+
+
Shares

नकारात्मक पूँजीकोष भएको सहकारी बैंकले पायो ३ वर्षको समय सीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सहकारी बैंकले आगामी २०८५ देखि पूँजीकोष ८ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ।
  • सहकारी बैंकको आर्थिक वर्ष २०८१/८२ मा सञ्चित नोक्सानी ४ अर्ब २५ करोड र पूँजी कोष ०.८२ प्रतिशत मात्र छ।
  • बैंकले कर्जा नोक्सानीका लागि ४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ छुट्याएको छ र पूँजी सुधारका योजना बनाएको छ।

६ पुस, काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आगामी ३ वर्षमा पूँजीकोष ८ प्रतिशत कायम गर्नुपर्ने भएको छ । नकारात्मक पूँजीकोष रहेको सो बैंकलाई आगामी २०८५ देखि सो सीमामा पूँजी कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

सहकारी बैंकको पूँजी साधारण सेयरले मात्र बनेको हुनुपर्ने व्यवस्था गर्दै केन्द्रीय बैंकले न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गरेको छ । सहकारी बैंकले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पूँजी ४ प्रतिशत र कुल पूँजीकोष ८ प्रतिशत कायम गर्नु पर्नेछ ।

पूँजीकोष भन्नाले प्राथमिक पूँजी र पूरक पूँजीको योग हो । प्राथमिक पूँजी गणना गर्दा सोमा चुक्ता पूँजी, प्रस्तावित बोनस सेयर, जगेडा कोष, सञ्चित नाफा/नोक्सान, प्रयोजन नखुलाई स्वतन्त्र रुपमा खडा गरिएका स्वतन्त्र कोषलाई समावेश गर्न पाइनेछ ।

आर्थिक वर्ष २०८१/८२ मा सहकारी बैंकको सञ्चित नोक्सानी ४ अर्ब २५ करोड रुपैयाँ छ । सो अवधिमा बैंकको कुल पूँजी कोष ०.८२ प्रतिशत मात्र छ । त्यसैगरी प्राथमिक पूँजी कोष ०.३४ प्रतिशत मात्र छ ।

गत आवमा बैंकको कुल पूँजी कोष ७.१८ प्रतिशतले नकारात्मक छ । अघिल्लो आवमा यस्तो अनुपात ४.६५ प्रतिशत नकारात्मक थियो । बैंकको पूँजी कोषलाई आधार मान्ने हो भने कर्जा लगानी गर्ने अवस्था नै छैन । तर पनि बैंकले कर्जा लगानी रोकेको अवस्था छैन ।

केन्द्रीय बैंकले २०८५ साउनसम्मको समय दिएको हुनाले योजना बनाएर पूँजीकोषको सीमा कायम गर्न काम गर्ने सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले बताए ।

‘बैंकले असुलीमा ध्यान केन्द्रित गर्दै काम गरिरहेको छ, साथै खर्च कटौती गर्ने योजना पनि बनाएको छ,’ उनले भने,‘ साना सेयरलाई बढाउने र रिस्क–वेटेड एसेट्स घटाउने काम गर्नेछौं ।’

गत आर्थिक वर्षमा सहकारी बैंकलाई राष्ट्र बैंकले ५ अर्ब १५ करोड ६२ लाख रुपैयाँ कर्जा नोक्सानी गर्न भनेको छ । तर, बैंकले ४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था गरेको छ ।

बैंकले २ अर्ब ५६ करोड रुपैयाँ एकल हानी नोक्सानी र २ अर्ब ३० करोड सामूहिक हानी नोक्सानीका लागि छुट्याएको छ । गत आवमा बैंकले १३ करोड २० लाख रुपैयाँ असल कर्जामा, ८१ लाख रुपैयाँ सुक्ष्म निगरानी, १५ करोड कमसल, २९ करोड शंकास्पद र खराब कर्जा नोक्सानी व्यवस्था बापत ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ ।

गत आर्थिक वर्षमा बैंकको गैर बैंकिङ सम्पत्ति एक अर्ब ५२ करोड २१ लाख रुपैयाँ बराबरको छ । अघिल्लो आवमा बैंकको यस्तो सम्पत्ति एक अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबर थियो । गत आवमा मात्रै ४० करोड ८९ लाख रुपैयाँ थपिएको छ । गत आवमा बैंकको नोक्सानी ६९ लाख २१ हजार रुपैयाँ छ । त्यसैगरी सो अवधिको वितरण योग्य नाफा ४ अर्ब २७ करोड ५७ लाख रुपैयाँ ऋणात्मक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?