+
+
Shares

प्रहरीमा अब दैनिक मूल्यांकन प्रणाली : ९ बजेभित्र अंकसहितको विवरण हेडक्वार्टरमा

प्रहरीको काम मूल्यांकन गर्न ७५ वटा सूचक राखिएको छ । ती सूचकअनुसार अंक (नम्बर) को व्यवस्था गरिएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ पुष २ गते १९:५५
१ पुसमा प्रहरी प्रधान कार्यालयमा दैनिक मूल्यांकन प्रणालीबारे अनुशिक्षण दिँदै एआईजी डम्बर विक ।

२ पुस, काठमाडौं । प्रहरीका दैनिक काम-कारबाहीलाई वस्तुनिष्ठ मूल्यांकन गर्ने उद्देश्यले स्वचालित मूल्यांकन प्रणाली लागु गरिएको छ । हिजो (१ पुस) देखि लागु हुनेगरी प्रहरी प्रधान कार्यालयले यो प्रणाली लागु गरेको हो ।

नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको विवरण समेट्ने गरी केन्द्रीय अभिलेख प्रणाली विकास गरिएको छ । जसले दैनिक रूपमा हुने काम-कारबाहीको विवरणबारे प्रष्ट पार्नेछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार प्रहरीका काम-कारबाहीलाई पारदर्शी र वस्तुनिष्ठ मूल्यांकन गर्ने उद्देश्यले यो प्रणाली लागु गरिएको हो ।

प्रहरी महानिरीक्षक (आईजी) मा नियुक्त भएपछि दानबहादुर कार्कीले प्रहरीमा सुधार गर्ने बताएका थिए । आईजी कार्कीकै संयोजनमा २५ मंसिरमा बसेको नीति निर्माण समिति (पीसीसी) बैठकले प्रहरीको कार्य-प्रभावकारिता र कार्यदक्षता अनुगमन एवं मूल्यांकन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अहिले कार्यसम्पादन र मूल्यांकनसम्बन्धी ढाँचा बनाएर लागु गरिएको प्रवक्ता काफ्ले बताउँछन् ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै यो प्रणाली लागु गरिएको छ । प्रदेश समन्वय विभागका एआईजी डम्बरबहादुर विकले कार्यसम्पादन तथा मूल्यांकन ढाँचा कार्यान्वयनसम्बन्धी अनुशिक्षण दिएका थिए । यो प्रणाली लागु भएपछि प्रहरीको वस्तुनिष्ठ मूल्यांकनको आधार तयार हुने उनले बताए ।

‘यो प्रणालीले वस्तुनिष्ठ मूल्यांकनको आधार तयार गर्छ । आगामी दिनमा कुनै योजना बनाउन पनि सहयोग पुर्‍याउँछ,’ एआईजी विकले भने ।

मूल्यांकनको ७५ वटा सूचक

प्रहरीको काम मूल्यांकन गर्न ७५ वटा सूचक राखिएको छ । ती सूचकअनुसार अंक (नम्बर) को व्यवस्था गरिएको छ । उदाहरणका लागि फरार प्रतिवादी पक्राउलाई एउटा सूचक मानिएको छ । कुन कार्यालयले फरार प्रतिवादी पक्राउ गर्‍यो, कति फरार पक्राउ गर्‍यो सोहीअनुसार सूचकमा उल्लेख भएअनुसारको नम्बर त्यो प्रहरी कार्यालयले पाउनेछ ।

फरार प्रतिवादीमा पक्राउमा पनि सामान्य कसुर वा लेनदेनको भए सोही अनुसारको अंक, जघन्य प्रकृतिको वा मोस्ट वान्डेड भए सोही अनुसारको अंक व्यवस्था गरिएको छ । कामको वर्गीकरणअनुसार १ देखि बढीमा ३ अंकसम्म दिने गरी सूचक तयार पारिएको छ ।

यस्ता ७५ वटा सूचक राखिएको छ । जसले गर्दा काममा प्रतिस्पर्धात्मक भावना जाग्ने र कार्यसम्पादन पनि राम्रो हुने बताइएको छ ।

जिल्लामा ५ भागमा वर्गीकरण

कामको आधारमा मूल्यांकन गर्न अहिले ७७ जिल्लालाई पाँच भागमा वर्गीकरण गरिएको छ । बढी जनघनत्व भएका तथा मुद्दाको चाप बढी भएका जिल्लाहरूलाई ‘क’ श्रेणीमा राखिएको छ ।

जसमा काठमाडौं, ललितपुरदेखि, पर्सा, बाँके जस्ता जिल्लाहरू छन् । त्यसपछि ‘क’ भन्दा कम जनघनत्व भएका जिल्लालाई ‘ख’, ‘ग’, ‘घ’, ‘ङ’ गरी वर्गीकरण गरिएको छ ।

कार्यक्रममा जिज्ञासा राख्दै एसएसपी सञ्जय सिंह थापा ।

आफूले गरेका दैनिक कामको विवरण जिल्लाले प्रदेश प्रहरी कार्यालयमा पठाउनुपर्ने हुन्छ । प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, गणहरूलाई अर्को वर्गीकरणमा राखिएको छ ।

जिल्लाको काममा १०० पूर्णांकको मूल्यांकन हुन्छ भने प्रदेश प्रहरी कार्यालयलाई १२५ पूर्णांकको मूल्यांकन हुन्छ ।

९ बजेभित्र अंकसहितको विवरण आईजी सचिवालयमा

हरेक जिल्लाले आफूले गरेको कामको दैनिक विवरण बेलुका ७ बजेभित्र प्रदेश प्रहरी कार्यालयमा पठाइसक्नुपर्ने हुन्छ । त्यो कामको विवरण अनुसारको अंक जिल्ला प्रहरी कार्यालयले पाउनेछ ।

प्रदेशमा आएको जिल्लाको उक्त विवरण र आफ्नो समेत कामको विवरण प्रदेश प्रहरी कार्यालयले बेलुका ८ बजे भित्र प्रदेश समन्वय विभागमा पठाइसक्नुपर्ने हुन्छ ।

आफ्नो कार्यालयमा आएका काम र अंकसहितको विवरण रुजु गरेर प्रदेश समन्वय विभागले बेलुका ९ बजेभित्र दैनिक पठाइसक्नुपर्ने हुन्छ ।

यो सबै कामको विवरण र मूल्यांकन हेर्ने गरी प्रहरी हेडक्वार्टरमा चार वटा डेस्क खडा गरिएको छ । प्रत्येक डेस्कले दुई वटा प्रदेश हेर्नेछ भने एउटा डेस्कले एक प्रदेश र काठमाडौं उपत्यका हेर्ने गरी व्यवस्था मिलाइएको छ ।

जसअनुसार प्रत्येक दिन कुन प्रहरी कार्यालयले कति काम गर्‍यो, के-के काम गर्‍यो, कस्तो काम गर्‍यो भन्नेदेखि कति अंक पायो भन्नेसम्म वस्तुगत रूपमा रेकर्डमा बस्नेछ । यसरी कामको मूल्यांकनको आधारमा पुरस्कार दिने व्यवस्था समेत मिलाइएको छ । हरेक वर्ष दिइने कार्यसम्पादनको अंकमा समेत यसलाई आधार मान्ने बताइएको छ ।

प्रहरीको बढुवामा ४० नम्बर कार्यसम्पादन मूल्यांकनवापत राखिएको छ । तर आफू निकटस्थका व्यक्तिलाई बढी नम्बर दिने र अन्यलाई कम नम्बर दिने गरेको गुनासो हुँदै आएको छ ।

यसअघि २२ चैत २०८० प्रहरी बढुवामा दिइने अंकमा चलखेल हुने गरेको भन्दै तत्कालीन गृहमन्त्री रवि लामिछानेले अटोमेसन लागु गर्नुपर्ने बताएका थिए । ‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौं । बढुवा नै पिच्छेका प्रतिक्रियाले यो प्रष्ट भएको छ । जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौं त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता बढ्छ,’ लामिछानेले भनेका थिए ।

यो प्रणाली लागु भएपछि आफ्नो कामको मूल्यांकन आफैंले गरेर समेत सुधार गर्ने अवसर मिल्ने बताइएको छ ।

तस्वीरहरू : नेपाल प्रहरी

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?