त्री नरेन्द्र मोदीले पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन्।
२६ मंसिर, नयाँ दिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रु वाहक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब २६७ किलोमिटर उत्तरपूर्वमा रहेको अल्लुरी सीताराम राजु जिल्लाको तुलसीपाकालु गाउँ नजिकै दुर्घटना भएको जनाएको छ ।
प्रहरीका अनुसार बसमा ३५ जना यात्रु, दुई जना चालक र एक जना क्लीनर सवार थिए ।
दुर्घटनाको लगत्तै, मारेदुमिली र चिन्टुर प्रहरी स्टेसनका टोलीहरू घटनास्थलमा पुगेर स्थानीयहरूसँग मिलेर उद्धार कार्य सुरु गरेको जनाइएको छ ।
पीडितहरू अरकु उपत्यकाबाट यात्रा गर्ने स्थानीय पर्यटकका रूपमा पहिचान गरिएको छ भने उनीहरू भद्राचलम मन्दिरमा दर्शन गर्नको लागि हिँडिरहेका थिए ।
प्रहरीले दुर्घटनाको अनुसन्धानको आदेश दिएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले बस जङ्गलले घेरिएको बाटोको तीव्र मोडमा हिँड्दा सडकबाट पल्टिएर ठाडो ढलानबाट खस्दा दुर्घटना भएको खुलासा गरेको छ ।
बाक्लो कुहिरोका कारण बस चालकले सडकमा नदेखेको र खोलामा झरेको हुन सक्ने एक प्रहरी अधिकारीले बताउनु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन् ।
प्रतिक्रिया 4