+
+
Shares

बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

उनले भनिन्, ‘बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्न सके बढ्दो उमेरको सुन्दरतातर्फ हाम्रो ध्यान जान्छ । हामीले सकरात्मक पक्षलाई बढाउनु जरुरी छ । म आफैँ अहिले ७५ वर्षको भएँ, तर आफ्नो कामले मलाई अनुभवी बनाएको छ, बूढो होइन। यस्ता विषयलाई गीतले राम्रोसँग प्रस्ट्याएको छ, त्यसैले गीत सुन्दर बनेको छ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ७:२०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छिन्।
  • गायिका लक्ष्मी भुजेल महर्जनले पारिवारिक साथ पाएर ५० वर्षको उमेरमा गायनमा प्रवेश गरेको बताइन्।
  • गीत 'गयो गयो उमेर, बाँचौँ रमेर' मा उमेर, स्वास्थ्य र सामाजिक चिन्तालाई विषयवस्तु बनाइएको छ।

२८ मंसिर, काठमाडौँ। अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेका छन् ।

न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स नामक चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौँ रमेर’को श्रव्यदृश्य सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा अभिनेत्री भुसालले कलाकारिता र उमेरका चुनौतीका विषयमा चर्चा गरेका छन्।

उनले भनिन्, ‘बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्न सके बढ्दो उमेरको सुन्दरतातर्फ हाम्रो ध्यान जान्छ । हामीले सकरात्मक पक्षलाई बढाउनु जरुरी छ । म आफैँ अहिले ७५ वर्षको भएँ, तर आफ्नो कामले मलाई अनुभवी बनाएको छ, बूढो होइन। यस्ता विषयलाई गीतले राम्रोसँग प्रस्ट्याएको छ, त्यसैले गीत सुन्दर बनेको छ।’

अभिनेत्री भुसालले ढिलै भए पनि आफ्नो इच्छालाई पूर्णता दिएको भन्दै गायिका लक्ष्मी भुजेल महर्जनलाई गायन क्षेत्रमा निरन्तरता दिन आग्रह गरिन् । ‘मैले अभिनयको सुरुआत गर्दा परिवार र समाज दुवैबाट साथ पाउन मुस्किल थियो । समाजले मेरो अगाडि प्रसंशा गरे पनि कुरा काटेको पनि सुनेकी छु। अहिले गायिका महर्जनलाई झन्डै ५० वर्षको उमेरमा परिवारले नै साथ दिएर गायिका बनाएको सुन्दा खुसी लाग्छ। हाम्रो समाजले कलालाई झन् धेरै सम्मान गर्न लागेको अनुभूति हुन्छ’, उनले भनिन् ।

अभिनेत्री मिथिला शर्माले गायिका महर्जनको आँटलाई देखेर आफू प्रभावित भएको बताइन्। उनले गायिका महर्जनको सपनाको एउटा हिस्सा बन्न पाउँदा खुसी व्यक्त गरिन् । ‘उमेरले हामीलाई केहीमा रोक्न सक्दैन भन्ने एउटा उदाहरण नै गायिका महर्जन हुनुहुन्छ। हामी अहिले पनि आफ्नो काम गरिरहेका छौँ, त्यसैले बढ्दो उमेरसँग डराउने नभई रमाउने हो । आफ्नो कर्ममा इमान्दारिताका साथ लाग्नुपर्छ, यो सन्देश गीतले दिएको छ’, उनले भनिन् ।

गायिका महर्जनले बाल्यकालदेखि नै गायनमा रूचि भए पनि पारिवारिक दायित्वका कारण निरन्तरता दिन नसकेको बताइन् । पछिल्लो समय दिदी सुशीला भुजेलले रचना गरेको शब्दमा स्वर भर्ने गायिका खोज्दै गर्दा सङ्गीतकार शिव शाहीले गीत गाउन प्रेरणा दिएको गायिका महर्जनले स्मरण गरिन् ।

‘मैले परिवारलाई समय दिएँ, किनकि त्यो समयमा मेरो त्यही दायित्व थियो । अहिले परिवारको साथले मैले आफ्नो सपना पूरा गरेकी छु । मैले यत्तिकै ‘डमी’ गाएकी थिएँ, हामी अर्कै स्वर खोजिरहेका थियौँ । सङ्गीतकार शाहीले मेरो स्वरमै सुहाउँछ भनेपछि मैले गएकी हुँ । यो सुरुआत हो, मैले पहिलो पाइला टेकेकी छु’, गायिका महर्जनले भनिन् ।

सार्वजनिक गीतको श्रव्यदृश्यमा अभिनेत्री शर्मासँगै कृष्णभक्त महर्जन, अर्जुन रञ्जित, जिनेन्द्रमान जोशी, न्युछे महर्जन, सुशीला भुजेल, लक्ष्मी भुजेल महर्जन, सविना महर्जन, उर्मिला जोशी, सृजना मानन्धर, लीला कट्टेल, जिभिसनमान जोशी, बीना जोशी, नीरज अंशु प्रधान, चन्द्रमान श्रेष्ठ, रमेश श्रेष्ठ, राहुल थापालगायतले अभिनय गरेका छन् ।

सङ्गीतकार शिव शाहीको कर्णप्रिय सङ्गीतमा तयार भएको उक्त गीतको श्रव्यदृश्यमा भवानी शिलाकारले छायाङ्कन, प्रिया कार्कीले शृङ्गार र रवि सायमीले सम्पादन तथा निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?