+
+
Shares

कांग्रेसमा तल्लो तहको महाधिवेशन तालिका सार्ने तयारी

सदस्यता नवीकरण र वितरणको काम तोकिएको मितिमा सम्पन्न नभएपछि नेतृत्व तहमा महाधिवेशन कार्यतालिका हेरफेरका लागि छलफल चलिरहेको छ ।

केशव सावद केशव सावद
२०८२ पुष ७ गते २१:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि निर्धारित कार्यतालिका अनुसार १६ पुसमा हुने भनिएको वडा अधिवेशन नहुने निश्चितप्रायः देखिएको छ।
  • क्रियाशील सदस्यता नवीकरण र वितरणमा ढिलाइ हुँदा महाधिवेशन कार्यतालिका हेरफेर गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।
  • महामन्त्री गगनकुमार थापाले अधिवेशन प्रक्रिया अवरूद्ध भए विशेष महाधिवेशन हुने चेतावनी दिएका छन् र अधिवेशनबिना निर्वाचन नजाने बताए।

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन सुरू नहुने निश्चितप्रायः देखिएको छ ।

क्रियाशील सदस्यता नवीकरण र वितरणको काममा ढिलाइ भएकाका कारण १६ पुसमा हुने भनिएको वडा अधिवेशन नहुने जस्तै देखिएको छ ।

कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ समय तालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न असफल भएको छ ।

१५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २५ मंसिरभित्र नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउन भनेको थियो ।

निर्धारित समयावधिभित्र नवीकरणको काम सम्पन्न हुने नदेखिएपछि ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २४ मंसिरमा चार दिनका लागि म्याद थप गरेको थियो ।

समिति संयोजक गगनकुमार थापा (महामन्त्री)ले जिल्ला सभापतिहरूलाई २९ मंसिरभित्र नवीकरणको काम सम्पन्न गर्न र ३ पुसभित्र केन्द्रमा पठाइसक्ने गरी काम गर्न निर्देशन दिएका थिए ।

तर, समितिले थप गरिएको समयावधिमा पनि क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएको जनाएको छ । समिति सदस्य योगेन्द्र चौधरीले भने, ‘प्रयास त हामीले सबै गर्‍यौं । तर, कार्यतालिकाभित्र क्रियाशील टुंग्याउन सकेनौं ।’

उनले कार्यतालिका अनुसार काम सम्पन्न नभए पनि समितिले गरेको अपेक्षाअनुसार काम भइरहेको प्रतिक्रिया दिए । नवीकरणको काम दुई-तीन दिनमा सकिने र नयाँ सदस्यताको डाटा क्षेत्रीय कार्यसमितिहरूले अपलोड गरिरहेको सूचना समितिसँग रहेको चौधरीको भनाइ छ ।

‘क्रियाशीलबारे जसरी कार्यतालिकामात्रै आउँछ, सदस्यता टुंगिदैन भन्ने आम बुझाइ थियो । त्यसमा सत्यता जस्तै देखिएता पनि हामीले अनुमानभन्दा धेरै काम गरेका छौं,’ उनले भने, ‘नवीकरणको काम दुई-तीन दिनमा सकिन्छ । नयाँ पनि अपलोड गर्ने काम क्षेत्र–क्षेत्रले गरिरहेको हामीलाई सूचना प्राप्त भएको छ ।’

महाधिवेशन कार्यतालिका हेरफेरको तयारी 

सदस्यता नवीकरण र वितरणको काम तोकिएको मितिमा सम्पन्न नभएपछि नेतृत्व तहमा महाधिवेशन कार्यतालिका हेरफेरका लागि छलफल चलिरहेको छ । यस विषयमा सभापति शेरबहादुर देउवाले शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए ।

समिति सदस्य चौधरीले पनि शीर्ष नेताहरूका बीचमा कार्यतालिका हेरफेरबारे छलफल भइरहेको बताए । ‘कार्यतालिका केही न केही रूपमा प्रभावित भइ नै सकेको छ,’ उनले भने, ‘नेताहरूका बीचमा थोरै हेरफेर गर्ने गरिको छलफल सुरू भएको छ । अब केही दिनमा सहमति मै नयाँ कार्यतालिका आउँछ ।’

महामन्त्री थापाले समिति बैठकमा २१ फागुनका लागि तय भएको निर्वाचनअगावै महाधिवेशन सम्पन्न गर्ने परिस्थिति निर्माणका लागि नेतृत्वसँग छलफल भइरहेको जानकारी गराएका छन् ।

‘अस्ती सभापति, कावा सभापति, उपसभापति र महामन्त्रीहरू बीच छलफल भयो,’ चौधरीले भने, ‘महामन्त्रीज्यूले समितिमा सभापतिसँग छलफलमा छु, नयाँ कार्यतालिकालाई कसरी सहमतिमा टुंग्याउन सकिन्छ, निर्वाचनअगावै सम्पन्न गर्ने परिस्थिति निर्माणका लागि छलफलमा छु भन्नुभएको छ ।’

समिति संयोजक थापाले पनि १६ पुसका लागि निर्धारण गरिएको वडा अधिवेशन तलमाथि हुने बताएका छन् । ‘वडाको अधिवेशन तिथिका सन्दर्भमा एक-दुई दिन तलमाथि होला,’ उनले भने ।

महामन्त्री थापाले अधिवेशनबिना कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा नजाने पनि जिकिर गरे । ‘अहिले जसरी बाहिर अधिवेशन रोकिन्छ, स्थगित हुन्छ भनिदैछ, त्यस्तो हुँदैन,’ उनको भनाइ छ, ‘कि नियमित अधिवेशन सरासर अगाडि बढ्छ कि विशेष महाधिवेशन हुन्छ । त्योभन्दा अर्को कुरा केही पनि छैन । अधिवेशनबिना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन । जानु हुँदैन । जान सक्दैन । क्लियर यसमा ।’

प्रवक्ता डा प्रकाशशरण महत भने अहिले तोकिएको समयमा महाधिवेशन गर्न समय अपुग भएको र सम्भव पनि नभएको बताउँछन् । ‘नेताहरूबीच  माघमा महाधिवेशन सार्ने कुरा भइरहेको बुझियो । तर, यो पनि सम्भव हुने मिति होइन,’ महतले भने, ‘फागुन २१ मा निर्वाचन हुने अवस्था भयो भने चुनावमा जाने कि महाधिवेशनमा ?’

उनले निर्वाचन हुने अवस्था आए माघमा पनि प्रतिनिधि सभा निर्वाचन नहुने बताए । ‘फागुनको निर्वाचन हुने अवस्था बन्यो भने त निर्वाचनपछि नै महाधिवेशन हुन्छ। मिति बैठक बसेर तय भइहाल्छ’ उनले थपे ।

अर्का एक पदाधिकारीले भने सुरु र अन्तिमको तालिका प्रभावित नहुने गरी तालिका हेरफेर गर्नेबारे छलफल भइरहेको छ । ‘सुरुको र अन्तिमको तालिका केही नचलाउने । तर तल्लो तहका अन्य अधिवेशनको तालिका भने केही हेरफेर हुने भन्ने विषयमा कुराकानी भइरहेको छ ‘ ती पदाधिकारीले भने ।

‘सदस्यता नवीकरण र वितरणमा असहयोग’  

महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरण र वितरणमा संस्थापन पक्षीय नेताहरूले असहयोग गरिरहेका पनि बताए । केन्द्रीय कार्यसमितिमा निर्वाचन अघि महाधिवेशन हुन नसक्ने पक्षमा उभिएका नेताहरूबाट सदस्यता नवीकरण र वितरणमा समितिलाई असहयोग भइरहेको उनको भनाइ छ ।

‘जो नेताहरूले हिजो अधिवेशनको तिथि-मितिको निर्णय गर्न दिनुभएन, अहिले तलबाट क्रियाशीलको काम हुँदै गर्दाखेरि ठाउँ-ठाउँबाट त्यो क्रियाशील सदस्यता पठाइदिनुपर्ने कुराहरू जसरी भइराख्नुपर्ने हो, आइरहेको छैन,’ थापाले भने, ‘तर, म कसैलाई दोष दिन्न किन भने अझै गर्न सक्छु भन्ने विश्वास छ । लागिरहेका छौं ।’

महाधिवेशन गर्न सकिँदैन भन्नु राम्रो बाटोमा आफैंले हिलो बनाएर हिँड्न सँकिदैन भन्नुजस्तै भएको उनको टिप्पणी छ । ‘यसो पत्रपत्रिकाहरूमा टिप्पणीहरू हेर्छु, अब यो भ्याइँदैन, अब गर्न सकिन्न । पहिला सद्दे भएको बाटोमा आफैँले बाल्टिन लगेर पानी खन्याएर हिलो छ, हिँड्न सकिन्न भन्याजस्तै हो यो,’ थापाले भने ।

प्रक्रिया अवरूद्ध गराए विशेष महाधिवेशन : गगन थापा 

महामन्त्री थापाले पार्टीको अधिवेशनको प्रक्रियालाई नियतवश अवरूद्ध गराउने काम भए विशेष महाधिवेशन हुने चेतावनी पनि दिए । सोमबार काठमाडौँ-४ का कार्यकर्ताहरूसँगको अन्तर्क्रियामा उनले संस्थापन पक्षतर्फ इंगित गर्दै विशेष महाधिवेशनको चेतावनी दिएका हुन् ।

‘अधिवेशनको प्रक्रियालाई नियतवश अवरूद्ध गराउने काम भइराख्छ भने त्यो बेलामा देशभरका साथीहरू आएर पार्टीको विशेष महाधिवेशन गराउने तर्फ लाग्ने अवस्था बन्छ,’ महामन्त्री थापाले भने, ‘त्यो विशेष महाधिवेशनले भए पनि एउटा परिणाम निकाल्छ ।’

थापाले कांग्रेससँग निर्धारित समयमै महाधिवेशन गर्नुको विकल्प नभएको पनि जिकिर गरे । ‘किनकी हामीसँग उपाय छैन । यो बेलामा ढिलोढालो गरेर अल्मिलिने उपाय छैन,’ उनले भने, ‘हामी आफू अलमलिन सक्छौं तर, जनतालाई अलमलाउन सक्दैनौं ।’

महामन्त्री थापाले चुनौतीकाबीच नेकपा एमालेले महाधिवेशन सम्पन्न गरेको उदाहरण पनि दिए । ‘नेकपा एमालले भर्खर अधिवेशन गरेर आएको छ । उसका नीतिसँग हाम्रो असहमति होला, तरिकासँग असहमति होला,’ उनले भने, ‘तर, अधिवेशन गरेर आएको कुरालाई त स्वीकार गर्नु पर्‍यो नि । यत्रो चुनौतीका बीचमा अधिवेशन गरेर त आयो नि ।’

वडा र क्षेत्रको अधिवेशन गरेर महाधिवेशन गरौं : गुरूराज घिमिरे

१५औं महाधिवेशनको कार्यतालिका कार्यान्वयनका लागि समयको चाप देखिन्छ । कार्यतालिकाअनुसार १६ पुसमा वडा अधिवेशनहरू सम्पन्न गरेर १७ गते गाउँ/नगरपालिका र १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्नुपर्ने छ ।

यस्तै २१ पुसमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन तथा २२ पुसमा दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ ।

कांग्रेसले २३-२४ पुसमा प्रदेश अधिवेशन र २६-२७-२८ पुसमा केन्द्रीय महाधिवेशन गर्ने गरी ‘टाइट सेड्युल’ बनाएको छ । समय अभावका कारण पूर्वनिधारित मितिमा केन्द्रीय महाधिवेशन सम्पन हुने सुनिश्चितता नदेखिएपछि विशेष महाधिवेशन पक्षधरले पार्टीलाई विकल्प सुझाएको छ ।

विशेष महाधिवेशनका लागि सञ्चालन भएको हस्ताक्षर संकलन अभियानका नेतृत्वकर्ता मध्येका एक नेता गुरुराज घिमिरेले केन्द्रीय महाधिवेशनका लागि पार्टीलाई विकल्प सुझाएका हुन् ।

२६ देखि २८ पुसमा १५ औं महाधिवेशन गर्नका लागि समयको चाप भएकाले तल्लो तहमा दुई तहको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्न सकिने उनको भनाइ छ ।

‘वडा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरेपछि प्रतिनिधि छनोट हुन्छन्,’ नेता घिमिरेले अनलाइनखबरसँग भने, ‘प्रतिनिधि चयन भएपछि केन्द्रको महाधिवेशन गर्न सकिन्छ ।’

अरू तहका अधिवेशन निर्वाचनपछि गर्न सकिने उनले बताए । प्रतिनिधि छनोट भएपछि केन्द्रीय महाधिवेशन गर्न सकिने र अन्य कार्यसमितिहरूका लागि प्रतिनिधिसभा निर्वाचनपछि अधिवेशन गर्न उपयुक्त हुने घिमिरेले बताए ।

वडा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरेर नियमित महाधिवेशन गर्न तयार नहुने हो भने विशेष महाधिवेशनमा जानुपर्ने नेता घिमिरेको जोड छ ।

‘सबैभन्दा उत्तम विकल्प नियमित महाधिवेशन हो । नियमित हुन नसके विशेषको माग हामीले गरेका हौं,’ घिमिरेले भने, ‘केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशन आह्वान गरे झनै राम्रो भयो । नियमित गराउन तयार नहुने हो भने विशेषमा जानुपर्छ ।’

वडा र क्षेत्रको अधिवेशनले के गर्छ ? 

विशेष महाधिवेशन पक्षधर नेता घिमिरेले विकल्पका रूपमा अघि सारेको वडा र क्षेत्रको अधिवेशन भनेको गाउँ/नगर/उपमहानगर र महानगरका वडा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हो ।

गाउँ/नगर/उपमहानगर र महानगरका वडा अधिवेशनहरूले वडा कार्यसमिति गठनसँगै प्रदेशसभा क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू चयन गर्छ । वडा अधिवेशनमा वडा क्षेत्रभित्रका क्रियाशील सदस्यहरू अधिवेशनका सदस्य हुन्छन् ।

यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले क्षेत्रीय कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधिहरू निर्वाचित गर्छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरू क्षेत्रीय अधिवेशनका सदस्य हुन्छन् ।

उक्त क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनका सदस्य मानिन्छन् ।

गाउँपालिका वडा अधिवेशन

गाउँपालिका वडा अधिवेशनमा वडा क्षेत्रभित्रका क्रियाशील सदस्यहरू अधिवेशनका सदस्य हुन्छन् । गाउँपालिका वडा अधिवेशनले आफूमध्येबाट निर्वाचित गरेका सभापति, उपसभापति दुई, सचिव दुई र सह-सचिव दुई चयन गर्छ ।

पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्यमात्र गाउँपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न सक्ने वैधानिक प्रावधान छ ।

सभापतिले वडा कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी कोषाध्यक्ष मनोनीत गर्छ । अधिवेशनबाट कम्तिमा तीन महिलासहित नौ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् ।

अधिवेशनले महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट छ जना, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्छ ।

वडा कार्यसमिति सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनीत गर्न सक्छन् ।

१५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँपालिका वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा क्षेत्रीय अधिवेशनका लागि कम्तिमा तीन जना महिलासहित नौ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्छ ।

१५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमा भित्र रही प्रति एक सय थप क्रियाशील सदस्यमा दुई महिला सहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्नुपर्छ ।

महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट (१५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाबमोजिम) प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको दुई तिहाइ संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम प्रतिनिधि निर्वाचित गर्ने विधानमा उल्लेख छ । कांग्रेसमा वडा सभापतिलाई पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि मानिन्छ ।

नगरपालिका वडा अधिवेशन

नगरपालिका वडा क्षेत्रभित्रका क्रियाशील सदस्यहरू नगरपालिका वडा अधिवेशनमा सदस्य हुन्छन् । नगरपालिका वडा कार्यसमिति सभापति वडा अधिवेशनको सभापति हुन्छन् ।

वडा अधिवेशनले नगर/उपमहानगर/महानगरपालिका वडा कार्यसमिति गठन गर्छ । नगरपालिका वडा अधिवेशनले आफूमध्येबाट निर्वाचित गरेका सभापति र दुई–दुई जनाका दरले उपसभापति, सचिव तथा सहसचिव चुन्छ । पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्यमात्र नगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न सक्ने वैधानिक व्यवस्था छ ।

सभापतिले नगरपालिका वडा कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी एक जनालाई कोषाध्यक्षमा मनोनीत गर्नुपर्छ । नगरपालिका वडा अधिवेशनले आफूमध्येबाट कम्तिमा चार महिलासहित १२ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट आठ जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा निर्वाचित गर्छ ।

नगरपालिका वडा कार्यसमितिको सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, अपाङ्गता भएका र अल्पसंख्यक, समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न सक्छन् ।

उपमहानगरपालिका वडा अधिवेशन

उपमहानगरपालिका वडा अधिवेशनले आफूमध्येबाट निर्वाचित गरेका सभापति, उपसभापति दुई, सचिव दुई र सह–सचिव दुई रहेको उपमहानगरपालिका वडा कार्यसमितिको गठन गर्छ ।

पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्यमात्र उपमहानगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न सक्ने प्रावधान कांग्रेसमा छ ।

सभापतिले उपमहानगरपालिका वडा कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी कोषाध्यक्ष मनोनीत गर्नुपर्छ ।

उपमहानगरपालिका वडा अधिवेशनले आफूमध्येबाट कम्तिमा पाँच महिलासहित १५ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना सदस्य वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा निर्वाचित गर्छ ।

उपमहानगरपालिका वडा कार्यसमितिका सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न सक्छन् ।

महानगरपालिको वडा अधिवेशन

महानगरपालिको वडा अधिवेशनले आफूमध्येबाट निर्वाचित गरेका सभापति, उप–सभापति दुई, सचिव दुई र सह–सचिव दुई रहेको महानगरपालिका वडा कार्यसमिति गठन गर्छ । क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्यमात्र महानगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न सक्छन् ।

सभापतिले महानगरपालिका वडा कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव कोषध्यक्ष मनोनीत गर्छन् ।

महानगरपालिका वडा अधिवेशनले आफूमध्येबाट कम्तिमा छ महिलासहित १८ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १२ जना सदस्य वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा निर्वाचित गर्ने व्यवस्था विधानमा छ ।

महानगरपालिका वडा कार्यसमितिको सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनु पर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्ग वा अल्पसङ्ख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न सक्ने विधानमा लेखिएको छ ।

१५० वा सो भन्दा कम क्रियाशील सदस्य भएको वडामा नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा क्षेत्रीय अधिवेशनका लागि कम्तिमा तीन महिलासहित नौ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्छ ।

१५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमा भित्र रही प्रति एक सय थप क्रियाशील सदस्यमा दुई महिलासहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्छ ।

महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट (१५० वा सोभन्दा कम) बमोजिम प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको दुई तिहाइ संख्यामा वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा प्रतिनिधि निर्वाचित गर्ने वैधानिक व्यवस्था छ । कांग्रेसमा वडा सभापति पदेन क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुन्छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन

प्रतिनिधिसभा क्षेत्रभित्रका प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरू प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनका सदस्य हुन्छन् ।

सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनका सदस्य मानिन्छन् ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तिमा चार महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिए बमोजिम निर्वाचित गर्छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनका लागि क्रियाशील सदस्यता प्राप्त गरेको चार वर्ष पुगेको हुनुपर्छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्छन् ।

प्रदेश अधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको निर्वाचनमा उम्मेदवार भए निजको प्रदेश अधिवेशन प्रतिनिधि पद स्वतः समाप्त हुने र केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशनको पनि प्रतिनिधि हुने विधानमा व्यवस्था छ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू केन्द्रीय महाधिवेशनका प्रतिनिधि हुन्छन् । उनीहरूबाट कांग्रेसले केन्द्रीय कार्यसमिति चयन गर्छ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित सात जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट चार जना प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित गर्छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रतिनिधिमध्येबाट सभापति, दुई सचिव र दुई सह-सचिव निर्वाचित हुन्छन् ।

पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेको चार बर्ष पुगेको सदस्यमात्र क्षेत्रीय कार्यसमिति सभापतिका लागि उम्मेदवार बन्न योग्य मानिन्छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्र रहेका प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू उपसभापति हुन्छन् ।

सभापतिले निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी एक जना कोषाध्यक्ष मनोनीत गर्छन् । क्षेत्रीय अधिवेशनबाट एक महिलासहित चार जना प्रत्यक्ष निर्वाचित सदस्य हुन्छन् ।

महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट छ जना सदस्य सम्पूर्ण क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा निर्वाचित हुने प्रावधान कांग्रेसका छ ।

प्रत्येक प्रदेशसभा क्षेत्रीय अधिवेशनद्वारा प्रत्यक्ष निर्वाचित एक महिलासहित तीन जना गरी दुई प्रदेशसभा क्षेत्रबाट निर्वाचित छ जना सदस्यहरू क्षेत्रीय समितिमा हुन्छन् ।

सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनीत गर्न सक्ने कांग्रेसको विधान छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?