+
+
Shares

फरकफरक जेनजी : कोही चुनावमा जाने, कोही सडक तताउने

कतिपय जेनजी सरकारसँग असन्तुष्ट छन् भने कोही सरकारको म्यान्डेटअनुसार चुनावमा केन्द्रित हुनुपर्ने बताइरहेका छन् । असन्तुष्टमध्ये केही समूहले सडक आन्दोलन तताउने तयारी समेत गरेका छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष ६ गते २१:३२

६ पुस, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले १०० दिन पूरा गरेको छ । योसँगै जेनजीका विभिन्न समूहले सरकारका काम–कारबाहीको मूल्यांकन गर्न थालेका छन् ।

कतिपय जेनजी सरकारसँग असन्तुष्ट छन् भने कोही सरकारको म्यान्डेटअनुसार चुनावमा केन्द्रित हुनुपर्ने बताइरहेका छन् । असन्तुष्टमध्ये केही समूहले सडक आन्दोलन तताउने तयारी समेत गरेका छन् ।

जेनजी आन्दोलनको दिन सडकमा नदेखिएका मिरज ढुंगानाले आइतबार पत्रकार सम्मेलन गर्दै अब आफू सडकमा जाने बताए । ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

काठमाडौँमा पत्रकार सम्मेलन गरी ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित विरोधको कार्यक्रम गर्नुपर्ने अवस्था आएको बतायो ।

ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने बताए ।

‘भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस् । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन,’ उनले भने, ‘त्यसैले अब सर्वपक्षीय सरकार गठन होस् । आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ ।’

सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बोक्न नसक्ने दाबी ढुंगानाले गरे । ‘२०८४ को चुनाव २०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?’

यसरी ढुंगानाले चुनावमा जान नहुने तर्क सरकारको १०० दिनलाई मूल्यांकन गरेर गरेका होइनन् । पत्रकार सम्मेलनमा सो दाबी गरे पनि उनी सुरुवातबाटै यो सरकार ढालेर नयाँ सरकार बनाउनुपर्ने बताउँथे । गत कात्तिक १ गते दल खोल्ने भन्दै एभरेस्ट होटलमा पत्रकार सम्मेलन गरेका उनले आफूहरूले चुनावमा जान दल नखोलेको तर्क गरेका थिए ।

गत भदौ २४ गते जेनजी प्रदर्शनकारी संसद् भवनअगाडि प्रदर्शन गर्दै।

त्यसबेला नै ढंगानाले यो सरकारको म्यान्डेट चुनाव गराउनु नरहेको बताएका थिए । यो सरकार महत्त्वपूर्ण विषयमा संविधान संशोधन गराएर अघि बढ्न बनेकोले चुनाव गराउने यसको म्यान्डेट नरहेको उनको तर्क थियो ।

‘यदि अहिलेको सरकार चुनावी सरकार बन्ने कुरा सोच्नुभएको छ भने त्यो भ्रम हो । यो सरकारको उद्देश्य यही अवस्थामा चुनाव गराउनु होइन,’ उनले भने ।

यसरी सुरुवातबाटै चुनाव नचाहेका ढुंगाना अब भने गठबन्धन बनाएरै आन्दोलनमा जान कस्सिएका छन् । आन्दोलन गर्ने जेनजी गठबन्धनमा २६ वटा समूह रहेको उनी निकट हरिष भट्टले बताए । यसमा को–को छन् भन्नेबारे छिट्टै खुलाइने उनले बताए ।

‘देशव्यापी आन्दोलन गर्ने यो गठबन्धनको शक्ति चाहिँ कति हो ?,’ अनलाइनखबरको प्रश्नमा भट्टले भने, ‘अब हामीले आह्वान गर्ने हो । कति आउनुहुन्छ त्यो त भोलि नै थाहा हुन्छ । देशलाई माया गर्नेहरू आन्दोलनमा आउनुहुन्छ र साथ दिनुहुन्छ भन्ने विश्वास छ ।’

चुनाव नै चाहन्छ : जेनजी फ्रन्ट

जेनजी फ्रन्ट भने अहिलेको आवश्यकता आन्दोलनभन्दा पनि चुनाव नै रहेको बताउँछ । रक्षा बम नेतृत्वको यो समूहको बुझाइअनुसार अहिले चुनावको विकल्प नरहेकोले सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ ।

आफूहरूले पनि त्यसकै लागि तयारी गरिरहेको र संगठनबाट स्वतन्त्र उम्मेदवारी दिएकालाई सहयोग गर्ने योजना रहेको फ्रन्टका अगुवा युजन राजभण्डारीले बताए ।

अन्य शक्तिको आडमा उठाइएको आन्दोलनमा आफूहरूको साथ नहुने उनको तर्क छ । यसरी चुनाव बिथोल्ने नियतले गरिने आन्दोलन कुनै हिसाबले सही नहुने उनले बताए ।

‘हामी आन्दोलनको पक्षमा छैनौँ । सरकार ढालेर अहिले सर्वपक्षीयको नाममा अर्को सरकार बनाउने लफडामा फस्नु हुँदैन । अब यही सरकारले चुनाव गराउनुपर्छ र हामीले त्यसमा सहयोग गर्नुपर्छ,’ राजभण्डारीले भने ।

बरु आफ्ना समूहबाट कोही स्वतन्त्र हिसाबले चुनाव लड्न चाहे त्यसमा सहयोग गर्ने उनले बताए ।

निकासका लागि चुनाव अनिवार्य : जेनजी मुभमेन्ट अलायन्स

जेनजी मुभमेन्ट अलायन्स पनि अहिलेको अवस्थामा चुनावको विकल्प नरहेकोले आफूहरू आन्दोलनको पक्षमा नरहेको बताउँछ । अलायन्सकी अगुवा मोनिका निरौलाका अनुसार अहिले मिरज ढुंगाना समूहले गर्ने भनेको आन्दोलनमा पनि यसको संलग्नता छैन । बरु अवस्था बुझेर सबैले चुनावलाई सहयोग गरिदिन उनले अनुरोध गरिन् ।

‘अब क–कसले आन्दोलन गर्ने भन्नुभएको छ, हामी त्यसमा संलग्न छैनौँ । अहिलेको अवस्थामा हामी चुनाव नै हुनुपर्छ भन्नेमा अडिग छौँ,’ निरौलाले भनिन्, ‘यद्यपि, आन्दोलन गर्नु संवैधानिक अधिकार हो । उहाँहरूले गर्नुहुन्छ भने हामीले केही भन्ने कुरा पनि भएन । तर अहिलेको अवस्था बुझेर परिपक्व निर्णय लिइदिए हुन्थ्यो भन्ने अनुरोध मात्र छ ।’

ढुंगाना समूहले उठाएको तत्काल संविधान संशोधन गर्नुपर्ने मुद्दा अहिलेको लागि व्यावहारिक नभएको तर्क पनि निरौलाले गरिन् ।

बरु यसको सट्टा आफूहरू चुनाव केन्द्रित अभियानमा रहेको उनले बताइन् । यदि जेनजी मुभमेन्ट अलायन्स वा अन्य कुनै जेनजी समूहबाट स्वतन्त्र लड्ने युवालाई आफूहरूले चुनावमा सहयोग गर्ने उनको भनाइ छ ।

‘यदि चुनावलाई अलि समय भइदिएको भए हामीले दल खोलेर वा अरू कुनै तरिकाले सहभागी हुन्थ्यौँ होला । तर आन्दोलनपछिको तीन महिना सम्झौताकै वरपर रहनुपर्यो । राजनीतिक रूपले केही गर्न सकिएन,’ निरौलाले अनलाइनखबरसँग भनिन्, ‘तर पनि राजनीतिक निकासका लागि चुनावको विकल्प छैन ।’

चुनावको विकल्प छैन : द काउन्सिल अफ जेनजी

द काउन्सिल अफ जेनजीका अगुवा भने अहिलेको अवस्थामा चुनावभन्दा राम्रो विकल्प केही हुन नसक्ने बताउँछन् । कोशी प्रदेश संयोजक उपार्जुन चामलिङका अनुसार द काउन्सिल अफ जेनजी चुनावबाट दायाँबायाँ गर्न नहुने पक्षमा छ ।

‘आन्दोलन घोषणा गर्नेहरू जेनजी हुन कि के हुन् ? जनता सचेत छन् । को–कस्ता हुन् सबै देखिएकै छ,’ चामलिङले भने, ‘हामी चाहिँ यस्ता फन्डाका पछाडि लागेका छैनौँ । अहिलेको अवस्थामा चुनावभन्दा राम्रो र सुन्दर विकल्प केही पनि हैन ।’

मिरज ढुंगानप्रति संकेत गर्दै चामलिङले थपे, ‘हिजो जेनजी आन्दोलनमा सडकबाटै भाग्नेहरू आज किन सडकमा आउँछु भन्दै छन् । यी कुरा जनताले स्पष्ट बुझेका छन् ।’

चुनाव नहुँदा दुई वटा बाटोमा मुलुक हिँड्ने जोखिम देखेकाले त्यो पक्षमा देशको भलो चाहने जेनजी नलाग्ने उनले बताए । चुनाव नहुँदा कि त अधिनायकवादी शक्ति आउने वा संसद् पुनर्स्थापना हुने अवस्थामा मुलुक जाने उनले बताए । त्यसैले जेनजीले यीमध्ये के चाहेको हो भन्नेमा स्पष्ट हुनुपर्छ ।

‘अहिलेको युवाले न अधिनायकवादी शक्ति चाहन्छ, न त पुरानै गुण्डु ग्याङलाई सत्ता सुम्पने संसद् पुनर्स्थापना,’ उनले भने, ‘त्यसैले अहिले चुनावको विकल्प छैन ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?