+
+
Shares

सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या, सासू र नन्द पक्राउ

प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा मृतककी सासू र नन्दलाई पक्राउ गरिएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ पुष ८ गते १३:२३
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि प्रदर्शन गर्दै स्थानीयहरू । तस्वीर : रोशन दानी

८ पुस, काभ्रे । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीमा परी दुर्गामानको दाहिने हात, दाहिने खुट्टा र ढाडमा जलेको छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएका दुई बोतल, जलेको अवस्थामा रहेको पेट्रोलको बोतल, लाइटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँको समेत फेला परेको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए । मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा छ ।

घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले मृतककी ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) लाई पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछ क्रममा मीना लामा (बम्जन) ले सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।

यता, मृतकका बुबा प्रेमबहादुर घिसिङ (हरिहरपुरगढी गाउँपालिका–४) ले मायारानी बम्जन र मीना लामा (बम्जन) विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । जाहेरीका आधारमा सोही दिन ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा मृतककी सासू र नन्दलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेका छौं,’ एसपी सुवेदीले भने ।

अहिले स्थानीयले मृतकलाई न्याय दिनुपर्ने र अपराधीलाई कारबाही गर्नुपर्ने भन्दै नारा जुलुस गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि नाराबाजी भइरहेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?