४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले महाधिवेशनका लागि तय गरेको कार्यतालिका कार्यान्वयन हुन समय चाप रहेको बताएका छन् ।
उनले २६ देखि २८ पुसमा १५ औं महाधिवेशन गर्नका लागि समयको चाप भएको हुँदा तल्लो तहमा दुई तहको अधिवेशन गरेर सिधै केन्द्रको गर्न सकिने विकल्प रहेको बताए ।
‘वडा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरेपछि प्रतिनिधि छनोट हुन्छन्,’ घिमिरेले अनलाइनखबरसँग भने,‘प्रतिनिधि चयन भएपछि केन्द्रको महाधिवेशन गर्न सकिन्छ ।’
अरु तहका अधिवेशन निर्वाचनपछि गर्न सकिने उनले बताए । प्रतिनिधि छनोट भएपछि केन्द्रको गर्न सकिने तर पार्टी समितिहरुका लागि निर्वाचनपछि गर्न उपयुक्त हुने घिमिरेले बताए ।
कांग्रेसले १६ पुसमा वडा अधिवेशन सुरु गरेर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।
यी सबै तहमा अधिवेशन गरेर केन्द्रको गराउन समयको चाप हुने नेताहरूले बताउँदै आएका छन् । नियमित महाधिवेशन गर्नका लागि तहगत अधिवेशन सबै गर्न आवश्यक नभएको नेता घिमिरेले बताए ।
वडा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरेर नियमित महाधिवेशन गर्न तयार नहुने हो भने विशेष महाधिवेशनमा जानुपर्ने नेता घिमिरेको जोड छ ।
‘सबैभन्दा उत्तम विकल्प नियमित महाधिवेशन हो । नियमित हुन नसके विशेषको माग हामीले गरेका हौं,’ घिमिरेले भने,‘केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशन आव्हान गरे झनै राम्रो भयो । नियमित गराउन तयार नहुने हो भने विशेषमा जानुपर्दछ ।’
प्रतिक्रिया 4