५, पुस,चितवन । नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः विनोद पोखरेल निर्विरोध चयन भएका छन् । भरतपुरमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितिय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेक निरौला, कोषाध्यक्षमा प्रकाश चापागाई र वरिष्ठ सदस्यमा राजेन्द्र लामिछाने चयन भएका छन् ।
देशका विभिन्न जिल्लाबाट प्रतिनिधीत्व हुने गरी कार्यसमिति तयार गरिएको अध्यक्ष पोखरेलले बताए । अधिवेशनमा बोल्दै पशु सेवा विभागका महानिर्देशक डा. रामानन्द तिवारीले निजी क्षेत्रको सक्रियतामा सरकारी निकायका विज्ञहरुबाट अण्डाको लागत मूल्य तय गरिएको बताए ।
हालै संघले विज्ञ समूह बनाएर अण्डाको लागत मूल्य रु. १९.१२ कायम गरेको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुको समूहले अध्ययन गरेर मूल्य प्रस्ताव गरेको थियो ।
किसान एवम् व्यवसायीहरुले नयाँ लागत मूल्य सरकारी निकायबाट अनुमोदन गरिदिन अनुरोध गरेपछि महानिर्देशक तिवारीले सो कार्यको प्रशंसा गरे । महानिर्देशक तिवारीले लागत अनुसारको मूल्य नपाए कोही पनि बजारमा टिक्न नसक्ने भन्दै किसानलाई बचाउनुपर्ने धारणा राखे ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट व्यवसायिक रुपमा धेरै लगानी गर्नेहरुले संस्थाको नेतृत्व गर्दा संस्था बिग्रन नपाउने बताए । कुखुरा पालन क्षेत्रमा सानासाना कुरामा ध्यान दिन आग्रह गर्दै नयाँ प्रविधिको प्रयोग गरेर लागत घटाउनु पर्ने उनको धारणा छ ।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले लागत अनुसारको मूल्य नपाउँदा धेरै किसान विस्थापित भएको भन्दै अब निर्धारण भएको लागत मूल्य पाउने गरी बजारको व्यवस्थापन गर्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले बि.सं. २०७९ असोज २९ गते संघ स्थापना गरी अनवरत रुपमा देशभरी छरिएर रहेका उत्पादक र वितरकसँग समन्वयकारी भूमिका खेल्दै आएको बताए ।
तत्कालीन समयमा संघ स्थापना भएर बजारीकरणमा नलागेको भए अहिले नेपाल अण्डामा आत्मनिर्भर अवस्थामा नहुने पोखरेल बताउँछन् ।
दुई वर्षे कार्यकाल रहने संघको स्थापना नै पोखरेलको पहलमा भएको हो । संघमा दुई सय ५० सदस्य रहेका छन् । यो क्षेत्रमा एक सय ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया 4