+
+
Shares

तेह्रथुमबाट एकल सिफारिस भए गगन थापा, प्रदेशले थपिदियो सीता गुरुङको नाम

कोशी प्रदेश समितिले भने गगन थापासँगै सीता गुरुङको पनि नाम थपेर केन्द्रमा पठाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १५:५४

६ पुस, काठमाडौँ । नेपाली कांग्रेसमा आगामी निर्वाचनका लागि जिल्ला-जिल्लाबाट उम्मेदवारका आकांक्षीहरूको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिसको काम चलिरहेको छ ।

जिल्लाले नाम सिफारिस गर्दा सबैभन्दा धेरै महामन्त्री गगनकुमार थापाको नाम सिफारिस भएको छ । थापा विभिन्न जिल्लासँगै तेह्रथुमबाट एकल सिफारिस भएका थिए ।

तर, कोशी प्रदेश समितिले भने उनीसँगै सीता गुरुङको पनि नाम थपेर केन्द्रमा पठाएको छ । गुरुङ विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन जित्ने एकमात्र महिला सदस्य थिइन् ।

कोशी प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले सीता गुरुङको नाम थपेर पठाइएको जानकारी दिए ।

उनले महामन्त्री र उनीनिटकहरूले ‘स्टन्ट’ गरिरहेको आरोप पनि लगाए । ‘महामन्त्री र उनका मान्छेहरूले स्टन्ट गरे । यसरी सिफारिस नै गर्ने हो भने शेरबहादुर देउवाको नाम सबै जिल्लाबाट हुन्थ्यो होला नि,’ उनले अनलाइनखबरसँग भने, ‘शेखर कोइरालाको त्यस्तै हुन्थ्यो होला, पूर्णबहादुर खड्काको पनि कति जिल्लाबाट नाम आउँथ्यो होला । निर्वाचन र उम्मेदवार सिफारिसको विषयमा आफ्नो क्षेत्र जहाँ हो त्यहीँ आवश्यक राजनीति गरौँ । यसरी स्टन्ट गरेर पार्टीलाई राजनीतिक रुपमा फाइदा हुँदैन नि ।’

यसअघि सीता गुरुङको नाम जिल्लाबाट सिफारिस नहुनुमा पूर्वसांसद तुलसी सुब्बा समूह हाबी भएको त्यहाँस्थित केही नेता बताउँछन् ।

‘अघिल्लो चुनावमा तुलसी त सीतालाई हराउन भनेर लागेको मान्छे हो नि । अहिले उनले उम्मेदवार नै सिफारिस नहुने गरी जिल्लामा राजनीति गरेका हुन्,’ तेह्रथुम जिल्ला कार्यसमितिका एक पदाधिकारीले भने, ‘तुलसीलाई त अनुशासनको कारबाही पनि गरिएको छ । कारबाही फुकुवा पनि भएको छैन ।’

सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ थापाको मात्रै र समानुपातिकतर्फ भने तेह्रथुम कांग्रेसले कृष्णमान तुम्बाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र शनिषा भेटवालको नाम सिफारिस गरेको थियो । समानुपातिकतर्फ भने प्रदेशले पनि कुनै नाथ थपघट नगरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?