News Summary
Generated by OK AI. Editorially reviewed.- मनोविद् आशिष काफ्ले र थेरापिस्ट साधना थापाले बुबाको भूमिका बच्चाको शारीरिक, भावनात्मक र सामाजिक विकासमा गहिरो प्रभाव पार्ने बताए।
उस्तो उस्तै होइन, बच्चा जन्माउनु र बुबा बन्नु । बुबा शब्द आफैमा एक जिम्मेवारीसँग जोडिएको छ ।
परिवारको दायित्व बोक्नेदेखि सही मार्गदर्शन गर्नेसम्ममा बुबाको खास भूमिका हुन्छ । यसै भन्छन्, मनोविद् आशिष काफ्ले । उनका अनुसार अभिभावकत्व एउटा यस्तो प्रक्रिया हो जसले बच्चाको शारीरिक, भावनात्मक र सामाजिक विकासमा गहिरो प्रभाव पार्छ । अभिभावकत्व बच्चा जन्मिएपछि मात्र सुरु हुने होइन, यो बच्चा गर्भमा रहनु अघिदेखि नै सक्रिय हुनुपर्ने साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आट्र्स थेरापिस्ट साधना थापा बताउँछिन् ।
बुबा शब्द, जसमा गहन जिम्मेवारी अनि दायित्व मिसिएको हुन्छ । उनीहरूले परिवारको कप्तानी मात्र सम्हालेका हुँदैनन्, त्यसलाई सही दिशानिर्देश पनि गरेका हुन्छन् ।
परिवारलाई कता डोहोर्याउने ? कस्तो बनाउने ? कहाँसम्म पुर्याउने ? बुबाको भूमिका अहंम हुन्छ यसमा । सफल बुबाले बच्चालाई संघर्ष सिकाउँछन्, दिशा दिन्छन् र सन्तुलित जीवन जिउन प्रेरित गर्छन् । यदि बुबाले आफ्नो जिम्मेवारी बोध गरे भने परिवार मजबुत र सुखी हुन्छ ।
बुबा र आमाको दुवैको भूमिका अभिभावकका रूपमा उत्तिकै महत्वपूर्ण हुने मनोविद् आशिष काफ्ले बताउँछन् । उनका अनुसार आमाले सामान्यतया भावनात्मक पालनपोषण, करुणा र सम्बन्धमा ध्यान दिने वातावरण प्रदान गर्छिन् भने बुबाले सुरक्षा, तार्किकता, दृढता र स्वतन्त्रतातर्फ झुकाव राख्ने ऊर्जा दिन्छन् । यस्तोमाबच्चाको स्वस्थ विकासका लागि बुबा आमा दुवैले आफ्नो भूमिका राम्रोसँग निभाउनु आवश्यक हुने उनको भनाइ छ ।
अभिभावकत्वमा बुबाको भूमिका
अभिभावकत्व एउटा यस्तो प्रक्रिया हो जसले बच्चाको शारीरिक, भावनात्मक र सामाजिक विकासमा गहिरो प्रभाव पार्छ । विशेष गरी नेपाल जस्तो समाजमा, जहाँ परम्परागत भूमिका विभाजनले बुबाको संलग्नतालाई सीमित बनाएको छ, यसले बच्चाहरूमा दीर्घकालीन समस्या निम्त्याउन सक्छ ।
अभिभावकत्व बच्चा जन्मिएपछि मात्र सुरु हुने होइन, यो बच्चा गर्भमा रहनु अघिदेखि नै सक्रिय हुनुपर्ने साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्टस् थेरापिस्ट साधना थापा बताउँछिन्। ‘जब आमाबुबाले बच्चा जन्माउने योजना बनाउँछन्, त्यतिबेलादेखि नै बुबाको भूमिका सुरु हुन्छ’ थापा भन्छिन्, ‘यो योजनामा आर्थिक अवस्था, भावनात्मक र शारीरिक तयारी, बच्चालाई कसरी हुर्काउने र कस्तो वातावरण दिने जस्ता कुराहरू समावेश हुनुपर्छ ।’ तर नेपालमा यस्तो योजना प्रायः नहुने थापा बताउँछिन् ।
हाम्रो समाजमा बच्चा जन्माउने कुरालाई प्राकृतिक प्रक्रियाको रूपमा लिइन्छ, जसले गर्दा अभिभावकत्वको आधार नै कमजोर हुन्छ । यदि सुरुदेखि नै सोचविचार नगर्ने हो भने पछि प्रभावकारी रूपमा अभिभावक हुन गाह्रो हुन्छ । यसले गर्दा बुबाको भूमिका पनि सीमित रहन्छ, किनकि उनीहरूले यो प्रक्रियामा भाग लिने अवसर नै नपाउने थापाको भनाइ छ ।
सामान्यतया, बुबाहरूले आउटडोर गतिविधि, खेलकुद, शारीरिक क्रियाकलाप र थ्रिलिङ अनुभवहरूमा बच्चालाई संलग्न गराएर शारीरिक तथा मानसिक विकासमा छुट्टै योगदान दिने सक्ने मनोविद् काफ्ले बताउँछन् ।
बुबाको अभिभावकत्वको परम्परागत अवधारणा र समस्या
नेपालमा अभिभावकत्वलाई परम्परागत रूपमा हेर्ने गरिन्छ । यहाँ आमालाई माया, हेरचाह र भावनात्मक सम्बन्धको जिम्मेवारी दिइन्छ, जबकि बुबालाई कडा, अनुशासित र आर्थिक समर्थन गर्ने भूमिकामा राखिन्छ ।
अभिभावकका रूपमा बुबाले भावनात्मक रूपमा संलग्न हुनु पर्दैन भन्ने धारणा प्रबल छ । यो सिकाइ हाम्रो पुस्ताबाट नै आउँछ । हामीले आफ्ना अभिभावकबाट देखेको, पढेको र भोगेको कुराबाट सिक्छौं । तर यो धारणाले बुबाको भूमिकालाई कमजोर बनाउँछ, जसले गर्दा बच्चाहरूसँग भावनात्मक सम्बन्ध विकास हुन नपाउने साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्ट्स थेरापिस्ट थापा बताउँछिन् ।
‘यसको जड समाजमा नै छ । उदाहरणका लागि, गर्भावस्थाको जाँचमा अस्पतालहरूले बुबाको खोजी गर्दैनन्’ थापा भन्छिन्, ‘धेरै अस्पतालमा प्रेग्नेन्सी चेकअप गर्दा बुबालाई भित्र छिर्नै दिइन्न।’ काउन्सेलिङ सत्रहरूमा पनि आमाको खानपान, अस्पताल ब्याग तयारी जस्ता कुरा मात्र हुन्छन्, बुबाको भूमिकाबारे केही उल्लेख हुँदैन । एक परामर्शदाताले त सुत्केरी हुँदा बुबा उपस्थित भए श्रीमतीलाई घृणा गर्छन्, सम्बन्ध बिग्रिन्छ भनेर सल्लाह दिएको अनुभव आफूसँग रहेकी थापाले सुनाइन् ।
यो धारणाले बुबालाई अभिभावकत्वबाट टाढा राख्छ । समाज, परिवार र अस्पतालहरूले नै बुबालाई यो प्रक्रियाबाट अलग राख्छन्, जसले गर्दा उनीहरूले सिक्ने र संलग्न हुने अवसर पाउँदैनन् । ‘सिकाइ दुई तरिकाबाट हुन्छः पढेर वा गरेर । यदि देखेको र गरेको छैन भने, कसरी प्रभावकारी बुबा बन्ने ?’ थापाको प्रश्न छ ।
नेपालमा बुबाको भूमिकालाई आर्थिक समर्थन, पढाउने, खुवाउने र अनुशासनमा राख्न कडा हुनेमा मात्र सीमित गरिन्छ । यसले भावनात्मक सम्बन्धलाई बेवास्ता गर्छ, जसको दीर्घकालीन प्रभाव बच्चाको मानसिक स्वास्थ्यमा पर्छ । अनुसन्धानहरूले पनि यो कुरा प्रमाणित गरेका छन् कि बुबाको भावनात्मक संलग्नता नहुँदा बच्चाको साइकोसोसियल स्वास्थ्य प्रभावित हुन्छ ।
यद्यपि, आधुनिक अभिभावकत्वले कठोर लैंगिक ‘स्टिरियोटाइप’भन्दा बाहिर गएर दुवै ऊर्जाको मिश्रणलाई प्रोत्साहन गर्छ, जसले बच्चाहरूमा लचिलोपन, सहानुभूति र सन्तुलित विकास सुनिश्चित गर्छ, जसलाई काफ्लेले जोड दिन्छन् । ‘रिसर्चहरूले पनि देखाउँछन् कि बुबाको सक्रिय संलग्नताले बच्चाको भावनात्मक सुरक्षा, शैक्षिक सफलता र सामाजिक कौशलमा सकारात्मक प्रभाव पार्छ ।’
बच्चाहरूमा यसको असर
बुबाको अभिभावकत्वमा कम संलग्नताले बच्चाहरूमा गम्भीर प्रभाव पार्छ । काउन्सिलिङमा आएका धेरै केसहरूमा यो देखिने साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्ट्स थेरापिस्ट थापा बताउँछिन् । विशेष गरी सम्बन्ध टुटेका परिवार, जहाँ आमा वा बुबामध्ये एकको भूमिका कमजोर हुन्छ, त्यहाँबाट आएका बच्चाहरूमा एन्जाइटी, डिप्रेसन, एडिक्सन र व्यवहारिक समस्या बढी हुने उनले जानकारी दिइन् । ‘यसमा आमा र बुबा दुवैको भूमिका महत्वपूर्ण हुन्छ, तर बुबाको कमीले विशेष प्रभाव पार्छ’ थापा भन्छिन् ।
बुबाको अनुपस्थिति वा कम संलग्नताले बच्चामा ‘मास्कुलिन’ ऊर्जाको कमी हुन सक्छ, जसले भावनात्मक, शारीरिक र सामाजिक विकासमा असर पार्न सक्छ । जस्तै कम आत्मविश्वास, जोखिम लिने क्षमताको कमी वा व्यवहारिक समस्या, जसलाई काफ्लेले उल्लेख गर्छन् ।
कुनै बच्चाले सानैदेखि बुबाको माया र साथ पाएन भने उसमा एन्जाइटी, डिप्रेसन र कम आत्मसम्मानको समस्या देखिन्छ । उनीहरू आफूलाई कमजोर ठान्छन् । बुबाको माया नपाएका बच्चाहरू कसैसँग अट्याच हुन सक्दैनन् वा अति अट्याच हुन्छन् । यसले सम्बन्धमा समस्या निम्त्याउने थापा बताउँछिन् । ‘यो सुरुदेखि नै भावनात्मक सुरक्षा नहुँदा हुन्छ’ थापा बताउँछिन्, ‘बुबाको भावनात्मक साथ नपाउँदा बच्चामा दीर्घकालीन प्रभाव पनि पर्छ ।’ बच्चा वयस्क हुँदा सम्म पनि सम्बन्ध, आत्मविश्वास र समस्या समाधान क्षमतामा कमी आउने उनको भनाइ छ ।
बुबाको भावनात्मक संलग्नता नहुँदा बच्चाको मानसिक स्वास्थ्य प्रभावित हुने कुरा अनुसन्धानहरूले देखाएको थापाले जानकारी दिइन् । युनिभरसिटी अफ द प्यासेफिकको ‘स्कॉलरली’ कमन्समा प्रकाशित ‘बुबाको अनुपस्थितिले समाज र विकासमा पार्ने प्रभावहरू’ नामक अध्ययनले बुबाको अनुपस्थितिले बालबालिकाहरूको व्यवहार, शैक्षिक प्रदर्शन र अपराध जोखिममा पर्ने प्रभावहरूको विस्तृत विश्लेषण गरेको छ ।
यस सन्दर्भमा, साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्ट्स थेरापिस्ट थापा भन्छिन्, ‘काउन्सिलिङमा आएका धेरै केसहरूमा बुबाको भावनात्मक संलग्नताको कमीले बच्चाहरूमा एन्जाइटी र डिप्रेसन जस्ता समस्या बढेको देखिन्छ । यो सुरुदेखि नै भावनात्मक सुरक्षा प्रदान नगर्दा हुन्छ, जसले दीर्घकालीन रूपमा बच्चाको सम्बन्ध र आत्मविश्वासलाई प्रभावित गर्छ।’ अभिभावकत्वमा बुबाको सक्रिय भूमिका आवश्यक हुने र यसलाई समाजले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
कसरी राम्रो बुबा बन्ने ?
राम्रो बुबा बन्न सिक्न सकिन्छ, तर यसका लागि प्रयास चाहिन्छ । प्यारेन्टिङ सिक्न नसकिने कुरा होइन । यसलाई योजना, संलग्नता र सहायताबाट मजबुत बनाउन सकिने साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्ट्स थेरापिस्ट थापाले बताइन् ।
‘राम्रो बुबा बन्नका लागि बच्चा गर्भमा रहनु अघि नै आमाबाबुबीच छलफल हुनुपर्छ’ थापा भन्छिन्, ‘कसरी असल अभिभावक बन्ने भन्नेबारे कुरा गर्नुपर्छ । आर्थिक, भावनात्मक र शारीरिक तयारी गर्नुपर्छ ।’
गर्भावस्थाको चरणदेखि नै बुबा आमासँगै अस्पताल चेकअपमा जानुपर्छ । आमालाई सुरक्षित महसुस गराउने गर्नुपर्छ । बच्चाले आमाको भावना महसुस गर्छ, त्यसैले बुबाको उपस्थितिले सुरक्षा दिन्छ । जन्मपछि नवजात शिशुलाई बोक्ने, छातीमा राख्ने गर्नुपर्छ । बुबाले प्राइमरी केयरगिभरको रूपमा समय दिनुपर्छ र भावनात्मक हेरचाह गर्नुपर्ने थापाको सुझाव छ ।
‘बढ्दो उमेरमा बच्चासँग खेल्ने, उनीहरूको कुरा सुन्ने र उनीहरूको प्रश्नको जवाफ दिने गर्नुपर्छ । राम्रो÷नराम्रो छुट्याउन सिकाउनुपर्छ । आफ्नो प्रतिक्रिया देखाएर बच्चालाई राम्रो नराम्रो सिकाउनुपर्छ’ उनी भन्छिन् ।
बच्चाले बुबालाई हेरेर धेरै कुरा सिक्छः समस्या समाधान, आत्मविश्वास र क्षमता विकास । बच्चा हुर्काउँदा आफू पनि सिक्दै जानुपर्छ र बुबा उसको रोल मोडल बन्नुपर्ने थापा बताउँछिन् ।
यदि अभिभावकत्व सिक्न गाह्रो भए, प्यारेन्टिङ क्लास, कपल सेसन वा फ्यामिली थेरापी लिन सकिन्छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ। समस्या आयो भने सहायता खोज्नु राम्रो हो । नेपालमा पनि यस्ता सेसनहरू उपलब्ध छन् । त्यसैले समस्या भए विशेषज्ञको सहायता पनि लिनुपर्ने सुझाव थापाको छ ।
प्रतिक्रिया 4