+
+
Shares

चप्पलले खोल्यो दुई व्यक्ति हत्याको पोल, कारण बन्यो ११ लाख ऋण

भिडियोमा क्राइम सिनमै फेला परेको चप्पल देखियो । भिडियोमा देखिएको चप्पल र क्राइम सिनमा फेला परेको चप्पल म्याच खायो । त्यसपछि उक्त चप्पल भिडियो खिच्ने देवराजकै रहेको पहिचान भयो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ पुष ७ गते १५:३०
Listen News
0:00
0:30
🔊

७ पुस, काठमाडौं । ललितपुरमा एकै व्यक्तिले दुई दिनको अवधिमा दुई युवकको हत्या गरेको खुलेको छ । एक व्यक्ति हत्या आरोपमा पक्राउ गरेर अनुसन्धान गर्दा तिनै व्यक्तिले अर्का व्यक्तिको पनि हत्या गरेको खुलेको हो ।

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका घर भएका रमेश भनिने देवराज ढुंगेल र जयराम अधिकारी छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुरको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको सहयोगमा पक्राउ गरिएको हो ।

उनीहरू दुई जना मिलेर भोजपुर घर भएका २१ वर्षीय पारुहाङ राई र गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको हत्या गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

अधिकारीलाई सिन्धुली प्रहरीको सहयोगमा आइतबार साँझ पक्राउ गरी १० बजे राति काठमाडौं ल्याइएको हो । यसअघि प्रहरीले देवराजलाई पक्राउ गरेको थियो ।

हत्या गर्नुको मुख्य कारण ऋणसँग जोडिएको प्रहरीले बताएको छ । घटनाअनुसार देवराजले आफ्नी श्रीमतीलाई करिब चार महिनाअघि जापान पठाएका थिए । श्रीमती जापान पठाउन उनले कोही व्यक्तिसँग ऋण लिएका थिए । उक्त ऋण तिर्न फेरि देवराजले अहिले हत्या गरिएका आफ्नै जेठान केशवराजसँग ६ लाख र पारुहाङसँग ५ लाख रुपैयाँ ऋण लिएको अनुसन्धान अघिकृत बताउँछन् ।

केशवराज र पारुहाङले उक्त ऋण फिर्ता माग्न थालेपछि योजना बनाएर हत्या गरेको प्रहरीले बताएको छ । ‘हत्याको मुख्य कारण नै ऋणसँग जोडिएको छ । ऋण तिर्नु नपर्ने सोचेर हत्या गरेको देखिन्छ,’ एसएसपी बस्नेतले भने ।

रमाइलो गर्ने भन्दै जंगलमा लगेर केशवराजको हत्या

हत्या गरिएका केशवराज र हत्या आरोपमा हिरासतमा रहेका देवराज ज्वाईं-जेठान हुन् । देवराजले केशवराजकी बहिनी विवाह गरेका हुन् । ज्वाईं-जेठान मिलेर ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा जग्गा भाडामा लिएर कृषि फार्म चलाएका थिए ।

साँधमा अहिले हत्या गरिएका पारुहाङको पनि अर्को कृषि फार्म थियो । देवराजले आफ्नी श्रीमतीलाई जापान पठाउँदा लागेको ऋण तिर्न जेठान केशवराज र कृषि फार्मका सँधियार पारुहाङसँग गरी ११ लाख रुपैयाँ ऋण लिएका थिए ।

ऋण लिने बेलामै पारुहाङ र केशवराजको घरपरिवारमा भने देवराजले विदेश जान लागेकाले रकम बुझाएको हो भन्न लगाएका थिए । जसले भोलिका दिनमा हत्या हुँदा पनि थाहा नहोस् भन्ने उद्देश्य रहेको अनुसन्धानमा खटिएका एक अधिकृत बताउँछन् । मोबाइलमा फोन नलागेपछि विदेश गएको भन्ने बुझ्ने भएकाले हत्या भएको थाहा नपाउन् भन्ने उद्देश्य देखिएको ती अनुसन्धान अधिकृतको विश्लेषण छ ।

हत्याको योजना बनाएपछि देवराजले आफ्ना जेठानलाई डाँडातिर गएर रमाइलो गर्ने प्रस्ताव गर्छन् । ज्वाईंको प्रस्तावमा जेठान सहमत हुन्छन् । अनि उनीहरूसँगै जोडिन्छन्, जयराज अधिकारी । ललितपुरको ज्यामिरे भन्ने ठाउँको जंगलमा उनीहरू पुग्छन् । त्यहाँ उनीहरूले मदिरा सेवन गर्छन् ।

मदिराले केशवराज लट्ठ भएपछि झोलामा लगिएको ह्याम्मरले हानेर हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटी बताउँछन् । हत्यापछि हातखुट्टा र मुखमा टेपले बाँधेर शव त्यहीं छाडेर उनीहरू फर्केको प्रहरीले बताएको छ ।

भोलिपल्ट पारुहाङको हत्या

केशवराजको हत्यापछि ऋण तिर्नु नपर्नेमा देवराज ढुक्क भए । तर पारुहाङसँग लिएको ५ लाख ऋण भने बाँकी नै थियो । त्यसपछि भोलिपल्ट देवराजले पारुहाङको पनि हत्या गरे पूरै ऋणबाट मुक्त हुने सोच्छन् ।

सोहीअनुसार केशवराजकै जस्तो शैलीमा डाँडामा रमाइलो गर्न जाने बहानमा पारुहाङलाई लगेर २५ मंसिरमा हत्या गरिन्छ । केशवराजको हत्याबारे केही सुईंको नपाएका पारुहाङले पनि देवराजको योजनामा सहमति जनाउँछन् । त्यसपछि २५ मंसिरमा देवराजले नै भनेको ठाउँ ललितपुर र भक्तपुरको सिमानामा पर्ने सूर्यविनायक नगरपालिका–७ को जंगलमा पारुहाङलाई लिएर देवराज र जयराम जान्छन् ।

हत्या गरिएका केशवराज र हत्या आरोपमा हिरासतमा रहेका देवराज ज्वाईं-जेठान हुन् । ज्वाईं-जेठान मिलेर ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा जग्गा भाडामा लिएर कृषि फार्म चलाएका थिए ।

केशवराजकै जस्तो मदिराको नसामा लट्ठ भएपछि झोलामा बोकेर लगेको ह्याम्मरले हानेर पारुहाङको पनि हत्या गरिन्छ । हत्यापछि केशवराजकै जस्तो गरी हातखुट्टा बाँधेर मुखमा टेप लगाई प्लास्टिकले शव प्याक गरी भिरबाट खसाल्छन् । त्यसपछि उनीहरू ढुक्कले बसेको देखिन्छ ।

हत्याको एक सातापछि भेटियो शव, चप्पलले खोल्यो पोल

केवशराज र पारुहाङ दुवै जना सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन प्रहरीमा उजुरी दिन्छन् । यता ज्वाईं-जेठानको लगानीमा रहेको कृषि फार्म भने उनीहरूले रोल्पाका दीपक थापा मगरलाई बेचिसकेका थिए ।

उनै केशवराजले बेचेको शेरफाँटको उक्त कृषि फार्मको इनारमा शंकास्पद अवस्थामा एउटा ठूलो बोरा कामदारले देख्छन् । त्यसपछि शंका लागेर प्रहरीलाई खबर हुन्छ ।

प्रहरी घटनास्थल गएर बोरा निकालेर हेर्दा एक युवकको शव भेटिन्छ । उक्त शव हराएको भनिएका केशवराजकै रहेको भन्दै परिवारले सनाखत गर्छन् । त्यसपछि हराएका भनिएका केशवराजको हत्या भएको पुष्टि हुन्छ । यो बीचमा पारुहाङ जीवित-मृतबारे भने प्रहरीले केही पनि सुईंको पाइएको हुँदैन ।

प्रहरीले अनुसन्धानलाई तिव्रता दिन्छ । सँगै कृषि फार्ममा साझेदार भएर काम गरेकाले ज्वाईं देवराजमाथि पनि शंका गरेर प्रहरीले अनुसन्धान अघि बढाउँछ । तर उनी आफैं आफ्ना जेठानको खोजीमा सक्रिय हुँदै प्रहरीलाई सहयोग गर्छन् ।

केशवराज लिभिङ टुगेदरमा थिए । उनीसँगै फार्मको छाप्रोमा उनकी प्रेमिका पनि बस्थिन् । प्रेमिकासँग विवाद भएपछि उनी सिन्धुली गए । लामो समयसम्म पनि ललितपुर फर्केनन् । त्यसपछि रिसले एक दिन केशवराजकी प्रेमिकाले टहरो तोडफोड गर्न थालिन् ।

त्यसको भिडियो देवराजले बनाएका थिए । उक्त भिडियो उनले जापानमा रहेकी आफ्नी श्रीमतीलाई समेत पठाएका थिए ।

अभियुक्त पहिचानको क्लू बनेको चप्पल र मृतकले भाडामा लिएको मोटरसाइकल ।

यता, हराएको भनिएका केशवराजको शव २ पुसमा इनारभित्रबाट प्रहरीले निकाल्यो । शव फालिएको इनार नजिकै एउटा चप्पलसमेत भेटिएको थियो । प्रहरीले उक्त चप्पललाई आधार मानेर पनि अनुसन्धान गर्‍यो । तर चप्पल कसको हो भन्ने खुल्न सकेको थिएन ।

यहीबीचमा टहरो भत्काउँदै गरेको भिडियो आफन्तमार्फत प्रहरीमा पुग्यो । उक्त भिडियोमा क्राइम सिनमै फेला परेको चप्पल देखियो । भिडियोमा देखिएको चप्पल र क्राइम सिनमा फेला परेको चप्पल म्याच खायो ।

त्यसपछि उक्त चप्पल भिडियो खिच्ने देवराजकै रहेको पहिचान भयो । त्यसपछि अनुसन्धान लगभग निष्कर्ष प्रहरीले निकालेको थियो ।

थप पुष्टि गर्न प्रहरीले देवराजलाई आफ्नो कोठा देखाउन लगाउँछ । भक्तपुरमा रहेको आफ्नो कोठा भनेको ठाउँमा देवराजले लान्छन् । तर त्यहाँबाट केही दिनअघि मात्रै डेरा सरेर गएको खुल्छ ।

प्रहरीले थप शंका लागेर कोठा देखाउन भनेपछि बाध्य भएर देवराजले आफ्नो कोठा देखाएको अपराध अनुसन्धान कार्यालयका एसएसपी काजीकुमार आचार्यले बताए ।

देवराजको कोठामा भने शंकास्पद वस्तुहरू फेला पर्छन् । प्रहरीका अनुसार उनको कोठामा रगत लतपतिएका कपडा, भाँचिएको अवस्थाको ह्याम्मर, टेप भेटिन्छ । केशवराजको शव बाँधिएको टेप र देवराजको कोठाको टेपसमेत म्याच भएपछि ज्वाईंबाटै जेठानको हत्या भएको निष्कर्षमा प्रहरी पुग्छ । तर घटनाबारे देवराजले अस्वीकार गरिरहन्छन् ।

जयराम समातिएपछि खुल्यो अर्का व्यक्तिको हत्या

कोठाबाट सबुद प्रमाण भेटिँदासमेत देवराजले घटना अस्वीकार गरिहेका थिए । यता, प्रहरीले प्राविधिक कोणबाट पनि अनुसन्धान गरिरहेको थियो । प्राविधिक अनुसन्धानबाट खुल्यो देवराजसँगै घटनास्थलमा अर्का व्यक्ति पनि थिए, जयराम अधिकारी थिए ।

उनीहरू दुईबीच मोबाइलमा सम्पर्क भएको देखियो । यति हुँदा पनि देवराजले अधिकारीबारे केही थाहै नभएको दाबी गरिरहे । प्राविधिक कोणको अनुसन्धानमा घटनामा जोडिएपछि आइतबार मात्रै सिन्धुलीको गोलन्जोरस्थित आफ्नो घरमा रहेका जयराम समातिए ।

सिन्धुली प्रहरीको सहयोगमा पक्राउ परेका उनलाई राति १० बजे अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं ल्याएको थियो । प्रारम्भिक सोधपुछकै क्रममा उनले केवशराजको हत्या स्वीकार मात्रै गरेनन्, सँगै अर्का व्यक्ति पनि हत्या भएको खुलासा गरे ।

त्यसपछि प्रहरी नै चकित परेको थियो । हत्या गरेको भए शव कहाँ छ भन्दै प्रहरीले देखाउन भन्यो । आइतबार मध्यराति जयरामले भक्तपुरको सूर्यविनायक–७ को जंगलमा लगेको एक अनुसन्धान अधिकृतले बताए ।

उनै जयरामले भनेको स्थानमा हराएका भनिएका अर्का व्यक्ति पारुहाङको शव भेटियो । त्यसपछि बल्ल यो समूहले दुई दिनको बीचमा दुई युवकको हत्या गरेको खुलेको एसएसपी बस्नेत बताउँछन् ।

हत्याको २ दिनपछि मोटरसाइकलमा शव बोकेर इनारमा हालियो

ललितपुरको ग्रामीण भेग ज्यामिरकोटमा हत्या गरेर केशवराजको शव छाडेर उनीहरू त्यहाँबाट हिँडेका थिए । भोलिपल्ट पारुहाङको हत्या गरेर अनकन्टार भिरमा खसालिएकोले शव नभेटिनेमा उनीहरू ढुक्क थिए ।

तर, सामान्य झाडीमा त्यसै छाडिएकाले केशवराजको शव देख्ने भएकाले उनीहरूले व्यवस्थापनको योजना बनाएर इनारमा ल्याएर हालेको देखिएको प्रहरीले बताएको छ ।

हत्या गरेर जंगलमा फालिएको पारुहाङको शव र घटनास्थल ।

हत्याको २ दिनपछि २६ मंसिरमा उक्त शव लिन उनीहरू मोटरसाइकल ज्यामिरकोट पुगेका थिए । शवलाई बोरामा प्याक गरेर उनीहरूले मोटरसाइकलमा हालेर आफूले बेचेको कृषि फार्मको इनारमा ल्याएर फालेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

‘देवराजले मोटरसाइकल चलाउने, शवलाई बीचमा राखेर पछाडि जयराम बसेर कृषि फार्मको इनारमा ल्याएर हालेको देखिन्छ,’ एसपी आचार्य भन्छन् । यो सबै काम उनीहरूले २६ मंसिरको मध्यराति गरेको देखिएको छ । ज्यामिरकोटका झाडीमा एउटा मोटरसाइकल पनि भेटिएको थियो । उक्त मोटरसाइकल मृतक हायुले दुई दिनका लागि भाडामा लिएको अनुसन्धानका क्रममा देखिएको छ ।

२ लाखमा डिल, १० हजार बुझेर घर फर्के जयराम

प्रहरीका अनुसार गोलन्जोरका देवराज र जयराम एकदमै मिल्ने साथी थिए । हत्याको योजना बनाएर सिन्धुली बस्ने जयरामलाई देवराजले काठमाडौं बोलाएको प्रहरी अधिकारीहरू बताउँछन् ।

त्यसपछि केशवराज र पारुहाङको हत्या गर्ने योजना जयरामलाई सुनाउँछन् । जयरामको २ लाख ऋण भएकाले उक्त ऋण तिर्न हत्यापछि देवराजले २ लाख रकम दिने बचन दिएको जयरामले प्रहरीसमक्ष बताएका छन् ।

देवराजको योजनामा जयराम तयार भएपछि दुवै जना मिलेर दुई दिनमा २ जनाको हत्या हुन्छ ।

हत्यापछि देवराजले जम्मा १० हजार रुपैयाँ दिएको जयरामले प्रहरीसमक्ष स्वीकारेका छन् । ‘मलाई २ लाख दिने भनिएको थियो । पछि १० हजार दिए । अनि घर फर्केर ढुक्कले बसेको हुँ,’ जयरामलाई उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?